आउनोस् कर्मभूमिकाे राजनीति गरौं

सार्क र चीन बाहेक अन्य बिकशित मुलुकका राष्ट्र प्रमुखहरुको औपचारिक नेपाल भ्रमण करिब शून्य भएको हामीले देखेका छौं ।
-- महेन्द्र कुमार लम्साल / प्रकाशित मिति : बुधबार, साउन १६, २०७५

नेपालबाट उच्च जीवनशैली कै लागि भनेर अष्ट्रेलिया झरेका र यहिँ सेटल भैसकेका अल्ली जान्ने  बुझ्ने र राजनीतिक सोच भएका नेपालीहरु अझै पनि नेपाली राजनीतिमा झुम्मिनु अनुत्पादक मात्रै होइन प्रत्युत्पादक नै हुँदै गैरहेको हामीले देखेका छौं । यसले गर्दा एकातिर यहाँको  व्यस्त समय नेपालबाट कहिले को नेता आउँछन्  र कसरि खुसि पार्ने, नजिक बन्ने घनचक्करमा अमूल्य समयको बर्बादी हुन्छ भने अर्कातिर नेपाली नेपालीबीच बित्थामै नेपाली राजनीतिको बिल्ला भिराएर यो पार्टी र त्यो पार्टीको नाममा हरेक कुरामा इतर र भितरको व्यवहारले हाम्रो सामूदायिक सद्भावमा आत्मियता र घनिष्टता खस्किन गएको पाइन्छ । यी दुवै व्यवहारहरु  ले हामी कसैलार्ई पनि क्षणिक आत्मरतिमा रमाउनु बाहेक अरु केहि फाइदा हुँदैन । किन कि प्रवासमा नेपालीहरुको एकता मै दीर्घकालमा हामी र हाम्रो पुस्ताको प्रगति र प्रभाव निर्भर गर्दछ ।

जब कर्म भूमिको राजनीतिमा आफ्नो प्रभाव जमाउन सकिन्छ तब एउटा अवैतनिक राजदूतको रुपमा जन्मभूमिलाई सहयोग गर्ने थुप्रै उपायहरु निकाल्न सकिन्छ । 

विदेशमा बसेर नेपाली राजनीति गर्न चाहनेहरु र गर्नेहरु नेपालका आफ्ना माउ राजनीतिक  पार्टीहरुलार्ई सहयोग गर्ने र त्यै बहानामा देशको पनि ‘सेवा’ गरेको भन्न बाँकी राख्दैनन् । तर बास्तवमा हुनु पर्ने के हो भने हामी जुन देशलाई एउटा कर्मभूमिको रुपमा स्वीकारेका छौं, त्यहाँको नागरिक बनेका छौं, काम गरेका छाैं, कर तिरेका छांै त्यहि देशमा हाम्रो राजनीतिक सहभागिता हुनु जरुरि छ । जब कर्म भूमिको राजनीतिमा आफ्नो प्रभाव जमाउन सकिन्छ तब एउटा अवैतनिक राजदूतको रुपमा जन्मभूमिलाई सहयोग गर्ने थुप्रै उपायहरु निकाल्न सकिन्छ ।  कर्मभूमिमा गरिने राजनीति र त्यसको प्रभावले मातृभूमिलाई जोड्न धेरै मद्दत गर्दछ ।

नेपाल –अष्ट्रेलियाको कूटनीतिक सम्बन्ध साठी बर्ष नाघी सक्दा पनि आजसम्म अष्ट्रेलियाबाट  एउटा पनि उच्चस्तरीय भ्रमण भएको छैन । अष्ट्रेलियामा नेपाली आवासीय दूताबासको स्थापना भएको पनि करिब १० बर्ष भैसकेको छ । राजनैतिक मामिलामा कूटनीतिक नियोगको आफ्नै बाध्यता र सिमितता हुने गर्दछन् । एउटा सानो मुलुकको  राजदूत हुँदै गर्दा यहाँको कुटनैतिक संजालमा आँफूले भोगेको पीडा महामहिम राजदूत लक्की  शेर्पाको कहिले काहिँ व्यक्त भावबाट बुझिन्छ कि उनीहरु कतिपय काम र कुराहरु चाहेर पनि गर्न सक्दैनन्, कूटनैतिक मर्यादाले दिंदैन ।

अष्ट्रेलियामा नागरिकता लिएका नेपाली मूलका नागरिकहरु  संगठित हुन सके, राजनीतिमा प्रवेश र प्रभाव जमाउन त्यति कठिन बिषय होइन । जब राजनीतिमा थोरै मात्र प्रभावी बन्न सकिन्छ तब देश र सरकारको ध्यान आफ्नो जन्मभूमिको खातिर तान्न  सहज हुन्छ ।  २०४८ मा  नेपाल बहुदलीय खुला राजनैतिक बाताबरण बनेदेखि नै नेपालको सर्बभौमकिता र हाम्रो अन्तराष्ट्रिय सम्बन्ध खुम्चिदै गएको देखिन्छ । त्यति बेलादेखि  नै सार्क र चीन बाहेक अन्य बिकशित मुलुकका राष्ट्र प्रमुखहरुको औपचारिक नेपाल भ्रमण करिब शून्य भएको हामीले देखेका छौं । अघोषित रुपमा पश्चिमी मुलुकहरुले  नेपालको आन्तरिक मामिलालाई  भारतीय आखाँबाट हेरेको पाइन्छ जुन एक सर्बभौमसत्तासंपन्न मूलुकको लागि दुःखको कुरा हो ।

अफ्रिकी मुलुक केन्याली नागरिक बाराक ओबामा सिनियरका छोरा बाराक ओबामा जब सन् २००९ मा  अमेरिकाको ४४औ राष्ट्रपति बने तब केन्या लगायत समस्त अफ्रिकी मूलुक उत्साहित बन्यो दिपावली गरे । बाराक ओबामाले अमेरिकामा बसेर अफ्रिकी राजनीतिमा समय खेर फालेनन बरु एकदिन संसारकै एउटा शक्तिशाली व्यक्ति, अमेरिकाको राष्ट्रपति बन्ने महान अभियानमा निरन्तर लागे ।  र आफ्नो कार्यकालमा ओबामाले अफ्रीकि मुलुकहरुसंग त्यहाँका मानिसहरुको जीवनस्तर उकास्न बिशेष प्राथमिकताका साथ काम गरे ।

अष्ट्रेलिया झरेको पहिलो पुस्ताको नेपालीहरु नेपाल कै राजनीतिको विभिन्न कित्तामा उभिदै गर्दा हाम्रो आउँदो पुस्ता यहाँको राजनैतिक मामिलामा गन्तब्यहिन, दिशाहिन बन्न सक्छ ।

अष्ट्रेलियन पार्लियामेन्ट माथिल्लो सदनमा प्रतिनिधित्व गर्ने भारतीय मूलकी लिशा सिंहदेखि पाकिस्तानी मूलका लण्डन मेयर सदिक खानसम्म थुप्रै आप्रवासीहरुले कर्मभूमिको राजनीतिमा प्रभाव जमाई आफ्नो पूर्खयौली मातृभूमिलाई सघाएका छन् । त्यसै गरि ल्याटिन तथा एशियाली आप्रवाशीहरुको अमेरिकी राजनीतिमा पनि उत्तिकै बाहुल्यता देखिन्छ ।  अष्ट्रेलियन सरकारको स्थानीय, राज्य तथा संघीय राजनीतिमा भारतीय, फिलिपिनी तथा चाइनिज तथा पूर्वी युरोपेली आप्रवासीहरुको सहभागिता उल्लेख्य रुपमा  बढ्न थालेको छ भने छोटो समय मै अफ्रिकी समुदाय पनि बिस्तारै स्थानीय तहको राजनीतिमा आबद्द हुँदै गरेको देखिन्छ ।

नेपालीको अन्तराष्ट्रिय सम्बन्धका मामिलामा दक्षिणको छिमेकीबाट अघोषित रुपमा काँडे तार लगाएको अवस्थामा अबको बिकल्प भनेको विदेशमा बसेको करिब आधा करोड नेपाली जो जहाँ छन् त्यहाँबाटै सम्बन्धित देशको राजनीतिमा लागेर मात्र नेपाललाई अन्य मुलुकसंग जोड्न सकिने कुरामा दुई मत छैन । अन्य समुदायको तुलनामा अष्ट्रेलियामा नेपाली समुदायको एउटा छुट्टै र गौरब गर्ने खालको  पहिचान छ । सबै भन्दा द्रूत गतिमा वृद्धि भैरहेको, कम बेरोजगारी र उच्च साक्षर र शिक्षित बर्गमा पर्दछ नेपाली समुदाय यहाँ  ।

अष्ट्रेलियाको फेडरल, स्टेट तथा स्थानीय काउन्सिल तहहरु  मा दर्जनौ नेपालीहरुलार्ई प्रतिनिधिको रुपमा निर्वाचित गरि पठाउने महान कार्यमा अगाडि बढ्नको लागि नेपालीको राजनैतिक झुण्ड त्यागी अष्ट्रेलियन मूलधार राजनीतिमा लाग्नु जरुरि भैसकेको छ ।

अष्ट्रेलिया झरेको पहिलो पुस्ताको नेपालीहरु नेपाल कै राजनीतिको विभिन्न कित्तामा उभिदै गर्दा हाम्रो आउँदो पुस्ता यहाँको राजनैतिक मामिलामा गन्तब्यहिन, दिशाहिन बन्न सक्छ ।  तसर्थ हामीले आफ्ना सानातिना मदभेदहरुलार्ई पन्छाएर एउटा समग्र समुदायको बृहत्तर हितको लागि मिलेर काम गर्न ढिला गर्नु हुँदैन ।  एउटा सशक्त र गतिशील  समुदायको रुपमा नेपाली समुदायलाई संगठित गर्ने, सरकारको तिनै तहमा आफ्नो हैसियत अनुसार सहभागी बन्न एक अर्का संग आपसी सहयोग र सहकार्य गर्ने, नयाँ पुस्तालाई मार्ग निर्देशन गर्ने जस्ता  दीर्घकालिन महत्वको काममा हामी बिशेष गरि पहिलो पुस्ताका नेपालीहरु लाग्नु पर्दछ ।

अनुमान गराैं, आउँदो दस बर्षमा अष्ट्रेलियामा नेपाली समुदायको साइज कस्तो  होला ? उत्तर प्रष्ट छ तर संख्या बढ्दै गर्दा समस्या र चुनौतीहरु  आउने पनि उत्तिकै सम्भावना  छन् । समुदायका समस्याको उचित सम्बोधन र चुनौतीको सामना गर्न पनि हामी संग त्यस्तै खालको राजनैतिक पहुँच हुनु अत्यावस्यक हुन्छ ।  त्यसका लागि हामी  संगठित हुँदै हाम्रो समुदायबाट आउँदो १० बर्ष भित्रमा  अष्ट्रेलियाको फेडरल, स्टेट तथा स्थानीय काउन्सिल तहहरु  मा दर्जनौ नेपालीहरुलार्ई प्रतिनिधिको रुपमा निर्वाचित गरि पठाउने महान कार्यमा अगाडि बढ्नको लागि नेपालीको राजनैतिक झुण्ड त्यागी अष्ट्रेलियन मूलधार राजनीतिमा लाग्नु जरुरि भैसकेको छ । तसर्थ दीर्घकालिन सोच राखौं, कर्मभूमिको राजनीतिमा सशक्त  सहभागिता जनाऊँ र मातृभूमिलाई जोड्ने पूलको काम गरौं ।