दोस्रो चरणको निर्वाचनका लागि मनोनयन पत्र दर्ता

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– नोभेम्बर ७ अर्थात २१ मंसिरमा हुने दोस्रो चरणको प्रत्यक्षतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बिहिबार उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा बिहान १० बजेदेखि मनोनयन पत्र दर्ता प्रारम्भ भएको थियो । उम्मेदवारको मनोनयनपत्र पेश गर्दा प्रतिनिधिसभा सदस्यका लागि रु १० हजार र प्रदेश सभा सदस्यका लागि पाँच हजार बुझाउनु परेको छ ।
महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा उक्त धरौटी रकममा ५० प्रतिशत छुट गरिएको निर्वाचन आयोगले जनाएको छ । ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् । ।
आयोगले आजै बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको थियो ।
यसैबीच, निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको निर्वाचनका लागि १ हजार ४ सय ५ जनाले उम्मेदवारी दर्ता गरेको जनाएको छ ।
कान्तिपथस्थित निर्वाचन आयोगको संयुक्त निर्वाचन केन्द्र (जेइओसी) ले साँझ ६ बजेसम्म संकलन भएको तथ्याङ्गक अनुसार प्रतिनिधिसभाको निर्वाचन तर्फ ५ सय २२ तथा प्रदेशसभाको निर्वाचन तर्फ ८ सय ८३ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिएको हो । निर्वाचन आयुक्त सुधीरकुमार शाहका अनुसार बिहान १० बजेबाट शुरु भएको मनोनयन साँझसम्म शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।