एनआरएन नवौं क्षेत्रीय सम्मेलन सम्पन्न सचिवालय व्यवस्थापनका लागि ‘एनआरएनए भिजन २०२० एन्ड बियोन्ड’ : ११ बुँदे न्यूजर्सी घोषणा पत्र जारी

-- होमप्रसाद लम्साल / प्रकाशित मिति : बिहिबार, भदौ २३, २०७३

cover sepअमेरिकाको न्यूजर्सीमा गैरआवासिय नेपाली संघको नवौ क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । अगष्ट २७ र २८ दुई दिनसम्म चलेको सो सम्मेलनले एनआरएनको सचिवालय व्यवस्थानका साथै संस्थागत सुधारका लागि ‘एनआरएन भिजन २०२० एन्ड बियोन्ड’ नाराले औपचारिक प्रबेश पाएको छ । सम्म्ोलनले त्यस नारालाई पास गर्दै भोलिपल्ट बसेको आईसिसि बैठकले त्यस विषयमा थप सुझावका लागि हरेक एनसिसिमा पठाउने निर्णय गरेको छ । क्षेत्रीय सम्मेलन र आईसिसिको सुझाव समावेस गरी आगामी महाधिवेसनमा पेस गरी पास भएर लागु हुनेछ । संस्थाप्रति नेपाल र नेपालीहरूको विश्वास र आशा दुवै बढेको अवस्थालाई मध्यनजर गर्दै त्यसको तुलनामा संघको क्षमता वृद्धि हुन नसकिरहेकोले संस्थालाई आगामी बीस वा तीस वर्षको चुनौती सामना गर्नेगरी कसरी विकास गर्ने भन्ने सोचका साथ भिजन २०२० भन्ने अवधारणा ल्याइएको अध्यक्ष शेष घलेले बताए ।

डबल ट्री हिल्टन होटलमा दुई दिनसम्म चलेको सम्मेलनले एनआरएन भिजन २०२० एन्ड बियोन्ड विषयमाथि व्यापक छलफल गरी थप सुझावका लागि ७४ वटा एनसिसिमा पठाउने भएको छ । उद्घाटन सत्रका प्रमुख अतिथि पूर्वसभामुख सुवाषचन्द्र नेम्वाङले पानसमा बत्ती बालेर सम्मेलन उद्घाटन गरेका थिए भने सम्मेलनको समापन पनि उनैले गरेका थिए । उनले एनआरएनप्रति जनताको चासो बढेको बताउँदै जिम्मेवार भएर विकास निर्माणमा सहभागी हुन आग्रह गरे । उद्घाटन सत्रमा एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले विभिन्न मुलुकबाट जम्मा भएका संस्थाका प्रतिनिधिलाई स्वागत गरेका थिए । उद्घाटन कार्यक्रममा एनआरएनए अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्की, संस्थापक नेता रामप्रताप थापा, संरक्षक दिल गुरुङ, इन्द्र बन, देवकाजी डंगोल, ब्यवसायी चन्द्र ढकाल, संयुक्त राष्ट्रसंघका उप–महासचिव ज्ञानचन्द्र आचार्य, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधी दुर्गा प्रसाद भट्टराई, ब्यवसायी बिनोद चौधरी, सांसदहरू मोहन बराल, महेन्द्र यादव, अमेरीकी संसाद डोनाल्ड पएने, अमेरिकी क्षेत्रका संयोजक सोनाम लामालगायतले सम्मेलनको सफलताको लागि शुभकामना दिएका थिए । भिजन २०२० भन्ने अवधारणामाथि अध्यक्ष घलेले नै त्यसको उद्देश्यमाथि प्रकाश पारेका थिए भने कार्यपत्र सुजिव शाक्यले प्रस्तुत गरेका थिए ।

cover-photoउद्घाटनपछि चलेका सत्रहरूमा नागरिकताको निरन्तरताको विषयमा संरक्षक राम थापा र संविधानसभाका पूर्व अध्यक्ष सुभाषचन्द्र नेम्वाडले प्रस्तुति र टिप्पणी गरेका थिए । राजनीतिक अधिकारसहित नागरिकता पाउनु पर्ने माग सम्मेलनमा सहभागी प्रतिनिधिहरूले गरेका थिए । महिला फोरमको सफिला राजभण्डारी र अभिमा उप्रेतीले हालसम्म भएका गतिविधिमाथि प्रकाश पारेका थिए । सो सत्रमा विश्वका विभिन्न मुलुकबाट सहभागी महिला प्रतिनिधिले प्रगति विवरण सुनाएका थिए । युवा गतिविधिका बारेमा एनआरएन अमेरिकाका महासचिव तिलक श्रेष्ठ र आईसिसि सदस्य विनोद शाहले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी पर्यटन प्रर्वद्धनको विषयमा उपाध्यक्ष भवन भट्ट र अमेरिका क्षेत्रका सह–संयोजक एसि शेर्पाले कार्यपत्र प्रस्तुत गरेका थिए । एआरएनए विजनेस फोरमको अध्यक्ष घले उपाध्यक्षद्धय भवन भट्ट र कुमार पन्तले अवधारणापत्र प्रस्ुतत गरेका थिए । त्यसैगरी एनआरएनए सामाजिक समितिको प्रगति विवरणका लागि उपाध्यक्ष कुमार पन्त र सचिव अर्जुन श्रेष्ठले हालसम्म भएका कार्यप्रगति विवरण पेश गर्दै आगामी दिनमा गरिने संभावित कामको बारेमा बहस गरेका थिए ।

दुई दिनसम्म चलेको विभिन्न सत्रहरूमा मिडिया र प्रकाशनको बारेमा प्रवक्ता रञ्जु थापाले भएका काम कारबाहीको जानकारी गराएकी थिइन । सो सत्रमा सञ्चारकर्मीहरूका लागि संस्थाले गर्नुपर्ने सहज समाचार प्राप्तिका विषयमा छलफल भएको थियो । दोश्रो दिनको संस्कृति, भाषा र साहित्यका लागि विश्वदिप तिग्गेला र गोविन्द गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम सकिएपछि मनोरन्ज सहितको डिनर कार्यक्रमको आयोजना गरिएको थियो ।

विभिन्न सत्रहरूमा संस्थाले भूकम्पका बेला गरेका काम र आगामी दिनमा गर्ने पून:निर्माणको प्रभावकारी कार्यन्वयनका लागि कार्यपत्रहरू प्रस्तुत गर्दै छलफल गरिएको थियो । संस्थाले एक हजार घर बनाउने भन्दै लाप्राकमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरे पनि बाँकी काम अघि बढेको छैन । सो काम अबको केहि महिनामा शूरु हुने अध्यक्ष घलेले बताए । उनले भने ‘सस्थाको घर र लाप्राकको बस्ती बसाउने काम अबको केहि समयमा शुरु हुनेछ ।’ छलफल सत्रहरूमा २५ देशबाट सहभागी एनसिसिका प्रतिनिधि, क्षेत्रीय संयोजकहरूले आ–आफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गर्दै संभावना र चुनौतिका बारेमा छलफल गरेका थिए ।

सम्मेलनको समापन सत्रमा आयोजित पत्रकार सम्मेलनमा ‘विगतमा एनआरएनए एउटा अभियान जस्तो रहे पनि अहिले यसको भूमिका बदलिएको भन्दै अध्यक्ष शेष घलेले हामी राहत, उद्धारदेखि विकास निर्माण कार्यमा नेपाल सरकारसँगै साझेदारी गरेर अघि बढ्न थालेको बताए । अध्यक्ष घलेले भने, ‘यो अवस्थामा संस्थालाई कसरी प्रभावकारी बनाएर अघि बढाउने, पुन:संरचना गर्ने भन्ने विषय भिजन २०२० एन्ड बियोन्ड थिमले समेट्न खोजेको छ । यो आज संस्थाको आवश्यकता भएको बताए ।

विगतमा एनआरएनए एउटा अभियान जस्तो रहे पनि अहिले यसको भूमिका बद्लिएको बताउँदै घलेले भने हामी राहत, उद्धारदेखि विकास निर्माण कार्यमा नेपाल सरकारसँगै साझेदारी गरेर अघि बढ्न थालेका छौं’ यो अवस्थामा संस्थालाई कसरी प्रभावकारी बनाएर अघि बढाउने, पुन:संरचना गर्ने भन्ने विषय भिजन २०२० एन्ड बियोन्ड थिमले समेट्न खोजेको दावी थियो ।

 nrna-photoभिजन २०२० का बारेमा सस्थापक अध्यक्ष उपेन्द्र महतोले भने केहि टिप्पणी गर्दै सामाजिक संस्थालाई भावनाले संचालन गर्नु पर्ने भन्दै व्यवसायिकतामा बढी ध्यान नदिन आग्रह गरे । सम्मेलनमा महतोले सम्मेलन नेपालको आर्थिक समृद्धिका लागि थप लगानी भित्राउन महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे । विदेशमा नेपालीहरू जति नै समृद्ध भएपनि जवसम्म देश समृद्ध हुँदैन तवसम्म नेपालीहरूको ईज्जत प्रतिष्ठा नबढ्ने दावी गरे । विदेशमा नेपालीहरूको संख्या बृद्धि हुंदै गएको अवस्थामा एकअर्का क्षेत्रीय सम्मेलनले साथीभाइबीचको भाइचारालाई थप बलियो बनाउनुका साथै देशको लागि केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्ने उल्लेख गरे ।

२५ देशका चार सय प्रतिनिधिले भाग लिएको महासचिव डा. बद्री केसीले जनाएका छन् । यो सम्मेलनमा भिषाका कारण केहि देशबाट आउने चाहाना भएपनि सहभागिता जनाउन नसकिएको महासचिव केसीले बताए ।

यसअघि नागरिकता प्राप्ति, नेपालमा लगानीको सुरक्षा जस्ता विषय उठाउँदै आएको एनआरएनएले ती माग लगभग सम्बोधन भइसकेको अवस्थामा सन् २०१५ मा काठमाडौंमा भएको ग्लोबल कन्फरेन्स घोषणापत्रमा नेपालको आर्थिक विकासको साझेदारको रुपमा अघि बढाउने उल्लेख गरेको थियो । भूकम्पपछिको पून:निर्माणमा सरकारसँग, विपत् व्यवस्थापन गर्न नेपाली सेना, काठमाडौंस्थित राष्ट्रसंघीय कार्यालय एवं अमेरिकी दूतावाससँग सम्झौता गरेर एनआरएनएले कार्य गर्दै आएको छ । यी कामका लागि संरचना सुधार गरेर अघि बढ्नुपर्ने प्रस्ताव भिजन २०२० एन्ड बियोन्डमा रहेको छ ।

यो क्षेत्रीय सम्मेलनमा छलफलबाट जारी मुख्य विषयलाई क्षेत्रीय कमिटीहरू र आइसीसीमा पठाइनेछ । सो २०२० अवधारणा २०१७ को ग्लोबल सम्मेलनमा प्रस्तुत हुन्छ । त्यसले पारित गरेको खण्डमा मात्र यो प्रस्ताव कार्यान्वयनमा जानेछ । सम्मेलनका लागि क्षेत्रीय संयोजक सोनाम लामाको अध्यक्षतामा विभिन्न १९ वटा समिति र १३ सदस्यीय मूल समिति गठन गरिएको थियो ।

न्यूजर्सी ११ बुँदे घोषणापत्र

१. देशको समृद्धि हाम्रो चाहना हो । राजनीतिक स्थिरता त्यसको पहिलो आधार हो । त्यसैले यो सम्मेलन सबै पक्षको सहमतिमा संविधान कार्यान्वयन गर्दै देशलाई स्थायित्व प्रदान गर्न सम्र्पूण दलहरूलाई आग्रह गर्दछ । साथै, संविधान कार्यान्वयनको क्रममा बन्ने नागरिकता लगायतका ऐनहरूमा गैरआवासीय नेपालीहरूको भावना र मर्म समेट्न पनि यो सम्मेलन नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।

२.     भूकम्प प्रभावितहरूको लागि घर निर्माण गर्नेे प्रतिवद्धता अनुसार गोर्खाको लाप्राकमा नमूना बस्ती निर्माण गर्ने निष्कर्ष सहित सोही ठाउँमा नै सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारी ज्यू को उपस्थितिमा राष्ट्रिय पून:निर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच समझदारी पत्रमा हस्ताक्षर भएको प्रति यो सम्मेलन खुसी ब्यक्त गर्दछ । साथै संघले बस्ती निर्माणको लागि प्राविधिक कार्य अगाडि बढाईसकेको अवस्थामा लाभग्राहिले पाउने जग्गा लगायतका सरकारी पक्षबाट गरिदिनुपर्ने कार्य तत्काल पूरा गरिदिन यो सम्मेलन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

३.     गैरआवासीय नेपाली संघले लामो समयदेखि भन्दै आएको र सरोकारको बिषय रहेको खुल्ला बिश्वबिद्यालय ऐन संसदबाट पारित भएकोमा सम्बन्धित समिति लगायत सिंगो ब्यवस्थापिका संसदप्रति हार्दिक आभार प्रकट गर्दछ ।

४. गैरआवासिय नेपाली संघलाई आर्थिक तथा सामाजिक विकासको साझेदार बनाउने संघको सातौं विश्व सम्मेलनको घोषणापत्रको बुँदा नम्बर दुईको निर्णयलाई कार्यन्वयन गर्न यो सम्मेलन भिजन २०२० एण्ड बियोण्ड अवधारणा प्रस्तुत गरियो । प्रस्तुत अबधारणामाथि भएको छलफलका क्रममा प्राप्त सुझावहरूलाई समेट्दै यो अवधारणालाई अगाडि बढाउन अन्तर्राष्ट्रिय समन्वय परिषद आईसिसिलाई जिम्मा दिन यो सम्मेलन निर्णय गर्दछ ।

५.     नेपालको उद्यमशिलता बिकास तथा ब्यापार, व्यवासाय प्रवद्धनको लागि सम्बन्धित मुलुकहरूको दूतावाससंग समन्वय गर्दै दोहोरोकर मिनाहाको लागि पहल गर्न यो सम्मेलन नेपाल सरकारसंग आग्रह गर्दछ ।

६. नेपालको पर्यटन प्रवर्धनमा गैरआवासीय नेपालीहरूको विशेष भूमिका रहनु पर्दछ भन्ने कुरा आत्मसात गर्दै पर्यटन प्रवर्धन सम्बन्धी कार्यक्रमहरू हरेक देशमा गर्ने र नेपालको पर्यटन बिकासमा खुलेर सहयोग गर्न यो सम्मेलन प्रतिवद्धता जाहेर गर्दछ ।

७.     नेपाल सरकारको सेवालाई बैदेशिक रोजगारमा रहेका कामदारहरूसम्म सहज पार्न, लेबनान र इराकमा सरकारी उपस्थिति तथा साउदी, युएई जस्ता मुलुकहरूमा नियोगको बिस्तार तथा आवश्यक कानूनी सेवा समेत प्रदान गर्नेगरी क्षमता अभिबृद्धि गर्न र बैदेशिक रोजगारमा न्याय, उद्धार र क्षतिपूर्तिका लागि कानूनले निर्दिष्ट गरेका पक्षहरूलाई जिम्मेवार बनाउन नेपाल सरकारसंग यो सम्मेलन माग गर्दछ । साथै यो सम्मेलन, बैदेशिक रोजगार नीति निर्माण गर्दा गैरआवासीय नेपाली संघको उचित प्रतिनिधित्व गर्दै पीडित कामदार तथा घरेलु महिलाहरूको तत्काल उद्धार गर्न साधन स्रोत सहितको द्रुत उद्धार संयन्त्रको निर्माण गर्न पनि माग गर्दछ ।

८. स्वदेशमा लगानी बढाई रोजगारका अवसरहरू अभिबृद्धि गर्दै बैदेशिक रोजगारमा गएकाहरूको पुन:स्थापना एवं सामाजिक सुरक्षा, संचय कोष र बिमा प्राप्तिको लागि नेपाल सरकारसंग यो सम्मेलन अनुरोध गर्दछ ।

९.     बिदेशमा जन्मिएका नेपाली एकल महिलाका सन्तान नागरिकताबिहीन भएको त्यस्ता नावालकहरूलाई नागरिकता तथा ट्राभल डकुमेन्ट प्रदान गर्नका लागि उपयुक्त कानुन निर्माण गर्न नेपाल सरकारसंग अनुरोध गर्दछ ।

१०.    गैरआवासीय नेपालीको उल्लेख्य संख्या बढेका देशमा नेपाली दूताबास स्थापना गर्न नेपाल सरकारसंग यो सम्मेलन माग गर्दछ । साथै त्यस्ता देशका दुताबास नेपालमा स्थापना गर्न पनि यो सम्मेलन आवस्यक ठान्दै उचित पहलका लागि आग्रह गर्दछ ।

११. बिदेशमा हुर्किरहेको दोस्रो पुस्तालाई गैरआवासीय नेपाली संघमा समावेश गर्दै स्वदेशमा संचालन भइरहेका युुवा सम्बन्धी कार्यक्रमहरूमा सहभागिता गराउदै जान यो सम्मेलन प्रतिवद्धता जाहेर गर्दछ ।

कुनै पनि सामाजिक संस्थाको कार्य सञ्चालन सामान्यतय कठिन हुन्छ नै त्यसमा पनि एनआरएनको बढ्दो सञ्जाल र नेपाली जनतामा परेको आशावादी छापले यस संस्थाले गर्नुपर्ने थुप्रै काम र दायित्वहरू थपिएका छन् । एकातिर संस्थामा आवद्ध हुनेहरू दिनानुदिन बढी रहेका छन् भने अर्कोतिर गर्नुपर्ने कामको फेहरिस्त बढी रहेका छन । त्यसैले सामाजिक संस्थामा जति धेरै आवद्ध भएपनि काम गर्नेहरू निकै कम हुन्छन् । त्यसैले नेतृत्वमा रहेकाहरूले सबैलाई मूलधारमा समावेस गरी संस्थागत विकास साझेदारीका लागि हातेमालो गर्न र गराउन संयोजनकारी भूमिका निर्वाह गर्न जरुरी छ । त्यसमा पनि विदेशको व्यस्त समय व्यवस्थापन गरेर सामाजिक कामका लागि खट्नु निकै कठिन पनि छ । त्यसैले मातृभूमिका लागि सबैले बचेको समयमा आफ्नो सानो सहयोग नै भएपनि समाजिक काममा प्रयोग गरे त्यसबाट मुलुकका लागि ठूलो सहयोग हुने छ ।