सरकारमा लिबरल–नेशनल गठबन्धनको निरन्तरता

-- महेन्द्र कुमार लम्साल, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०७५

गत २३ मार्च सनिबारका दिन सम्पन्न एनएसडब्लु राज्यसरकारका लागि सम्पन्न चुनाबमा अपेक्षित रुपमा लिबरल–नेशनल गठबन्धन सरकारले तेश्रो पटक राज्यको संसदमा बहुमत प्राप्त गरेको छ । निर्वाचनको यो परिणामले दुई वटा किर्तिमान कायम गरेको छ । पहिलो राज्यमा आम निर्वाचनबाट पहिलो पटक महिला प्रिमियर निर्वाचित भएकी छन् भने दोश्रो लिबरल – नेशनल गठबन्धनले निरन्तर तेश्रो पटक बहुमतको सरकार गठन गरेको छ । निर्वाचन पश्चातको जनमत हेर्दा अघिल्लो चुनाबको तुलनामा सबै ठूला दल लेबर, लिबरल, नेशनल र ग्रीन धेर–थोर जनमत गुमाएका छन् । सबै भन्दा धेरै, करिब ३ प्रतिशत मत लेबरको घटेको छ भने नया पार्टी “शुटर्स, फिशर्स एण्ड फार्मस” पार्टीले १४३५८८ (३.५प्रतिशत) मत प्राप्त गरी पहिलो पटक संसदमा ३ सिट जितेको छ ।

गत ४ वर्षको तुलनामा गठबन्धनले कुल ४ सिट गुमाए पनि सरकार निर्माण गर्नका लागि झिनो बहुमत प्राप्त गरेपछि त्रिशंकु संसद वा अल्पमतको सरकार निर्माण गर्ने समस्या टरेको छ । २०१५ को संख्यामा लिबरलले १ सिट गुमाएको छ भने नेशनलले ३ सिट गुमाई जम्मा १३ स्थानमा जितेको छ र जोड्दा ३५ प्लस १३ गरि कुल ९३ सदस्सीय संसदको तल्लो सदनमा ४८ संसद सहितको बहुमत प्राप्त हुनाले ग्ल्याडी बेरेजिक्लियनको नेतृत्वमा एकमना सरकार बनाउन सफल भएको छ ।
करिब ५ हप्ता लामो एनएसडब्लु राज्य चुनाबी अभियानका प्रमुख मुद्दाहरु शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधार विकास निर्माण तथा पर्यावरण थिए । शिक्षा, स्वास्थ्य तथा पर्यावरणमा लेबरको प्रतिबद्दता थियो भने यातायात तथा पूर्वाधार विकास निर्माणका सवालमा लिबरल–नेशनल गठबन्धनको प्रतिबद्दता प्राथमिकतामा थियो । त्यसै गरि सिड्नी ओलम्पिक पार्क स्थित स्टेडियम भन्दा स्कूलमा खर्च गरिनु पर्ने र M4 राजमार्गमा लगाएको सवारी कर फिर्ता दिने बिषयलाई लेबरले आफ्मो चुनाबी नारा बनाएको थियो ।

निर्वाचनको सम्मुखमा आएर प्रतिपक्षी लेबर पार्टी नेतृत्वमा परिवर्तन र दलका नेतामा देखिएको कमजोरी लेबर पार्टीको लागि यो त्यति सहज देखिएन । त्यसै गरि अर्थतन्त्र व्यवस्थित गर्ने, एनएसडब्लुलाई व्यवसायमैत्री वातावरण बनाउने र आर्थिक रुपमा सबल बनाउन सत्तारुढ दल लिबरल–नेशनल गठबन्धन निरन्तर सक्षम देखिएकोले एनएसडब्लुका जनताले सरकारको नेतृत्व परिवर्तन गर्न नचाहेको प्रष्ट देखिन्छ ।

त्यसै गरि तुलनात्मक रुपमा आप्रवासीहरुको सहानुभूति मत लेबर पार्टीले लिने परम्परा पनि अहिले केहि हदसम्म तोडिएको देखिन्छ । निर्वाचनको अन्तिमसम्म पनि बहुसांस्कृतिक मामिला सम्बन्धि मन्त्री रे विलियम समुदायका विभिन्न कार्यक्रमहरुमा सरिक हुने र सामुदायिक भाषा तथा संस्कृति संरक्षण, प्रबर्धन तथा विकासका लागि सरकारको तर्फबाट सक्दो आर्थिक सहयोगको घोषणा गर्दै रहे । आफ्नो कार्यकालमा करिब २३५ सामुदायिक कार्यक्रममा उपस्थित भएको जानकारी दिंदै र गठबन्धन सरकार बहुसांस्कृतिक समुदायको पक्षमा प्रतिबद्द रहेको दोहोर्याउदै सरकार प्रति आप्रवासीको मन जित्न सफल रहे ।
सबै भन्दा ठुलो राज्य एनएसडब्लु निर्वाचनको परिणामले आगामी मे महिनामा हुने संघीय सरकारको निर्वाचनमा असर पार्न सक्ने विश्लेषकहरु बताउँछन् । हालसम्मको जनमत हेर्दा लेबर पार्टी केहि प्रतिशत अगाडि छ । तर आगामी करिब २ महिना यी दुई दलहरु जनताका तन र मन जित्न अत्यन्तै महत्वपूर्ण बन्ने देखिन्छ । माथि उल्लिखित मुद्धाका अतिरिक्त संघीय चुनाबमा अध्यागमन, अर्थतन्त्र तथा पराष्ट्र मामिला सम्बन्धी नीति तथा दलहरुको प्रतिबद्दता नै जनमतलाई आफूतिर आकर्षण गर्ने प्रमुख बिषय बन्ने छन् ।