अष्ट्रेलियामा पनि आउने छ ऐश्वर्य : रमेश उप्रेती, अभिनेता/निर्माता

-- नेपाली टाइम्स अस्ट्रेलिया, सेलिब्रेटी टक अक्टाेबर अंक ?>

 

दुई दशकभन्दा लामो अवधिदेखि नेपाली फिल्ममा अभिनेताको रुपमा सक्रिय भएका कलाकार हुन् रमेश उप्रेती । दुई दर्जनभन्दा बढि नेपाली फिल्ममा अभिनेताको रुपमा अभिनय गरेर दर्शकको मन जितिसकेका अभिनेता उपे्रती विगतमा केही वर्षका लागि अमेरिका प्रस्थान गरेका थिए । करिव आधा दशक अमेरिकामा बिताएपछि उनी दुई वर्षअघि स्वदेश फर्किएका हुन् । स्वदेश फर्किए लगत्तै चलचित्र ब्रासलेटमा अभिनय गरेर फिल्ममा पुनरागमन गरेका अभिनेता उप्रेती यतिबेला नया नेपाली फिल्म ऐश्वर्य लिएर दर्शकमाझ आएका छन् । अक्टोबर १६ का दिनदेखि सार्वजनिक प्रदर्शन भएको उक्त फिल्म नेपालसंगै विदेशमा समेत प्रदर्शन हुनेछ । रोमान्टिक प्रेम कथामा आधारित उक्त फिल्मले दर्शकको मन जित्ने कुरामा यी अभिनेता ढुक्क देखिन्छन् । फिल्म प्रदर्शनको पूर्व सन्ध्यामा द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईले अभिनेता उप्रेतीसंग गरेको सेलिब्रेटि टक :

भरखरै गएको तिहार त ऐश्वर्यमय नै भयो होला नि ?

ऐश्वर्यमय नहुने त कुरै भएन, धेरै ऐश्वर्य लगाएर फिल्म ऐश्वर्य निर्माण गरेकाले पनि तिहार मात्र होइन दसैं पनि ऐश्वर्यमय भयो ।

दसैं–तिहार खुलेर मनाउन नपाएको अवस्था हो ?

फिल्म निर्माणले जति नै टाउको दुखाए पनि आफुलाई मनपर्ने चाडपर्व भएकाले दसैं–तिहार परिवार तथा फिल्म क्षेत्रका साथीभाइसंग राम्रैसंग मनाएको अवस्था हो ।

ऐश्वर्यको व्यवसायिक सफलताप्रति कत्तिको ढुक्क हुनुहुन्छ ?

हामीले सक्ने भनेको राम्रो फिल्म बनाउन मात्र हो । सफल–असफल, हिट–सुपरहिट जस्ता कुरा दर्शक तथा समयमा भर पर्छ । राम्रो फिल्म नै सफल हुने सम्भावना धेरै हुन्छ । त्यसैले म पनि धेरै आशावादी छु ।

फिल्ममा अभिनय गर्नु र आफैंले फिल्म निर्माण गर्नु मध्ये कुन चाहिं गाह्रो काम हो ?

यी दुबै भिन्न पाटाहरू हुन् । अभिनय गर्न केहि हदसम्म सजिलो छ । कथा र आफ्नो चरित्रमा मात्र केन्द्रित भए पुग्छ, तर फिल्म निर्माण गर्नु भनेको ५०–६० जनाको टिमलाई व्यवस्थापन गरेर सम्पूर्ण कुरा उपलब्ध गराउनु साच्चि नै गाह्रो काम हो ।

दर्शकहरूले तपाईंको फिल्म ऐश्वर्य किन हेर्ने ?

दर्शकहरूको मनोभावनालाई त म जज गर्न सक्दिन, तर राम्रो कुराले उहाहरूलाई आकर्षित गर्न सक्छ भन्ने लाग्छ । मैले फिल्म निर्माणको पृथक शैलीलाई अपनाएको छु । यो फिल्मले ठुलो क्यानभासमा पनि नेपाली फिल्म निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित गर्नेछ । फिल्मको गीत तथा ट्रेलर हेरेपछि सायद दर्शकले फिल्म हेर्न लायकको भएको महसुस गरेको हुनुपर्छ ।

भरखरै नेपालका विभिन्न शहरको भ्रमण कस्तो रह्यो ?

नेपाली फिल्मको बजार काठमाडौं भित्र र बाहिर उस्तै छ । अझ उपत्यका बाहिर कलाकार तथा फिल्मकर्मीलाई धेरै माया गर्ने दर्शकहरू हुनुहुन्छ । हाम्रँे फिल्म यूनिटका मुख्य कलाकारसहितको यात्रा असाध्यै सुखद रह्यो ।

फिल्ममा दुई अभिनेत्री छन्, तपाईंको जोडी कोसंग बढि मिलेको पाउनु भयो ?

फिल्मको तिमी रोएको पल…गीत रिलिज भएपछि दिपिका प्रसाईंसंग जोडी सुहाएको प्रतिक्रिया आएको छ । यद्धपि मलाई केकी अधिकारी र दिपिका दुबै उत्तिकै मनपर्छ । फिल्मको प्रदर्शनपछि दर्शकहरूले यो प्रश्नको जवाफ दिनु होला ।

फिल्मको ट्रेलरमा खलनायक बनेका प्रशान्त ताम्राकारलाई बढि फोकस गरिएको छ नि, किन होला ?

मलाई चिन्ने दर्शकहरूको पनि एउटा ठुलो हिस्सा छ जस्तो लाग्छ । नया पुस्ताका कतिले सानोमा मेरो हेरेका होलान्, फिल्म मैले आफनो लागि मात्र बनाएको हैन, फिल्मको कथामा चरित्र र पात्रले महत्व पाउने हो । फिल्ममा खलनायक प्रशान्त ताम्राकारको दमदार भूमिका छ । उहा आफैंमा लोकप्रिय मोडेल र कलाकार हुनुहुन्छ ।

अष्ट्रेलियाका दर्शकले ऐश्वर्य हेर्न पाउने सम्भावना कत्तिको छ ?

शत प्रतिशत छ । अष्ट्रेलियाका दर्शकहरूले चाडो भन्दा चाडो यो फिल्म हेर्न पाउनु हुनेछ । सबै कुराको चाजोपाजो मिल्यो भने म आफैं यो फिल्म लिएर अष्ट्रेलिया पुग्नेछु र त्यहा बसोबास गर्ने नेपाली दाजभाइ, दिदीबहिनीहरूसंगै बसेर यो फिल्म हेर्नेछु ।