कोरोना क्राइसिस अष्ट्रेलिया – “रोड टु रिकभरी”

-- महेन्द्र कुमार लम्साल / प्रकाशित मिति : आइतवार, जेष्ठ १८, २०७७

कोरोना संकटको करिब तीन महिना नबित्दै अष्ट्रेलिया झन्डै सामान्य अवस्थामा फर्कन थालेको छ। यो रिकभरी अभियानमा अन्य सम्बृद्ध राष्ट्रहरुका तुलनामा अष्ट्रेलियाले उदाहरणीय सफलता प्राप्त गरेको हो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार  आजका मितिसम्म अष्ट्रेलियामा कोरोना भाइरसबाट १०३ जनाको मृत्यु भएको छ । करिब १ लाख ४३ हजार टेस्टमा करिब ७२०० मानिसहरुमा मात्र कोरोना भाइरस संक्रमण भेटिएको थियो । हाल आएर ती ७२०० मध्ये करिब ४५० जना बिरामीहरुमा मात्र एक्टिभ कोरोना भाइरसको संक्रमण छ, बाँकि सबैको स्वास्थ्यलाभ भैसकेको छ ।

कोरोना भारसलार्इ पत्ता लगाउने, नियन्त्रण गर्ने र निको पार्ने नीतिमा सफल हुँदै जाँदा ८ मे मा बसेको क्याबिनेट बैठकबाट अष्ट्रेलिया सरकारको तीन स्टेपको रिकभरि योजना घोषणा गरेको थियो । ती स्टेपहरुमा बिभिन्न चरणमा बन्दहरुलाई खुला गर्ने थियो । त्यहि प्लान अनुसार आज जुन १ देखि एनएसडब्लुमा स्टेप २ पूर्ण रुपमा लागु हुँदैछ भने केहि राज्यहरुले अगाडि नै त्यो स्टेजमा पुगेका छन् ।  आजदेखि राज्यमा घुमफिर गर्न मिल्ने भएको छ  । होटल, रेस्टुरेन्ट, क्लब, पब, क्यासिनोहरु एक पटकमा बढीमा ५० जनाका लागि खुला हुने छन्, मन्दिरहरु मा तथा प्रार्थना स्थलमा ५० जनाका लागि छुट दिएको छ । त्यसै गरि पार्कहरु, क्यम्पिंग स्पटहरु, पुस्तकालय, संग्रहालय तथा सौन्दर्य सम्बन्धि सेवाहरु संचालन गर्न अनुमति दिएको छ ।

यी सबै क्रियाकलापहरु छुट दिदै गर्दा सरकारले निरन्तर सोसियल डिस्टेन्सिंग र व्यक्तिगत सरसफाईका लागि सम्झाएको छ । एकअर्कामा  कम्तिमा १ मिटर स्क्वायरको दुरीको नियमलार्इ अष्ट्रेलियनहरुले आगामी दिनहरुमा एउटा नियमित जीवनशैलीको रुपमा अपनाउनु पर्ने देखिन्छ।

संकट सामनाको पृष्ठभूमि

गत मार्चको सुरुदेखि नै जब संसारका थुप्रै मुलुकहरु कोरोना भाइरसको आक्रमणले आतंकित र त्रसित बनेको थियो तब यो अदृश्य महामारिसंग सामना गर्न अष्ट्रेलिया सरकारले एउटा पृथक सोच र योजना बनाएर सबै राज्य सरकार, स्वास्थ्यकर्मी, बिज्ञ, व्यवसायी सबै संग मिलेर एक ढिक्का भई अगाडि बढ्ने निर्णय गर्यो ।

मुख्य कुरा अष्ट्रेलिया यो राष्ट्रिय संकटसंग जुध्न दलीय राजनीति भन्दा माथि उठेर काम गर्न सफल भयो। सबै राजनैतिक दलहरु, नागरिक समाज, लेबर युनियनहरु लगाएत समग्र अष्ट्रेलियनहरु एकै ठाउमा उभिएर सम्पन्न गरिएको “समन्वयात्मक टिम वर्क” का कारण कोभिड-१९ माथि सरकारले समयमै नियन्त्रण राख्न सफल भयो।

सरकारले जनताको जीवन र जीवनशैली बचाउनका लागि राहत प्याकेज र सुरक्षाका थुप्रै निर्देशिकाहरु जारी गर्यो । आर्थिक राहत घोषणा गर्ने क्रममा प्रधानमन्त्रि स्कट मोरिशनले भनेका थिए “हामी अमेरिकन, बेलायती वा न्युजील्याण्ड मोडेल प्रयोग गर्दैनौ, यो हाम्रो आफ्नै मोडेल हो” । हामी अनचार्टर्ड टेरिटोरी” मा छौ, मतलब यो हामी सबैको लागि एकदमै नयाँ यात्रा हो, यो यात्रामा गल्ति हुन पनि सक्छ र यात्रा दुःखद पनि हुन सक्छ तर हामी सफल हुने प्रयास गर्ने छौं ।

हुनपनि कोरोना भाइरससंग लड्ने, अष्ट्रेलियन कार्ययोजना मौलिक थियो । जनताको आफ्नो जीवनशैलीलार्इ पनि निरन्तरता दिने, अर्थतन्त्रलार्इ सकेसम्म पूर्ण रुपमा बन्द नगर्ने, र जनताको जीवन रक्षालार्इ उच्च प्राथमिकता दिने गरि प्रयोजनमा ल्याइएको अष्ट्रेलियन मोडेल अरु देशको जस्तो थिएन ।

एउटा युनिक मोडेल अनुरुप सरकारले एकातिर जब किपर, जब सिकर लगायत थुप्रै आर्थिक प्याकेज घोषणा गरि व्यवसायीहरुलाई सकेसम्म व्यवसायको ढोका खोलिरहन प्रेरित गर्यो भने अर्को तर्फ कोरोना संकटका कारण बन्द हुँदै गरेका व्यवसायबाट पर्ने बेरोजगारीको असर अर्थतन्त्रमा न्युनिकरण गर्न बेराजगार भत्ता (जब सिकर) मा वृद्धी गर्यो । जसले गर्दा एकातिर व्यापार व्यवसायहरु पूर्ण रुपमा बन्द भएनन् भने अर्को तिर व्यापार बन्द भै रोजगार गुमाएकाहरुले पनि ठूलो आर्थिक कठिनाइ भोग्नु परेन। त्यसैगरी निःशुल्क चाइल्ड केयरको व्यवस्था र सरकारी स्कूलहरु आंशिक रुपमा चलेका कारण फ्रन्टलार्इन सेवामा कामगर्ने मानिसहरुको आपूर्तिमा कमी आएन, अत्यावस्यक सेवा अवरुद्ध भएन र  अर्थतन्त्रमा धेरै क्षति हुन पाएन ।

यस संकटको घडीमा आफ्ना नागरिकहरु प्रति अत्यन्तै जिम्मेवारीपूर्ण अभिभाविकीय भूमिका निर्वाह गर्न समर्थ भएकोमा सरकारका हरेक कदममा जनताको पूर्ण समर्थन रह्यो । अन्ततः अपेक्षा गरे भन्दा सहज ढंगबाट छोटो समयमा कोरोना समस्याबाट अष्ट्रेलिया बाहिर निस्कन सफल भयो ।

जब किपर र सिकर तथा निःशुल्क चाइल्ड केयरका अतिरिक्त व्यवसायीहरुलाई आफ्नो व्यवसायलार्इ निरन्तरता दिन थप नगद सहयोग, बन्दका कारण मानिसहरु मा पर्न जाने मानसिक समस्यासंग जुध्नका लागि आर्थिक प्याकेज, घरेलु हिंशाबाट पिडितहरुलाई सुरक्षित बसोबासको व्यवस्था, पानी, बिजुली तथा काउन्सिल जस्ता  बिलहरु मा सहयोग, घर भाडा र बैंक ऋण भुक्तानिमा लचकता जस्ता राहत नीतिबाट अन्य क्षेत्र भन्दा अष्ट्रेलिया कोभिड-१९ संकटबाट सहज रुपमै बाहिर निस्कन सफल देखियो । सरकारको यो राहत प्याकेज र प्लानबाट करिब ५० लाख अष्ट्रेलियनहरु प्रत्यक्ष लाभावान्वित भएको आँकडा सरकारले निकालेको छ ।

यो सफलतामा एउटा उदाहरणीय टिम वर्क प्रष्टै देखिन्थ्यो । राजनैतिक रुपमा केन्द्र र राज्यहरु मा फरक पार्टीको सरकार थियो । तर यो संकटको घडीमा ८ राज्य र टेरिटोरी अनि केन्द्र सरकार सबै एकै ठाउँमा उभिन पुग्नुले पनि अष्ट्रेलिया कोभिड-१९ संकटलार्इ  समयमै नियन्त्रणमा लिन सफल देखिएको हो ।

“अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु” भने जस्तै संकटमा धेरै धन र जनको क्षतिबाट आज अष्ट्रेलिया बचेको छ । पहिला नागरिकहरुको ज्यान जोगाउने र सकेसम्म अर्थतन्त्रमा धेरै क्षति हुन नदिने । तर अर्थतन्त्रमा यसको दीर्घकालिन असरको आँकलनको हिसाब किताबसम्म सरकारले तयार पार्न सकेको छैन । यही कारणले सरकारले मे महिनामा ल्याउनु पर्ने वार्षिक बजेट अक्टोबरमा मात्र ल्याउने भएको छ ।

११ मे देखि २ हप्तासम्म स्कुलका विद्यार्थीहरुले हप्तामा १ दिन स्कुल जाने व्यवस्था भएको मा २५ मेबाट प्रायः सबै स्कुलहरु पूर्ण रुपमा चल्न थालेका छन् । त्यसै गरि सरकारले  जुन १ देखि थप खुलाको घोषणा गरि यहाँको जनजीवन सामान्य बनाउने र अर्थतन्त्रमा बिस्तारै मर्मत र विकास गर्न खोजेको छ ।

जनजीवन सामान्य बनाउदै गर्दा कोरोना भाइरसको दोश्रो लहर आउन सक्ने आकलन गर्दै त्यससंग सामना गर्न पनि सरकार तयारी अवस्थामा रहेको छ । एथेष्ट औषधी, सुरक्षाका सामानहरुको भण्डारण, सोसिएल डिस्टेसिंगका लागि निरन्तर सचेतना, कोभिड सेफ एप्स मार्फत सूचना प्रवाहमा प्रभावकारितामा सरकारले पर्याप्त ध्यान पुर्याएको छ ।

“रोड टु रिकोभरी” का लागि केन्द्र सरकार ले अपनाएको ३ चरणको  “कोभिड सेफ अष्ट्रेलिया प्लान” को पहिलो र दोश्रो खुलापन सफल भए पश्चात तेश्रो चरण जुलाईदेखि लागु गर्ने योजनामा छ सरकार । यस मामिलामा केहि स्टेट र टेरिटोरीहरु सरकारले तोकेको सीमा र बन्देज भन्दा धेरै अगाडि पुगिसकेका छन् जुन सुखद हो । तेश्रो चरण लागु हुँदै गर्दा सरकारले अन्तराष्ट्रिय उडानको लागि आवस्यक तयारी गर्ने जनाएको छ ।

अन्तरिक पर्यटन अब बिस्तारै संचालनमा आउदैगर्दा अर्थतन्त्रको २  महत्वपूर्ण श्रोतहरु  अन्तराष्ट्रिय विद्यार्थीहरु र बाह्य पर्यटकहरु भित्र्याउने तयारीमा सरकार लाग्ने बताएको छ । यसका लागि सरकारले हालै निर्माण गरेको Australian Health Protection Principle Committee (AHPPC) को सिफारिस अनुसार काम गर्नेछ ।

आफुले सकेको श्रोत साधन र शक्तिको शिघ्र परिचालनले देशको अर्थतन्त्र र मानिसहरुको ज्यान बचाउन सफल अष्ट्रेलियाको अबको ध्यान जनजीवन सामान्य बनाउने, व्यापार व्यवसायलार्इ  निरन्तरता प्रदान गर्ने र अर्थतन्त्रलार्इ बिकासोन्मुख बनाउने भन्ने नै हो । त्यसका लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्ने सरकारले अपिल समेत गरेको छ ।

अबको यात्रा “जब मेकर”

कोभिड सेफ अष्ट्रेलियाको ३ स्टेप अन्तर्गत पहिलो स्टेपको खुलापनको प्रयोग गर्दै करिब २ लाख ५० हजार मानिसहरु काममा फर्केको सरकारको तथ्यांक छ भने यो दोश्रो स्टेपको खुलापनले थप करिब २ लाख ७५ हजार मानिसहरु काममा फर्किने अनुमान छ ।

कोरोनाका कारण देशको अर्थतन्त्रमा चौतर्फी धक्का महशुस भएको छ। थुप्रै व्यवसायहरु उठ्नै  नसक्ने गरि बन्द भएका छन् । पर्यटन तथा इन्टरनेशनल एजुकेसन व्यवसायहरु  प्रभावित भएका छन् । मुख्य ट्रेडिङ् पार्टन र चीनसंग व्यापार तथा कुटनैतिक सम्बन्ध नराम्रो संग बिग्रेको छ ।

अष्ट्रेलियाको सम्बृद्ध भविष्यकालागि  कोरोना क्राइसिसको उचित व्यवस्थापन पश्चात रोजगारको अवसर सिर्जना गर्नु रहेको सरकारले जनाएको छ । जब मेकर कार्यक्रमका लागि सरकार आन्तरिक श्रोत र साधनलार्इ व्यापक परिचालन गर्ने भएको छ । आउँदा दिनहरुमा योजनाबद्ध ढंगबाट शिक्षा, स्वास्थ्य, यातायात तथा भौतिक पूर्वाधारहरुमा ठूलो रकम खर्च गर्ने नीति लिएको छ ।

संघीय सरकारले सबै राज्य संग मिलेर काम गर्ने संयन्त्र काउन्सिल अफ अष्ट्रेलियन गभर्नमेन्ट (COAG) लार्इ खारेज गरि नयाँ संयन्त्र “नेशनल क्याबिनेट” निर्माण गरेको छ । नेशनल क्याबिनेटमा  सबै राज्य र टेरिटोरीहरुका प्रिमियर र मुख्य मन्त्रीहरुलार्इ समेटेर निर्माण गरिएको छ । कोरोना क्राइसिससंग लड्न नेशनल क्याबिनेट अत्यन्तै प्रभावकारी भएको थियो ।

समुदायबाट कोरोना भाइरस हटेको छैन । यो हाम्रै वरिपरी छ। यो प्राणघातक भाइरसलाइ पत्ता लगाउन र समुदायमा फैलिनबाट रोक्न मात्र सरकार आंशिक रुपमा सफल भएको हो। श्रोत र साधनको प्रभावकारी समन्वयका कारण सरकारले ठुलो मूल्य चुकाएर अष्ट्रेलियाको जनजीवन करिब करिब सामान्य बनाउन सफल देखिएको हो। तर हालसम्म कोरोना भाइरसको विश्वसनीय औषधी पत्ता नलागी सकेको अवस्थामा यो प्राणघातक भाइरसको खतरा समुदायमा अरु लामो समयसम्म रही रहने छ । अष्ट्रेलिया बेलायत र अमेरिकाका बैज्ञानिकहरुले भ्याक्सिन परिक्षण गरेका छन् तर यसको परिणाम आउन करिब ६ महिना लाग्ने  बताएका छन् । यदि यो भ्याक्सिनले काम गर्ने प्रमाणित भए पनि ग्लोबल डिमाण्ड अनुसारको उत्पादन गर्न अरु १८ महिना लाग्ने बिज्ञहरुको तर्क छ । तसर्थ उच्चतम होसियारीका साथ कोरोना भाइरससंग एक कदम अगाडि रहेर जिउने तौर तरिका हामीले अपनाउन पर्ने देखिन्छ ।

lamsalmk@gmail.com