नयाँ संविधानले ल्याएको परिवर्तनलाई नेतृत्वगर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा

-- रामचन्द्र पौडेल / प्रकाशित मिति : बुधबार, चैत्र ३, २०७२

दक्षिण एसिया र यस भू–भागको जेठो प्रजातान्त्रिक राजनीतिक दलहरू मध्येको एक नेपाली कांग्रेस, जसले आफ्नो जन्मकालदेखि नै विपरीत राजनीतिक परिस्थितिमा पनि प्रजातन्त्र, मानवीय स्वतन्त्रता र आर्थिक समाजिक न्यायको लागि संघर्ष गरिआएको छ । त्यस दलले आफ्नो १३ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ । म एकदमै विश्वस्त छु कि सम्पन्न महाधिवेशनले नेपाली कांग्रेसको प्रजातान्त्रिक छविलाई अझ उज्यालो बनाउनुका साथै तराईदेखि हिमालसम्मका कुना–काप्चामा फैलिएको यसका जराहरूलाई झनै गहिरो र घनिभूत बनाएको छ । यसले नेपालको लोकतन्त्रको बिकासमा महत्वपूर्ण आयम थपेको छ । यहाँ सबैले ध्यान दिनुपर्ने कुरा के छ भने, संक्रमणकालीन नेपालमा जहाँ अहिले पनि अतिवादी र गैरप्रजातान्त्रिक सोचका तत्वहरू विभिन्न रूपहरूमा सक्रिय रहेका छन्, यस मुलुकको राष्ट्रियता र प्रजातन्त्रको भविष्य नेपाली कांग्रेसको अस्तित्व र विकाससित अन्योन्याश्रित ढंगले गाँसिएको छ ।

सम्पन्न नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा आन्तरिक राजनीतिको प्रजातान्त्रिक प्रतिस्पर्धामा सभापति पदमा विजयी हुनुभएका मेरा सहकर्मी तथा साथी माननीय शेरबहादुर देउवाजी र अन्य पदमा विजयी समस्त केन्द्रिय समितिका पधाधिकारी र सदस्य साथीहरुलाई सम्पूर्ण साथीहरूको तर्फबाट हार्दिक बधाई दिन चाहन्छु । राजनीतिक संक्रमणकालको यस घडीमा, संविधान कार्यान्वयनको चुनौती तथा अवसरका साथै, प्रजातन्त्र र समाजवादको सिद्धान्त तथा आदर्श बोकेको हाम्रो पार्टी नेपाली कांग्रेसको गौरवमय इतिहास तथा काग्रेसी संस्कृति र संस्कारलाई अक्षुण र सुरक्षित राख्न र भविष्यमा यस दललाई २१ औं शताब्दी अनुरूप बनाउने कार्यमा मेरो सहयोग सभापतिलाई निरन्तर रहिरहनेछ ।

यस अवसरमा, नेपाली कांग्रेस भित्रको प्रजातान्त्रिक प्रतिस्पर्धाको प्रक्रियामा मलाई आफ्नो अमूल्य ‘मत’ दिनुहुने मेरा सहकर्मी मित्रहरू, साथीभाई तथा दिदीबहिनीहरूलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु । साथै, यो पनि भन्न चाहन्छु कि निर्वाचन परिणाम जे भए पनि पार्टी सामु रहेका असंख्य चुनौतिको सामना गर्न र निष्ठावन साथिहरुका हर सुख दुःखमा म साथिहरुको माझमा रहि अझ वढी क्रियाशिल रहने छु । तसर्थ, म तपाईहरूलाई विश्वास दिलाउन चाहन्छु कि पार्टीभित्र आदर्श तथा निष्ठाको राजनीतिलाई प्रमुखता प्रदान गर्नका लागि तपाईहरूले दिनभएको ‘मत’ मेरा निम्ति भविष्यका लागि “प्रेरणा र निर्देशन” समेत हुनेछन् भनेर । यस्का लागि, “राजनीतिलाई सम्मानित क्षेत्र” बनाउने मेरो राष्ट्रिय अभियानमा तपाईहरूको निरन्तर र अमूल्य सहयोगको अपेक्षा पनि गर्दछु ।

हाम्रा तत्कालीन सभापति श्री शुसिल कोईरालाले महाधिवेशन तयारीको बीचैमा अकस्मात छाडेर जानुभएको कार्यभारलाई समाली तेह्रौं महाधिवेशन सफलता पूर्वक सम्पन्न गरी त्यो कार्यभार साथी शेर वहादुर देउवालाई सहज हस्तान्तरण गर्न पाउदा सन्तोष अनुभव गरेको छु । अहिले देश भरिका र विश्वभरि छरिएर रहेका हाम्रा लाखौं निष्ठावान साथिहरुले अब नेपाली कांग्रेस कसरी अघिबढ्छ र आफ्ना सामु रहेका चुनौतिका पहाडहरुलाई कसरी सामाना गर्छ भनेर आशापूर्ण नजरले हामीलाई हेरिरहेका छन् ।

नयाँ संविधानले ल्याएको परिवर्तनलाई प्रजातान्त्रिक समाजवादी दर्शनमा आबद्ध गरेर त्यसको कार्यान्वयनको नेतृत्वगर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ । संविधान जारी भएपछि विशेषत ः मधेसी, थारु तथा जनजातीहरुबाट प्रकट भएका बाँकी गुनासोहरु र असन्तुष्टीहरुलाई संविधान संशोधन गरेरै भनेपनि सम्वोधन गर्न अग्रसर भैसकेको हाम्रो पार्टीले अब त्यो प्रकृयालाई टुंगोमा पु¥याएर राष्ट्रमा स्थायी शान्ति र ठोस उन्नती हासील गर्न सक्षम हुनेछ ।

अन्तमा, नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सहभागी हुनुभएका देशका सम्पूर्ण साथीभाई तथा दिदी–बहिनीहरूलाई धन्यवाद दिन चाहन्छु । हाम्रो पार्टीको यो महान प्रजातान्त्रिक अभ्यासलाई निरन्तर जनसमक्ष पु¥याईदिने पत्रकार मित्रहरु, हाम्रो पार्टीको यो महान अभियानमा भौतिक रुपले सहयोग गर्ने चन्दा दाता र अन्य सहयोगीहरु, मुल तयारी समिति, नीति तथा कार्यक्रम प्रस्ताव समिति, महाधिवेशन व्यवस्थापन समिति, पार्टीको विधान संशोधन समिति, अर्थ समिति, भोजन तथा आवास व्यवस्थापन समिति, विदेशी पाहुन स्वागत तथा व्यवस्थापन समिति, प्रचार प्रसार समिति, मञ्चव्यवस्थापन समिति, स्वास्थ्य समिति, सास्कृतिक समिति, स्वयंसेवक व्यवस्थापन समिति, सुरक्षा प्रबन्धमा खटिएका सुरक्षाकर्मी र अहोरात्र खटेर महाधिवेशन र निर्वाचन कार्य समेत सम्पन्न गर्न संलग्न रहनुभएका निर्वाचनका साथीहरु एवम सहयोगीहरु समेत सवैलाई हृदय देखीनै म धन्यवाद दिन चाहान्छु ।

साथै, पार्टीको १३ औं महाधिवेशनको सफलताका लागि शुभेच्क्षा प्रकट गर्न आउनुभएका विभिन्न देशका पाहुनाहरू तथा नेपालस्थित कूटनैतिक नियोगहरूका प्रमुख तथा प्रतिनिधिहरूलाई पनि यस अवसरमा धन्यवाद दिन चाहन्छु । यस्का अलावा, प्रजातन्त्रप्रेमी जनता, सञ्चार माध्यम तथा अन्य सुभेच्छुक संघ–संस्थाहरूलाई पनि उहाँहरूको सरोकार तथा सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले कार्यवाहककौ हैसियतमा अन्तिम वक्तव्य दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा पौडेलले कार्यवाहक सभापतिको हैसियतमा अन्तिम वक्तव्य राखेका हुन् ।

पौडेलको लिखित वक्तव्यको पूर्णपाठ