ट्विटरका प्रयोगकर्ता बढे पनि घट्यो आम्दानी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ ९, २०७७

माइक्रो ब्लगिङ साइट ट्विटरका प्रयोगकर्ताको संख्यामा ऐतिहासिक बढोत्तरी देखिएको छ । ट्विटरले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा कीर्तिमानी वार्षिक वृद्धि हासिल भएको हो । ट्विटर प्रयोगकर्ताको वृद्धिदरले विश्लेषकहरुको अनुमानलाई उछिनेको रिपोर्ट सार्वजनिक भएसँगै ट्विटर कम्पनीको शेयर मूल्यमा समेत सकारात्मक प्रभाव परेको छ । जुलाई २४ का दिन ट्विटरको शेयर मूल्यमा ६ प्रतिशत वृद्धि भएको छ । पछिल्लो रिपोर्टअनुसार ट्विटरका मनिटाइजेबल दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा पछिल्लो एक वर्षमा ३४ प्रतिशतले वृद्धि भई १८ करोड ६० लाख पुगेको छ । मनिटाइजेबल एक्टिभ युजर्स भनेको त्यस्ता सक्रिय प्रयोगकर्ताको संख्या हो जसले आफ्नो वालमा विज्ञापन देख्दछन् । विश्लेषकहरुले यस अवधिमा ट्विटरका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १७ करोड ६० लाख पुग्ने प्रक्षेपण गरेका थिए । ट्विटरका सक्रिय प्रयोगकर्ताको संख्यामा कीर्तिमानी बढोत्तरी हुनुमा विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीको लकडाउनका कारण मानिसहरु घरभित्रै रहन बाध्य हुनु र सोसल मिडियाको अत्यधिक प्रयोग गर्नुलाई मुख्य कारण मानिएको छ । प्रयोगकर्ताको संख्यामा कीर्तिमानी वृद्धिदर हासिल गरे पनि ट्विटरको आम्दानी अपेक्षाकृत हुन सकेन । कोरोना भाइरस महामारीका कारण सिर्जित आर्थिक मन्दीसँगै डिजिटल विज्ञापन व्यवसायमा आएको मन्दीका कारण ट्विटरको आम्दानीमा गम्भीर असर परेको बताइएको छ ।