डिजिटल जेब्रक्रसिङ्ग मे अंक २०१८

विदेशमा जन्मेका या हुर्कदै गरेका बाबु–नानीहरू लाई हाम्रा रिति रिवाज संस्कार सिकाउन अभिभाबकले के कस्ता भूमिका खेल्न सक्छन ?
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, बैशाख २९, २०७५

हजारौं किलोमिटर टाढा कर्मभूमिमा रम्न प्रयासरत हामी हर बखत मन मस्तिष्क र मुटुमा देश र जन्मभूमि बोकेर हिडेको हुन्छौं । राजनीतिक घटना होस् या चाहे चाड–बाड वा प्रकृति आपत–बिपद प्रत्येक सुख–दु:खका घटना र परिबर्तनमा देश बाहिरका नेपालीहरू कुनै न कुनै रुपमा जोडिएका हुन्छन् । विदेशको बसाइ लामो छोटो जे होस् हाम्रो भावनात्मक रुपमा हामीहरू सबै कुनै न कुनै तरिकाले जन्मभूमि संग आबद्द छौं, यसो भन्दै गर्दा कर्मभूमिका हर कुराहरूले पनि हामीलाई पछ्याई रहेका हुन्छौं अझ भनौं यहाँका धेरै कुराहरूमा समेत हामी आफ्नो बिबेक प्रयोग गर्छौ, यहाँका विविध राजनीतिक र सामाजिक घटना संग पनि हामी न जोडिने कुरै भएन । यसै क्रममा आहिले यतै हुर्केका नयाँ पुस्ता या आफ्ना नानी बाबुहरूलाई यताको बाताबरणमा अभ्यस्त बनाउँदै कसरी नेपाल र नेपालीपनसँग पनि नजिक गराउने भन्ने कुरा अभिभाबकहरू का लागि चुनौतीको बिषय हो । यसै सन्दर्भमा ‘द नेपाली टाईम्स अष्ट्रेलिया’को नियमित स्तम्भ डिजिटलजेब्रा क्रसिङ्ग मे २०१८ अंकको लागि “यतै जन्मेका या हुर्कदै गरेका बाबु–नानीहरू लाई हाम्रा रिति रिवाज संस्कार सिकाउन अभिभाबकले के कस्ता भूमिका खेल्न सक्छन ?” भनि हाम्रा पाठक समक्ष सोधेका थियौं प्रस्तुत छ पाठकको विचार !

ससा रेग्मी, सिड्नी

यतै जन्मे हुर्केका नानीहरूलाई हाम्रा भाषा संस्कृति र चालचलन सिकाउनु भनेको यति बेला सबै अभिभाबकहरू का लागि एकदमै गार्हो कुरा हो । सबै भन्दा अप्ठ्यारो कुरा भनेको एकै साथ उनीहरू लाई दुई भाषामा दक्ष बनाउनु पनि हो । यसो भन्दै गर्दा अभिभाबकहरू ले नेपाली भाषा र संस्कृति सानैदेखि सिकाउँदै लग्दा पछिलाई सहज हुने गर्दछ । यसका लागि घरमा नेपाली भाषामा कुरा गर्ने, नेपाली समुदायमा हुने विविध कार्यक्रममा सहभागी गराउने र अन्य उस्तै उमेरका बाबु नानीहरू संग चिनजान गर्ने खेल्ने मौका दिने, सम्बभ भएसम्म नेपाल आउजाउ गरिरहने, फोनबाट नै भए पनि नेपालका आफन्त हजुरबुवा हजुरआमाहरू संग गफ गर्न लागाई रहने । आफ्नो नाता गोता को को हुन् के नाता पर्छ उनीहरूलाई फोटो देखाएर भए पनि सम्झाइ रहने, घरमा कुनै एक समय केहि प्रार्थना गर्न सिकाउने जसले गर्दा नियम पालना गर्ने बानि बस्छ । यसरी गीत संगीत नेपाली चलचित्रबाट भाषा संस्कृति र हामीमा भएको भिन्न र विशिष्ट चाल चलनहरू को बारेमा घर भित्र छलफलको बिषय बनाउन सके उनीहरू लाई नेपाल र नेपाली संस्कृति प्रति उत्साह जगाउन सकिन्छ जस्तो लाग्छ ।

कल्पना बस्नेत मेलबर्न

यो भनेको अभिभाबकको लागि निरन्तर प्रकृया पनि हो त्यसैले यो छोटो शब्दमा व्यक्त गर्न निक्कै नै गार्हो हुने भएता पनि मेरो विचारमा मौका मिल्ना साथ नेपाली चालचलन चाडपर्वका बारेमा कुरा गर्ने आँफू सानो हुँदा ती कसरी मनाइन्थ्यो त्यो बाल स्मृति मै कुरा गर्दा बाबुनानीहरूलाई अझ चाख लाग्दो हुन्छ । संधै घरमा कुराकानीको आफ्नै मातृभाषामा गर्ने, सकेसम्म एक बर्ष बिराएर केटा केटी सहित नेपाल जाने आउने गर्ने जसले गर्दा उनीहरू ले आफ्नै आँखाले देख्ने र अनुभव गर्न पाउँछन् नाता गोताहरू को बारेमा थाहा हुन्छ पछि यता फर्के पछि पनि फलानो मान्छे भनेर भन्दा उनीहरू लाई कुरा गर्न सहज हुन्छ । त्यै नै समुदायमा हुने कार्यक्रमहरूमा सकेसम्म बाबुनानी लिएर नै जाने जसले गर्दा उनीहरू ले कम्तीमा धेरै कुराहरू सिक्न पाउछन आफ्नै उमेरका साथीहरू चिन्छन हामी नेपाली हौ भन्ने कुरा उनीहरू मा पर्नेछ ।

 

सिमा सुब्बा, सिड्नी

मेरो बिचरमा आफु जहाँ भए पनि आफ्ना छोरा छोरीहरू लाई आफ्नो संस्कार रिति रिवाज सिकाउन बिर्सनु हुँदैन । नानीहरूको पहिलो पाठशाला भनेको नै आफ्नो घर अनि बाबुआमा हुन् । उनीहरूले पाउने पहिलो शिक्षा आमाबाट पाउँछन् । आमा बाबुको ठुलो भूमिका रहने गर्दछ यसमा घरमा हँुदा बाबु आमाले नै नानी बाबुहरूलाई आफ्नो भाषा जुन बोलीचालीमा प्रयोग गरिन्छ बोल्नु पर्छ त्यो पनि एउटा बाबु आमाले दिने संस्कार हो नानीहरूलाई त्यसका साथै नानीहरूलाई बढी भन्दा बढी आफ्नो समुदायमा चिनजान गराउने समुदायका कार्यक्रमहरू मा सकेसम्म सहभागी गराउने गर्नु पर्दछ । यसरी विविध कुराहरूमा बाबु आमा उनीहरूको लागि रोल मोडेल बन्न सके त्यो संस्कार भोलिका दिनमा उनीहरू मा मात्र सिमित नभई उनीहरूले पनि अर्को पुस्तालाई हस्तान्तरण गर्न सकुन ।

 

 

कमला सापकोटा सिड्नी

सर्बप्रथम त बच्चालाई नेपाली सिकाउनु जरुरी छ किनकि उनीहरूले हामीले भन्न खोजेको कुराहरू प्रष्ट रुपमा बुझुन् । यसको लागि घरमा नेपाली भाषाको प्रयोग अनिबार्य गरिनु पर्छ । बच्चाहरूलाई हजुरबुवा हजुरआमाहरू संग रेगुलर कुराकानी तथा भेटघाटको चाँजोपाँजो मिलाउने । सम्भव भएसम्म प्रत्येक १/२ बर्षमा नेपाल जाने र नेपालमा हुने बिभिन्न कार्यक्रम जस्तै बिबाह ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रमहरूमा आँफूसहित सहभागी गराउने । यो संगसगै छोटो समयलाई भएपनि नेपालबाट आफ्नो बुवा आमालाई बोलाएर उनीहरूलाई संगै समय बिताउने माहोल बनाउँदा झनै प्रभावकारी हुन्छ भन्ने मेरो बुझाइ छ । यसरी नै यहाँ संचालन भईरहेका विभिन्न नेपाली पाठशाला तथा नृत्यको क्लासमा उनीहरूलाई सहभागी गराउँदा अरु नेपाली अभिभावक तथा बच्चाहरू संग घुलमिल हुनुको साथसाथै भाषा तथा संस्कृति सिक्न थप मद्दत पुग्दछ । हाम्रा मौलिक चाडहरू सम्भव भएसम्म परिवारका साथ मनाउने तथा यहाँ आयोजना हुने मौलिक नेपाली कला संस्कृति झल्काउने कार्यक्रमहरूमा बच्चाहरूलाई सहभागी गराउँदा उनीहरूलाई बुझाउन अझै सजिलो हुने मेरो अनुभव छ ।

रिता खरेल भण्डारी

आफ्नो संस्कृतिका बारेमा, भाषा र रहन सहनका बारेमा बच्चाहरू संग संधै कुरा गर्ने । कति कुराहरू मा एकोहोरो आफुले भन्नु भन्दा पनि उनिहरू को मनमा नेपालप्रति कस्तो खालको छाप रहेछ बुझ्ने उनीहरूलाई सुन्ने । उनीहरू को सकारात्मक टिप्पणीलाई प्रोत्साहन गर्न केहि नकारात्मक कुरा रहेछन भने कारण सहित उनीहरूलाई बुझाउने । यसरी नै नेपाली संस्कृति झल्कने कार्यक्रमहरूमा धेरै भन्दा धेरै सहभागी गराउने, अझ विविध कार्यक्रमहरू जस्तै बिबाह, भोज, पास्नी, बर्थडे जस्ता प्रोग्राममा सहभागी हुँदा आफ्ना बच्चाहरूलाई सानो भए पनि नाच, गान वा त्यस्तै खालको कार्यक्रममा सहभागी हुनका लागि प्रेरति गरि राख्ने । त्यो बाहेक घरको भाषा नेपाली नै हो भन्ने नियम जस्तै बनाउने । कतै पाहुना भएर जाँदा या घरमा गेष्ट आउँदा बच्चाहरू लाई कुरा कानीमा इन्भल्ब गराउने । कम्तिमा पनि भेटघाट हुँदा नेपाली तरिकाले अंकल, अण्टि, ठुलोबुवा, ठुलोआमा यस्तै नाताको बारे बुझाउँदै उनिहरू लाई हाम्रा यस्ता चलनका बारेमा जानकारी गराउने । नेपाली खान खुवाउने, बनाउन सिकाउने गर्दा केही हदसम्म भएपनि हामीले उनीहरू लाई नेपालप्रतिको स्नेह र आफ्नोपन कायम राख्न सक्छौ कि जस्तो लाग्छ मलाई ।