निर्वाचन आयोगद्वारा सर्वोच्चको आदेश मान्ने निर्णय

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्र छपाई सम्बन्धी सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सर्वोच्च अदालतको आदेशकोे सम्मान गर्दै त्यससम्बन्धी निर्णय गर्ने बताएका हुन् ।
आयोगका प्रवक्ता नवराज ढकालले पनि सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै निर्णयमा पुगिने बताए । सर्वोच्च अदालतको आदेशको भावना अनुसार आयोगले निर्णय गर्छ, भोलि लिखित जवाफ पेश गर्नका लागि आज महान्याधिवक्तासँग समेत छलफल भइसकेको छ ढकालले बताए । आयोगले आज सोमबार सर्वोच्च अदालतलाई मतपत्र छपाई सम्बन्धी जवाफ पेश गर्नुपर्ने छ ।
यसअघि आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र एउटैमा छाप्ने निर्णय गरेको थियो । तर, केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको इजलाशले निर्वाचन आयोगसँग प्रदेश र प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मतपत्र अलग अलग छाप्नेबारेको प्रगति विवरण तीन दिनभित्र पेश गर्न आयोगलाई आदेश दिएको थियो ।
अदालतको आदेशपछि आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बेग्लाबेग्लै मतपत्र छाप्ने तयारी थालेको बुझिएको छ ।