तपाईँको अपेक्षा र अष्ट्रेलियाको बास्तबिकतामा के फरक पाउनु भो ?

-- डिजिटल जेब्रा क्रसिङ्ग अक्टाेबर २०१८ नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, अशोज २३, २०७५

समय पुगे पछि चरा चुरुंगीलाई त विचरण गर्न मन लाग्छ, वल्लो पल्लो जंगल पुग्छन । उतै हराउँछन् । हामी त मानिस हाैं त्यो पनि २१ औं शताब्दीको प्रबिधि मैत्री युगका । यसैको फलस्वरुप हामी मध्ये धेरै देशको सिमानाबाट हजारौं किलोमिटर टाढा उच्च शिक्षा र अबसर खोज्दै विद्यार्थीको रुपमा बिभिन्न देश पुगेका छौं । अध्ययन कै क्रममा देश छोडेकाहरू हुन् आहिले बिदेशी भूमिमा नाम दाम प्रतिष्ठित जीवन बिताएका शेष घले, उपेन्द्र महतो, जीबा लामिछाने, भबन भट्ट लगायतका व्यक्तित्वहरू । बिदेशीभूमिमा सुरुका केहि समय पक्कै सहज छैन, आफ्नै खाले संघर्षका कथा र व्यथाहरू संग लड्दै पढ्दै नै हो अग्रजहरू ले आफ्नो ठाउँ बनाएका । फेरि पनि आफ्नो ठाउँ आँफै बनाउने हो, त्यसो भन्दै गर्दा नेपालबाट अष्ट्रेलिया आउँदै गरेका धेरै भाइबैनीहरू ले उता हुँदा सुनेको र भनिएको अष्ट्रेलिया र यहाँ आफ्नै आँखाले देखेको अष्ट्रेलियामा निक्कै फरक भएको कुरा व्यक्त गरेको सुनिन्छ । यहि सेरोफेरोमा द नेपाली टाईम्स अष्ट्रेलियाको नियमित स्तम्भ डिजिटल जेब्रा क्रसि· अक्टोबर २०१८ अंकको लागि हामीले “आफ्नो र आफ्नाहरूको ठूलो सपना बोकेर तपाई अष्ट्रेलिया आउनु भएको छ, तपाईँको अपेक्षा र अष्ट्रेलियाको बास्तबिकतामा के फरक पाउनु भो ?  यहाँको बास्तबिकता भन्दा तपाइँलाई दिइएको जानकारी फरक थियो र ?” भन्ने जिज्ञासा राखेका थियौं । प्रस्तुत छ हाम्रा केही पाठकहरूको विचार ।
सिया हमाल, सिड्नी


अष्ट्रेलिया अबसरको भूमि हो त ? तपाई अबसर खोज्दै हुनुहुन्छ भने यो प्रश्नको उतर “एस” तर फेरि भनुं यो प्रश्नको उत्तर त्यति सहज छैन, यो भिन्न अवस्थामा फरक पर्छ । अन्तराष्ट्रिय विद्यार्र्थीको रुपमा यो देशमा रहँदा गुणस्तरीय शिक्षा र आँफूलाई आर्थिक रुपमा सबल गराउने जुन सपना हामीले देखेका छौ जुन एकदमै राम्रो कुरा हो तर के यो सम्भब छ त ? यसको उतर चाही मलाई “नो” भन्न मन लाग्छ अष्ट्रेलियामा विद्यार्र्थी कालमा काम गरेर पैसा कमाउन र बचाउन सजिलो छँदै छैन । यदि आँफू संग कुनै यहाँको बजारमा फिट हुने बिशेष खालको सीप र अनुभब छ भने चाहीँ छुट्टै कुरा हो । होइन भने विद्यार्र्थी जीबन सहज छैन जब, पढाइ, पारिबारिक बिछोड सबैलाई मिलाउँदा मिलाउदै सेल्फ कन्फिडेन्स नै हराउने हो कि भन्ने डर हुन्छ । विद्यार्र्थीहरू का लागि अष्ट्रेलिया सुनेको र सोचेकोभन्दा धेरै फरक छ, सुरुमा गरेका धेरै भन्दा धेरै कल्पना र योजनाहरू मिल्दै मिल्दैनन् त्यसैले पनि यता आउँन चाहनेहरूले एक्स्पर्टहरू संग धेरै भन्दा धेरै कुरामा छलफल गर्ने आँफूले पनि बिभिन्न मध्यमबाट यहाँको बस्तु स्थिति अध्ययन गर्ने गर्नु पर्दछ । कसैले देखाएको या सुनाएको सपनाको शहर जस्तो यो होइन ।

 

 

सनम शाह, सिड्नी


अष्ट्रेलिया भनिन्छ धेरै नेपालीको सपनाको शहर हो । धेरै नेपालीको भिडमा म एउटा नेपाली जसको सपनाको सहर अष्ट्रेलिया थियो र त्यही सपनाको शहरमा आउन धेरै दुःख कष्ट गरीयो । धेरै कन्सल्टेन्सीहरू पनि धाइयो अनि मेरो सपनामा थप हौसाउने काम गरे कन्सल्टेन्सीका कन्सुलरहरूले । आफ्नो धेरै मान्छेहरू यहाँ भएकोले र आज भोलि सामाजिक संजालमा धेरै ग्रुपहरू को मेम्बर भएर सुनेको त थिएँ कि सोचेको भन्दा फरक छ अष्ट्रेलिया अनि त्यहीँ बस्नेहरू को भोगाइ । तर एउटा प्रचलित उखान छ नि आँफू नमरी स्वर्ग देखिदैन हो ठ्याक्कै त्यस्तै हुँदो रैछ जीन्दगीमा पनि । जबसम्म आँफू त्यो ठाउँसम्म पुगिदैन सत्य कुरा बुझिदैन र धेरै अरुको कुरा सुन्ने बानि पनि हँुदैन । नेपालबाट आउँदा जुन अष्ट्रेलियाको परिकल्पना गरिएको थियो । त्यो पूर्ण रुपमा गलत भन्ने चाहिं मलाई लागेन । मैले सुनेकोमा फरक एउटा मात्र कुरामा पाए त्यो हो काम । उता हुँदा काम सजिलै पाइन्छ भन्ने लागेको थियो तर यहाँ आएर थाहा भयो काम पाउन गार्हो हुँदो रैछ । मैले भोगे अनुसार केटा भन्दा पनि केटीहरू लाई काम पाउन अझै मुस्किल रैछ । यो बाहेक अरु कुरा भने मैले सोचेको भन्दा फरक पाइन किनकि मलाई थाहा थियो बिदेशी जीवन सजिलो हुँदैन र यहाँ संघर्ष गर्नु पर्छ । हो त्यहि संघर्ष गर्न नै म अर्काको देशमा आएको अनि यहीँ संघर्षले नै दुःख सोचे भने त यहाँ आउनु को के फाइदा ? यदि आफ्नो देशको जस्तै सबै कुरा यहिं भयो भने आफ्नो देशको महत्व कसरी थाहा पाउने ? दुःख सुख साट्ने मान्छे भयो भने कसरि परिवारको महत्व बुझ्ने ? जुन कुरा मैले नेपालमा सिकेको थिइन यो मैले यहाँ आएर सिके । परिवार भनेको के हो ? समयको महत्व कति छ अनि काम सानो ठूलो हुदैन भन्ने कुराहरू मैले यो देशमा सिक्दैछु । हो दुःख छ तर दुःखमा कसरी रमाउने त्यो पनि सिक्दैछु । म आफ्नो सपनाको सहरबाट । एक दिन यो सबै कुराहरू ले मलाई मेरो जीन्दगीमा अगाडि बढ्न धेरै नै सहयोग गर्ने छ । त्यसैले मेरो बुझाइ र भोगाईको अष्ट्रेलियामा मैले त्यति धेरै अन्तर भेटिन ।

 

मदन काफ्ले, सिड्नी


कक्षा १२ पनि सकियो, अब के गर्ने कहाँ पढ्ने, यहि पढ्ने कि म पनि सबै विद्यार्थी जस्तै उच्च शिक्षाका लागि विदेश मै जाने ? जाने त जाने तर फेरी कहाँ जाने ? अष्ट्रेलिया, क्यानाडा, अमेरिका, बेलायत जाने ? यस्तो बिडम्बनामा फँसे पछि आँफूले चिने जानेको आफन्त संग सल्लाह लिन पुगें । अहिलेको समयलाई मध्यनजर गरि सबैले अष्ट्रेलिया नै अध्ययनको लागि उत्तम गन्तब्य हो भन्ने सुझाव मैले पाए । त्यसपछि अब अष्ट्रेलिया नै जाने निर्णए गरे आवस्यक कागज पत्र तयार पारी भिसाको लागि परामर्श दाता मार्फत अष्ट्रेलियाको विद्यार्थी भिषा आबेदन भरें । हेर्दा हेर्दै केहि दिनमा मेरो भिसा पनि लाग्यो । यो खबरले मेरो मन मस्तिष्कमा खुसीको लहर आयो र आउँदा दिनहरूमा अष्ट्रेलियन जीवनमा हुने खुसीका सपना बुन्न थाले । अष्ट्रेलिया ओर्ले पछि पनि केहि दिन म यहाका आकर्षक ठाउँहरू (ओपेरा हाउस र सामुन्द्रिक तट) को रमणीय स्थान घुम्दै आनन्द लिएँ । आएको हप्दा दिन बिती सक्दा अब बिस्तारै कामको बारेमा पनि सोच्ने बेला भयो ।
नेपालमा साथीहरूले भन्ने गर्थे “काम त सिड्नीमा गर्न सके जति पनि पाइन्छ” तर आएको तीन महिना बिती सक्दा पनि न कसैले सहयोग गर्छन् न त आँफैले खोज्दा काम पाइन्छ, के साँच्चै नै यहि यथार्थको बर्णन गरेका हुन् साथी भाइले ? या म अन्त कतै आए ?
अन्ततः धेरै दिनको मेहेनत पछि बल्ल बल्ल एउटा काम फेला पार्न सफल भएँ । बिस्तारै त्यो काममा आफ्नो लगनशिलताका साथ अगाडि बढ्दै गर्दा अरु काम पनि पाउन सफल भएँ । आज एक वर्ष पछि म एउटा तहमा काम गरि रहेको छु । जति सुकै व्यस्तता र दुःखका बाबजूद पनि खुसी हुने धेरै क्षणहरू मिल्दै गयो । मेरो आजसम्मको अनुभवले नयाँ आउने विद्यार्थीहरू लाई आँफूले धेरै अपेक्षा मात्र भन्दा पनि निरन्तर र कडा परिश्रम गर्न तयार हुन सकेमा निराश हुन पर्ने छैन भन्ने यथार्थ शेयर गर्न चाहन्छु ।

 

सुदिप लम्साल, सिड्नी


नेपालमा हुँदा सबै ओपेरा हाउस र हर्बर ब्रिज संग फोटो खिचेर हालेको देख्दा मलाई पनि यो अष्ट्रेलिया भन्ने देश कस्तो रहेछ एक पटक त जानै पर्छ भन्ने लाग्थ्यो । अनि करिब तीन महिना कहिले कन्सल्टेन्सी त कहिले बैंक अनि कहिले सरकारी कार्यालय धाउँदा आन्ततः भिसा लाग्यो । सानैदेखि नै सपनाको सहर भन्दै आएको अष्ट्रेलियामा सुरुका दिनहरूमा त रमाइलो नै भयो कहिले ओपेरा हाउस त कहिले बोण्डाइ बीच घुम्न गईयो र यहाँको बटाघाटाहरू देख्दा नेपालको याद खासै आउँदैनथ्यो । मनमा अब यही सेटल हुनु पर्छ भन्ने फिलिंग्स आउथ्यो । तर जब बिस्तारै नेपालबाट ल्याएको २५०० डलर सक्किदै गयो तब रातदिन मनमा छटपटी हुन थाल्थ्यो । धेरै कसरत पछि अन्त्यमा २ महिना जस्तोमा काम पाइयो । नेपालमा हुँदा अब म जाँदा लागेको १६ लाख ऋण ६ महिनामा कस्सो नतिरिएला र ! भन्ने म अहिले सकेसम्म नेपालबाट फी तिर्न पैसा मगाउन चै नपरोस भनि दिनरात घामपानि केहि पनि नभनी संघर्ष गरिरहेको छु । यहाँको कमाइ र त्यही अनुसारको खर्चले गर्दा नेपालमा हुँदा कसल्टेन्सीको दाइले दिनुभएको हरिको उदाहरण पनि कथा नै हो कि जस्तो लाग्न थालेको छ । त्यसैले म अब आउने र आउन खोज्नुभएको सम्पूर्ण दाइदिदी अनि भाइबहिनीहरूमा आउनुपूर्व यहाँको कलेज र युनिको फी राम्रोसंग बुझेर अनि आफ्नो अग्रज वा अन्य कोहिसंग राम्रोसंग सल्लाह गरेर मात्र आउन आग्रह गर्दछु । र अन्त्यमा आउन लाग्नुभएका विद्यार्र्थीका आभिभाबकले पनि पहिलै छोराछोरीलाई पढ्न पठाउनि हो खर्च अवस्य लाग्छ भन्ने मानसिकता राखेर मुठीमा पैसा लिएर मात्र पठाउन अनुरोध गर्दछु । नेपालमा सोचे जस्तो रुखमा पैसा न फल्दो रहेछ यहाँ ।

 

जेसिका तामांग, सिड्नी


सर्वप्रथम त हाम्रो देखाउने सपना र आँफूले देखेको सपनामा फरक छ । हामी देखाउनको लागि पढ्न आउछौं र, आँफू र आफ्नाको लागि पैसा कमाउने सपना पाल्छौं ।
हाम्रो अपेक्षा र वास्तबिकतमा फरक जरूर छ, तर हामीले अनुसन्धान नगरी आउनाले त्यो फरकपन धेरै भएको हो जस्तो मलाई लाग्छ । हाम्रो अपेक्षित वातावरण नहुनाले संघर्ष धेरै भएको हो । म मेरो अनुभव भन्दा पनि म मेरो बुझाईको बारेमा भन्न चाहन्छु । किनभने अनुभव सबैको यहाँ उस्तै छ । जब हामी अष्ट्रेलिया आउने निर्णय, आफ्नो छिमेकी र साथीहरू सबै गएका छन्, भनेर लिन्छौ, हाम्रो दुःखको मूल कारण नेपालदेखि नै सुरु भईसकेको हुन्छ । आँफूलाई जीवनमा गुणस्तरीय शिक्षाले भविष्य उज्जवल बनाउछु भन्नु हुन्छ भने अष्ट्रेलिया संसारकै राम्रो देश हो । तर हामी पढाईको बहानमा घरको आर्थिक स्तिथि बदल्ने लक्ष्य लिएर छिमेकोको घरको तला हेरर अष्ट्रेलिया आउँछौ अनि यहाँ पढाइमा पनि हल्लिने र काममा पनि एकै साथ दौडीन खोज्छौं जस्ले गर्दा हामीलाई अष्ट्रेलिया आफ्नो अपेक्षा विपरित, अत्यन्तै दुःख लाग्छ । मलाई केही हप्ता अगाडि, NSLF भन्ने अष्ट्रेलियन साँसदले युवाहरू को लागि आयोजना गर्ने बृहत नेतृत्वदायी कार्यक्रममा भाग लिने मौका मिल्यो जहाँ मैले धेरै कुरा सिक्ने मौका पाएँ । सिकाइ, बुझाई र भविष्य बनाउनको लागि आफ्नो पढाइको क्षेत्रमा अनुसन्धान गरेर मेहनत गर्यो भने हाम्रो भविष्य राम्रो छ

यशोदा ढकाल, सिड्नी


एक दिन बिहानै मलाई म भन्दा जुनियर बैनीले सोधिन “दिदी म त युनिभर्सिटी चेन्ज गर्न खोजेको, मलाई कुनै राम्रो अप्सन सजेस्ट गर्नु न प्लिज” उनको पूरै कुरा सुने पछि मैले भने ओके कुनै राम्रो र सस्तो कलेज खोज न त । परिश्रमी, नआत्तिने धैर्य गर्न सक्नेको रुपमा परिवारमा एउटा छोरीले पाएको परिचय लाई एकतिर थन्काएर उसले आफ्नो चाहना भन्दा फरक कुरो रोज्नु पर्दैछ । राम्रा र भोलि अष्ट्रेलियाको रोजगार बजारमा सहज हुने खालका डिग्री पढ्न यहाँ निक्कै महँगो छ जुन हामी जस्ता अन्तराष्ट्रिय विद्यार्र्थीहरू को लागि निक्कै गार्हो छ त्यसमा पनि हामी जस्तो मध्यम स्तरको कमाइ हुने देशको लागि त झन् गाह्रो । यहाँको सोचाई नै यहि हो हामीले आफ्ना नजिकका लाई कुनै सल्लाह सुझाब दिनु भन्दा अगाडि यो कुरा एकदम नजिकबाट बुझ्न जरुरी छ ।
त्यसो त नेपामा हुँदा अष्ट्रेलियालाई सपनाको देश पनि भन्ने सुनिन्थ्यो । जो संग प्रतिभा छ, लगनशिलता छ र उत्सुकता छ उसले आफ्नो सपना पूरा गर्न अष्ट्रेलिया लाई रोज्छ । तर सत्य कुरा र बास्तबिकता कुरा धेरै फरक छ । विद्यार्र्थीहरू मा विविध कठिनाइ, संघर्षका कथा, डिप्रेसन, र विछिप्त भएका धेरै कथाहरू मैले पत्र पत्रिका सोसियल मिडियामा पढेको छु देखेको छु । नेपालबाट यताका आफन्तहरू को फोटो र लवाई खावाईले सबैलाई लोभ्याएको हुन्छ तर लामै समय यतै बसेकाहरूको पनि कथा सहज छैन । जब कन्सल्टेन्सीका एडभाईजरहरू ले यता कसरि काम गर्न सकिन्छ र कसरि फि तिर्ने पैसा बचाउन सकिन्छ भनेर नेपालमा भनेका हुन्छन अनि हामी सोच्छौं खास गार्हो रहेनछ खुब मिहेनत गर्छु अनि हामी हिसाब गर्न थाल्छौं हप्ता यति घण्टा क्लास यति घण्टा काम घण्टाको यति यति जोगाउछु या बचाउछु, मैले त्यसरी नै हिसाब गरेकी थिएँ ।
तर हिसाब गरेको जस्तो सजिलो कसरि होस्, एकातिर जागिर पाउन नै गार्हो अर्को तिर जागिर पाए पनि पढाइको समय र कामको समयको तालमेल मिलाउन नै गार्हो । सत्यता यहि नै हो । यसो भनेर मैले यता आउन चाहेका विद्यार्र्थीहरू लाई हतोत्साही गराउन खोजेको पक्कै होइन तर यो परदेशी भूमि आउनु भन्दा अगाडि धेरै कुरा बुझ्नुस् धेरै कोणबाट बुझ्नुस् भन्न खोजेको चाही पक्कै हो । आँफूलाई कसरि आवश्यक पर्दा सर सहयोग हुन सक्छ, त्यस्ता संघ सस्थाहरू संग कसरी सम्बन्ध स्थापित गर्ने र सम्पर्कमा रही रहने । आफ्नो परिवारलाई आँफूले जे भोग्नु भएको छ त्यो बास्तबिकता बताउनुस् र उनीहरू लाई पनि नआतिन भन्नुस किनकि परिवारको तपाई माथि ठूलो आशा र भरोशा हुन्छ । परिवारको सदस्यहरू को आशा र भरोसालाई तपाईले राम्रो संग बुझ्न र उनीहरू लाई बुझाउन सक्नु भएन भने तपाईमा झन् असन्तोष र छट्पटाहट हुन्छ । जसले गर्दा तपाईलाई आफ्नो पढाइ र लक्ष्य पूरा गर्न झन् मुश्किल हुन्छ । त्यसैले आँफू सँधै सत्य कुरामा अडिग हुनुस आफ्ना जनलाई सोही अनुसार बुझाउनुस् जसले गर्दा धेरै कुराहरू सहज बन्दै जान्छन् ।

संगम कार्की, सिड्नी


म अष्ट्रेलिया आएको धेरै त भएको छैन तर यहाँ आएपछि थोरै समयमै मैले धेरै कुराहरूको अनुभव गर्ने मौका पाए । धेरै सपना बोकेर पढाईको सिलसिलामा म १८ वर्षको उमेरमा हातमा पासपोर्ट बोकेर यस जमिनमा पाइला चालें । नेपालमा साथीभाइ र आफन्तले भने जस्तो रहेनछ अष्ट्रेलिया । जसरी रुखमा फूल फुल्छ, यहाँ पैसा फल्छ भन्थे तर त्यस्तो रहेनछ अष्ट्रेलिया । यहाँ आएपछि विद्यार्थीहरूले दुःख अवस्य पाउँछन् । सानो उमेरमै आएको हुनाले घरको यादले त सताउँछ तर अर्को तर्फ कामको दबाब हुँदै जान्छ । समय बितेको थाहा नै हुदैन अनि आउँछ कलेजको फि तिर्ने समय । दुःखको कुरा के हो भने यहाँ सबै खान, बस्नदेखि लिएर फि आँफै जम्मा गर्नुपर्ने भएकोले पैसाको समस्या आइदिन्छ । घरबाट पैसा पठाउन लगाउ त कसरी । कमाएर छोरो या छोरी पढ्न जो निस्केका हुन्छन् । हुन त काँधमा जिम्मा आइसकेपछि आँफूले नि केही गरुँ भन्ने हुन्छ र आत्मविश्वास जागेर आउँछ । हो आज दुःख होला हामी नेपाली विद्याार्थीलाई तर अष्ट्रेलियाले बाच्न सिकाउँछ । मिहेनतले कमाएको पैसाको महत्व र समयको महत्व सिकाउँछ ।

 

सुमन ओली, सिड्नी

हो, अष्ट्रेलिया हामी सबैको सपनाको देश, कसैको लागि पैसाको बोट, कसैको लागि मानसिक रोग, अनि कसैको लागि थुप्रै सपनाहरू को भोक हो । अष्ट्रेलियामा हामीले आफ्नो मात्र नभएर आफ्नो आमा बुबा सबैको सपना बोकेर आएका हुन्छांै । अष्ट्रेलिया आउनु भन्दा अगाडि हामी सबैको ठूला सपना हुन्छ, धेरै शिक्षा हासिल गर्ने, धेरै पैसा कमाउने साथै आमा बुबाका ठूला–ठूला सपना पूरा गर्ने । तर सफल तिनी नै हुन्छन् जो संग धैर्य गर्ने क्षमता हुन्छ र जो सबैको अगाडि आँफूलाई सीप र शिक्षाले निखार्दै अब्बल रुपमा प्रस्तुत हुन सक्छ । अष्ट्रेलिया तिनै विद्यार्थीको लागि सफल बाटो हो जसले आफूँमै केही गर्ने क्षमता छ, अष्ट्रेलियामा आफ्नो पढाई संगै आफ्नो काम, साथीहरू र नेपाली समाजहरू मा आफ्नो समय दिन सक्छन् । नेपालबाट सोच्दा अष्ट्रेलियामा पैसाको बोट भए जस्तो गर्छन तर रात भर काम गरेर मात्र पैसा कमाउन सकिन्छ यता । नेपालमा बस्ने आफन्तहरू आइफोन, महंगा समानका आशा गर्छन् तर यता आँफूले कमाएको पैसा खान, बस्न र आफ्नो फी तिर्न नै गारो छ । म अष्ट्रेलिया आएको २ वर्ष हुन लाग्यो, मैले धेरै दुःख पाएँ, साथै भिजन फर मोटिभेसन जस्तो संथाबाट सहयोग र आँफू भन्दा ठूला दाइदिदीहरू भेट्ने मौका पाएँ । त्यसैले अष्ट्रेलिया मेरो लागि एउटा पाटोबाट संगर्षको क्षेत्र पनि भयो र अर्को पाटोबाट आफ्नो लागि केहि गर्ने र थुप्रै अवसरहरु को बाटो पनि हो ।

बिवेक अर्याल, सिड्नी

बुबाको अर्ती उपदेश संधै केलाउदै एक दिन मैले पनि देशको लागि केही गर्छु भनी हिडेको मान्छे । एक्लैले काचुली फेर्न नसके पनि उर्जा, हिम्मत त थियो तर देशको राजनीतिक अस्थिरता र अनियमितता देखेर देशको युवा जनशक्ती देश बाहिर तितर वितर हुँदै हराएँ त्यसैमा म पनि उछिट्टेर अष्ट्रेलिया आइपुगे । देशको बिकासका लागि बाहिरी सहरको पनि भ्रमण गर्नुपर्छ भनि सोचेर उच्च शिक्षाका लागि सिड्नी आए र जिन्दगीले नयाँ मोड लियो ।
एकातिर मनमा उत्साह उमंग थियो भने अर्का तिर बुबा, आमा, साथी, भाइ भन्दा कोसौं टाढा बिरानो देशमा जीवनलाई कसरी नयाँबाटो दिने भन्ने त्रास थियो । नयाँ सहरमा उन्नती र प्रगती होस, स्वास्थले साथ दिउन भनी पशुपतिनाथको फूल र टिका गोजिमा राखी आएको थिएँ । सिड्नी एयरपोर्ट उत्रिना साथ यहाँको नियम पालना सुरु भयो । मैले पहिलो झड्का Immigration मै पाउन पर्यो । फलफुल र घाँस पातहरू ल्याउन नपाइने रहेछ र त्यती सानो कुराले गर्दा सुरुमै Warning Notice पाउन पर्यो । Immigration ले सुन तस्करी वा गाँजा तस्करी होकी भने झंै पूरा लगेज र ब्याग चेक गर्यो । त्यसले गर्दा १ घण्टा ढिला भइसकेको थियो, लिन आउने मान्छे पनि आतिनु भएछ किनभने उहाँ काममा जान ढिला भएछ । दुई चार दिन त रमाइलो लाग्यो सिड्नी जुन ठाउँ गएनी उस्तै भु–बनावट, उस्तै घर र सडकहरू । तर अर्को दिनदेखि नरमाइलो लाग्न थाल्यो । बोल्ने मान्छे छैन, घुम्नलाई साथी छैन् । अब म पनि काम सुरु गर्नुपर्यो भनि खोज्न थालें । अष्ट्रेलीयामा कामका लागि सय भन्दा बढी ठाउँमा इन्टरभ्यू र वायोडाटा छोडें त्यसै सिलसिलामा २२ दिन बिते र बल्लतल्ल Kitchen Hand पाइयो । नेपालमा कम्प्युटरमा धेरै समय बिताउने मान्छे यता भाडा चम्काउनु पर्दा पहिलो दिन दुःख लाग्यो त्यस माथि रातिको काम, राति आउदाँ ट्रेन ढिला भइदिने, त्यसपछि बस पनि नपाउने ।
बाहिरबाट हेर्दा अष्ट्रेलिया सुन्दर, सफा र हाइ–फाइ सहर तर भित्र धेरै दुःख कष्ट रहेछ । पछि बल्ल थाहा भयो महंगीले गर्दा बाच्नलाई पनि धेरै खट्नु पर्ने रहेछ । कलेजको फि, बस्ने, खाने र हिड्ने खर्च, आउदा लागेको रकम चुकाउने सपना, सपना मै परिणत हँुदो रहेछ । यसरी सोच्दै जादाँ म पनि कतिखेर समयको कठपुतली भएछु पत्तै भएन ।
एकदिनको कुरा हो, राती बस नपाएर एक्लै हिड्दा घर नजिकै दुई जना काले दाइहरूले लखेटे, समाउन नसकेर “It’s a Prank” रे । अर्को घटना राति चाँडै ११ बजे काम सकेर खुसी हुँदै ट्रेन चडें ट्रेनको बाटो १ घण्टाको थियो । धेरै थाकेर होला सायद ट्रेनमै निदाएछु र उठ्दा म त झर्ने ठाउँ भन्दा निकै टाढा पुगेछु । घर पुग्दा बिहान हुन लागि सकेको थियो । त्यो दिन आराम नलिइ काममा हिड्न पर्यो । सुरु सुरुमा सपिङ मलमा हराइयो, ट्रेनमा पूर्व जान्छु भन्दा पश्चिम नि पुगियो । यसरी नै बिती रहेको छ दिनहरू त्यसैले आउदाँ Physically / Mentally prepare भएर आउनु पर्ने रहेछ । ४० दिन त यसरी बित्यो अब हेरम आउने दिनहरूमा के कस्ता बाधा अड्चन आउनेछन र पार हुँदै जालान् ।

 

लोचन कटुवाल, सिड्नी


म अष्ट्रेलिया आएको २ बर्ष हुन लग्यो । नेपालबाट आउनु अगाडि मलाई भनिए अनुसार खासै केही फरक भेटिन मैले अष्ट्रेलिया । यहाँ कामले गर्दा कुनै बेला खान र निदाउन नै बिर्सन्छ काम पाउन नि मान्छेहरू आउने क्रम बढेकाले गाह्रै भएको छ त्यस माथि कलेज फि भन्यो, रेन्ट भन्यो ग्रोसरी भन्यो । तर एउटा सुनौला भबिष्यका लागि धेरै प्लेट फर्म हुन्छ केवल आत्मबल आफ्नो लगायत मेहनत र यहाँको नयाँ बाताबरणमा आँफुलाई अभ्यस्त गराउँदै लैजान पर्छ जस्तो लाग्छ । हरेक पलको महत्व र मूल्य अनि आँफुलाई घरबाट मिल्ने त्यो माया, सबैको आत्मियता को भने साह्रै याद आउँछ घर परिवार निक्कै मिस हुन्छ । जे होस् रात पछिको बिहानको आरम्भ भए जस्तो यो ठाउँको दुःख गार्होपन आँफूले गरेको कठिनाइ र संघर्षले पनि केहि वर्षमा रंग देखाउँछ भन्ने बिश्वास मनमा लिएर अगाडि बढीरहेकी छु म । आँफूलाई सफल बनाउन असफलता र हर कुराहरू बाट शिक्षा लिंदै मेरो यात्रा अगाडि बढी रहेछु, अनुभब बटुल्दै ।

श्रीजना बुढाथोकी


विद्यार्थीहरूको उच्च शिक्षाको लागि राम्रो गन्तब्य मनिएको एउटा देश जहाँ आफ्ना सपनाहरू पूरा हुन्छ भनि थुप्रो लाग्ने ठाउँ अष्ट्रेलिया । सबैको मानसपटलमा सजिलै आउने देशको नाम अष्ट्रेलिया । आफ्ना बालबच्चाको उज्वल भविष्यको लागि प्रेरित गर्ने ठाउँ अष्ट्रेलिया । हो अष्ट्रेलिया, म पनि यस्तै अनगिन्ती सपनाहरू र सँगसँगै आफ्नो माया गर्ने परिवार र आफन्तहरूको पनि सपना पूरा गर्न यो एउटा अस्तब्यस्त देशमा आएको थिएँ । लाग्थ्यो, मेरो सुनौलो भबिष्य सजिलै संग पूरा हुन्थ्यो भन्ने तर सोचेको भन्दा धेरै फरक हुँदो रहेछ । यस मानेमा कि अरु ले भनेको सुन्दा (अष्ट्रेलिया यस्तो, अष्ट्रेलिया उस्तो) यहाँको परिवेश अंगाल्दा आँफैमा ठूलो चुनौती रहको पाएँ । सोचेजस्तो सजिलो चाँही पक्कै होइन । पढाई सँगसँगै रोजगारीको चापले कहिलेकाहीँ किन आएछु भन्ने पनि लाग्छ । सुरुसुरुमा पढाई र सँगसँगै अशाइनमेन्ट उफ् सोच्नै गार्हो हो । अनी काम पनि त छ । लाग्यो संसारको सबै तौल आफ्नै थाप्लोमा आए जस्तो । यो यस्तो ठाउँ हो जहाँ धेरै धैर्यता र उच्च मनोबल लिएर मात्र सबै कुरालाई सहज गर्न सकिन्छ ।
मलाई मनमा सधैं खड्केको कुरा चाँही यहाँ आउँदा लागेको लगानीको भरपाइ कसरी गर्ने हो । एक त हरेक कुरा महँगो त्यसमाथि काम पाउनेमा दुविधा, हरेक काममा आफ्नो मान्छे हुनुपर्ने र साथै दक्षता पनि, यो सबै नियालेर अघि बढी रहें । म यहाँ आउँदा दिएको जानकारी सही भएता पनि कतिपय कुराहरूमा यहाँ आएपछि मात्र बुझ्न सकियो । सबै जानकारी गरेजस्तो पनि नहुने रहेछ । अष्ट्रेलिया संघर्षै संघर्ष तथा अस्तब्यस्त ठाउँ रहेछ । अहिले पनि संघर्ष र भबिष्यमा पनि संघर्षमै बाँच्नेछ यो जीवन । .