काँग्रेसको हार र सुद्धिकरणका सवालहरू

-- होमप्रसाद लम्साल, नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, माघ १, २०७४

गणतन्त्रको संस्थागत विकासका लागि प्रस्थान विन्दु मानिएको संविधान जारी भएपछिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका परिणाम हेर्दा काँग्रेसले निकै ठूलो क्षति व्यहोरेको छ । चित्त बुझाउन दुई वाम एक हुँदा भन्ने गरिन्छ तर पनि काँग्रेसले धेरै कुराहरूमा आफ्नो अडान राख्न नसक्दा यस्तो हुन पुगेको हो । चाहे नाकाबन्दी हुँदा होस वा महाभियोग लगाउँदा काँग्रेसले जनतालाई जवाफ दिन सकेन । कारण काँग्रेसले माओवादीले भन्दा कम प्रत्यक्ष निर्वाचन जित्यो । लामो समय नेपाली राजनीतिमा प्रमुख भूमिका खेलेको पार्टी नेपाली काँग्रेसको यो हारले संरचनागत र पार्टी व्यवस्थापनमा व्यापक सुधार गर्न जरुरी औल्याएको छ । निकै कठिन अवस्थामा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन गराउने वर्तमान सरकारको नेतृत्व त्यस मानेमा सफल भईसकेको छ । त्यसैले काँग्रेसले फेरी एकपटक आँफू हारेर देश जिताएको छ । तर, पार्टी सभापति भएका हिसावले पार्टीको हारको जिम्मेवारी लिने र आगामी दिनमा त्यसको समीक्षा गर्दै सुधारको आरम्भ शुरु गर्नुपर्ने देखिन्छ ।

नेपालको हरेक राजनीतिक संक्रमणको साक्षी बस्दै त्यसको समाधानको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाली काँग्रेसले सरकारको नेतृत्व गरेर देशको सविधान कार्यन्वयनको प्रबेशद्धारलाई सफल बनाएको छ । जसरी काँग्रेसको नेतृत्वमा सविधान जारी भएको थियो, त्यसैगरी संविधान कार्यन्वयनको प्रवेशद्धार मानिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भयो । पार्टी हारजित स्वाभाविक हो यहि निर्धारित समयमा निर्वाचन नहुँदा देश हार्ने थियो त्यो हुन पाएन । स्थानीय निर्वाचनदेखि नै नतिजा गुमाउँदै लगेको काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा जसरी अप्रत्यासित हार व्यहोर्नु पऱ्यो त्यसका केही कारणहरू पक्का छन् । पहिलो र मुख्य कारण नेपालको राजनीतिमा रहेको मुख्य तीन शक्ति काँग्रेस, एमाले र माओवादीमध्ये दुई शक्ति एकातिर हुँदा अर्को पक्ष निकै कमजोर हुन्छ नै । जुनसुकै स्तरको चुनावमा पनि मुख्य प्रतिष्प्रर्धा हुने यी तीनमध्ये नै हुन । मुख्य प्रतिष्प्रर्धी काँग्रेस र एमाले हुन भने तेश्रो शक्ति माओवादी नै हो । यी तीन शक्तिमध्ये एमाले र माओवादीबीच पार्टी एकिकरण गर्नेसम्मको तयारीसहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आकस्मिक मिलेमतोले परिणाममा निकै बदलाव देखियो । हुन सक्छ यो मिलाई कुनै विन्दुसम्मका लागि मात्र हो । तीन शक्तिमध्ये कुनै दुई शक्ति मिल्दा यस्तो परिणाम आउनु एक हिसावले नौलो पनि थिएन । निर्वाचनको परिणाम आएका सबैजसो स्थानमा प्रतिद्धन्द्धी नेपाली काँग्रेस नै देखिएको छ । हार्दाको मतान्तर पनि निकै कम रहेका छन् । अर्कोतर्फ तराईमा उम्रेका केहि दल जसले दुई वाम एक ठाउँमा हुँदा पनि लोकतन्त्रवादी शक्तिलाई सहयोग गरेनन् र आ–आँफै लड्दा उनीहरूले आफ्नो बलियोपना गुमाएका छन् ।

काँग्रेस र माओवादी सरकार होस् वा माओवादी र काँग्रेस सरकार होस केहि निर्णयका कारण जनमत रमाएको थिएन । जुन निर्णयमा जनमत खुसी भएन, त्यस्ता निर्णय गर्दा काँग्रेसको संलग्नता थियो वा दोषमात्र लगाईयो त्यो भविष्यले बताउला तर त्यसैको असर निर्वाचनमा पऱ्यो । काँग्रेसले दोष लागेका कुरामा आफ्नो प्रष्टिकरण जनतासम्म लैजान सकेन अन्तत: परिणाम उल्टो आयो । केहि हदसम्म मतपरिणाम हेर्दा समानुपातिकमा आएको मतले काँग्रेसलाई राहत दिएको हो ।

काँग्रेसले जनताबीच प्रष्ट पार्न नसकेको मूल विषय भारतीय नाकाबन्दी । त्यस विषयमा भारतीय पक्षले नेपालमा नाकाबन्दी लगाउँदा नेपाली काँग्रेस कुटनीतिक समाधान निकाल्न चाहान्थ्यो । किनकी संसारमा एक देश र अर्को देशबीचको समस्या समाधान गर्ने कुटनीतिक पहलबाटै हो । तर एमाले अध्यक्ष केपी ओलीले नाकाबन्दी नै काँग्रेसले लगाए जस्तो गरी त्यसको दोष काँग्रेसको टाउकोमा थुपारे । ओलीले नक्कली राष्ट्रवादको शैली अपनाएर काँग्रेस गैरराष्ट्रवादी बनाउने प्रपोगाण्डा जनताका माझ विकाउ बनाउन पुगे । काँग्रेसले त्यसलाई कुटनीतिक समाधानका लागि गरेको प्रयास जनता सामु लैजान सकेन । कम्यूनिष्टहरू प्रपोगण्डा गर्न सिपालु हुन्छन् र त्यसमा पनि एमाले अध्यक्ष ओलीको एकोहोरो रटानका सामु आन्तरिक रुपमा मन नमिलेको काँग्रेसले त्यसको उत्तर जनतालाई बुझाउन सकेन । फलत: स्थानीय निर्वाचनमा ओरालो लागेको काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा थप क्षति व्यहोर्नु पऱ्यो ।

त्यसैगरी प्रहरी आईजिपी परिवर्तन प्रकरणमा काँग्रेस नराम्ररी मुछियो । पार्टी सभापतिको नाम संलग्नता हो वा नियोजित रुपमा मुछियो त्यसले काँग्रेसको राजनीतिमा निकै ठुलो असर पाऱ्यो । आईजीपि फेर्ने कुरा सदैव राजनीतिक नेतृत्वबाट प्रभावकै आधारमा हुँदै आएका हुन् । त्यो कुनै नौलो कुरा थिएन, तर यस विषय निकै ठुलो बनाईयो । काँग्रेसले त्यस विषयमा जनतालाई चित्त बुझ्दो जवाफ दिन सकेन ।

अर्को महत्वपूर्ण विषय नेपाली काँग्रेसद्धारा तत्कालिन प्रधानन्यायधिश सुशिला कार्कीलाई महाअभियोग लगाउने प्रयासको दोषारोपण । त्यो घटना वास्तविक थियो वा प्रपोगाण्डा त्यस विषयले काँग्रेसको लोकतान्त्रिक छवीलाई अर्को असर गऱ्यो । राजनीतिक रुपमा त्यो कदम कस्तो थियो भन्दा पनि जनताले नबुझ्ने गरी महाअभियोग दर्ता भयो की काँग्रेसका नेताहरूले नै त्यसको पक्षमा जनमत बनाउन सकेनन् । फलत: न्याय क्षेत्रमा काँग्रेसका लागि चोट पर्न गयो ।

काँग्रेसको संगठन निर्माणमा केहि कमी आए पनि उसले अंगिकार गरेको लोकतान्त्रिक छवीका कारण पनि लोकतन्त्रवादीका लागि छहारी बनेको थियो । काँग्रेसले चुनावी नतिजा आफ्नो पक्षमा पार्नको लागि भन्दै १७ हजार मानिसको हत्या आरोपित माओवादीसंग स्थानीय चुनावमा गरेको तालमेल अर्को मुख्य कारण बन्न पुग्यो । काँग्रेसले आफ्नो महत्वपूर्ण र पार्टीको आधारभूमि मानिएको चितवनमा प्रचण्डको छोरी जिताउन जुन हर्कत गऱ्यो त्यसबाट पार्टीको आधारभूमि गुम्दै गयो । जसरी काँग्रेसले निर्वाचन जित्न अरुको साहारा लिन थाल्यो, त्यसपछि लोकतन्त्र पक्षधरहरू चिन्तित हुँदै गएर रुपमा कम्यूनिष्ट, सारमा लोकतान्त्रिक धार समातेको एमालेमा समाहित हुँदै गए ।

महत्वपूर्ण अर्काे हारको कारण पार्टीले तय गर्ने निर्वाचनको एजेण्डा जनतासामु बेलैमा पुग्न सकेन । कतिपय जनताले उठाएका प्रश्नहरू पार्टी नेतृत्वबाट जवाफ पाएनन वा जनताको चाहाना बमोजिम पुगेन । काँग्रेस सरकारमा हुँदा उसले गरेका राम्रा कामहरू जनतामाझ पुऱ्याउन सकेनन् । राज्यको ढुकुटी दोहोन गरेर गरिएका पपुलिष्ट कामको आधारमा जनतालाई झुक्याउने काम भयो ।

परिस्थितिजन्य अवस्थाको मुल्यांकन गर्दै टिकट वितरण हुनु जरुरी थियो तर चुनावमा हारका लागि अर्को पक्ष परम्परागत ढंगबाट टिकट वितरण हुनु हो । परिवर्तित सन्र्दभमा पार्टीले लोकतान्त्रिक विधिबाट टिकट वितरण गर्ने प्रणालीको विकास आजको आवश्यकता भैसकेको छ । पार्टीभित्रै आन्तरिक प्राईमरी प्रतिष्पर्धा गराई युवा तथा पढेलेखेका दोश्रो पुस्ताका उम्मेदवारलाई बढी भन्दा बढी स्थान दिनु जरुरी छ । पाकालाई सम्मान गर्दै युवालाई स्थान दिएमात्रै अबको राजनीतिक यात्रा सफल हुन सक्दछ ।

निर्वाचनमा हार जीत सत्य कुरा हुन । जसले जिते वा हारे पनि जय/पराजयलाई स्वाभाविक रूपमा आत्मसाथ गरे मात्र लोकतन्त्रको भविष्य एकप्रकारले सुरक्षित हुनेछ । तर विजयको उन्माद र अहंकारले भोलिको दिन अनुमान गर्न सकिन्छ । एकातिर राजनीतिमा डनहरूको उत्साहजनक उपस्थिति र धन भएकाहरूको प्राथमिकताले त्याग, तपस्या, बलिदान र निरन्तरतालाई पाखा लगाएका छन् भने अर्कोतिर लोकतान्त्रिक संस्कृति र यसका सीमामाथि निर्मम प्रहार हुन थालेका छन । यसले लोकतन्त्रलाई संस्थागत गर्दैन । यहि बेला अब बन्ने ओली सरकारले सर्वोच्च अदालतको आदेशमा जेल बसेका बालकृष्ण ढुंगेलहरू रिहाई नहोस् । गणतन्त्रको जगबाट निर्वाचित प्रदेशको संरचनालाई सविधान कार्यान्वयनको प्रमुख आधार बनाईयोस् । जसले गणतन्त्रको सस्थागत विकासमा मद्दत पुग्नेछ ।

निर्वाचन प्रचारका क्रममा देखिएका उन्मादी अभिव्यक्ति र फोहोरी चरित्रको जीत भएको छ । त्यस्ता कुराले अचारको जस्तो स्वाद दिए पनि वास्तविकतामा फरक पार्नेछ । यसपटकको निर्वाचनमा काँग्रेसको एकपछि अर्का गल्ति दोहोरिनु र वामले गरेको भ्रम सिर्जना नै मुख्य परिणाम आएको मान्न सकिन्छ । उदाहरणका रूपमा बिपी कोइराला अहिलेसम्म बाँचिरहेका भए नेकपा एमालेमा प्रवेश गर्थे भन्ने जस्तो गैरजिम्मेवार र गैरराजनीतिक अभिव्यक्ति फोहोरी चिन्तनको उपज मात्रै हो । बिपी नेपाली लोकतन्त्र र समाजवादका पिताका साथै राष्ट्र र राष्ट्रियताबारे नेपालका प्रथम मानव पनि हुन् । पृथ्वीनारायण शाहपछि यदि कसैले राष्ट्रका विषयमा स्पष्ट परिभाषा गरेको छ भने त्यो बिपीले नै गरेका छन् । नेपाली कांग्रेसले बिपी कोइरालाकै चिन्तनका आधारमा प्रजातान्त्रिक समाजवाद अवलम्बन गरेको छ । केहि हदसम्म नेपाली कांग्रेसले बिपी चिन्तनको बाटो भुल्दै गएको कारण पनि यस्ता परिणामको भागेदार भएको हो । कमल थापा र प्रचण्डहरू वीपीको बखान गर्दै गर्दा काँग्रेसमा यी बुढा मान्छे को हुन ? भन्नेहरूको जमातले काँग्रेसलाई थिच्दै गएको छ । त्यसैले पनि पार्टीले आफ्नो लोकतान्त्रिक समाजवादी छवीको प्रष्ट दिशा निर्देशसहित धारणा जनताको माझ लैजान सक्नु पर्दछ ।

वाम गठबन्धनले निर्वाचन अगावै गरेको दावेदारी अनुसार नै जनमत आएको छ । के उनीहरूले भने जस्तै आगामी पचास वर्षसम्म नेपाली जनतामाथि राज गर्ने उद्घोष कति लोकतान्त्रिक हुन्छ ? सबैले चासो प्रकट गर्नुपर्ने बेला आएको छ । यस्ता भनाई र वाम एकिकरण नेपाली लोकतन्त्रमाथि कालो छायाँ हुन । चाँडै बन्ने वाम सरकारले के के गदै जाला हेर्न बाँकी छ तर पनि चुनाव हार्नु भन्दा पनि वाम गठबन्धन यदि अधिनायकवादी भयो भने काँग्रेसको प्रतिपक्षी भूमिका अझै महत्वपूर्ण हुनेछ । काँग्रेसमा पछिल्ला दिनमा आएका केही विकृति र अस्तव्यस्ततालाई संगठन सुधार गर्न सकेमा अझै पाँच बर्ष जनताका मन जित्ने र संगठन सुधार्ने समय बनोस् । जनता जनार्दन हुन उनीहरूले नेतृत्व सुधार गर्ने भनेकै मतदानबाट हो । त्यसैले नेपाली जनताले काँग्रेसलाई वाम गठबन्धनलाई वाच डगको रुपमा खबरदारी गर्ने जिम्मेवादरी दिएको छ । संगठनमा व्यापक सुधार गर्दै शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु नै काँग्रेसका लागि अबको मूल कार्यभार हो ।