मेलवर्नमा हर्षोल्लासका साथ छठ पर्व मनाउँदै

-- नीरु त्रीपाठी, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, कार्तिक ८, २०७५

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वलाई शुद्धता, सद्भाव र आस्थाको प्रतीक मानिन्छ । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो । यस पर्वमा धनी, गरिब, तल्लो माथिल्लो जात जस्तो भेदभावलाई छोडेर सबै जातजाती, वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चना गर्ने गरिन्छ । घरमा सुखशान्ति, परिवारको सफलता, सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य, समृद्धि, चर्मरोग निको हुने र मनोकामना पूर्ण हुने जनविश्वास अनुरुप पारस्परिक आत्मीयता र सद्भावपूर्ण यो पर्व विशेष रुपमा मनाउने गरिन्छ ।
यही आफ्नो परम्परालाई दीर्घ गति दिन हरेक वर्ष मधेशी कम्यूनिटि इन भिक्टोरीयाले विगत ६ वर्षदेखि हर्षोल्लासका साथ छठ पर्व मनाउँदै आइ रहेको छ । त्यस्तै यसवर्ष पनि यही नोभेम्बर १३ र १४ तारिखमा एडवर्ड लेक पार्क रिजेर्भरस्थित पूजाअर्चना सहित भव्यताको साथ छठ मनाइने भएको छ । १३ तारिख अस्ताउँदो सूर्यलाई पूजा गरेर १४ तारिखको उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने भएकोले विशेष गरि छठ दुईदिनको हुन गएको हो ।
विगत ६ वर्षदेखि भिक्टोरीयामा मधेसी समुदायले सबैलाई समेटेर छठ पर्व मनाउँदै आइरहेको छ । त्यसैलेपनि भिक्टोरीयामा मधेसी समुदायको मात्रै सहभागिता नभई अन्य विभिन्न बहुसाँस्कृतिक समुदायहरुको पनि पूजाअर्चना र कार्यक्रममा उपस्थिति भएर छठ पर्व मनाउने गरिन्छ । एडवर्ड लेकमा हुने यस पर्वमा निम्तालु मात्रै नभई सर्वसाधारण जो कोहीपनि उपस्थित भएर पसाद ग्रहण गर्न सकिनेछ ।

नेपाली टाइम्स मेल्वर्नसँग कुराकानी गर्दै मधेसी कम्यूनिटि इन भिक्टोरीयाको अध्यक्ष डा. सुरेन्द्र रौनियारले हामी विदेशमा रहेपनि हाम्रो लोक आस्थाको महान् पर्व छठलाई विर्सन नदिन र यस पर्वको आस्थालाई जगाइराख्न नै भिक्टोरीयाको मद्येशी समुदायले हरेक वर्ष छठ कार्यक्रम गर्ने गरेको बताएका छन् । त्यस्तै उनले यस पर्वलाई एउटै समुदायमा मात्रै सिमित नराखेर अन्य विभिन्न समुदायमा पनि पुर्याएर यस पर्वको महत्व र धार्मिक आस्थाको बारेमा बुझाउनु पनि हाम्रो प्रयास हो भन्दै यही प्रयासलाई द्रुतगति दिन र सहयोग गर्न यसपालिपनि अष्ट्रेलियन समुदाय, सव कन्टिनेन्ट मुलुकको मानिसहरुदेखि लिएर अन्य बहुसाँस्कृतिक समुदायहरुलाई पनि पर्वमा समावेश हुन आग्रह गरेका छन् ।
खासगरी नेपालमा मैथिली, भोजपुरी, चौधरी, थारुलगायतका समुदायमा मात्र सीमित रहेको छठपर्व विगत केही दशकदेखि क्रमिक रुपमा नेपाली भाषाभाषी, बङ्गाली, मारवाडी, राजवंशीलगायतका अन्य परिवारले पनि मनाउन थालेका छन् । २०४६ सालदेखि नेपालमा जब सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थाल्यो तबदेखि छठ तराईमा मात्रै सिमित नभई काठमाडौँ लगायत अन्य ठूलठूला शहरमा पनि छठ मनाउन थालेको हो ।

छठ पर्व सम्बन्धि केही किबदन्तीहरु
छठ माताको विषयमा श्रीमद्देवी भागवत् पुराणमा विशेष रुपमा उल्लेख गरिएको छ । उल्लेख गरे अनुसार एउटा प्रतापी राजा थिए तर राजाको सन्तान थिएन । सन्तानका लागि राजाले यज्ञ गरे । महर्षि कश्यपले यज्ञको लागि पकाइएका खीर रानी मालिनीलाई प्रसादको रुपमा खान दिए । त्यो खीर ग्रहण गरेपछि रानीले पुत्रलाई जन्म दिइन् तर पुत्र मृत अवस्थामा जन्म लिए ।
मृत सन्तान जन्मेको खवरले राजा विह्वल भए । मृत सन्तानको अन्तिम संस्कार गर्ने क्रममा राजा श्मशानघाटमै प्राण त्याग गर्न खोजे । सोही समयमा दिव्यरथमा सवार एक देवी प्रकट भइन् । राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै उनले राजाको मृत बच्चालाई काँखमा उठाएर जीवित पारिन् । त्यसपछि, देवीले मेरो पुजा गर्नु र प्रजालाई पनि पूजा गर्न सल्लाह दिइन् । देविले मेरो पूजा गरेमा सन्तानको रक्षा, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र घरबाट दरिद्रताको अन्त्य हुने उपदेश पनि दिइन् र कात्तिक शुक्ल षष्ठी तिथिमा सो घटना भएकाले सोही तिथिबाट छठपर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ । षष्ठी शब्दको अपभ्रंश हुँदै छठी पर्वको रुपमा परिणत भएको विश्वास गरिन्छ ।
त्यस्तै यस पर्वमा भगवान रामको कथापनि जोडेको पाइन्छ । भगवान् राम १४ वर्षको बनवासको अवधिमा रावणको बध गरेका थिए । सो अवधि पूरा हुनासाथ कात्तिक औँशीको तिथिमा राम अयोध्या फर्केका थिए । भगवान् राम अयोध्या फर्केपछि राज्यकाज सञ्चालन गर्नुभन्दा पहिले ब्राह्मण रावण हत्याको पापबाट मुक्त हुनका लागि ऋषिसँग सल्लाह लिँदा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिएछन् । दिपावलीको आठ दिनभित्र भगवान् रामले सूर्यको उपासना गरेर ब्राह्मण हत्याको पापबाट मुक्त भएका थियो । सोही तिथिमा छठ पूजासँगै सूर्यको पूजा पनि गर्न थालिएको विश्वास गरिन्छ ।
यस पर्वमा नयाँ बाँसको टोकरी, कोनियाँ, पंखाका साथै प्रसादका रुपमा केरा, उखु, फलफूल, पान, सुपारी, भण्टा, मूला, सुथनी, अँकुरी, अलुवा, जुटा र पकवानको रुपमा ठेकुवा, भुसुवा र मिठाई प्रसादको रुपमा चढाउने गरिन्छ । अस्ताउँदो सूर्यलाई अघ्र्यको रुपमा चढाइएका प्रसाद पुनः उदाउँदो सूर्यलाई अर्पन गर्न सकिन्छ वा नयाँ पकवान अघ्र्यको रुपमा अर्पन गरिन्छ । तर, उदाउँदो सूर्यलाई अघ्र्य अर्पन नगरेसम्म प्रसाद वितरण गर्न पाइँदैन । यो पर्व नियम निष्ठा एवं पवित्रताका साथ मनाउने पर्वको रुपमा रहेको छ । यो पर्व खासगरी राखिएका भाकल पूरा भएपछि मात्र गर्ने गरिन्छ । एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्ने गरिन्छ । यो पर्वमा ब्रतालुले पहिलो दिन स्नान गरी चोखो खाने गर्दछन् । यस दिनबाट छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि पनि छ ।