युवा पुस्ता राजनीतिमा किन ?
समाजमा सधैंभरि सबै पुस्ताका मानिसहरू हुन्छन् जसमा मूलतः युवाहरु सक्रिय र क्रियाशिल देखिन्छन् । नेपाल र दक्षिण एसियामा युवाहरू सिर्जनशील र ऊर्जावान छन् जो विदेशमा पनि श्रम गर्छन् । कर्म विविध भएका यी युवाहरु गतिशील छ्न । नेपालमा सन् २०११ को जनगणना अनुसार, युवाहरू ४० प्रतिशतभन्दा अलिक बढी थिए । शारिरीक अवस्थाका कारण युवा उमेर समूहका मानिस सबैभन्दा बढी भौतिक रूपमा सक्रिय रहन्छन् अनि अनुभव र ज्ञानका कारण प्रौढ वा वृद्धहरूचाहिँ समाजमा बौद्धिक निर्देशकको भूमिकामा बढी रहन पुग्छन् । यो आम प्रक्रिया सर्वविदित विषय हो । यसैको स्वाभाविक प्रतिविम्बस्वरूप समाजलाई नेतृत्व गर्न संगठित राजनीतिक पार्टीहरूभित्र पनि विभिन्न उमेर समूहका मानिसहरू सामान्यतया समाजमा चल्ने आम प्रक्रियाकै रुपमा चलायमान भैरहेका हुन्छन् ।
अहिले उमेरको हिसाबले पनि प्रगतिशील र ऊर्जावान् मानिएको समूह युवा पुस्तामा राजनैतिक क्षेत्र र राजनीतिप्रति सक्रिय सहभागिताको जोश खासै देखिँदैन । मेरो विचारमा मुलुकका हरेक युवा राजनीतिमा लाग्नु पर्छ भन्दा पनि हरेक युवामा राजनीतिक चेत चाहिँ हुनैपर्छ । देशको राजनीतिक फेरबदल र विकास क्रमलाई नियाल्दा युवा पुस्ताको नवीनतम सोचका साथ राजनीतिमा उनीहरुको अग्रसरता अपरिहार्य देखिन्छ । वर्तमान परिप्रेक्ष्यमा केही युवा राजनीतिमा छन्, तीमध्ये पनि नयाँ सिद्धान्त र नयाँ विचारका भन्दा पनि संगठनका शिर्ष नेताका आसेपासे वरियताक्रममा अगाडि देखिन्छन् । नेपालको राजनीतिलाई युगअनुसार अगाडि लैजाने काम युवाहरूले नै गरेका हुन् । खास समयमा युवाहरूले निर्माण गरे पनि पार्टीले एउटा ऐतिहासिक काल गुजार्दा त्यसभित्र युवा, प्रौढ र वृद्ध पुस्ताहरू तयार हुन पुगिहाल्छन् । सोध्छौं, नेपाली युवाले यहाँको राजनीतिमा के पाठ खेल्न सक्छन् र त्यो कसरी खेल्छन् ? यो बहस अहिल्यै किन धेरै उठ्यो र पहिले यसरी उठेका बहसभन्दा यो बहस कुन अर्थमा फरक छ भन्ने कुराले हामीलाई तानिरहेको छ । यो सीमित शब्दमा लेखिने लेखमा यी सबै बहसका सार, बहस गर्नेका विचार र छलफल राख्न सम्भव नभएकाले म यी उठेका छलफलले जन्माएका केही कुराको निचोडसहित आफ्ना विचार र अनुभव पनि राख्नेछु ।
जसरी समाजमा युवा पुस्ता र प्रौढ वा वृद्ध पुस्ताबीच निरन्तर अन्तरविरोध रहन्छ, त्यसरी नै पार्टीभित्र पनि स्वभाविक रूपमा अन्तरविरोध उत्पन्न हुन्छ नै । त्यस्तो अन्तरविरोध मूलतः दुईवटा अवस्थामा चर्किन पुगेको पाइन्छ । एक, पार्टीको नीति र कार्यक्रमलाई समयअनुसार जीवन्तता दिन प्रौढ वा वृद्ध पुस्ता असफल भएपछि पार्टी अकर्मण्यतामा फस्न पुग्छ । त्यसपछि युवा पुस्ताले पार्टी सत्तामा हस्तक्षेप सुरु गर्दा यस्तो अन्तरविरोध चर्किन पुग्छ । सत्ताधारी वा सत्ताका निम्ति संघर्षरत दुवै अवस्थाका पार्टीमा यस्तो सन्दर्भ देखा पर्ने गरेका छन् । दुई, सत्ताधारी पार्टीको प्रौढ वा वृद्ध नेतृत्वले सम्पूर्ण शक्ति आफूमा मात्र केन्द्रित गरी युवा पुस्तालाई सत्ता र शक्तिको वैभवमा हालीमुहाली गर्न रोकेपछि पनि पुस्ताको अन्तरविरोध चर्किन पुग्छ । पुँजीवादी राजनीतिले सत्ताका शीर्षस्थ पदहरूमा निश्चित कार्यकाल मात्र एक व्यक्ति रहन सक्ने जस्ता सीमित प्रणाली विकास गरे पनि पार्टी राजनीतिमा विभिन्न पुस्ता कसरी निर्णयकारी स्थलमा सुनिश्चित हुन्छन् भन्ने सिद्धान्त विकास गरेको पाइन्न ।
विगतको कम्युनिष्ट आन्दोलन पनि ‘जसको विचार उसैको नेतृत्व’ वाला अवधारणामा टेकेर सास नगएसम्म बूढो मान्छे नै नेता भइरहने कुप्रथाबाट ग्रस्त देखियो । अपवादका रूपमा कम्युनिष्ट नेता माओले पार्टी र सत्तामा पुस्ताको अन्तरविरोध हल गर्न थ्री इन वान को अवधारणालाई संगठनात्मक सिद्धान्तकै रूपमा अगाडि सारेका हुन् । अर्थात्, प्रत्येक समितिमा वृद्ध, प्रौढ र युवा पुस्ता अनिवार्य रूपमा सामेल गरिनुपर्ने कुरा नै त्यस सिद्धान्तको सार थियो । त्यस सिद्धान्तलाई गलत पनि भनिएन र मूलतः लागू पनि गरिएन । नेपालका कम्युनिस्ट पार्टीहरूमा बेलाबखत त्यस सिद्धान्तबारे चर्चाहरू पनि हुँदै आए तर संगठनात्मक आधारभूत सिद्धान्तकै रूपमा त्यसलाई कहिल्यै लागू गर्ने चासो देखाइएन ।
नेपालको राजनीतिक इतिहासमा २०४६ सालको परिवर्तनभन्दा अघि पुस्ताको बहस खासै मुखर थिएन । जब पार्टीहरू सत्ताधारी हुन थाले, त्यसपछि नै पुस्ताको बहसले आकार ग्रहण गर्न थाल्यो । यस दृष्टान्तबाट हेर्दा सत्ताधारी पार्टीभित्र सत्ताप्राप्तिको एक औजारका रूपमा नै पुस्तावाला तर्क अगाडि आएको देख्न गाह्रो पर्दैन । तर जुनसुकै नियत वा प्रकरणका कारण पुस्ताको बहस अगाडि आए पनि त्यो आउनैपर्ने जरुरी बहस हो किनकि कुनै पनि धाराको राजनीतिको संगठनात्मक क्षेत्रको लोकतन्त्रीकरणका निम्ति यो एउटा आधारभूत एजेन्डा हो । नेपालमा अहिले नेकपा (नेकपा) भित्रको भागबन्डाको भाँडभैलो र सरकारको असफलता अनि नेपाली कांग्रेसभित्रको पदका निम्ति भैरहेका संघर्षको मेसोमा अव्यवस्थित रूपमै भए पनि पुस्ताको बहस मुखरित हुन खोज्दै छ । ‘दोस्रो पुस्ताले हस्तक्षेप नगरी पार्टी ठीक ठाउँमा जाँदैन’ वा ‘बूढा असफल नेतालाई बिदा दिनुपर्छ’ जस्ता भनाइहरू छरपस्ट आउन सुरु भएका छन् । कतिपय बौद्धिकले पनि यही तर्कलाई दृढतापूर्वक समर्थन गर्दै त्यसको वकालतमा समेत उत्रिन प्रारम्भ गरेका छन् । यो कुरा बेग्लै हो कि, सत्तासीन हुन पुगेका विभिन्न पार्टीमा बेलाबखत यस्तो बहस उठाउने पात्रहरूको पद र शक्तिको मोलतोल ठेगान लागेपछि विषय पनि सामसुम हुने गरेको छ । अहिले मुखरित हुन खोजेको पुस्ता बहसको दुर्गति पनि त्यस्तै नहोला भन्न सकिने ठोस आधार छैन । वास्तवमा त्यस्ता बहस एक समयमा गएर फास्सफुस्स किन हुन्छन् ? त्यसको उत्तर स्पष्ट छ, ती बहसहरू निश्चित सिद्धान्तमा उभिएका हुँदैनन् बरु विभिन्न आकांक्षा वा निमित्त कारणहरूबाट जन्मिएका हुन्छन् ।
आज नेकपा र नेपाली कांग्रेसमा उठ्न खोजेको पुस्ता बहसको पनि ठोस संगठनात्मक सिद्धान्तको आधार देखिँदैन । नयाँ पुस्ताले हस्तक्षेप गर्नुपर्यो भन्दैमा कसरी हस्तक्षेप हुन्छ ? जबकि नयाँ पुस्ता निर्णयकारी थलोमा अनिवार्य रूपमा निर्णय गर्ने स्थानमा पुग्ने प्रणाली र संगठनात्मक सिद्धान्तको चाहिँ वकालत गर्दैन, त्यो त हास्यास्पद कुरा हो । त्यस्तो मागले बढीमा त्यही व्यक्तिलाई फाइदा हुन सक्छ, सिंगै पुस्तालाई हैन । आज नेपालमा त्यस्तो कुनै पार्टी छैन जसमा युवा, प्रौढ र वृद्ध पुस्तालाई अनिवार्य रूपमा निर्णयकारी थलोहरूमा उपस्थित गराउने ब्यवस्था वा प्रणाली होस्, तब राजनीतिमा पुस्ताको बहस केन्द्रित हुनुपर्ने के विषयमा हो ? पार्टीको हर्ताकर्ता हुन नपाएका केहीलाई त्यस स्थानमा पुर्याउन कि युवा, प्रौढ र वृद्ध पुस्ताको अनिवार्य संगम बन्ने संगठनात्मक सिद्धान्त र प्रणाली निर्माण गर्नुपर्यो भन्ने विषयमा ? निःसन्देह बहस संगठनात्मक सिद्धान्त र प्रणालीबारे हुनुपर्छ, जुन ती पार्टीको बहसमा कुनै सुइँकोसम्म छैन । यो कुरा बेग्लै हो कि, सयौं वर्षदेखि दबाइएका उत्पीडितहरूलाई पार्टीभित्रका निर्णायक स्थानहरूमा जरुरी संख्यामा पुग्न दिन त पटक्कै नचाहने संसद्वादी पार्टीहरू सबै पुस्ताको अनिवार्य उपस्थितिलाई सैद्धान्तिक रूपमै प्रणालीकृत गर्न कदापि तयार हुनेछैनन्, तर पनि यदि ती पार्टीभित्र पुस्ताको बहस छेड्ने कसैले इच्छा राख्छ भने उसले संगठनात्मक सिद्धान्त र प्रणालीमाथि सबैभन्दा पहिले पैरवी थाल्नु आवश्यक हुन्छ । त्यसमाथि आफ्नो मौलिकतामा सिर्जनात्मक विकास आवश्यकतानुसार गर्न सकिन्छ नै ।
आज जुनसुकै धाराको पार्टीलाई पुस्तागत रूपमा पनि हराभरा बनाउनुपर्छ भन्ने प्रवृत्तिले यति न्यूनतम कुरा त बुझ्नैपर्छ, सिद्धान्त र प्रणालीमा फेरबदल नगर्ने हो भने पार्टीको उमेर बढ्दै जाँदा निर्णायक स्थानहरू अनिवार्य रूपमा मूलतः बूढाहरूद्वारा नै खचाखच भरिनेछन् ! दलका नेताहरू बूढा भए, अब तिनको ठाउँमा युवा नेतृत्व आउनुपरेको छ भन्नु सार्थक बहस हो । तर, त्यसमा त, राजनीतिमा युवाको कुरा गर्दा उदाहरणका निम्ति भनौँ न, सीधै गगन थापा र रामकुमारी झाँक्री राजनीतिक नेतृत्वमा किन आउँदैनन्, तिनका व्यवधान के छन् भन्नेजस्ता कुराका छलफलको पो सार्थकता हुन्छ । तर, सिर्जनात्मक विद्रोही चेतना भएका सबै युवायुवतीका आन्दोलनका प्रकृति र तिनका भनाइ बुझ्दा अहिलेका राजनीतिक दलले प्रस्तुत गरिबस्ने नाटकसँग तिनको सोझो सम्बन्ध देखिँदैन । राजनीतिमा पुस्ताको बहस चल्दा केही गलत अवधारणा पनि सँगसँगै स्थापित हुने खतरा बढ्दै गएको छ । ती विषयमा पनि स्पष्टता आवश्यक छ । के नयाँ पुस्ता पुरानोभन्दा प्रगतिशील हुन्छ ? निश्चित रूपमा पुराना अनुभव र ज्ञान विरासतमा पाउने हुनाले र नयाँ समयको चुनौती पार गर्न नयाँ उपायहरू खोज्न बाध्य हुने हुनाले नयाँ पुस्ता पुरानोभन्दा प्रगतिशील हुन बाध्य हुन्छ । तर यो पुस्तान्तरमा प्राप्त हुने प्रगतिशीलताको गति मात्रात्मक रूपमा धेरै धिमा हुन्छ । यस्तो होइन कि हरेक नयाँ पुस्ता गुणात्मक रूपमै प्रगतिशील बन्छ ।
महिलामाथिको उत्पीडन सुरु भएपछि कम्तीमा विगतमा मानवजातिमा सयौं नयाँ पुस्ता आए, तिनले मात्रात्मक रूपमा उत्पीडनलाई थोरै घटाउँदै पनि ल्याए तर गुणात्मक रूपमा महिलाहरू मुक्त हुन सकेनन् । यस्तो सन्दर्भ समाजको हरेक आयाममा सजिलै देख्न सकिन्छ । यदि मानव समाज विभिन्न विपरीत स्वार्थका वर्गहरूमा र विभिन्न अहंकेन्द्रित समुदायहरूमा विभक्त हुँदैनथ्यो भने सायद हरेक नयाँ पुस्ता गुणात्मक रूपमै प्रगतिशील हुन पनि सक्थ्यो । तर, समाज त उत्पीडक र उत्पीडितमा विभक्त छ । यसको सोझो अर्थ हुन्छ— नयाँ पुस्ता पनि उत्पीडित र उत्पीडकका रूपमा क्रियाशील छन् । उत्पीडकभित्रको नयाँ पुस्ताले उत्पीडनका नयाँ उपायहरू विकसित गर्दै जान्छ भने, उत्पीडित नयाँ पुस्ताले मुक्तिको उपाय नयाँ खोज्न थाल्छ । यही परस्पर विपरीत प्रक्रियाभित्र स्वाभाविक मानवीय पुस्तान्तर प्रगतिशीलता गायब हुँदै आएको छ र पुस्ता स्वयं विचारधारामा विभक्त हुन पुगेको छ । यसरी हरेक पुस्ता ठीक र बेठीक विचारको वाहक र साधक बन्ने ऐतिहासिक परिवेश हुनाले नयाँ पुस्ता गुणात्मक रूपमा स्वतः प्रगतिशील हुन सक्तैन । त्यसैले यो यथार्थ प्रमाणित हुन्छ, पुस्ता कुनै विचारधारा होइन बरु आजको हरेक पुस्ता विभिन्न विचारधारा र स्वार्थमा विभक्त खास उमेर समूहका मानिसको झुन्ड मात्र हो ।
यहाँ अर्को प्रश्न पनि उठ्छ, त्यसो भए गुणात्मक प्रगतिशीलता कहाँबाट जन्मिन्छ, के त्यो फगत संयोग मात्र हुन्छ ? दुनियाँभरि स्विकारिएकै विषय हो, गुणात्मक प्रगतिशीलता स्वाभाविक रूपमा पूर्ववत् मात्रात्मक प्रगतिशीलताकै उत्कर्ष हो, त्यो नियमबद्ध नै हुन्छ तर संयोगका रूपमा प्रकट हुन्छ । नियमबद्ध यसकारण कि, पूर्ववर्ती विचार र अनुभवबिना त्यो उत्पन्न हुनै सक्तैन । संयोग यसकारण कि, त्यसलाई सम्पन्न गर्ने व्यक्ति वा समूहको विषयप्रति निष्ठा समर्पण र प्रतिभाको जगमा मात्र प्रकट हुन पुग्छ । तसर्थ, नयाँ पुस्ता गुणात्मक रूपमै प्रगतिशील भूमिका खेल्ने हैसियतमा तब नै पुग्छ, जब उसले वैचारिक रूपमै आंशिक वा समग्र विषयमा नयाँ हतियारको निर्माण गर्छ । आन्दोलनमा निस्किने, ननिस्किने, विचारहरू लिएर सडकमा आउने वा अरू कुनै किसिमले आफ्ना कुरा राख्ने युवाहरूका कर्मलाई राजनीतिक चेतनाभित्रै राख्छु । तर, ती सधैं खास राजनीतिक एजेन्डा लिएर सडकमा, लेखनमा र प्रस्तुति कर्ममा आएका हुन्छन् भनी ठान्नु असत्य हो । आन्दोलनमा निस्किने, ननिस्किने, विचारहरू लिएर सडकमा आउने वा अरू कुनै किसिमले आफ्ना कुरा राख्ने युवाहरूका कर्मलाई राजनीतिक चेतनाभित्रै राख्न सकिन्छ । तर, ती सधैं खास राजनीतिक एजेन्डा लिएर सडकमा, लेखनमा र प्रस्तुति कर्ममा आएका हुन्छन् भनी ठान्नु असत्य हो । यसप्रकार कुनै स्थानमा नयाँ उमेर समूहको मानिस पुग्दैमा त्यसमा गुणात्मक परिवर्तन आउँछ भनेर सोच्नु ठूलो विभ्रम हो । पितृसत्तात्मक वैचारिकी र संरचना निरन्तर कायम राख्दा नयाँ पुस्ताका बलात्कारी जन्मिरहेछन् ।
साम्राज्यवादी नीति रहेसम्म अमेरिकी राष्ट्रपतिमा फरक पुस्ताको व्यक्ति फेरिएर केही फरक पर्यो र ? उत्पीडित राष्ट्रहरूमाथि उत्पीडन यथावत् रह्यो । यी र यस्ता ऐतिहासिक घटनाक्रम र सिद्धान्तहरूको आलोकमा नेपालमा मुखरित हुन खोजेको राजनीतिमा पुस्ताको बहसलाई हेर्नैपर्ने हुन्छ । आफ्ना निम्ति मर्न तयार आज जीवन्त व्यवहारमा नेकपा (नेकपा) र नेपाली कांग्रेसको प्रौढ र युवा पुस्ता के गरिरहेको छ ? के उनीहरू वैकल्पिक विचार निर्माणका निम्ति काम गरिरहेका छन् ? नेपाली कांग्रेसका प्रखर नयाँ पुस्ता मानिने विश्वप्रकाश शर्मा र गगन थापाको नयाँ वैचारिकी के हो ? भाषणको आकर्षक शैलीलाई वैचारिकी मान्न त विश्वेश्वरप्रसाद कोइरालाको क्यान्सरले सुकेको बोलीलाई अनाकर्षक मान्नुपर्ने हुन्छ । त्यसैले बोल्ने शैली वैचारिकी होइन ।
प्रजातान्त्रिक समाजवादको पुरानो लक्ष्य त भारतमै थला पर्यो, तब नेपालमा नयाँ के ? २०४७ पछि नेपाली कांग्रेसले लिएको अर्थनीति त पूरै असफल भयो, तब नयाँचाहिँ के ? नेकपा (नेकपा) का घनश्याम भुसालदेखि सरल सहयात्री पौडेलसम्म आजकै विश्व पुँजीवाद अन्तर्गत संविधानलाई लागू गर्ने व्यवस्थित पार्टी खोजिरहेका छन्, के विश्व पुँजीवादले नेपालमा आवश्यक व्यवस्था लागू गर्न दिन्छ ? अनि संविधान बनाउँदा राखिएका भिन्न मतहरू कहिले र कसरी कार्यकारी हुन्छन् ? के कम्युनिष्टका नाममा पार्टीभित्र हुर्काइएको दलाल पुँजीपति वर्गले व्याख्याको भरमा राइँदाइँ गर्न छाड्छ ? पार्टीको बैठक बसिदिनुपर्यो भनेर रोईकराई धर्ना बस्नु नयाँ पुस्ताको वैचारिक काम हो ? युवा राजनीति त रङ्गमञ्चमा ठीक ठीक ठाउँमा टेबल मिलाएर बस्ने, कत्ति पनि सेट नबिगार्ने, त्यत्ति कुरा गर्ने अनि फेरि सेटमा आएर पस्ने र त्यत्ति पाठ दोहोर्याउने, घोकेको पाठ बोल्ने, प्रकट र नेपथ्यका शब्द प्रयोग गर्ने, बाहिर देशभरि हाहाकार होस्, कोरोनाको विपत्ति मडारिइरहोस्, पहिरोले घर र गाउँ बगाओस् त्यसले के फरक पार्यो र भन्नेहरूको देह, वचन र कर्मको पो अभिनय भइरहेछ ।
वास्तवमा नेकपा (नेकपा) र नेपाली कांग्रेसले आफ्नो घातक वैचारिकी मातहत युवा पुस्ता हुर्काइरहेछन् । त्यही वैचारिकीको लत लागेको नयाँ पुस्ताले जहाँ पुगे पनि गर्ने पुरानै काम हो । यदि नयाँ पुस्ताको सकारात्मक क्रमभंगमय तुजुक देखाउने हो भने विचारधारात्मक कार्यदिशा, संगठन र प्रणालीमा हस्तक्षेप जरुरी छ । राजनीतिमा आज सबै क्षेत्रमा त्यस्तै हस्तक्षेप गर्ने नयाँ जमातको आवश्यकता छ । नेपालमा बूढाहरू शक्ति र सम्पतीको बलमा आफू अनुभवीको संज्ञा दिदै नेतृत्वमा बसिरहे र युवाले मौका पाएनन् भन्नु सत्य हो । युवाहरूलाई राजनीतिमा आउने बाटा बन्द गर्नु अनि तिनले नेतृत्व लिएनन् भनेर कोक्किनु असंगत कुरा हो । इतिहाससँग संवाद गर्नुपर्छ । तर त्यो परिवर्तन गर्ने जिम्मा मूल रूपमा दलभित्र रहेका युवा जमातको नै हो । आफ्ना दलभित्र युवाहरूलाई बोलीहीन बनाउने अनि बाहिर युवाका शक्ति कहिले उठेर मद्दत गर्लान् भन्ने आशामा बस्नुमा समस्या छ । बाहिर प्रदर्शन गर्ने युवाहरू सिर्जनशील हुन्छन्, युगका वाणी बोल्छन्, शाश्वत हुन्छन् अनि ती समाजका ऊर्जा शक्ति हुन् ।
देशमा सम्वृद्धि भित्राउन सक्रिय राजनीति र शासन सत्ता होइन परम्परागत दार्शनिक सोचबाट माथि उठी नयाँपुस्ताको नयाँ सोच र जोसका साथ दरिलो कार्यदल गठन गरी आपसी सहकार्य र साझेदारीमा काम अगाडि बढाउनु आवश्यक देखिन्छ, जसमा हरेक पाटो समेटिएको होस् र निर्भय र निष्पक्ष रुपमा काम गर्न त्यो समूह सक्षम रहोस् । जसको ज्वलन्त उदाहरण अहिलेको बढी चासोको विषय नेपालको लोडसेडिङ मुक्त गराउने कुलमान घिसिङको कार्यदल हो । तसर्थ नयाँ थालनी त समृद्धिको जननी नै हुन् । विश्वका कयौँ मुलुकहरुले विकासको जग बसाल्न नयाँ सोच र सक्रियताको साथ युवा पुस्तालाई अग्रपंतिमा ल्याएको उदाहरणहरु पनि थुप्रै छन् । विकासका लागि हरेक क्षेत्रमा लाद्ने नातावाद र कृपावाद बाट माथि उठेर उक्त क्षेत्रको विज्ञहरूसंगको सक्रिय सहभागितामा विकास अगाडि बढाइयो भने नयाँ पुस्ताको सोच र जोशले अवस्य परिवर्तन भित्र्याउने छ । यो ऊर्जावान समूहलाई शक्तिमा लगि बाह्य हस्तक्षेप बिना काम गर्न दिइयो भने यो जमातले पक्कै पनि सानो समयमै उल्लेख्य परिवर्तन ल्याउने छ । अब परिवर्तनको जग बसाल्न नबिनतम सोचको साथ राजनीतिमा युबा पुस्ताको बर्चस्व अपरिहार्य छ ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
Kann dein Verbindung Dysfunktionell fantastisch? Plain ol ‘beeinträchtigt Verbindungen...
ein Kuss ist mehr als Drücken Mund. Deshalb behauptet Sheril...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...