किन हारे अष्ट्रेलियाका एनआरएन उम्मेदवार

-- नारायण खड्का / प्रकाशित मिति : शुक्रबार, कार्तिक २४, २०७४

दुईबर्षे कार्यकालका लागि काठमाडौंमा सम्पन्न निर्वाचनमा यसबर्ष अष्ट्रेलियाका सबै उम्मेदवारहरूले हार ब्योहोर्नुपरयो । अध्यक्ष लगायत प्रायः सबै पदहरूमा उम्मेदवारी परेको भएपनि केन्द्रीय समितीको एउटा पनि पदमा जीत हासिल नभएपछि अष्ट्रेलिया एनआरएनको हारको समीक्षा भइरहेको छ ।

यसपटकको निर्वाचनमा अष्ट्रेलिया एनआरएनले ओसिनियाका पदहरूमा जीत हासिल गरेर चित्त बुझाउन पर्यो । हुनत्, महाधिवेश प्रतिनिधी छान्ने समयमा नै एनआरएन अष्ट्रेलियाको कार्यसमितीभित्र किचलो देखिइसकेको थियो । त्यसलाई नेतृत्वले सम्बोधन गरेकाले बाहिर सार्वजनिक रुपले आउन पाएन् । महाधिवेशन प्रतिनिधी छान्न निर्माण गरिएको ३ सदस्यीय समितिका सदस्यसग नै छलफल नगरि प्रतिनिधी सिफारिस गरिएको भन्दै बिरोध भएको छ । तर, त्यसलाई पछि सच्चाइएको थियो ।

एनआरएनको अध्यक्षमा अष्ट्रेलियाकी जमुना घलेले अन्तिम समयमा उम्मेदवारी दिएपछि यसले सकारात्मक र नकारात्मक दुबै किसिमको चर्चा पाएको थियो बिशेषगरि अष्ट्रेलियामा । कतिले एनआरएनलाई एकै देशमा र एकै परिवारमा ३ कार्यकालमा दिन नहुने तर्क गरिरहेका थिए भने कोही आफ्ना पति तथा अध्यक्ष शेष घलेले ४ बर्ष लगाएर शुरु गरिसकेको घर निर्माणको काम र लाप्राक बस्ती निर्माणको काम टुङ्गाे लगाउन पनि जमुना नेतृत्वमा आउनुपर्ने तर्क गरिरहेका थिए । कोही जमुना मनोनित सदस्य भएर एनआरएनमा आएको र उनलाई अध्यक्षमा जिताए एनआरएनमा लामो समयदेखि योगदान पुरयाएका एनआरएनकर्मीहरूमा नैराश्यता छाउने दाबी गरिरहेका थिए भने कोही उम्मेदवारीका लागि योग्य बनेपछि जोकोहीले पनि उम्मेदवारी दिन पाउने र पहिलोपटक महिलाले नेतृत्वमा आउने हिम्मत देखाएकाले यसलाई समर्थन र सहयोग गर्नुपर्ने बताइरहेका थिए ।

जे भएपनि आखिरमा नतिजा अष्ट्रेलियाका सबै उम्मेदवारहरूको बिरुद्धमा गयो । भलै, सचिवका उम्मेदवार गणेश केसी र युवा संयोजकका उम्मेदवार स्वतन्त्रप्रताप शाह भने २ र ७ मतले पराजित भए । जति मतले पराजित भएपनि पराजय पराजय नै हो । महिला उपाध्यक्ष रञ्जु वाग्ले थापा, महिला संयोजक भोमा लिम्बु पनि पराजित हुनपुगे । ३ जना सचिवका उम्मेदवार भएपनि महेन्द्रकुमार लम्सालले अष्ट्रेलियाबाट मात्रै एउटै पदमा ३ जनाको उमेदबारी पर्दा नराम्रो सन्देश जाने निष्कर्षमा पुगेर अन्तिम समयमा आएर आफ्नो उमेदबारी फिर्ता गरेका थिए ।

एनआरएन अष्ट्रेलियामा प्रजातान्त्रिक बिचारधारा राख्नेहरूको बाहुल्यता भएको प्रष्ट नै छ । तर दूर्भाग्य त्यही प्रजातान्त्रिक बिचारधारा राख्नेहरूका बीचमा एकरुपता हुन नसकेको नतिजा नै अहिलेको हार भएको बिष्लेषण गर्नेहरू प्रसस्तै छन् । अर्काेतिर अष्ट्रेलियाबाट गएका करिब १ सय ७० महाधिवेशन प्रतिनिधीहरूमा आधाले पनि अष्ट्रेलियाका सबै उम्मेदवारहरूलाई विश्वास गरेर मत नदिएको महाधिवेशनमा गएकाहरू नै दाबी गर्छन् । जानकारहरूका अनुसार विगतका चुनामा शेष घले अध्यक्ष हुदा ८० प्रतिशतभन्दा बढी मत अष्ट्रेलियाका उम्मेदवारहरूलाई परेको थियो । तर अहिलेको निर्वाचनमा त्यो मत किन कम भयो भनेर विश्लेषण गर्ने काम अवश्यै गरिनेछ होला ।

अन्य अध्यक्षका उम्मेदवारको तुलनामा अष्ट्रेलियाकी उम्मेदवार जमुना घलेको शुरुवाती योगदान कम भएको नकार्न सकिन्न् । तर उनले यो ४ बर्षको अवधिमा आफ्ना श्रीमान्सग कुममा कुम मिलाएर एनआरएनमा जति योगदान पुरयाएकी थिईन् त्यो कुरालाई उनलाई सहयोग र सल्लाह दिइरहेकाहरूले अन्य देशका मतदातालाई बुझाउन त सकेनन् नै आफ्नै अष्ट्रेलियाका मतदाताहरूलाई समेत बुझाउन सकेनन् । अर्काेतिर, परिवारलाई संस्था हस्तान्तरण गर्न हुदैन भनेर तर्क गरिरहेकाहरूलाई समेत उनीहरूले चित्त बुझ्ने गरि उत्तर दिन सकेनन् ।

अष्ट्रेलिया एनआरएन अन्य एनसिसीहरूभन्दा सदैव अग्रणी स्थानमा रहँदै आएको छ । सहयोग संकलन गर्ने कुरा होस वा मैदानमा खट्ने कुरा होस । तर, अहिले एनआरएन अष्ट्रेलियाबाट उम्मेदवार बनेकाहरूले पराजय भोगिरहँदा त्यो लिगेसी बाकी रह्यो कि रहेन भनेर समेत प्रश्न गर्न थालिएको छ ।

जमुना घलेको उम्मेदवारीको चर्चा अष्ट्रेलियामा पहिल्यैदेखि चलिरहेको भएपनि उनको औपचारिक उम्मेदवारी भने ढिलो गरि आएको थियो । जसरी अन्य उम्मेदवारहरूले एक बर्षअघिदेखि नै अध्यक्षमा उठ्ने सम्भावना सहित तयारी गरेका थिए । त्यो तयारीमा जमुना चुकेको धारणा राख्नेहरू समेत प्रशस्त छन् । उनको उम्मेदवारीलाई सहयोग गरेका एनआरएन अष्ट्रेलियाका एक मुख्य ब्यक्ति उनको हारमा मुख्य दुई कुरा औल्याउछन् । पहिलो उनको उम्मेदवारी छोटो समयमा आयो भने दोस्रो उनलाई सल्लाह दिने सल्लाहकारहरूले सही सल्लाह दिएनन् ।

एनआरएन अष्ट्रेलियाका केही एनआरएनकर्मीहरू शुरुदेखि नै भवन भट्टलाई अध्यक्षमा जिताउन लागिसकेका थिए भने कोही जमुना घलेलाई अध्यक्षको उम्मेदवार बनाएर जिताउने तयारीमा लागिसकेका थिए । पहिलेको निर्वाचनमा अध्यक्ष शेष घलेलाई सहयोग पुरयाउन अध्यक्षको दौडबाट बाहिरिएका भट्टले सहमतीमै नेतृत्व पाउने आशा राखेको उनका नजिकका ब्यक्तिहरू बताउछन् । आखिरमा उनले जित त हासिल गरे नै तर सोचेजस्तो सहज भएको थिएन भने अर्काेतिर जमुना घलेले जुन सहज किसिमले निर्वाचनमा जित हासिल गर्ने अपेक्षा गरेकी थिईन् त्यसको विपरित नतिजा आएको निर्वाचनमा गएका प्रतिनिधीहरूले दाबी गरे ।

एकपक्षले जमुना घलेलाई अहिले उपाध्यक्ष वा महिला उपाध्यक्षमा जिताएर अर्काे कार्यकालका लागि नेतृत्वमा आउन सल्लाह दिनुपर्नेमा त्यो नगरिएको गुनासो समेत गर्ने गरेका छन् । यदी त्यसो हुन सकेको भए उनले अर्काे कार्यकाल तुलनात्मक रुपमा सहज नेतृत्व पाउने विश्वास ब्यक्त गर्छन् । अष्ट्रेलियामा एक सफल महिला ब्यवसायी र नेपालमा एक सफल समाजसेवीका रुपमा आफ्नो नाम राखिसकेकी ब्यक्तिलाई भरपर्दाे सल्लाह र सुझाव दिएर अघि बढ्न सल्लाह दिनुपर्नेमा त्यसो नगरिएको समेत गुनासो उनका पक्षधरहरूको छ ।

पछिल्लो समयमा एनआरएनको नेतृत्व पहुच बढाउने र नेता बन्ने संस्थाको रुपमा बिकसित हुदै गएको भनेर आलोचना समेत हुन थालेको छ । त्यसैले पनि एनआरएनको केन्द्रीय निर्वाचन नेपाल बाहेक अन्य देशमा गर्नुपर्ने आवाज समेत उठाउन थालिएको छ । त्यो कत्तिको सान्दर्भिक होला र एनआरएन नेताहरूले कत्तिको ब्यवहारिक रुपमा लिनेहुन त्यो सायद भविश्यमा देखिनेछ ।

अहिले अष्ट्रेलिया एनआरएनले निर्वाचन हारेको भएपनि उसको हैसियत भने अझैपनि त्यही रहेकोमा दुबिधा छैन् । तर भविश्यमा सहज रुपमा सफलता पाउनका लागि आफुहरूबीचमा मिल्नु र सकेसम्म एकै नेतृत्वमा सहमती जनाएर पूर्व गृहकार्य सहित निर्वाचनमा जानु अष्ट्रेलिया एनआरएनका हितमा जानेछ । किनकी फुट र बेमेलले अहिलेसम्म सफलता पाएको इतिहास पढ्न पाईएको छैन् ।