कर्मभूमिको मुटुमा जन्मभूमिको झण्डा फर्फराउँदा

-- महेन्द्र कुमार लम्साल / प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७३

एनआरएनए अष्ट्रेलियाद्वारा प्रत्येक दुई/दुई बर्षमा आयोजना गरिने नेपाल महोत्सव अन्तर्गत २०१६ को शृङ्खला यसपटक  ब्रिसबेनको अपार सफलतापश्चात् दोश्रो संस्करण २६ नोभेम्बरका दिन, सिड्नीसम्म अवतरण भएको थियो । सिड्नीको मुख्य केन्द्रबिन्दु टाउनहलबाट सयौंको संख्यामा बिहान सबेरै सुरु भएको शान्ति पदयात्रा र त्यसपछिको  सिड्नीको मुख्य पर्यटकीय तथा दर्शनीयस्थल डार्लिंग हार्बरको टम्बालोङ्ग पार्कमा आयोजित यो नेपाल महोत्सव विहानदेखि बेलुकी अबेरसम्म चलेको थियो । दिनभरि कै यो माहोल, नेपाली जमघट, मनोरञ्जनपूर्ण कार्यक्रम  हेर्दा  नेपाली र बिदेशी गरि करिब चालिस हजारभन्दा बढीले अवलोकन गरेको अनुमान छ । यी दुवै कार्यक्रममा यहाँस्थित स्थापित धेरै भन्दा धेरै सामुदायिक संघ संस्था, क्यानबेरास्थित नेपाली दूताबास तथा एनएसडब्लु महाबाणिज्यदूतको कार्यालयबाट समेत सहभागि भएका थिए । कार्यक्रममा नेपालका परराष्ट्रमन्त्रीले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । प्रवासको यो भूमिमा नेपाल र नेपाली समुदायलाई चिनाउन यो भन्दा ठूलो र गौरवमय अवसर अरु के हुन सक्ला र ?

हरेक पटक एनआरएनएद्वारा आयोजना गरिने नेपाल महोत्सवमा मानिसहरुको अपार उपस्थिति र संलग्नतालाई विभिन्न दृष्टिकोणले हेरिएको छ । कसैले यसलाई प्रवासमा नेपाली संस्कार र संस्कृति प्रदर्शन गर्ने अवसर भनेका छन् त कसैले नेपालको पर्यटन प्रबर्धन गर्ने मौका भनेका छन् । केही नेपाल महोत्सव अभूतपूर्व रुपमा सफल भएको दावी गर्छन् त केहि मानिसहरु यस्तो धेरै खर्च गरि आयोजना गरिएको पर्वले लक्षित उद्देश्य हासिल गर्यो त भन्ने प्रश्न तेर्साउँछन् ।

समग्रमा हेर्दा प्रवासमा आयोजना गरिने यस्ता महामेलाहरुले बहुआयामिक महत्व राख्दछन् ।  त्यसमा पनि अष्ट्रेलिया जस्तो बहुसांस्कृतिक समाजमा हाम्रो बलियो उपस्थितिले धेरै महत्व राख्ने गर्दछ । यहाँको सरकारले लिने भावी नीति तथा कार्यक्रममा विभिन्न समुदायका मानिसहरुको संख्या, रहन सहन, आर्थिक, लैङ्गिक शैक्षिकलगायतका मानव साधनको स्वरुपले ठूलो प्रभाव राख्ने गरेको पाइन्छ ।

नेपाल महोत्सव नेपालीहरुको साझा संस्था भनुँ वा नेपालीका लागि नेपाली अभियान, एनआरएनएले आयोजना गर्ने एउटा महत्वपूर्ण कार्यक्रम हो । यो नेपाल सरकारका सम्बन्धित देशस्थित नियोग यहाँका सबै सामुदायिक संघ संस्थाहरुलाई साथमा लिएर गरिने हुनाले यस कार्यक्रमलाई एउटा सबैको साझा पर्वको रुपमा लिनु जरुरी देखिन्छ । जन्मजात मानिसहरुको आफ्नै सोच हुन्छन्, समाज, संघ, संस्थाहरु बग्रेल्ती खुलेका छन् र तिनीहरुको पनि आ—आफ्नै उद्देश्य र लक्ष्य छन् तर जब समग्र नेपाली समुदायको सामुहिक हीत र पहिचानको लागि यस्ता ठूला कार्यक्रमहरु गरिन्छन् तब हामी सानातिना मतभेदहरुलाई पछाडि राखेर समुदायको एउटा जिम्मेवार सदस्यका हैसियतले होस्टेमा हैंसे गर्नु पर्ने कुरामा दुई मत छैन् । त्यसैको प्रतिफल हो यो कुम्भभेलाको सफलता ।

कर्मभूमिको मुटुमा जन्मभूमिको झण्डा फर्फराउँदा

हजारौ माइल टाढा रहेपनि कर्मभूमिको मुटु नेपाली चन्द्र सूर्य अंकित झण्डा फरफराउने अवसर पाउँदा कसको मन नरमाउला र ? महामेला, नेपाल फेस्टिवलको पूर्वसन्ध्यामा स्थानीय सरकारले  सिड्नीको मुख्य भागमा नेपाली झण्डा प्रदर्शन गर्न दिनु सामान्य कुरा होइन । सिड्नी फोर शोर प्राधिकरणले बिगतका यस्ता मेलाहरुको उचाई देखेर, नेपालीहरुको एकता र सबलता देखर नै यस पटक पनि सहर्ष यस्तो सुबिधा प्रदान गरेको थियो ।

बहुसाँस्कृतिक मुलुकमा सबैको आफ्नै पहिचान हुन्छ । आ—आफ्नै ढंगले उनीहरु आफ्नो भाषा, संस्कृति, चलनचल्ती र रितिरिवाजहरुको प्रबर्धन गरेका हुन्छन् । हामी नेपाली हौं र कतिले अष्ट्रेलियाको नागरिकता लिएका हौंला । तर यहाँ हामी न मात्र अष्ट्रेलियन हौ न त नेपाली मात्र, हामी कोहि नेपाली मूलका अष्ट्रेलियन हौ र ढिलो चाँडो प्रायः सबै त्यै लाइनमा उभिने छौ । यो भावना र आफ्नो नेपाली पहिचान हामी मात्र होइन हाम्रा आउँदा पुस्ताले पनि निरन्तरता दिने छ, नेपाली मूलका अष्ट्रेलियनको रुपमा । पहिलो पुस्ताको रुपमा हामीले कर्मभूमिमा हाम्रो मातृभूमि, नेपाली समाज संस्कृति तथा परम्पराको जगेर्ना र प्रबर्धन गर्न अनि नेपालको परिचय र पहिचानको प्रचार र प्रबर्धन गर्ने परम्परा हस्तान्तरण गर्दै गयौं भने उनीहरुले पनि यसलाई सगौरव निरन्तरता दिने छन् । राज्यले पनि आबश्यक सहयोग र हौसला दिने छ अनि नेपाली मूलका अष्ट्रेलियनको रुपमा हाम्रो पहिचान जीवन्त राख्न सकिने छ ।

नेपाली समुदायको अष्ट्रेलियन सरकारद्वारा प्रसंशा

नेपाल फेस्टिवलमा सरकारी तथा प्रतिपक्षबाट उच्चस्तरीय प्रतिनीधीहरु फेस्टिवलमा शुभकामना दिनका लागि खटाएका थिए र साथमा नेताहरुद्वारा कार्यक्रमको सफलताको शुभेक्षा तथा शुभकामना  एनआरएनएलाई प्राप्त भएको थियो । दुवै पक्षका बहुसाँस्कृतिक मामिलासम्बन्धी मन्त्रीका प्रतिनिधिहरु तथा अन्य संसदहरुले नेपाली समुदायले आष्ट्रेलियामा पुर्याएको योगदानका बारेमा मुक्त कण्ठले प्रसंशा गरे । अष्ट्रेलिया एउटा बहुसंस्कृतिंक मुलुक हो र यहाँ जनता र जनसंख्यालाई धेरै महत्व र प्राथमिकता दिईन्छ । यसरी आम जनसहभागिता हुने खालको महोत्सबहरुमा बिधायीका संसदसम्म रहेका प्रतिनिधिहरुको उपस्थिति हुनुले उनीहरुले निर्माण गर्ने नीतिहरुमा  नेपालीहरुको हक, हीत र उत्थानका लागि निकै महत्वपूर्ण हुने गर्दछ  ।

परराष्ट्रमन्त्री महतद्वारा खुसी व्यक्त

यूरोप, अमेरिकालगायत थुप्रै मुलुक घुमिसकेका बर्तमान परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत अष्ट्रेलिया भ्रमण गर्दै गर्दा यहाँका नेपालीहरुको प्रगति, उन्नति, अनुशासन र देशप्रति देखाएको माया प्रति नतमस्तक बनेको अभिव्यक्ति दिए । नेपाली सामुदायिक कार्यक्रमहरुमा सम्बोधन गर्ने क्रममा अष्ट्रेलियामा बसेका नेपालीहरुले नेपालीको शिर उच्च राख्ने काम गरेकोमा प्रसंशा गरे ।  एनआरएनएको निमन्त्रणामा अष्ट्रेलिया आएका  नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई  नेपाल महोत्सवमा प्रमुख आतिथ्य ग्रहणका अतिरिक्त अष्ट्रेलिया सरकार तथा बिपक्षी दलका शिर्षस्थ  नेताहरुसंग औपचारिक र अनौपचारिक भेटबार्ता गर्ने अवसर पनि मिल्यो । यस्तो भेटबार्ताले  अष्ट्रेलिया नेपालबीचका द्विपक्षीय सम्बन्ध नवीकरण भएको दावी उनले गरे । बास्तवमा भन्नु पर्दा  यो नै सरकारीस्तरमा अहिलेसम्म कै सबै भन्दा ठूलो भ्रमण थियो । पर्याप्त पूर्वतयारी हुन नपाएकोले हामीले यो भ्रमणबाट दुई देशबीचको कुटनैतिक सम्बन्ध तथा पारस्परिक हितका बारेमा अपेक्षित उपलब्धि हासिल गर्न सकेनौ, तर यो भ्रमणले भविष्यका लागि थप बाटोहरु खोलेको भने अवस्य छ ।

सामुदायिक संघ संस्थाहरु एउटै व्यानरमा एकत्रित

आफ्नो दिनचर्या जसरी बिताए पनि नेपालीहरु सुख र दुःखमा एक जुट हुन्छन् भन्ने ज्वलन्त उदाहरण नेपाल महोत्सवप्रति सबैको सद्भाव, सहयोग र ग्राउण्डमा खटेका सबै सदस्यहरुलाई लिन सकिन्छ । नेपाल महोत्सवको पूर्वाद्धमा आयोजना गरिएको बृहत शान्ति पदयात्रामा करीब ५० भन्दा बढी सामुदायिक संघ संस्थाहरुको एउटै ब्यानर अन्तर्गत सहभागिता थियो । त्यो मात्र होइन बहु जातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाल झल्किने झाँकीसमेत उक्त शान्ति पदयात्रामार्फत संयुक्त रुपमा प्रदर्शन गरिएको थियो । कार्यक्रमस्थल प्रवेशद्वार मै प्रमुख आकर्षणको रुपमा नेपाल हाउस थियो । यो नेपाल हाउस एनआरएनए महिला फोरम नारी निकुन्जद्वारा अहोरात्र खटेर तयार परिएको थियो । यो यस्तो नेपाल हाउस थियो जहाँ नेपालको बिबिधता र त्यस भित्रको एकता प्रष्टै झल्किन्थ्यो । मूलद्वारबाट प्रवेश गरि महोत्सवस्थल निस्कदै गर्दा सबैले आफुलाई नेपालको  हिमाल, पहाड, तराईलाइ अंगालो मारेर आए जस्तो भान हुन्थ्यो ।

अन्त्यमा, अष्ट्रेलियामा नेपाली समुदाय तुलनात्मक रुपमा नयाँ र द्रूत गतिमा बढ्दो छ । शिक्षा र जीवनस्तरमा यहाँका अन्य समुदायको भन्दा नेपालीहरुको स्थान माथि छ । नेपालीहरु खुला दिलका छन्, ठूलो मनका छन् रचनात्मक छन्, परिश्रमी अनि इमान्दार पनि छन् । यो पहिचान अष्ट्रेलियामा मात्र होइन संसार मै बनाई सकेका छन् नेपालीहरुले ।

हो, विभिन्न कालखण्डमा एनआरएनको नेतृत्वमा आउने मानिसहरुका काम गर्ने तौर तरिकाहरु फरक हुन सक्छन् । तर यसको एउटै उद्देश्य भनेको नेपालीका लागि नेपाली नै हो । यो अभियानमा सफलता पाउन बृहत नेपाली समुदायको अमूल्य र निरन्तर सहयोग र सद्भाव बिना सम्भव छैन मात्र होइन, कल्पना पनि गर्न सकिन्न । जसरी नेपाललाई प्रबासमा चिनाउन नेपालीहरुको एकता, अपार बिश्वास र सद्भाव रह्यो यो निरन्तर रहन सक्यो भने हाम्रो बामे सर्दै गरेको नेपाली समुदाय भविष्यको छोटो समयमा लामो फड्को मार्न सक्छौं । हामी एक भयौ भने, हाम्रो सम्भाव्यता, श्रोत, साधन र शक्तिलाई समूचित व्यबस्थापन र एकिकृत रुपमा परिचालन गर्न सकियो भने आउँदा दिनहरुमा हामी ठूलाठूला कार्यहरु गर्न सक्छौ, जसले गर्दा आउँदा पुस्ताले हामीप्रति गौरब गर्न सकोस् ।