को हुन् लक्की शेर्पा ?

-- कृष्ण भट्टराई / प्रकाशित मिति : शनिबार, बैशाख २५, २०७३

nta cover नेपाल सरकारले नेतृत्वविहीन २१ देशका नेपाली राजदूतावासमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने क्रममा ओसियानाको समृद्ध देश अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासका लागि महिला नेतृ लक्की शेर्पाको नाम सिफारिस गरेको छ ।

नेपाल सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गरेकी मिनभवन, काठमाडौंमा स्थायी बसोबास गर्ने ४१ वर्षीया लक्की शेर्पा एकीकृत माओवादीकी केन्द्रीय सदस्य पनि हुन् । संखुवासभा पुर्खौली घर भएपनि धरानको घोपा क्याम्पमा जन्मिएकी लक्की शेर्पाले १५ वर्षअघि त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उत्तिर्ण गरेकी छिन् ।

लक्की पाँच वर्षको छँदा धनकुटा क्याम्पसका प्राध्यापक बुवा श्यामसुन्दर शेर्पाको कीर्तिपुर काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयमा सरुवा भयो, त्यसपछि लक्कीले स्कूले जीवन कीर्तिपुरकै ल्याबरोटेरी स्कूलबाट प्रारम्भ गरिन् । स्वयम्भूको आनन्दकुटी विद्यालयबाट एसएलसी उत्तिर्ण गरेकी लक्कीले नेपाल कमर्स क्याम्पस, मिनभवनबाट व्यवस्थापनमा स्नातक गरेकी छिन् भने पाटन संयुक्त क्याम्पसबाट अर्थशास्त्रमै मास्टर डिग्री (कलेज टपर) उत्तिर्ण गरेकी छिन् । केही वर्षअघि लक्कीले ‘ग्रीन इकोनोमी’ मा बेलायतबाट पिएचडी गर्ने तयारी गरे पनि उनी २०६२/६३ को जनआन्दोलनपछि नेपाली राजनीतिमा सक्रिय भएकाले पिएचडीको अध्ययन पूरा गर्न सकेकी छैनन् ।

लक्की शेर्पा राजनीतिमा आउने प्रसंग रोचक छ । लक्कीका बुवा प्राध्यापक श्यामसुन्दर शेर्पा २०१५ सालदेखि नै बामपन्थी झुकाव राख्थे । २०३१ सालमा जन्मिकी लक्की पनि कलेजमा अध्ययरत छँदा राजनीतिमा रुचि त राख्थिन तर खुलेर राजनीतिमा लागेकी थिइनन्, किनभने उनी कलेजकै राम्रो पढ्ने विद्यार्थीको रुपमा चिनिन्थिन् । स्नातक तह उत्तिर्ण गरेपछिमात्र उनले राजनीतिमा रुची राख्न थालिन् । नेपालको पहिलो संविधानसभामा लक्कीलाई नेकपा एमालेले समानुपातिक कोटाबाट सभासद बनायो । पहिलो संविधान सभा भंग भएपछि उनी एमालेबाट अलग भइन् । लक्कीकै शब्दमा उनको विचारधारा एमाओवादीसंग मिल्दो–जुल्दो हुनु तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निमन्त्रणालाई स्वीकार्दै उनी दुई वर्ष अघि एमाओवादीमा प्रवेश गरिन् । यति बेला उनी एमाओवादीको केन्द्रिय सदस्य तथा वातावरण विभाग प्रमुखको रुपमा कार्यरत छिन् ।

अत्यन्त राम्रो शैक्षिक वातावरणमा हुर्केकी शेर्पाले स्नातकोत्तर उत्तिर्ण गरुञ्जेल समेत अध्ययनमा मात्र ध्यान दिइन् । उनी अंग्रेजी भाषामा विशेष दख्खल राख्छिन् । लक्की शेर्पा न्याय र समानता, मानवअधिकार, समाबेशी लोकतन्त्र, विधिको शासनजस्ता अधिकारमुखी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूमा सल्लाहकारको रुपमा सकृय छिन् ।

स्नातकोत्तर तह उत्तिर्ण गरेपछि लक्कीले एबिसी नेपाल नामक गैर सरकारी संस्थामा काम गरिन् । यो संस्थाका तीन वटा प्रोजेक्टलाई मूर्त रुप दिने क्रममा उनले वल्र्ड बैंकमा समेत कन्सल्ट्यान्टको रुपमा काम गरिन् । राष्ट्रिय जनजातीे महासंघको सचिवको रुपमा नियुक्त भएपछि भने उनको यात्राले तिब्र गति लियो । खास गरी जनआन्दोलन २०६२–६३ मा लक्कीको भूमिका परिवर्तन भयो । देशमा गणतन्त्रको मुभमेन्ट बढिरहेको बेलामा नागरिक समाजको समेत बोलबाला भयो । जनजाति महासंघको सचिवको हैसियतले लक्की पनि नागरिक समाजको अगुवाको रुपमा आन्दोलनमा होमिइन् । माओवादीहरू शान्तिप्रकृयामा आए लगत्तै ६२–६३ को अँन्दोलन सफल भयो । त्यसो त लक्कीले २०४७ सालको आन्दोलनमा समेत विद्यालयबाट आयोजना गरिएको जुलुसमा सहभागिता जनाइसकेकी थिइन् ।

२०६३ सालमा उनी एमालेको समानुपातिक कोटाबाट संविधान सभामा सभासद बनिन् । पहिलो संविधान सभा भंग भएपछि उनी पुन: एक पटक अध्ययनमा सक्रिय हुने निर्णय गरिन् । पिएचडी गर्ने लक्ष्यका साथ बेलायत प्रस्थान गरिन् । तर, करिव तीन महिनापछि नै उनलाई नेपालबाट पुन: राजनीतिमै फर्कन आग्रह गरियो । बाध्यभएर उनी स्वदेश फर्किइन् । स्वदेश आएपछि उनलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादीमा आउन आग्रह गरे । माओवादीको एजेन्डालाई साथ दिइरहेकाले लक्कीलाई एमाओवादी पार्टिमा प्रवेश गर्न असहज भएन ।lucky sherpa

त्यसअघि २०६०–६१ ताका उनी आदिवासी जनजाति महासंघमा महासचिवको रुपमा आवद्ध भइन् । त्यसबेला राज्यपक्षबाट भएको बल प्रयोगको विरुद्ध जेनेभादेखि न्युयोर्कसम्म मानवअधिकार हननसम्बन्धी अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न सफल भइन् । यसका साथै बेलायतको लन्डनस्थित अन्तर्राष्ट्रिय पार्लियामेन्टहरूको साझा संस्था ग्लोब ईन्टरनेशनलको कार्यकारी सदस्यको रुपमा पनि उनले काम गरिसकेकी छिन्, जसले बातावरण र जलवायु परिवर्तनको कारण उच्च जोखिममा रहेका मुलुकका बारेमा कार्य गर्दछ ।

लक्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेर विभिन्न पुरस्कार समेत पाइसकेकी छिन् । २०७२ मा शेर्पा पत्रकार संघ तथा पिके मिडिया ग्रुपबाट ‘शेर्पा वर्ष राजनीतिज्ञ’ बाट अभिनन्दित भएकी लक्की अमेरिकास्थित मेड्रे नामक अन्तर्राष्ट्रिय संस्थाबाट सन् २००७ मा ‘महिला मानव अधिकार सम्मान’, दक्षिण कोरियाबाट युवा राजदुत सम्मान २००७ प्राप्त गरिसकेकी छिन् । यसबाहेक उनले सन् २००६ मा अमेरिकाको कनेटिकेटस्थित युनिभर्सिटी अफ केनेटिकेटमा गेस्ट लेक्चरको रुपमा अध्यापन गरेको अनुभव छ । त्यसैगरी हवार्ड युनिभर्सिटी तथा अमेरिकन दुतावासको संयुक्त आयोजनामा उच्च स्तरिय राजनैतिकज्ञहरूको कार्यक्रममा हावार्ड युनिभर्सिटीको कार्यक्रममा २०१० मा भाग लिएकी छिन् ।

उत्पीडित आदिवासी जनजाति, महिला र पिछडा वर्ग, सीमान्तकृतहरूको हकहित तथा समावेशी नेपाली समाज निर्माणका गर्ने मूल उद्देश्य बोकेर राजनीति गर्दै आएकी लक्की शेर्पा राजदूतमा सिफारिस हुँदा शेर्पा समुदाय मात्रै नभएर समग्र आदिवासी जनजाति तथा उत्पीडित समुदाय खुसी छाएको छ । आम शेर्पा समुदाय लगायतका आदिवासी जनजाति महिलाको अधिकारको पक्षमा आवाज उठाउँदै पहिचानको खरो पक्षधरको रुपमा देखिँदै आएको कारणले पनि लक्कीको यो उपलब्धिमा विश्वभरिका शेर्पा तथा आदिवासी समुदाय उत्साहित भएको छ । उनलाई विश्वभरिबाट नै विशेष गरी शेर्पा संघ संस्थाहरूद्वारा संस्थागत रुपमा र व्यक्तिगत शुभकामना सन्देशको ओइरो लागिरहेको छ ।