लम्सालद्धारा घाेषित सहयोग रकम नारी निकुञ्ज अष्ट्रेलिया मार्फत हस्तान्तण

एक लाख नेपाली रुपिया अष्ट्रेलियामा सक्रिय संस्था नारी निकुञ्ज मार्फत सो विद्यालयलाई दिइएको हो ।
-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, कार्तिक १४, २०७४

अष्ट्रेलियाको सिड्नीमा व्यपार व्यवसाय गर्दै आएका गैर आवासिय नेपाली संघ ओसेनिया क्षेत्रका निवर्तमान संयोजक महेन्द्र कुमार लम्सालले सिर्जनशिल अपांग पुर्नस्थापना तथा विशेष शिक्षा विद्यालयका लागि एक लाख नेपाली रुपिया सहयोग गर्नु भएको छ । लम्सालले गैरआवासिय नेपाली संघको आठौं विश्व सम्मेलनका क्रममा सचिवमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिममा सहमतिका लागि भन्दै उम्मेदवारी दर्ता नगरेकाले बचेको रकम एक लाख नेपाली रुपिया सो संस्थाका लागि अष्ट्रेलियामा सक्रिय संस्था नारी निकुञ्ज मार्फत सो विद्यालयलाई दिइएको हो । संस्थाका प्रमुख दुर्गा थापाले संस्थालाई उपलब्ध गराइएको सहयोगले संस्थामा आश्रित बालबालिकाहरुका लागि निकै ठुलो मद्दत पुगेको बताउनु भयो । पछिल्लो दिनमा सस्था सञ्चालनका लागि आर्थिक अभाव रहकोले मनकारी सहयोग दाताहरुका लागि सहयोग आव्हान समेत गर्नु भयो । हाल संस्थाका लागि फर्निचर आवश्यक भौतिक पुर्वाधार बालबालिकाका लागि खेल सामाग्रीहरु आवश्यक रहेको बताईन ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नारी निकुन्ज अष्ट्रेलियाका अध्यक्ष प्रतिज्ञा अधिकारीले नारी निकुञ्जले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र यस विद्यालयको अवस्था हेर्दा थप सहयोगका लागि अभियाननै चलाउने बताउनु भयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा ओसेनीया क्षेत्रकी महिला संयोजक प्रीति शर्माले यस्ता खालका सहयोगले अभावमा रहेका बालबालिकाका लागि निकै ठुलो सहयोग हुने बताउँदै आगामी दिनमा अन्यखालका सहयोग जुटाउन प्रयास गर्ने बताइन । सोही कार्यक्रममा एक ट्याक्सी चालक सुदन थापाले पनि सहयोग रकम उपलब्ध गराए । निर्वतमान क्षेत्रिय संयोजक लम्सालले नेपाल रहँदाको बेला संस्थाको भ्रमण गरी वस्तुस्थिति अबलोकन गरेका थिए । आगामी दिनमा पनि थप सहयोग उपलब्ध गराउन प्रयासरत रहने लम्सालले बताएका छन् । सो कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीलिप थापा मगरको पनि उपस्थिति थियो । सो संस्थामा विभिन्न किसिमका रोगबाट ग्रसित बालबालिकाहरुका आमा बुबाको संयुक्त पहलमा स्थापना भएको हो । दुई बर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल २२ जना बालबालिकाहरु संरक्षित रहेका छन् ।