साताको साहित्य पुरस्कार कबि बोनम प्रतापलाई 

-- The NTA / प्रकाशित मिति : सोमवार, कार्तिक २९, २०७३
kabi-bonam‘असल साहित्यकारले पुरस्कार र सम्मान होइन, पुरस्कार र सम्मानले असल साहित्य र साहित्यकारको खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साथ नेपाली साहित्यमा उल्लेखनिय योगदान दिँदै आइरहेको साताको साहित्य डट कमले हरेक बर्ष आफ्नो वेभसाइटमा अगष्ट २०१५ देखि जुलाई २०१६ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट पाठकहरूको प्रतिक्रिया र निर्णायकहरूको निर्णयको आधारमा पुरस्कृत रचनाको छनौट गर्दै आइरहेको छ । सोहि अनुसार साताको साहित्य डट कमले  १३ नोभेम्बर २०१६ मा आफ्नो वेभसाइट मार्फत सार्बजनिक गरेको प्रेस विज्ञप्ति अनुसार यस बर्षको साताको साहित्य पुरस्कार कवि बोनम प्रतापलाई उनको कविता  ‘म नि सुन्दर थिएँ नि’ का लागि दिने घोषणा गरेको छ ।
पाठक प्रतिक्रिया र साताको साहित्यको छनौटका आधारमा केही समय अघि साताको साहित्यले हरेक बर्षझैँ तीन उत्कृष्ट रचानाहरू सार्बजनिक गरको थियो जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि जीवन खत्रीको कविता ‘एउटा खस्रो चित्र’ र गजलकार कमल संघर्षको गजल छानिएका थिए । तत्पश्चात चार सदस्यीय निर्णायक समितिले तीन उत्कृष्ट रचनाबाट पनि सर्बोत्कृष्ट रचनाको रुपमा बोनम प्रतापको रचनालाई बहुमतको आधारमा चयन गरेको हो । निर्णायक मण्डलमा कवि महेन्द्र पौडेल, ऋषि आचार्य (सम्पादक – नेपाली पत्र अष्ट्रेलिया), सुजित सिग्देल (सम्पादक- द नेपाली टाइम्स अष्ट्रेलिया) र निष्प्रभ सजी (सम्पादक – साताको साहित्य) रहेका थिए ।
साताको साहित्य डट कम का सम्पादक निष्प्रभ सजीले जारी गर्नु भएको प्रेस बिज्ञप्ति अनुसार उत्कृष्ट छानिएका रचनाका श्रष्टालाई काठमण्डौमा एक कार्यक्रम बिच  पुरस्कार स्वरुप नगद रु बीसहजार र ताम्र पत्र प्रदान गरिनेछ । यस अघि साताको साहित्य पुरस्कार रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास र नवराज पराजुलीका रचनाहरूलाई प्रदान गरिएको थियो । प्रताप यो पुरस्कार पाउन पाँचौ लेखक हुन् ।