एकताको एउटै माला शब्दमाला

-- महेन्द्र कुमार लम्साल, अावरण लेख जनवरी अंक २०१९ / प्रकाशित मिति : सोमवार, पुस ३०, २०७५

भनिन्छ देश जति सम्पन्न होस् तर त्यसको मौलिक पहिचान, भाषा संस्कृति र साहित्यको जगेर्ना र प्रबर्धन गर्न सकिएन भने अन्तत्वगत्वा त्यो मुलुकको अस्तित्व गुदी बिनाको फल जस्तै हुन्छ । त्यसमा पनि संसारका करिब २०० राष्ट्रियताको पहिचान बोकी सबैलाई एकताको एउटै सुत्रमा आबद्द गर्न सफल बहुसांस्कृतिक अष्ट्रेलियामा आफ्नो मौलिकताको बिशेष महत्व हुन्छ नै ।

बिगतको दशकमा नेपाली समुदायका सदस्यहरूको बढोत्तरी संगै हाम्रो समुदाय, बहुसांस्कृतिक अष्ट्रेलियन समाजको यौटा अभिन्न अंग बनि सकेको छ । जब बीसाैं शताब्दीको अन्त्यतिर बिस्तारै नेपालीहरू बिशेष गरि अध्ययनको लागि अष्ट्रेलिया झर्ने क्रम चलेको हो । अध्ययन पश्चात निश्चित मापदण्ड पूरा गरेका ग्रयाजुएटहरू लाई यहाँको सरकारले ससम्मान अष्ट्रेलियामा स्थाई बसोबासको लागि अनुमति दिने क्रम बढ्दै गर्दा एक्काइसाैं शताब्दीको सुरुदेखि नै अष्ट्रेलियामा नेपाली समुदायको जनसंखीय ढाचा (Demographic pattern) मा परिवर्तन आउन थाल्यो । फलस्वरुप बिस्तारै हाम्रो समाजमा यहिं जन्मेका नयाँँ पुस्ताको उदय हुन थालेको हो र यो क्रम निरन्तर र बढ्दो छ ।

जब नयाँँ मुलुक र नयाँँ सामाजिक, सांस्कृतिक वातावरणमा नयाँँ पुस्ताको आगमन हुन्छ तब उनीहरूलार्ई आफूले लिएर आएको धार्मिक सांस्कृतिक तथा परम्परागत मूल्य र मान्यताहरूलार्ई बचाई राख्ने र नयाँँ पिडिहरूमा हस्तान्तरण गर्ने चाहना हुन्छ नै । तर यो त्यति सजिलो बिषय भने पक्कै हुँदैन, एउटा दृढ संकल्प र निरन्तर लगनशिलता बिना यो सम्भव छैन । अष्ट्रेलियाको आर्थिक सामाजिक विकासको मेरुदण्ड नै बहु साँस्कृतिक समाज हो । यहाँका हरेक सरकारी, गैरसरकारी, नागरिक समाज तथा नीति निर्माण तहसम्म बहुसांस्कृतिक सामाजिक मान्यतालाई अत्यन्तै महत्व दिई यसलाई बचाई राख्न सबैले आ–आफ्नो ठाउँबाट सम्बन्धित सबैलाई सहयोग गर्ने हुनाले हामी नयाँ तर द्रुत गतिमा बढ्दै गएको नेपाली समुदायलाई नयाँ परिवेशमा पनि आफ्नो मौलिक पहिचान बचाई राख्न र नयाँ पुस्तामा संचार गराउन थुप्रै सहयोग मिलेको छ ।

२००९ तिरको कुरा हो अष्ट्रेलियामा स्थापित दुई पुराना संस्थाहरू मार्फत नेपाली समुदायमा लामो समय काम गरेका कर्मठ र जुझारु व्यक्तित्वहरू गोर्खा नेपाली कम्युनिटीबाट राजन छेत्री, बिन्ध्या सुब्बा तथा गुठी अष्ट्रेलियाबाट निलम प्रधानाङ्गका बीच अष्ट्रेलिया समाजमा नेपाली समुदायको उपस्थिति हिजो, आज र भोलिका बिषयमा छलफल भयो । हुन त त्यो भन्दा पहिले नै गोर्खा नेप्लिज कम्युनिटी Nepalese Children Activities Group अन्तर्गत नेपाली बालबच्चाहरू लाई नेपाली सामुदायिक अतिरिक्त क्रियाकलाप अभियान थाली सकेका थिए ।

केहि चरणको छलफलबाट सुरुका दिनहरू मा गुठी अष्ट्रेलिया र गोर्खा नेप्लिज कम्युनिटीको पहलमा मेरिकभिल पब्लिक स्कूलबाट २०१० मा औपचारिक रुपमा नेपाल भाषा पाठशाला ‘शब्दमाला’ को सुरुवात भयो । समयान्तरमा शब्दमाला क्यम्सीमा संचालन हुन पुग्यो र विद्यार्थीहरू करिब २० जना भएको बताउँछन् तत्कालिन शब्दमालाका अभियन्ता राजन छेत्री । नेपाली समुदायमा एउटा दीर्घकालिन महत्व राख्ने शब्दमाला नेपाली भाषा बिद्यालय स्थापनाको परिकल्पनालाई साकार पार्नका लागि आफ्नो ठाउँमा प्रतक्ष्य वा परोक्ष सहयोग पुर्याउने तत्कालिन प्रेसिडेन्ट भाला राईका साथै बोना राई, जितेन्द्र प्रधानाङ्ग, बिकास छेत्री, चित्र तुम्बाहाम्फे, दिनेश पहारी, पारु पाण्डेय, गीताञ्जली प्रधानाङ्ग, पल्पसा शाक्य, उज्वल अलाय, ऋद्धिचरण श्रेष्ठ, संगिता राई बिर्सन नहुने नामहरू हुन् ।

सुरुका दिनहरूमा पढाइने बिषयबस्तु, शिक्षक प्रशिक्षणको व्यवस्था र समग्र पाठशालाको व्यबस्थापनमा थुप्रै चुनौती नआएका होइनन् । त्यतिबेला जी. एन. सी. र गुठी अष्ट्रेलियाले अर्थ संकलनका लागि सामुदायिक कार्यक्रमहरू को पनि आयोजना गर्यो । बिशेष गरि अभिभावक र यी दुई संस्थाको अथक प्रयासबाट मात्र शब्दमालाले सुरुको गति प्राप्त गर्न सकेको हो । जब २०१० मा शब्दमाला न्यु साउथ वेल्स राज्य सरकारमा सामुदायिक भाषा पाठशालाको रुपमा दर्ता भै मान्यता प्राप्त गर्यो तब प्रति विद्यार्थीका आधारमा केहि सरकारी अनुदान प्राप्त हुन थाल्यो जसले गर्दा स्वयंसेवी अभियन्ताहरूमा शब्दमाला भाषा पाठशाला संचालन गर्न केहि राहतको महसुस भयो । समयक्रम संगै सिड्नीका अन्य सबर्बहरूमा पनि नेपाली परिवारहरूको बस्ति बढ्दै जान थाल्यो र त्यहाँका अभिभावकहरूकै सहभागिता र अपनत्वमा शब्दमाला भाषा पाठशालाका अरु शाखाहरू स्थापना हुन थाले । हालसम्म आइपुग्दा क्याम्सी, ग्रयन्भिल, मक्वारी फिल्ड, नर्मनहर्सट, पेन्सहर्सट र दि पन्डस् गरि शब्दमालाका ६ वटा शाखाहरू संचालनमा छन् ।

सुरुमा शब्दमाला स्थापना र संचालनमा यी दुई संस्थाहरू जी. एन. सी. र गुठी अष्ट्रेलियाले अग्रसरता देखाएका हुन् । नेपाली भाषा पाठशाला जस्तो बृहत सामुदायिक महत्व बोकेको अभियानलाई कुनै संघ संस्थाको दायरामा सीमित राख्नु हुँदैन भन्नेमा संस्थापक अभियन्ताहरू जानकार थिए । यौटा साइजमा आइसके पछि दीर्घकालिन सामुदायिक महत्वको अभियान प्रभावकारी ढंगले अगाडि बढाउनका लागि शब्दमालालाई अभिभावकहरूको स्वःस्फूर्त र व्यापक सहभागिता मार्फत नै लैजाने एउटा स्वतन्त्र अभियानका रुपमा नीति लिइयो समयान्तरमा नेपाली समुदायहरूको उल्लेख्य उपस्थिति र सक्रियता रहेका सिड्नीका अन्य सहरहरूमा पनि शब्दमाला भाषा पाठशालाको स्थापना हुँदै गयो ।

करिब ८ बर्षको अथक प्रयास र उपलब्धिको बेजोड प्रस्तुति गर्ने क्रममा शब्दमाला नेपाली भाषा पाठशालाले गत डिसेम्बर ८ का दिन मराना हल मनोरञ्जन केन्द्र, हर्स्टभिलमा आफ्नो पाँचौ बार्षिक बिशेष सांस्कृतिक साँझ गाला डिनरका साथ सम्पन्न गर्यो । कार्यक्रममा सबै ६ वटै पाठशालाका १५५ विद्यार्थीहरू, २८ जना शिक्षकहरू आभिभावकहरू तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरू सहित करिब ४०० जनाको उत्साहजनक उपस्थिति थियो ।

शब्दमालाका छ वटै शाखाका विद्यार्थीहरूले आ–आफ्नो प्रस्तुति उत्कृष्ट ढङ्गबाट प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले कविता, गीत, नाटक, र नृत्यहरू प्रदर्शन गरेका थिए । विद्यालयको यस्तो महत्वपूर्ण कार्यक्रममा सबै विद्यार्थीहरू लाई आफ्नो कला अनुसार विभिन्न विधामा प्रदर्शन गर्ने अवसर प्रदान गरिएको थियो ।

नेपाली भाषा र संस्कृतिलार्ई केन्द्रबिन्दु बनाइएको उक्त कार्यक्रम मनोरन्जनात्मक त थियो नै नेपाली भाषा संस्कृति तथा परम्परालाई हाम्रो दोश्रो पुस्ताले स्वीकार गरि अभिवाहकहरूले अगाडि सारेको अभियानमा सक्रिय रुपमा गरिएको गुणस्तरीय प्रदर्शन गर्व गर्न लायक थियो । हाम्रा बालबच्चाहरूले प्रवासमा रहेर पनि नेपाली भाषा र संस्कृतिप्रति गर्व गर्नुपर्छ भन्ने कुरा राम्ररी व्यवहारमा पनि उतार्न सफल भएकाले अष्ट्रेलियन बहुसांस्कृतिक समाजमा नेपाली समुदायले एउटा महत्वपूर्ण भूमिका खेल्दै जाने कुराम सहजै बिश्वास गर्न सकिन्थ्यो ।

न्यू साउथवेल्स फेडेरेसन अफ कम्यूनिटी ल्याङ्गवेजकी अध्यक्ष लुचिया ट्राभरिस जोन्सको विषेश उपस्थिति तथा न्यु साउथवेल्सका लागि अवैतनिक महाबाणिज्यदूत दिपक खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चिल्र्डेन्स फेस्टिभल अर्गनाइजेसनका अध्यक्ष ट्वाट न्युगेन पनि उपस्थित भइ सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकहरूमा हौसला प्रदान गरेका थिए । यसरी आफ्नो छोटो समय मै अष्ट्रेलियामा नेपाली भाषा, संस्कृति र रीतिरिवाज झल्किने थुप्रै कार्यक्रम सफलतापूर्वक संचालन गर्दै आएको एउटा संगठित र बिस्तृत अभियान ‘शब्दमाला’ नेपाली भाषा पाठशाला आउँदो पुस्ताहरूमा नेपाली पहिचान र अस्तित्व निरन्तर राख्ने कुरामा दुई मत छैन ।

संस्थापक अध्यक्ष– राजन छेत्री (२०१०–२०११)

अध्यक्ष्य– समिन्द्र श्रेष्ठ (२०१२–२०१३)

अध्यक्ष्य– बिक्रम शर्मा खरेल (२०१४–२०१५)

अध्यक्ष– डा. प्रकाश पौडेल (२०१६–२०१७)

 

शब्दमाला सबै नेपालीहरूको भाषा र संस्कृतिको जगेर्ना गर्ने एउटा साझा अभियान हो

 – अर्चना घले गुरुङ, अध्यक्ष, शब्दमाला नेपाली भाषा पाठशाला

शब्दमाला नेपाली भाषा पाठशालाको स्थापना गुठी अष्ट्रेलिया र गोर्खा नेपाली समुदायको संयुक्त प्रयासमा २०१० मा गरिएको हो । हाल यो विद्यालय स्वत्रन्त्र रुपमा अभिभावकहरूद्वारा संचालन भैरहेको छ । यो कोहि व्यक्ति बिशेषको संस्था नभएर हामी सबै नेपालीहरूको भाषा र संस्कृतिको जगेर्ना गर्ने संस्था हो ।

न्यू साउथ वेल्स सरकारले हाम्रो भाषालार्ई सम्मान दिएर विद्यालय संचालन गर्न दिएको अवसरलार्ई कुनै हालतमा पनि गुमाउँनु हुँदैन भनेर हामीले महशुस गरेका छौं । नेपाली समुदाय अष्ट्रेलियन बहुसांस्कृतिक समाजको जल्दो बल्दो र द्रूत गतिले अगाडि बडिरहेको एउटा अभिन्न अंग हो भन्ने कुरा अब स्थापित भैसकेको छ ।

अष्ट्रेलियामा जन्मेर हुर्कदै गरेको हाम्रो नयाँ पुस्तालाई नेपाली भाषा सिकाउने कुरा पारिवारिक रुपमा मात्र भन्दा यसरी सामुहिक रुपमा पाठशाला मार्फत संचालन गर्दा सबैलाई सहज हुन्छ भन्ने हामीले बिश्वास लिएका छौं । तर यसको लागि सम्बन्धित विद्यार्थीको परिवार तथा समग्र समुदायको महत्वपूर्ण भूमिका रहन्छ ।

प्राथमिकता : सिड्नी भित्रका बिभिन्न उप–नगरहरूबाट शब्दमाला खोलिदिन अनुरोधहरू प्रसस्त आइरहेका छ्न् । तर हामीले अहिले संख्या बढाउनेभन्दा बलियो जग बसाउने र हाम्रो पठन पाठनलार्ई अझ बढि गुणस्तरिय बनाउने कुरालार्ई प्राथमिकता दिइरहेका छौं ।

योजना : हाम्रो शैक्षिक प्रणाली न्यू साउथ वेल्स सकारको पद्धति अनुरूप गर्नु पर्ने हुँदा हाम्रा शिक्षक शिक्षिकाहरूलार्ई जति सक्दो धेरै प्रशिक्षण गराई उनीहरूको शीप र ज्ञानमा उल्लेखनीय बृद्धि गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्ने हाम्रो योजना छ । यसका साथै बिगतमा भएका कमी कमजोरीहरूलार्ई औंल्याउँदै हाम्रा शैक्षिक, आर्थिक तथा अन्य व्यबस्थापकीय पक्षहरूलार्ई सुब्यवस्थित ढङ्गबाट परिचालन गराँउदै लैजाने पनि हाम्रो योजना भित्रै पर्दछ ।

अष्ट्रेलियामा संचालन भइरहेका अन्य भाषिक विद्यालयहरूको जस्तो लामो इतिहास हाम्रो छैन । त्यसकारण बलियो जग बसाल्ने नै हाम्रो हालको अभियान रहेको छ ।

सोच : एउटा बलियो आधार खडा गरि विद्यालय दोस्रो पुस्ताद्वारा नै संचालन गराउने र हेच एस सि सम्म नेपाली बिषय पठनपाठन गराउनेसम्म बनाउने हाम्रो सोंच छ ।

कठिनाइ : सरकारी विद्यालयहरूमा कक्षा संचालन गर्दा हामीले सो विद्यालयको नियम अनुसार चल्नुपर्ने हुन्छ र कहिलेकाहिं कठिनाइहरूको सामना गर्नुपर्ने हुन्छ । यदि हाम्रो आफ्नै भवन हुने हो भने हामीलार्ई परिस्थिति सहज हुने थियो भन्ने कुरा हामी समय समयमा महशुस गर्दछौं ।

चुनौती : मातृभाषा बोल्न लेख्न र पढ्नको साथै हाम्रा सास्कृतिक पक्षको ज्ञान हामीले हाम्रा केटाकेटीहरूलार्ई दिनुपर्छ भन्ने कुरामा नेपाली समुदायलार्ई कसरि जागरुक बनाउने भन्ने कुरा हालको हाम्रो सबैभन्दा ठूलो चुनौति रहेको छ ।

कृतज्ञता : यो विद्यालयको महत्व बुझेर नेपाली समुदायले हामीप्रति दर्शाउनु भएको सदभाव र सहयोगको लागि हामी आभारी छौं र आगामी दिनहरूमा पनि यस्तै सदभाव र सहयोगको अपेक्षा राख्दछौं ।

 

शब्दमालाबारे केही स्मरण र विचार

– राजन छेत्री, संस्थापक अध्यक्ष (२०१० – २०११)

आफूले रोपेको बीजले आवश्यक मलजल पाइ अहिले फूल लाग्ने विरुवाको रुप पाएको देख्दा म लगायत त्यस समयका मेरा सहयात्रीहरूले गौरवको अनुभूति गर्न नौलो भएन । शब्दमालाको बीज र त्यसभन्दा अघि रोपिएका बीजमा के फरक थियो र शब्दमालाले यो सफलता हाँसिल गर्न सक्यो ? यो प्रश्नको उत्तर खोज्न फर्केर हेर्दा मुलतः दुईओटा कुरामा मेरो मन जान्छ :

१. शब्दमालाको बीज रोपेको समय उपयुक्त थियो । त्यस समयमा अष्टे«लिया नेपालीहरूको आगमन र यहाँ (मुलतः सिड्नीमा) केटाकेटीहरूको संख्या वृद्धिदर अभूतपूर्व थियो । यस्तो परिवेसमा शब्दमालाजस्तो पाठशालाको खाँचो टड्कारो थियो ।

२. बीजको लागि आवस्यक माटोको पहिचान गर्नसक्ने कृषकहरू र त्यसको मलजल र गोडमेलको खाँचो पूरा गर्न सक्ने समाजिक संंजाल बन्दै र बनिसकेका थिए । वास्तवमा केटाकेटीहरूलार्ई यहाँको समाजमा बलियो तरिकाले समिश्रित भइ अगाडि बढ्नका लागि “म नेपालीको छोरा/छोरी हूँ र मेरो सामाजिक पहिचान अष्ट्रेलियायी समाजको नेपालीको हो” भन्ने अर्थ बुझ्न आवस्यक छ भन्ने विश्वास भएका तथा आवस्यक ज्ञान भएका केही व्यक्तिहरूको मिलन थियो । त्यसलार्ई गति दिन साढे एक दशकदेखि अथक काम गर्दै आएका सामाजिक संस्थाहरू (जि.एन.सी./गुठी अष्ट्रेलिया) र समाजमा सजिलै खवर पुर्याइदिने संचार माध्यमहरू (NTA / SBS Nepali, नेपाली पत्र/हिमालयन एफ. एम.) हरूले होस्टेमा हैसे गरेका थिए । यी कुराहरू फर्केर हेर्दा सजिलै देखिएपनि शब्दमालाको सुरुवादमा हामीलार्ई यसले यति छिट्टै अहिलेको झाँगिएको रुपमा आइपुग्नेछ । भन्ने विश्वास थियो भनु भने मैले झुटो बोल्नु हुनेछ । यसमा हामी पछि आएका इमान्दार र कर्मठ अभिभावकहरूको देन अति महत्वपूर्ण छ ।

भविष्यका हाम्रो समाजमा शब्दमालाको भूमिका अवश्य नै महत्वपूर्ण छ । भलै यसको भूमिका अहिलेको भन्दा फरक म देख्दिन्न (हाम्रा केटाकेटीहरूलार्ई आफ्नो अतीत नविर्सी भविष्योन्मुख बनाउनु) तर यसका चुनौतिहरू भने म केही भिन्न अवश्य देख्छु । यी चुनौतिहरू मा समय सुहाउँदो पाठ्यक्रम तयार गर्न सक्नु तथा सिड्नी बाहिरका गाउँ/शहरहरूमा आवस्यकता अनुसार आफ्नो संजाल फैलाउन सक्नु रहेको देख्छु । यस अर्थमा डिजिटल मिडिया र इन्टरनेटको सही समिश्रण आवश्यक बन्दै गएको देख्छु ।

शब्दमालाको वीज अहिले हाँगा हालेर फूल लागेको विरुवा बनेको अवस्थामा छ । यसका फलहरू आउँदा दर्शकहरूमा विश्वमै फैलिदा नेपालमा पनि नयाँँ विचारहरू लिएर जान सके भने हाम्रो प्रयास सफल र सार्थक भएको ठान्नेछु ।

यी विचार तथा स्मरणहरू मेरा हुन् तर यसमा शब्दमालाको सुरुवातका सहयात्रीहरू पनि सहमत हुनुहोला भन्ने आशा लिएको छु ।

 

शब्दमाला : हामी सबैको साझा सम्पती हो

– समिन्द्र श्रेष्ठ, शब्दमाला अध्यक्ष (२०१२ – २०१३)

नेपाली भाषा विद्यालय (शब्दमाला) तपाईँ हामी सबैको साझा संस्था तथा सम्पती हो । करिब एक दशकको समय पार गरेर शब्दमाला आज जुन स्थानमा आइपुगेको छ त्यो तपाईं हामी सबैको गर्वको बिषय हो र अझ विशेष गरी बिदेशी भूमिलार्ई कर्म थलो बनाएर बसेका हामीले यसलार्ई वरदान नै मान्नु पर्ने हुन्छ । नेपाल भन्दा अलिक भिन्दै समाजिक व्यवस्था रहेको स्थानमा शब्दमालाको स्थापनाले हाम्रा सन्तती तथा भावी सन्ततीहरूलार्ई नेपाली भाषा तथा संस्कृती सिकाउनका लागि उल्लेख्य सहयोग पुग्ने पक्का हुनुका साथै दिनानुदिन प्रमाणित पनि भैरहेको छ ।

मेरो सोचाई र अनुभवमा शब्दमालाको सफलताका सूचकहरू धेरै छन् तैपनि तलका तीन सूचकहरूलार्ई प्रमुख ठानेकोछु :

गोर्खानेपाली समाज र गुठी अष्ट्रेलिया सँग आबद्ध यस संस्थाका संस्थापक साथीहरूले जुन मिहिनेत, लगनशिलता र आफूमा रहेको शीपलार्ई प्रयोग गरेर यस संस्थाको लागि आवस्यक पर्ने अध्यापन तथा व्यवस्थापन प्रणाली, सामग्री, गुरुयोजना तथा अन्य प्रशासकिय दर्ता प्रकृयाहरू पूरा गर्नु भयो र शुरुको दिनहरूमा आँफै शरिक भएर सञ्चालन गर्नुभयो त्यो अति नै सर्हानीय कार्य थियो । यस प्रकारको तयारीले संस्थाको जग बलियो बसेको थियो । यसै सन्दर्भमा म उक्त क्षमतावान साथीहरूको उल्लेखनीय कार्यको कदर गर्दै हार्दिक नमन गर्न चाहन्छु ।

संस्थालार्ई व्यक्ति र समूह बिशेषको राजनीतिदेखि पूर्ण रुपमा अलग राखेर एक स्वच्छ, निस्वार्थ, पारदर्शी एवं उद्देश्यमूलक संस्थाको अवधाराणा लार्ई निरन्तर रुपमा अनुशरण गरिनु, जसमा अभिभाबकहरूलार्ई संस्थाको प्रमुख धनीको रुपमा प्रबर्धन तथा परिचालन गरिनु ।

यहाँका दोस्रो पुस्तालार्ई सुहाउँदो प्रयोगात्मक शिक्षा विधिहरूको क्रमिक तथा बद्धो प्रयोग । साथै नेपालीपनका अतिरिक्त कृयाकलापहरू जस्तै नाचगान, कविता, नाटक, प्रबचन जस्ता विषयहरूलार्ई पनि पाठयक्रममा बढवा दिइनु ।

शब्दमाला बिशुद्ध रुपमा स्वयंसेवकहरूद्वारा सञ्चालित संस्था भएको र बर्तमानमा छवटा शाखाहरू संचालनमा रहेका कारण यसका आफ्नै खाले अवसर र चुनौतीहरू छन् ।

शब्दमालाले आगामी दिनमा निभाउनु पर्ने भूमिकाका विषयमा भन्नुपर्दा मेरो अनुभव र केहि धारणाहरू यसप्रकार छन :

अहिले जुन किसिमको गुणस्तरीय अध्यापन कार्य भैरहेको छ त्यसको स्तर कत्तिपनि खस्किन नदिईकन अझै संख्यात्मक भन्दा गुणात्मक शिक्षा पद्दतिलार्ई बढवा दिंंदै जाने ।

शब्दमालाको वर्तमान श्रोत र साधनलार्ई मध्यनजर गर्ने हो भने अरु थप शाखा खोल्नको लागि त्यती सहज देखिदैन । संचालक समितिमा रहनु भएका साथीहरूलार्ई हालका छ वटा शाखाहरूलार्ई संचालन गर्ने उत्तरदायित्व मात्रैले पनि धेरै व्यस्त राखेको अवस्था छ । यो खाले व्यस्तता एक दुई पटकको मात्र नभएर बर्षभरी एकनासले लाग्नुपर्ने हुन्छ । शब्दमालालार्ई नयाँँ शाखा खोल्ने मागहरू धेरै आउने गर्दछन् तैपनि शब्दमालाको संचालन व्यवस्थापन प्रणालीमा उल्लेख्य सुधार तथा कम्प्युटर र अन्लार्ईन पद्दति प्रयोग गरिएका स्वचालित प्रणालीको सफल प्रयोग नहुन्जेल यो मागलार्ई थाती राख्नु पर्ने देखिन्छ ।

समय र परीस्थिति अनुकुल भएसम्म शब्दमालाको पाठयक्रमलार्ई सहयोग पुग्ने खालको नेपाली तथा अन्य समुदायहरूसँगको सहकार्य लार्ई नियमित गर्दै लाने ।

शब्दमालाको अक्षयकोषको अवधारणालार्ई मूर्तरुप दिनसकेमा विद्यार्थी शुल्कमा केहि कतौती गर्न सकिने ।

शब्दमालाका उपज दोश्रो पुस्तालार्ई समय सापेक्ष रुपमा शब्दमालामा स्वयंसेबक बन्ने अवसर प्रदान गर्ने जसले गर्दा भविष्यमा शब्दमालाको संचालन र व्यवस्थापन पूर्ण रुपमा दोश्रो पुस्ताबाट चल्ने वातावरण सिर्जना हुनसकोस् ।