पर्सामा अनौठो रोग

-- / प्रकाशित मिति : आइतवार, फाल्गुन १६, २०७२

पर्सा जिल्लाको पोखरीया–४ सतवरीया टोलमा पछिल्लो दुई महिनाभित्र २६ जनाको मृत्यु भएपछि गाउँले त्रसित भएका छन् । देउता रिसाएको भन्दै कोही पूजा–पाठमा व्यस्त छन् भने कोही झारफूकमा त कोही साधु–बाबाका पछाडि दौडिएका छन् । दुई महिनाभित्रै २६ जनाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको स्थानीय राजेश्वर ठाकुरले बताएका छन् । अधिकांश गाउँलेहरू देउता रिसाएर अथवा कुनै दुष्टात्माको प्रकोपले गाउँमा महामारी फैलिएको दावी गरिरहेका छन् । गाउँलेहरूले भागवत पाठको समेत तयारी गरेका छन् । मृत्युको कारण भने एउटै छैन । सतवरीयामा धेरैको मृत्यु भएको खबर पाएपछि घरघरै पुगेर जानकारी लिएको जनस्वास्थ्य कार्यालयको टोलीले गाउँमा कुनै महामारी फैलिएको नभई विभिन्न रोगका कारण मृत्यु भएको जनाएको छ । टोलीको प्रतिवेदनले अलग–अलग कारणले मृत्यु भएकोले गाउँमा महामारी नफैलिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । मृत्यु हुनेमा नबजात शिशुदेखि १०२ वर्षका वृद्ध समेत छन् ।