अब्यक्त

-- प्रभा पाेखरेल / प्रकाशित मिति : बुधबार, अशोज ७, २०७७

तमुको मन बिहानैदेखि फुरुङ्ङ–फुरुङ्ङ छ, दङ्ग छ । आज म के लुगा लगाम् । “ह्या ! के लगाउनु नि, अपिस जाने हो नि, अपिसको लुगा लगाउनु पर्छ नि । तँ पनि !” आफूभित्रको सिन्डेरेलालाई हकार्छे । ह्म.. “तर मेरो राम्रो ड्रेस छ नि, त्यो लगाउन मिल्छ नि अपिस जाँदा । जुत्ता पनि यो खैरो लगाउँछु, यो निलो ढ्याब्रे हेर्दै केटाको जस्तो देखिने कसले घुसारिरहने ! गालामा लाली ? पाउडर घसम् ? हैन आजकाल त मैले आँखामा गाजल र ओठमा लाली बाहेक केहि नचढाउने योजना बनाएको छु नि । मेरो साथीहरूले भन्छन् नि “नाङ्गो छाला” । श्वास लिन दिनु पर्छ नि त मेरो कोमल कोमल छाला लाई ।” फेरि आफैं मस्किन्छे ।
पल्लो ढोका ढक्ढक्याउछे “हेइ एनी, एनी” । एनी आफ्नो मीठो सपना बिगारिदिएकोमा ठुस्किदै बोल्छे, के भयो किन यति बिहान–बिहानै उठाउनु परेको ? आफू कत्ति राम्रो सपना देखिराखेको थेँ । “अरे माफ गर एनी म त भुसुक्कै बिर्सेको तिमी ढिलो पो उठ्छौ नि मंगलबारको दिन त । अब उठिहाल्यौ मेरो कपाल बनाइद्यौन बिन्ति छ, तिमीले आज मेरो कपाल बनाइदियौ भने म तिमीलाई पाँचओटा मालिस सित्तैमा गरिदिन्छु, पक्का । तमु घुसको अफर लिएर बिहान–बिहानै रौसिएको देखेर एनीको हाँसोको फोर्रा छुट्छ, हि..हि..हि.. “हैन तिमीलाई के भएको छ आज ?” तमु मस्किदै बोल्छे, छ नि केहि, बनाइदेउन बिन्ति । “ल ल धेरै बिन्ति गर्नु पर्दैन, बस यहाँ, म बनाइदिन्छु । तमुको लामो कपाल समातेर एनी खुरुखुरु गुच्छा बनाइदिन थाल्छे तमुकै मन पसनको । “ओहो ! कति राम्री देखियो, अनुहारनै परिवर्तन भयो तिम्रो त ।” हेइ भन्न के खोजेको ? म राम्री छैन भनेको ? तमुको पालो अब ठुस्किने ? “मैले त्यस्तो कहाँ भने ? तिमी झनै राम्री देखियौ के ।” तमुको मन पानी परे पछिको खुल्ला आकाशजस्तो हुन्छ । भुर्र पखेटा फिंजाएर माथि सकेसम्म माथि हावामा स्वतन्त्र जीवनको आनन्द लिने चराजस्तो हुन्छ । हाय ! कसैले गुलेलिले नहानिदियोस् ।
आज त कम्पनीले खोला किनारमा लैजाने दिन हो नि, सबैजनालाई घुमाउन । “जाने हैन तमु ? ल आफ्नो झोला लिएर आउ ।” जेनन बोल्छ । ए कस्तो हुस्सु होला म ऊफ् तमु आफैं गुनुगुनाउँदै बोल्छे “मैले त भुलेको थिएँ यार, होस् म जादिन आज, मेरो काम धेरै छ, यहि बसेर सक्याउँछु तिमीहरू जाउ है”, उसले आफ्नो साथीहरू लाई भनिदिन्छे । साथीहरू मुखामुख गर्दै हेर्छन् हैन यस केटीलाई के भएको छ ? अरुबेला चुम्चुम् हुन्थि बाहिर जाने भनेपछि । लौ तेरो जोइच्छा भन्दै लागे एनीहरू ।
तमुले एैना हेर्छे, अलिकति ओठमा लाली थप्छे, गालामा नि रङ् पोतौं कि क्या हो ? नाइ होस्, मैले नपोत्ने निर्णय लिएको थिएँ । म यसै राम्री नै छु होला । अलि उज्यालोतिर फर्किएर फेरि ऐना हेर्छे । अम ! राम्रै छु ।
गोधुली साँझले चियाउन थालिसक्छ, पछ्यौरिबाट सुटुक्कै । आज छिटै घामले पश्चिमतिर सबार गरिबक्सेछ कि के हो । ऊ कतिबेला आउँछ होला है ? छिटै आउला । के उसलाई मसँग भेट्न हतार लागेको छैन र ? अबश्य छ । उसलाई किशन् बायुपङ्खी घोडै चढेर आउँछ जस्तो लाग्छ । चिटिक्क सिगारेको घोडामा मलाई पछाडि बसाएर लैजान्छ किशनले, म उसलाई एकदमै दर्हो पकड्ने छु, मेरो जिउ लपक्क टासेर । हैट्, नाइ अनि उसले घोडाको लगाम छुटायो भनें ? छुटाउँदैन । ऊ त मेरो राजकुमार पो हो त । म त लपक्कै टासिने हो साँच्ची । तमुको गाला आफैं राता हुन्छन्, छि के सोचिबसेको होला म ? फेरी भित्ते घडि हेर्छे तमु । प्रतिक्षा कत्ति पट्यारलाग्दो हुन्छ है बेला–बेला ? फेरि तल झर्छे, ओहो मेरो प्यारो चुवाको फूल, कस्तो प्यारो गरि फुलेको के । यसको परागसेचन कत्ति राम्रोसँग भएको थियो होला है, ओठले फेरि मुस्कान नामको बाण छोडिदिन्छन् । एक झुप्पो चुवाको फूललाई छेवैमा गएर स्पर्श गर्छे । चुवाको बैंश र आफ्नो मदहोशमा लट्ठिएर ऊ फेदमा थचक्क बस्छे अनि डाँठमा लेख्छे, “किशु” । आँखा चिम्म गर्छे अनि बिस्तारै औलाहरूले स्पर्श गर्छे “किशु” ।
निकै बेर पो भैसक्यो । खै त उ आएन त ? अब दोबाटोतिर निस्कन्छे, छटपटि भन्ने तुच्छताको बतासले बतास्याउन थाल्छ । मन बाझ्न थाल्छ । उसलाई देख्ने तीब्र चाहानाले खुट्टाहरू लरखराउन थाल्छन् । जब मान्छेको मन आत्तिन्छ नि तब शरीरको त के र !! केहि चल्दैन । फेरि गर्मि हुन थाल्छ । आफैलाई छाम्छे, “म त कस्तो चिसो पो भएछु ? यो पसिना चै फेरि मैलाई खनिनपर्ने ! तिमी किन यतिबेलासम्म नआएको किशन ? तिमीलाई मजस्तो तड्पन्, छटपटि हुंदैन ?” फतफताउन लाग्छे । उसको बिहानदेखिको टिलिक्क टल्केको मनमा छ्यापछ्याप हिलो छर्किन्छ । “नाइ, यस्तो अधैर्य नबन न तमु शान्त हु तमु शान्त हु”, मनको हिलो मनले नै पखाल्दै एक ठाउँमा उभिन कोशिश गर्छे । हिलोका छिटाहरू अनुहारतिर नि उछिटिन्छन् उसका । कालोनिलो रुप लिइ अनुहारतिर चढ्न लाग्छन् । तिमीसँग त म साँच्चि रिसाउछु आज । बिहानदेखि मेरो चैन हराम गरेर कस्तो नझुल्किएको ?
केहि समय छटपटी र शान्त्वनाले सिगौरि खेलिसकेपछि ऊ देखापर्छ । उस लाई देखेपछि तमुको खहरेकोभेल बगिराखेको मन एक्काशि शान्त समुन्द्रमा परिणत भइसक्छ । हिलो पखाल्न पानी नै किन बग्नुपर्थ्यो र ! हाय ! प्रेम । कति पबित्र हुन्छ यो । जे भनोस् बिज्ञानले, सग्यानले, महाज्ञानले, बुर्जुवाले, शास्त्रले या समाजले प्रेममा हावाको दिशा परिवर्तन गर्ने तागत हुन्छ, आँधि लाई रोक्ने तागत हुन्छ, उर्लेको खहरेलाई यहि प्रेमले शान्त समुन्द्रमा परिणत गरिदिन्छ । यसो भनेर प्रकृतिलाई उल्टाउछ भनेको हैन पाठकहरू तर प्रकृति लगायत यो दुनियाका हर केहिसँग जुध्ने तागत केबल प्रेमसँग हुन्छ, नपत्याए तपाईँ आफ्नो पहिलो ढुकढुकी सम्झिनोस्, आमाको त्यो बात्सल्य र बुवाको दर्हो काँध सम्झिनोस्, प्रेयसीलाई सोच्ने बितिक्कैको त्यो रक्तसञ्चार सम्झिनोस र ऊसँगको स्पर्शले ल्याउने तरङ्ग सम्झिनोस् । संसार कायापलट गर्न सक्छ यो प्रेमले ।
किशुलाई देखेपछि उसकै मादकतमा लट्ठिएकि तमु उसको पछि–पछि लागेर चियाघरतिर लाग्छ । नजर झुक्छन्, बातचित हुन्छन्, काउकुति लाग्छन्, ढुकढुकी बढ्छन्, फेरी चिया पसल्नीले पुलुक्क हेर्छिन् । ढुकढुकी सम्हालिन्छन् । एकैछिनमा छुट्टिने समय आइहाल्छ, “जानुपर्छ अब” । तमु फेरि सर्बाङ्ग चिसो अनुभब गर्छे । उसको मायाको न्यानोपनले किशुलाई कत्तिको तताउँछ कुन्नि तर ऊ आफैं चिसो हुन थाल्छे किनकि तमु लाई किशनसग नै बसिरहु भा छ, आज ऊसँग टाढा धेरै टाढा जाँउला छ, छुट्टिएर बाटो नलागुँ, संगै बसेर कि यहि तातो चिया खाइरहुँ, कि सँगै जाँउ । तमुको धैर्यताको बाँध आज बिलकुल टुटेको छ । अब छुट्टिएर आफ्नो बाटो लाग्न लाग्दा अजङ्गको भिरबाट तमु धकेलिन लागेको हो जस्तो लाग्छ । ‘म भिरबाट धकेलिदै छु किशन्, मलाई तिमीसगै बस्न देउ न । हामी सँगै जाम न जहाँ गएनी’ । तमुलाई चिच्याउन मन लाग्छ । किशनसँग अनुनय बिनय गर्न मन लाग्छ तर रोकेको छ, छेकेको छ, काडेतारहरूले, सधैँ झैँ तमुले मुख खोल्न सक्दिन । तमुले थाहा पाउँछे उसले मुख खोल्न किमार्थ सक्नेछैन । किशन र तमु आफ्नो–आफ्नो बाटो लाग्छन् । तमुले फर्केर किशनको चेक टि शर्ट पछ्याउँछे, किशनको आँखा पनि तमुलाई नै पछ्याइरहेको हुन्छ मणि छुटे झैं ।
फेरि फर्केर हेर्छे, किशनले उसको कोहि साथी (शायद) भेटेको छ, नजिकै हाँस्दै केहि बोलिरहेका हुन्छन्, छोटो कपाल भएकि डल्ली–डल्ली छाति ढकमक्क फुलेकि ! को होला त्यो ? ऊ किन त्यसै हाँस्दै हिडिरा होला ? उसको प्रेमिका त हुनै सक्दिन । उसको जीवनमा उसको के महत्व छ ? किशन् अनि म तिम्रो जीवनमा हैन किशन तिम्रो मन मुटुमा कहाँनेर छु ? तिम्रो जीवनमा हैन फेरि, के छ र जीवनको त भरै छैन, कैयौ परिस्थिति र परिबेशको नोकर मात्र हो जीवन त । तिम्रो मनमा म कुन स्थानमा छु किशन ? अनि उ कुन स्थानमा छे ? जो तिमीसँग हिडिरहेकि छ ? तिमीलाई किन चराले चारो टिपेजस्तो टपक्क टिपिहाली म दोबाटोबाट छुट्टिनासाथ ? किन देखीहाली चारोजस्तो । तिमी त मेरो बायुपंखीवाला पो हौ त । भत्भत पोल्न थाल्छ तमुको मन, अनि कसैले सिस्नोपानी लगायो तमुको शरीरभरि, हो त्यहि छोटो कपाल भएकी डल्लीले । बेला न कुबेला किन सिस्नो पानी लगाउँछे मलाई यसले ? किशन् तिमी मेरो सर्बाङ्ग, श्वास, धड्कन, चाल, ताल, सर्बश्व, सर्बहारा बनि छाउँछौ । के तिमीपनि हृदयको कुनाबाट मलाई ओल्टाइपल्टाइ हेर्छौ ? के तिमीपनि मलाई कल्पनाको उडानबाट उडाएर ल्याएर च्याप्प अङ्गालो हाल्छौ ? मलाईजस्तै शान्ति मिल्छ तिमीलाई मलाई सट्याकसुटुक्क चोरेर मनबाट फुत्त निकालि राज गर्दा ? अनि, अनि किशन तिमीपनि आफ्नो मन, आत्मा, मस्तिष्क, हरेक हंश, अंश के के हुन्छ सबैतिर प्रेम नामक मन्दिरमा प्रबेश गरिसकेपछि स्वर्गद्वारको बाटोमा फेरि आफ्ना अङ्गहरू स्पर्श गर्दै असिनपसिन हँुदै सन्तुष्टिको श्वास मेरै नामबाट फेर्छौ ? तमुलाई श्वाश लिन कठीन हुन्छ । दमको बिमार आजै सुरु हुने भो ।
श्वासै बन्दहोलाजस्तो भएपछि, सिस्नो र पानीले असाध्यै पोलेपछि, चौतारामा गएर तमु बेपर्बाह फ्यात्त फालिदिन्छे आफुलाई, भुइमा । चियाको कपलाई कच्याक्क कुचुक् पार्छे, ध्वारध्वार च्यात्न थाल्छे, बाँकिरहेको चिसो चिया उसको लुगाभरि बगिदिन्छ । उसको अगाडि उसले आफ्नो उहि सधैंको फुङ्ङ रङ उडेको, चाखै नभएको बाटो देख्छे, सबैकुरा अर्थहिन लाग्छ्न् उसलाई, सबै नपुंशक, सबै कालोमैलो, सबै खोक्रो जिन्दगी ।
हँ ? उ ? आएको ? अकस्मात ठिङ्ङ उभिएको सिङ्गारिएको घोडामा किशन देख्छे । वाहा ! किशन, तिमी आयौ ? रातो र हरियो रङले घोडा सिगारेको । मलाई थाहा छ त्यसको अर्थ अवश्य थाहा छ, रातो रङ मायाको अनि हरियो स्विकारोक्तिको । किशन, तमु अत्तालिदै, आत्तिदै, मात्तिदै (प्रेमिल किशनको दृश्यले) भन्न थाल्छे म तिमीलाई कहिल्यै भन्न सक्दिन म तिमीलाई कति चाहान्छु, कति प्रेम गर्छु भनेर, म च्युत भइसकेको छु आफ्नो यो जीवन भनाउँदोदेखि, तिमी मेरो आरामस्थल हो, मलाई तिमीसितमात्र आराम हुन्छ । एकदमै जोडले चिच्याउँछे, “किशन् मेरो संसार एकदम कहालीलाग्दो छ । तिमी किन मलाई छोडेर जान्छौ हरेक दिन ? किन मसँग छुट्टिन्छौ । तिमी मेरो क्यानभासमा रङ्ग बनेर लतपतिइसक्यौ । लतपतिएरै तस्बिर बनाइसक्यौं । अब म यो तस्बिर च्यात्न सक्दिन, मेरो आत्माले तिमीबिना शान्ति नै पाउँदैन, भनन म कसरी यो मुटु फुटाएर फेरुम ? यो तिम्रो प्रतिबिम्ब म कसरि मेटौं ? भनन तिमी पनि मलाई चाहन्छौं । म मेरो मुख खोल्न सक्दिन, आउ न बिन्ति मलाई अङ्गाल । मलाई कसन तिम्रो अंगालोमा । मलाई तिमीसँग बाच्नुछ । म लाई नमार न । हेर यो कपाल तिम्रो लागि बनाएको थिएँ । देख्यौ के किशन ? देख्यौ के तिम्ले ? हेर न यो लुगा तिम्रो लागि फेरेको थिएँ, लुगा भित्र मेरो मुटु छ किशन, त्यसको ढुकढुकि सुन्न आउ तिम्रो लागि कति धड्किन्छ । यो ओठको लालि तिम्रो, यो आँखाको गाजल तिम्रो, मेरो अङ्ग, मेरो रुप मेरो केहि छ भने, मेरो अस्तित्व छ भने सबै तिम्रो मात्र हो ।” म तिम्रो झोलि खुसी खुसीले भरिदिन चाहान्छु । म तिम्रो प्रेमको पुजारी हुँ । तमु आफ्नो प्रेम ओकलिरहन्छे । जति–जति त्यो डल्लो, छोटो कपालको आकृति उसको आँखामा आउँछ, बिझाइरहन्छ, घोचिरहन्छ, पोलिरहन्छ भतभत् । उसले आज पूरा ढोका उगारिदिएकि छ, मनै उदाङ्गो पारिदिएकि छ । किशुको अगाडि, बरपिपलको फेदमै । तमुलाई हल्का हुन्छ । उसले मन जथाभाबि छताछुल्ल पोखिदिएकि छ । करोडौं भाबनाले थिचिएका दिनहरू बिताएकि थिइ । आजसम्म रैछ गुम्सिनुको मिति । चङ्गा भइ उड्छ उसको मन । तमुको अगाडि घोर अचम्म हुन्छ, अघिको घोडा र किशन त बिन्दुजस्तो भइ आँखै अगाडि बिलाएर पो जान्छन्, बरफको ढिक्का पग्लिएसरि ।
एकैछिनमा चौतारोमा एकहुल मानिसहरूले घेरिन्छे तमु । बिहानीको चिटिक्क कपाल भुत्लिएछ, लुगापनि धरधर्ती च्यातिछे, चियाइरहेकाछन् शरिरको छोपिनुपर्ने भागहरूपनि उफ् । सुनिन्छ “कठै ! यति स्यानै उमेरमा के पीर पर्यो होला यी नानी लाई ?” फेरि अर्को आवाज सुनिन्छ, “मान्छे त सार्है धपक्कै बलेको चन्द्रमा नि, कुन दशाले यसरि बौलाहा बनाएको होला ?” लौन ! कसैले अस्पताल पो लगिदिने हो कि, आजकाल त यस्तोको ओखति पो हुन्छ भन्छन् ।” भगवान् मानि पानी चढाउथिन् तमुको आमा, यहि बरपिपलुमा । कैयौं पटक तमुपनि आमाको पछि लागेर पानी चढाएकी हुँदिहुन् । कठै आज ढाकिदिन सकेन लाज तमुको ? न सम्हाल्नै सक्यो चाहाना र प्रेमको भार लाई ।
एकहुल जन्तिजस्तो मानिसहरू आफूमाथि चुकचुकाएको सुन्छे तमु । म भुवा भइरहेछु हलुका । यिनीहरू लाई मेरो वजन सबै गएछ कि कसो, बहुत भारि मन पोतेकाछन् थोपडाभरि ।