को हुन शेर बहादुर ? रुवाखोलादेखि काँग्रेस सभापतिसम्म

-- / प्रकाशित मिति : सोमवार, फाल्गुन २४, २०७२

काठमाडौँ, फागुन २४ गते। नेपाली काँग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।

काँग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज साँझ सम्पन्न दोस्रो निर्वाचनमा उहाँले एक हजार ८२२ मत प्राप्त गरी नेपालको पुरानो पार्टीको सर्वोच्च पदमा पुग्न सफल हुनुभएको हो ।

सभापति पदका अर्का प्रत्यासी पार्टीका कावा सभापति रामचन्द्र पौडेलले एक हजार २९६ मत प्राप्त गर्नुभयो । कुल मतदाता तीन हजार १४० मध्ये खसेको थियो । खसेको मत मध्ये २२ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

काँग्रेसको १०औँ महाधिवेशनमा सभापतिमा गिरिजाप्रसाद कोइराला र १२औँ महाधिवेशनमा सुशील कोइरालासित उहाँ पराजित हुनुभएको थियो । सभापति पदमा कुनै पनि उम्मेदवारले पार्टीको विधानतः बहुमत पु¥याउन नसक्दा काँग्रेस इतिहासमा पहिलो पटक सभापतिका लागि दोस्रो चरणको निर्वाचन भएको थियो ।

आइतबार राष्ट्रिय सभागृहमा नयाँ नेतृत्वका लागि भएको मतदानमा सभापतिमा तीनै उम्मेदवार कावा सभापति पौडेल, वरिष्ठ नेता देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आजै दोसो चरणको निर्वाचन भएको थियो ।

सोमबार बिहान करिब ५ः३० बजे सम्पन्न मतगणनानुसार सभापतिका लागि प्रथम चरणका प्रत्यासी देउवाले एक हजार ५६४ र पौडेलले एक हजार १५२ मत प्राप्त गर्नुभएको थियो ।

प्राप्त मत परिणामानुसार प्रथम चरणमा नेता देउवाको अग्रता रहे पनि ११ मत नपुगेकाले उहाँ पार्टी सभापति बन्नबाट चुक्नुभएकोे थियो । सभापतिका अर्का प्रत्यासी सिटौलाले ३२४ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा महामन्त्री सिटौलाले सबैभन्दा कम मत प्राप्त गरेकाले उहाँ दोस्रो चरणको निर्वाचन प्रक्रियाबाट बाहिरिनुभएको थियो ।

काँग्रेसको जिल्ला अधिवेशनमा गाउँका मतदाता कम आउने वा आफ्नो विपक्षका मतदाता आउन नदिने अनि थोरै मतान्तरले पनि जिल्ला सभापतिमा विजयी हासिल गर्ने विकृति बढ्दै गएपछि पार्टीमा यो व्यवस्था लागू गरिएको थियो ।

पोखरामा सम्पन्न १०औँ महाधिवेशनबाट यो व्यवस्था केन्द्रीय सभापतिका हकमा लागू गरियो । सोअनुसार प्रथम चरणमा केन्द्रीय सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत अनिवार्य ल्याउनुपर्ने व्यवस्था कायम गरिएको थियो ।

काँग्रेसका यसअघिका महाधिवेशनमा सभापतिमा दुईभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गरे पनि यस्तो अवस्था भने कहिल्यै आएको थिएन ।

को हुन शेर बहादुर

विसं २०५७ मा पोखरामा सम्पन्न काँग्रेसको १०औँ महाधिवेशनमा नेताहरु गिरिजाप्रसाद कोइराला, देउवा र रामहरि जोशी सभापतिका उम्मेदवार हुनुहुन्थ्यो । त्यसमा कोइराला सभापतिमा ठूलो मत अन्तरले विजयी हुनुभएको थियो ।

त्यस्तै २०६१ सालमा काठमाडौँमा सम्पन्न ११औँ महाधिवेशनमा कोइराला र नरहरि आचार्य उम्मेदवार रहनुभएको थियो भने यसमा पनि कोइराला ठूलो मतअन्तरले विजयी हुनुभएको थियो । त्यसबेला काँग्रेस विभाजित हुनाका साथै नेता देउवा नेपाली काँग्रेस ९प्रजातान्त्रिक० का सभापति हुनुहुन्थ्यो ।

काठमाडौँमै २०६७ सालमा सम्पन्न पार्टीको १२औँ महाधिवेशनमा सभापतिमा नेताहरु सुशील कोइराला, देउवा र भीमबहादुर तामाङले प्रतिस्पर्धा गरेकामा कोइराला पहिलो चरणमा नै विजयी हुनुभएको थियो ।

नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाको जन्म विसं २००४ जेठ ३० गते रुवाखोला असिग्राम—५ डडेल्धुरामा भएको हो । हाल उहाँ बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ ।

बाल्यकालदेखि नै राजनीतिक चासो राख्नुहुने नवनिर्वाचित देउवा पार्टी संस्थापक नेता विपी कोइरालाको राजनीतिक प्रेरणाबाट राजनीतिमा होमिनुभएको थियो । खासगरी विसं २०१७ पछिको राजनीतिक घटनाक्रमबाट सक्रिय नेपाली राजनीतिमा प्रवेश गर्नुभएको हो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका देउवा नेपाल विद्यार्थी सङ्घका प्रथम सभापति हुनुहुन्छ ।

त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ । देउवा एक छोराका पिता हुनुहुन्छ । उहाँकी धर्मपत्नी डा आरजु पनि अहिले व्यवस्थापिका–सांसद् हुनुहुन्छ ।

नेता देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्ला क्षेत्र नं १ बाट तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेलधुरा क्षेत्रं १ र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले गृहमन्त्री र पटक–पटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उहाँ काँग्रेसको संसदीय दलको नेतृत्व गर्दै विसं २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बन्नुभएको थियो । विसं २०५९ मा दोस्रो पटक प्रधानमन्त्री हुनुभएका देउवा त्यसको दुई वर्षपछि २०६१ सालमा पुनः प्रधानमन्त्री बन्नुभयो ।

काँग्रेसको विभाजनपछि उहाँ नेपाली काँग्रेस ९प्रजातान्त्रिक०को सभापति बन्नुभएको थियो । काँग्रेस र काँग्रेस९प्रजातान्त्रिक०को एकतापछि उहाँ नेपाली काँग्रेसको वरिष्ठ नेता हुनुभयो ।

उहाँ विसं २०५६ मा माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष हुनुहुन्थ्यो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका देउवा नेविसङ्घका प्रथम सभापति हुनुहुन्छ र सुदूरपश्चिममा काँग्रेसका प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ ।

देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीट्जरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ । यसअघि पार्टीको ११औँ र १२औँ महाधिवेशनमा समेत देउवा पार्टी सभापति पदको उम्मेदवार हुनुहुन्थ्यो ।