राजीनामामै पुगेर टुंगियो लक्की शेर्पाको यात्रा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, माघ २३, २०७५

काठमाडौं-सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको राजीनामा स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत शेर्पाले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएका हुन् । मानव तस्करी, श्रम शोषणलगायत विभिन्न विवादमा परेपछि राजदूत शेर्पाले राजीनामा दिएकी हुन् । परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरणसमेत सोधेको थियो । उनले एक विज्ञप्तिमार्फत राजीनामा बुझाएको बताएकी थिइन् । फेब्रुअरी १ का दिन परराष्ट्र मन्त्रालयमा आफैं गएर उनले राजीनामा बुझाएकी हुन् । शेर्पा र उनका पतिविरुद्ध उनीहरूकै एक सहयोगीले आफूसग पैसा लिएर अस्ट्रेलिया लगेको र मानवतस्करी संलग्न भएको आरोप लगाएका थिए ।

आफ्नो व्यावसायिक जीवनको थालनी नै मानवतस्करी विरुद्धको अभियानबाट भएको भन्दै शेर्पाले आफूमाथि लागेका आरोपको खण्डन गरेकी छन् । ती आरोपहरूलाई चिर्न सजिलो होस् भनेर कूटनीतिक मर्यादामा बस्दै राजीनामा दिएको उनको भनाइ छ । छानबिन समितिले प्रतिवेदन बुझाएपछि उनलाई राजीनामा दिन दबाव परेको बताइन्छ । केही हप्ताअघि सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विवादमा परेकी शेर्पालाई उपयुक्त निकास दिन भनिएको बताएका थिए । उनका अनुसार समितिले प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेर्पालाई राजीनामा दिन सुझाव दिएका थिए । तर आफूले कसैको दबावमा परेर नभएर नैतिकताका आधारमा राजीनामा दिएको शेर्पाको दावी छ । शेर्पाको भनाइ छ–‘मैले कसैको दबावमा राजीनामा दिएको हैन । मलाई सिफारिस गर्ने पार्टीले पनि मलाई सहयोग गरेको हो ।’

तत्कालीन नेकपा एमालेबाट संविधानसभामा सदस्य रहेकी शेर्पाले पछि तत्कालीन एकीकृत नेकपा माओवादीमा प्रवेश गरेकी थिइन् । माओवादी सहितको शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले उनलाई माओवादीको कोटाबाट राजदूत नियुक्त गरेको थियो ।

के छ शेर्पाको विज्ञप्तीमा

शेर्पाले विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोपको खण्डन गरेकी हुन् । ‘घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको पछाडि लागेर आफ्नो देशको डिप्लोम्याट जो रातदिन देश र जनताको हितार्थ समर्पित छ त्यस्ता व्यक्तिहरुलाई मानमर्दन गर्ने परम्पराको थालनी हुनु दुखद छ’ उनले भनेकी छिन् । शरणार्थी माध्यमबाट पीआर पाउने कुचेष्टाले शेर्पालाई प्रयोग गरिएको उनको दाबी छ । आफू मानव तस्करीविरुद्ध लड्दै आएको स्मरण गराउ“दै उनले भनेकी छिन्–‘मेरो जीवन खुला किताब जस्तै छ । मेरो सर्बस्व भनेकै इमान्दारिता हो ।’ निजी सहयोगी कार्यगत र भाषिक परीक्षण लिए पनि नियत र इमान्दारिताको परीक्षण लिन चुकेको उनले बताएकी छन् । ‘विदेशमै बस्ने लालसाले जसरी पनि पीआर पाउन यसैको सौदाबाजी गर्ने ब्यक्तिको चंगुलमा पुगें’ उनले भनेकी छिन् । केही सञ्चार माध्यमले वास्तविकता नबुझेर एकपक्षीय प्रचार गरेको उनको गुनासो छ । आफूविरुद्ध आरोप लागेपछि अनुसन्धानमा सहयोग गर्न ‘कूटनीतिक उन्मुक्ति खुला’ अष्ट्रेलियन सरकारसमक्ष पेश गरेको र आरोप झुठा साबित गर्दै ससम्मान कूटनीतिक रुपमा काम गर्ने हौसला प्रदान गरेको शेर्पाको दाबी छ ।

यस्तो थियो आरोप

अष्ट्रेलियाका लागि नेपाली राजदुत महामहिम लक्की शेर्पा माथी उनकै (पुर्व)चालक वाङ्छु शेर्पाले मानव तस्करीको आरोप लगाएका थिए । ती चालकले लक्की शेर्पालाई पैसा लिएर आफुलाई अष्ट्रेलिया ल्याएको र मानव बेचबिखनमा संग्लन रहेको गम्भीर आरोप लगाएका हुन् । राजदुतावासले पनि चालक वाङ्छु शेर्पा माथि विभिन्न आरोपकहरु लगाएको छ । त्यो आरोपमा चालक वाङ्छु शेर्पालाई निकै बदमास रहेको भनिएको छ भने उनले बहुमुल्य गहना चोरेर भागेको र अष्ट्रेलियामा स्थायी बसोबासका लागि विभिन्न बहाना बनाउदै झुठा आरोप लगाएको राजदुतावासको दावी छ । आफ्नै चालकलाई पैसा लिएर अष्ट्रेलिया ल्याएको र मानव बेचबिखनमा संग्लन भएको भन्नेजस्तो आरोप गम्भीर भएकाले नेपाल सरकारले यसलाई गम्भीरतापुर्वक चासो राखेर तुरुन्त छानविन तथा अनुसन्धान गरेको हो ।

यतिमात्र होइन, पूर्वचालक शेर्पाले राजदूत लक्की शेर्पामाथि थप गम्भीर आरोप लगाएका छन् । मानव तस्करीबाट आएको पैसाबाट राजदूत शेर्पाले काठमाडौंको नया“पाटीमा दुई रोपनी जग्गा खरिद गरेको दावी गरिएको छ । ओङ्छु शेर्पाले राजदूतले खरिद गरेको जग्गाको कागजपत्र र तिरेको पैसा आफूसँग रहेको कार्यक्रममा बताए । राजदूत शेर्पाले सबै कारोबार आफूमार्फत् गर्ने गरेकालाई समस्या भएको ओङ्छु शेर्पाले बताएका छन् । ओङ्छु शेर्पामार्फत् सिंगापुरका तेम्वा शेर्पाका भाई दावा शेर्पालाई अस्ट्रेलिया लैजाने भनेर १४ लाख रुपियाँ राजदूत लक्की शेर्पाले लिएको दावी गरिएको छ । राजदूत शेर्पाले ५–६ जनाबाट अस्ट्रेलिया लैजान रकम उठाएको आरोप छ । शेर्पा सन् २०१७ मा राजदूतावासमा चालकको रुपमा काम गर्न पुगेका थिए । राजदूत लक्की शेर्पास“ग आर्थिक विषयमा तनाव भएपछि ओङ्छु शेर्पाले क्यानबाराको नेपाली राजदूतावास छाडेका उल्लेख छ । वैदेशिक रोजगारमा ठगी गरेको अभियोगमा राजदूत लक्की शेर्पाले ओङ्छु शेर्पाकी पत्नीलाई छ महिनादेखि जेलमा थुनाएर राखेकी छिन् । चालक शेर्पाले भने आफूस“ग राजदूत शेर्पाको लागि काम गर्ने गरेको दावी गरेका छन् ।

एउटा टेलिभिजन कार्यक्रममा अस्ट्रेलियाबाट टेलिफोनमा प्रस्तुत भएका राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदुत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएपछि यो प्रकरण चर्चामा आएको थियो । आफूस“ग करिव ३३ लाख रुपैयाँ लिएर अस्ट्रेलिया ल्याएको र अरु केही मानिसहरुलाई अस्ट्रेलिया ल्याउन पहल गर्ने भन्दै आफूलाई रकम उठाउन परिचालन गरेको आरोप राजदूतका सवारी चालकले लगाएका छन् । पैसा उठाइएका व्यक्तिहरु अस्ट्रेलिया आउन नसकेपछि राजदूत लक्की र उनका श्रीमानले रकम फिर्ता नदिई उल्टै आफू र आफ्नी श्रीमतीलाई फसाइएको वाङछुले आरोप लगाएका छन् । अष्ट्रेलिया पठाउने भन्दै पैसा उठाएर फिर्ता नगरेको आरोपमा हाल वाङछुकी श्रीमती काठमाडौंमा जेलमा छिन् । वाङछु भने अष्ट्रेलियाको नेपाली दूताबास छाडेर सिडनीमा बस्दै आएका छन् । वाङछु शेर्पाले आफूलाई दुताबासभित्र श्रम शोषण भएको पनि आरोप लगाएका छन् । उनले आफू अस्ट्रेलियन सरकारको शरणमा गएको बताएका छन् । उनले आफ्नी श्रीमतीलाई नेपालमा रिहाइ गरिदिएर आफू सुरक्षित छु भन्ने प्रत्याभूति दिई आफूमार्फत् लिएको रकम फिर्ता गरेमा आफू स्वदेश र्फकन तयार रहेको पनि बताएका छन् । सन् २०१७ को जून ९ तारेखमा लक्की शेर्पासँगै अर्दलीका रुपमा अष्ट्रेलिया गएका वाङछु शेर्पाले करिव ४ महिनासम्म दूताबासमा काम गरेका थिए । चार महिनापछि आफू असुरक्षित भएको भन्दै दूताबासबाट बाहिरिएका उनी एक वर्षदेखि अष्ट्रेलियामै शरण लिएर बस्दै आएका छन् । उनीसँग जोडिएको आर्थिक लेनदेन लगायतको विषयमा अहिले नेपाल र अष्ट्रेलिया दुबैतर्फ मुद्दा चलिरहेको छ ।

यसरी ठगिएका थिए वङ्छु शेर्पा

एउटा सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार लक्की राजदूत हुनुअघि नै ओङ्छु शेर्पा उनका श्रीमान्को सम्पर्कमा थिए । उनका श्रीमान्ले अमेरिका पठाइदिने भन्दै २२ लाख रुपैयाँ लिएका थिए । गाउँकै एक जनालाई अमेरिका पठाएकाले विश्वास २२ लाख रुपैयाँ दिएको पीडित वङ्छु शेर्पाले बताएका छन् । त्यस पछि पनि १०–१० लाख गरेर २ पटक थप रकम दिइएको उनले बताए । अमेरिका पठाइदिने भन्दै पीडित शेर्पाले कूल ४२ लाख रुपैया“ दिए । तर राजदूत दम्पतीले ओङ्छु शेर्पालाई अमेरिका पठाउन सकेनन् । उनले अमेरिकाको भिसाका लागी दर्खास्त दिएपनि उनको भिषा भने लागेन् र अमेरिका पठाउन नसकि रहेकै बेला लक्की शेर्पा राजदूत बन्ने चर्चा चल्यो । त्यसपछि ओङ्छु शेर्पालाई पनि दूतावासमै काम गराउने गरी अस्ट्रेलिया लैजाने सहमति भयो । त्यसपछि शेर्पाले दूतावासमै चालकको काम गरे । राजदूत भएपछि शेर्पाले चर्को रकम लिएर नेपालीलाई अस्ट्रेलिया पठाउने धन्दा शुरू गरेको वङ्छु शेर्पाको आरोप छ । आफूले दिएको पैसा वङ्छु शेर्पाले फिर्ता माग्न थालेपछि राजदूत दम्पतीले चोरीको आरोप लगाएको र शेर्पाकी पत्नीलाई मुद्दा लगाएर थुनामा पठाएको पीडित शेर्पाको दावी छ । ओङ्छु शेर्पाकी पत्नी अहिले पनि प्रहरीको थुनामै छिन् । राजदूतको चक्करमा परेर ओङ्छु शेर्पा परिवार अहिले नराम्ररी फसेको तथा शक्ति र पैसाको आँडमा राजदूत दम्पतीले मनपरी गरि रहेको दावी गरिएको छ ।