राजदूत शेर्पाद्वारा न्युजिल्याण्डका गभर्नरसमक्ष ओहदाको प्रमाणपत्र पेश

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>

न्युजिल्याण्ड- न्युजिल्याण्डका लागि नेपालका गैरआवाशीय राजदूत महामहिम लक्की शेर्पाले आज २१ नोभेम्बरका दिन एक भव्य समारोहका बीच न्युजिल्याण्डका गभर्नर जनरल सम्माननीय डेम पास्टी रेड्डी जिएनएसएमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नु भयो । ओहदाको प्रमाण पत्र पेश गर्दै महामहीम राजदूत शेर्पाले आफू राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट सम्माननीय गभर्नर जनरल तथा न्युजिल्याण्डका जनताप्रति हार्दिक शुभकामना सन्देश लिएर आएको बताउनु भयो ।
नेपाल र न्युजिल्याण्डबीच रहेको अत्यन्त मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै राजदूत शेर्पाले नेपाली सपूत तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारीको संयुक्त सगरमाथा आरोहणको ऐतिहासिक सफलताले यो सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनु भयो । उक्त अवसरमा राजदूत शेर्पाले नेपालले पछिल्लो समयमा प्राप्त गरेको राजनैतिक, सामाजिक उपलब्धिहरु बारे जानकारी गराउँदै नेपालको यस प्रयासमा न्युजिल्याण्ड लगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव रहने अपेक्षा गर्नु भयो । आफ्नो कार्यकालमा दुई देशबीच विद्यमान सम्बन्धलाई थप उचाइमा पुर्‍याउने दीशामा न्युजिल्याण्ड सरकारको साथ र सहयोगका लागि सम्माननीय गभर्नर जनरलमार्फत अनुरोध गर्नु भयो । महामहीम शेर्पाले उक्त अवसरमा सम्माननीय गभर्नर जनरलबाट उपयुक्त समयमा नेपालको भ्रमण हुनका लागि पनि अनुरोध गर्नु भयो ।
ओहदाको प्रमाणपत्र ग्रहण गर्दै सम्माननीय गभर्नर जनरलले दुई देशबीच रहेको सौहार्दपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्नु भयो । नेपाल भ्रमणका लागि आफु इच्छुक रहेको र अनुकुल समयमा यस बारेमा जानकारी गराउने बताउनु भयो । उहाँले नेपाली जनताको उन्नती र प्रगतिका लागि हार्दिक शुभेच्छा व्यक्त गर्दै राजदूतको सफल कार्यकालका लागि शुभकामना पनि दिनु भयो । उक्त समारोहमा न्युजिल्याण्ड सरकारका उच्चस्तरीय पदाधिकारीहरुका साथै श्री नवाङ सोनाम शेर्पा तथा दूतावासका प्रथम सचिव प्रमिता अधिकारी उपस्थित हुनु हुन्थ्यो ।