सिड्नीका साहित्य प्रेमीले सम्झे महाकविलाई 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, कार्तिक २१, २०७६
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २७ अक्टुवर २०१९ आइतबार सिड्नीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाईएको छ। महाकवि देवकोटाको तस्बिरमा माल्यार्पण गर्दै सुरु गरिएको सो कार्यक्रम संस्थाका अध्यक्ष महेश्वर शर्माको सभापतित्वमा सम्पन्न भएको थियो भने सभामा अध्यक्ष शर्माले महाकवि देवकोटाको जीवनी प्रस्तुत गर्दै देवकोटाकै “पागल” शीर्षकको कविता वाचन समेत गरेका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटा (आचार्य राजन शर्मा) ले महाकवि देवकोटा स्वच्छन्दतावाद र परिवर्तनको निम्ती उहाँको कलम चलेको साथै उहाँ महामानवको रुपमा रहनुभएको बताउदै देवकोटालाई समर्पित गर्दै सुन्दर कविता वाचन गरेका थिए । यसै गरि अनेसास केन्द्रकी सदस्य सानु घिमिरे, न्यू साउथ वेल्स अष्ट्रेलियाकी उपाध्यक्ष ममता तिवारी, सचिव प्रविण टन्डन, नेपालबाट आउनु भएका अभिभाबक डा.रामचन्द्र अधिकारी, प्रतिज्ञा अधिकारी, तुल्सा पान्डे, खेमराज पंगेनी, शान्ता सिटौला, उद्दव थापा, हिमाल पोखरेल, नेत्र पौडेल, डा. प्रकाश पौडेल, प्रज्ञा पनेरु लगायतले आ-आफ्ना सुन्दर रचनाहरु वाचन गरेका थिए ।

यसै गरि कार्यक्रमा नेपाली समुदायका अगुवा समाजसेवी पदम शाक्य,  खेमराज पंगेनी, युवराज भट्टराई, संचारकर्मीहरु टिका कार्की, तकदिर अधिकारी लगायतका महानुभावहरुको उपस्थिती रहेको थियो । साथै कार्यक्रमलाई नारी निकुञ्ज अष्ट्रेलियाकी पूर्व संयोजक प्रतिज्ञा अधिकारीलाई अनेसासको आजीवन सदस्यको प्रमाण पत्र प्रदान गरिएको थियो। कार्यक्रमको अन्तिम चरणमा तिहारको शुभकामना आदान प्रदान सहित देउसी भैलो समेत खेलिएको थियो भने गायीका तुल्सा पान्डेले भैलेनी वोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन। संस्थाका सचिव प्रविण टन्डनले संचालन गरेको सो कार्यक्रममा विभिन्न संघ संस्थाहरुबाट आउनुभएका साहित्य अनुरागिहरु प्रति कृतज्ञ व्यक्त गर्दै कार्यक्रमका सभा अध्यक्ष  शर्माले धन्यबाद व्यक्त गरेका थिए ।