मोदीको तीर्थाटन: एक बहस

-- बिश्वामित्र खनाल, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, असार ३, २०७५

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न तेश्रो नेपाल भ्रमण नेपाली जनता र नेपालको राजनीतिमा मात्र नभइ भारतको जनता तथा भारतीय राजनीतिक वृत्तमा समेत निकै चर्चा र चासोको विषय बनेको थियो । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण को तीर्थाटन मात्र थियो ? यसको भित्री र बाहिरी उद्देश्य के हुन्, यो भ्रमण कति सफल वा असफल रह्यो, यो भ्रमणले नेपाल–भारतबीचको बिग्रिएको सम्बन्धलाई सुधार्न कति सफल रह्यो ? यस्ता वहसका पाटाहरूलाई यस भ्रमणले छाडेकोछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो भ्रमणलाई नकारात्मक रुपमा मूल्यांकन गर्नेहरूले नेपाल–भारत बीच रहेको दुरी तथा असमझदारीको विन्दुलाई घटाउन नसक्नुका साथै पूर्णरुपमा असफल रहेको वताएका छन् । यसैगरि, अर्कोतर्फ मोदीको यस भ्रमणले नेपाल–भारतबीचका असमझदारीलाई पूर्ण रुपमा हटाउन यो भ्रमण सफल रहेको दावि गर्नेहरू पनि छन् । तर, मोदी भ्रमणको भित्री कारण आशय अहिले पनि शंसयमा नै छ । बाहिरी कारणहरू मात्र सतहमा देखा परेका छन् । तीर्थाटनको रुपमा नेपालको तराई (जानकी मन्दिर), पहाड (पशुपतिनाथ) तथा हिमाली (मुक्तिनाथ) क्षेत्रमा एकै साथ अप्रत्यासित रूपमा भएको मोदीको यो भ्रमणको मुख्य उद्देश्य नेपाल–भारत सम्बन्धलाई कोर्स–करेक्सन गर्दै सुमधुर र हार्दिकतापूर्ण बनाउनको लागि हो कि वा अन्य उद्देश्यका लागि हो भन्ने निष्कर्ष निकाल्न भ्रमणको समय, परिस्थिति, भ्रमणका घटनाक्रमहरू, मोदीका अभिव्यक्ति र व्यवहारहरूको विश्लेषण गर्नु पर्ने हुन्छ ।

सन् २०१९ मा भारतमा आमनिर्वाचन हुँदैछ । यो निर्वाचनमा भारतीय जनता पार्टीको विरुद्ध सम्पूर्ण राजनीतिक दल र गुटहरूले एउटै मोर्चा खडा गरेकाछन् । यो परिस्थिति भारतीय जनता पार्टीको लागि निकै चुनौतिपूर्ण छ । मोदीले नेतृत्व गरेको भारतीय जनता पार्टीले हिन्दु धर्मलाई राजनीतिक अस्त्रको रुपमा प्रयोग गरेर सफलता हासिल गर्दै आएको छ । मोदी प्रधानमन्त्री भएको पृष्ठभूमि र कारण पनि यही नै हो । अन्य शक्तिहरू एकजुट हुँदा भाजपालाई पुन: सत्ता प्राप्त गर्न कठिन हुन्छ । जुन कुरा स्थानीय राज्य–सभाको निर्वाचनको अंकगणितले पनि प्रष्ट्याइ सकेकोछ । समयको प्रतिकुलताको सामना गर्दै आम–निर्वाचनलाई भाजपाको पक्षमा पारेर मोदी पुन: प्रधनमन्त्री बन्ने महत्वकांक्षाका साथ अघि वढिरहेका छन् । आम निर्वाचनमा सफलता हाँसिल गर्ने मोदीको अचुक वाण भनेकै हिन्दूधर्म हो र यही मनोभावनालाई जगाएर मोदी तथा भाजपा जनमत आफ्नो पक्षमा पार्न अग्रसर छ ।

भारतको केन्द्रीय संसद लोकसभामा सबैभन्दा बढि संसद बिहार र उत्तर प्रदेश राज्यवाट चुनिन्छन् । जुन नेपालका सीमावर्ति इलाका हुन् । यहाँका मतदाताहरू बढि धार्मिक नाराबाट प्रभावित हुन्छन् । यही समयमा भारतीय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको राम जन्मभूमि र बाबरी मस्दिज विवादलाई पुन: चर्चामा ल्याउनु, रामको ससुराली सीताको जन्मभूमि जनकपुरधामबाट मोदीले आफ्नो नेपालको भ्रमण शुरुवात गर्नु । जनकपुरलाई आफ्नो मावली घर वताउनु र पूजाअर्चनालाई बढि प्राथमिकता दिनुको कारण हिन्दू मतदातालाई आकर्षित गर्नु रहेको सहजै अनुमान लगाउन सकिन्छ । हिन्दूधर्मका धार्मिक आस्थाका केन्द्रहरू पशुपतिनाथ र मुक्तिनाथमा मोदीले गरेको आरधनाले पनि यही कुराको संकेत गर्दछ । जसको परिणाम कर्नाटका राज्यको चुनावको परिणामले देखायो । जहाँ ८४ प्रतिशत हिन्दुहरू वसोवास गर्छन् र अधिकांश शैव धर्मावलम्वीहरू रहेकाछन् । त्यहाँ भाजपा एक्लैले पहिलो पटक वहुमत नजिकको विजय हाँसिल गर्‍यो भने अन्य सम्पूर्ण दल र स्वतन्त्र समेतले सामान्य वहुमत मात्रै प्राप्त गरे । यो घटनाक्रमबाट मोदीको नेपाल भ्रमणको मुख्य लक्ष्य निकट भविष्यमा हुन गैरहेको भारतीय आमनिर्वाचनमा हिन्दू मतदातालाई आफू अनुकुल बनाउने नै हो भन्दा अतिशयुक्तिपूर्ण हुँदैन ।

त्यसैगरि मोदीको नेपाल भ्रमणको दोश्रो कारण बिग्रिएको नेपाल–भारत सम्बन्धलाई सुधार गर्नु नै हो । संविधानसभावाट नेपालको संविधान जारी हुनै लाग्दा भारतले अवरोध खडा गर्ने प्रयास भारतीय संस्थापन पक्षले गरेको थियो । भारतीय सत्ताको यस्तो दबाबलाई झेल्दै शुसिल कोइरालाको सरकारले नेपालमा नयाँ संविधान जारी गर्‍यो । जस्का कारण भारतीय सत्ता नेपाल प्रति आक्रोशित बन्यो र तराईका केही मधेसी समुदायका नेताहरूलाई उक्साएर नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने र बितण्डा मच्चाउनेदेखि नाकाबन्दी लगाउनेसम्मका कामहरू गरे । भारत सरकारवाट २०२७, २०४६ र २०७३ सालमा भएको नाकावन्दीवाट आजित नेपाली जनता र सरकार, भारत सरकारको नेपालको स्वतन्त्रता र स्वाधिनता विरुद्धका कार्यले नेपाल भारत सम्बन्ध शत्रुतापूर्ण स्थितिमा पुग्यो । जस्को लाभ नेकपा एमालेले लियो । मोदी र भारतीय सरकार विरुद्ध नेपाली जनताको आक्रोशको अभिव्यक्ति नेपालको गत आमनिर्वाचनमा प्रत्यक्ष रूपमा प्रकट भयो । आमनिर्वाचनमा नेपालमा भारतीय सत्ता प्रति नरम रहेका दलहरू र नेताहरू स्थानीय निर्वाचन तथा आमनिर्वाचनमा नराम्ररी पराजय भए ।

भारतमा सन् २०१९मा हुने आमनिर्वाचनमा विपक्षीदलले छिमेकी संगको सम्वन्धको विषयलाई पनि विषेश चुनावी मुद्दा वनाउने निश्चित छ । आन्तरिक राजनीतिका लागि पनि मोदीले नेपालसँगको सम्बन्ध नसुधारी नहुने स्थिति छ । नेपालको आम निर्वाचनमा भारत विरोधि छवि वनाएर जनमत वटुलेका केपि ओलीको पक्षमा उर्लिएको जनमत र उनी प्रधानमन्त्री हुने पक्का भएपछि मोदीले टुटेको नेपाल–भारत सम्बन्ध जोड्न विभिन्न प्रयासहरू शुरु गरे जस्तै: भारतीय विदेशमन्त्री सुष्मा स्वराजले अप्रत्यासित र अस्वाभाविक रूपमा नेपाल भ्रमण गर्नु, प्रधानमन्त्री वन्नुपुर्व र वनि सकेपछि ओली–मोदी फोन वार्ताहरू निरन्तर हुनु, भारत भ्रमणमा ओली सरकारलाई दिएको उच्च सम्मान र सत्कार ।

यसैगरि, तेस्रो प्रमुख कारण नेपालको चीनसँगको बढ्दो निकटता । यसलाई कम गर्दै लैजानु पनि मोदी सरकारको चुनौति हो । मोदी सरकारले लगाएको नाकाबन्दीका समयमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले लिएको अडान र चीनसंग गरेको पारवहन सन्धिबाट आमनेपाली जनताको आशा र भरोसाको केन्द्र चीन बन्न पुग्यो । चीन नेपालका लागि संकटमा सहयोग गर्ने मित्र वन्यो । चिनियाँहरूका साथ र सहयोग नभए मुलुकको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय हितमा भारतीय सत्ताद्वारा अतिक्रमण हुने धारणा नेपालीहरूमा प्रबल बन्यो । चीनसँग निकट हुँदै जाने भारतसँग टाढा हुँदै जाने नेपाली मनोविज्ञान भारतीय सत्ताको लागि निकै चिन्ताको विषय हो । त्यसैले भारतले आफ्नो अहमतालाई दबाएर नेपालसँगको बिग्रिएको सम्बन्ध सुधार्न मोदीले यो भ्रमण गरेका हुन् ।

नेपाल भारत–सम्बन्ध सुधार्न अन्य कूटनीतिक उपायहरू प्रभावकारी नहुने भएपछि नेपाल–भारत दुवै तिर जनस्तरमा समेत प्रभाव पार्न सक्ने मूल्यांकनका साथ भारतीय संस्थापन पक्षले कुटील चालका रुपमा कौटल्यकलाले भरिपुर्ण विदुर नीतिका साथ नेपालको हिमाल, पहाड, तराई तीनैे क्षेत्रको तीर्थाटन भ्रमण गरेको विष्लेशण भारतीय वरिष्ठ पत्रकार कुलदिप नयर तथा नेपाली वरिष्ठ पत्रकार युवराज घिमिरेले गरेका छन् । मोदीको धार्मिक कुटनीतिले नेपाल–भारतबीचको आइसब्रेक मात्र भएको छैन, नेपाली सरकार र प्रधानमन्त्री ओलीलाई आफ्नो अनुकुल बनाउन केही हदसम्म सफलता पनि हासिल गरेको छ । नेपाली जनतामा पनि मोदी सरकारले उदार र मैत्रीपूर्ण नीति अबलम्बन गर्न खोजेको हो कि भन्ने विश्वास जन्माइदिएको छ भने भारतीय सरकार प्रतिकूल हुँदा संकटको सामना गर्नुपर्ने हो कि भन्ने भयबाट त्रसित ओली सरकारलाई पनि मोदीको यो भ्रमणले ठूलै राहत दिएको छ ।