नेपाली चलचित्रको फष्टाउँदो बजार अष्ट्रेलिया

-- कृष्ण भट्टराई / प्रकाशित मिति : शुक्रबार, पुस २२, २०७३

कृष्ण भट्टराई-

२७ अक्टोबर २०१७ को दिन अष्ट्रेलियामा एउटा नेपाली फिल्मले अविश्वसनिय कीर्तिमान कायम गर्‍यो । नेपालमै समेत सर्वाधिक आम्दानी गर्न सफल दीपाश्री निरौलाद्वारा निर्देशित फिल्म ‘छक्का पञ्जा’ ले अष्ट्रेलियामा समेत प्रदर्शनको कीर्तिमान कायम गर्‍यो । पर्थमा एक शोका लागि यो फिल्म प्रदर्शन गर्ने कार्यक्रम थियो तर पहिलो शो हाउसफूल भएपछि आयोजकले दोस्रो शो सञ्चालन गर्ने निर्णय गरे । दोस्रो शो पनि हाउसफूल भएपछि आयोजकले तेस्रो शो नराखि सुखै पाएनन् ।

अन्तत: पर्थ शहरको इतिहासमै कुनै एउटा नेपाली फिल्मले ब्याक टु ब्याक तीन वटा हाउसफूल शो सञ्चालन गर्ने अवसर पायो । हावा इन्टरटेन्मेन्ट तथा नेप्लिज युनाईटेड फूटबल क्लबको संयुक्त आयोजनामा प्रदर्शन भएको उक्त फिल्म पहिलो पटक पर्थ शहरमा ३ शो प्रदर्शन भएको पनि त्यो पहिलो पटक थियो । पछिल्लो समय नेपाली फिल्मले यति धेरै शो पाएको सम्भवत यो नै पहिलो पटक भएको हावा इन्टरटेन्मेन्टका इभेन्ट संयोजक प्रविन्द्र अवालेले अनुमान गरेका छन् । अवालेका अनुसार पर्थ शहरको बेल्मोन्टस्थित रिडिङ्ग सिनेमामा प्रदर्शन भएको ‘छक्का पञ्जा’ को तीन वटै शो हाउसफूल भएको थियो । पहिलो शो हाउसफुल भएर फिल्म हेर्न नपाएका दर्शकको आत्यधिक मागका कारण आयोजकले दोस्रो शो आयोजना गरेको थियो । दोस्रो शोको पनि सम्पूर्ण टिकट बिक्री भएपछि आयोजक टिम उत्साहित भएर तेस्रो शो आयोजना गरेको थियो । तेस्रो शोमा पनि नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो । ‘छक्का–पञ्जा’ फिल्मको प्रदर्शनबाट अति नै उत्साहित भएको हावा इन्टरटन्मेन्टले आगामी दिनमा अझ उत्कृष्ट नेपाली फिल्महरू प्रदर्शन गर्ने प्रतिबद्धता गरिसकेको छ ।

अष्ट्रेलियामा यही डिसेम्बर महिनामा प्रदर्शन भएको नेपाली फिल्म ‘जात्रा’ ले पनि उत्कृष्ट व्यवसाय गरेको छ । अष्ट्रेलियाका सबै शहरहरूमा प्रदर्शन भएको उक्त फिल्मले विभिन्न शहरहरूमा हाउसफूल व्यापार गर्न सफल भएको बताइएको छ । अष्ट्रेलियामा प्रदर्शनको अधिकार खरिद गरेको मास्टर इभेन्टस् अष्ट्रेलियाका अनुसार जात्राले ब्रिसबेन, गोल्डकोष्ट, पर्थ, सिड्नी लगायतका शहरहरूमा हाउसफूल व्यापार गरेको हो । १० लाख रुपैयाँमा प्रदर्शन अधिकार खरिद गरेको यो फिल्म सिड्नी, मेलबर्न,ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, क्यानबेरा आदि शहरमा प्रदर्शन गरिँदा नेपाली दर्शकले राम्रो साथ दिए ।

ओज इन्टरटेन्मेन्टका सुमन थापाका अनुसार पहिलोपटक गोल्डकोष्टमा ‘छक्का पञ्जा’ पछि ‘जात्रा’ ले उत्कृष्ट व्यवसाय गरेको हो । थापाका अनुसार नेपालीको सानो बसोबास रहेको यो क्षेत्रमा समेत नेपाली फिल्मलाई यति धेरै मन पराइनु वास्तवमै नेपाली फिल्मको स्तर सुध्रिएको मान्न सकिन्छ । नेपालीहरूको संख्या बढ्दै गएकाले समेत नेपालमा निर्माण हुने अधिकांश नेपाली फिल्महरूले अष्ट्रेलियामा राम्रो बजार पाउँदै आएको थापाको तर्क छ ।

पर्थमा हाउसफूल भएका शोका केही नेपाली दर्शकको प्रतिक्रियाले अष्ट्रेलियामा बसेर नेपाली फिल्ममा लगानी गरिरहेका निर्माताहरूको मन प्रफुल्लित भयो । एक जना दर्शक सदिक्षा थापाको भनाइ छ —‘यति राम्रो नेपाली फिल्म विदेशमा नेपाली समुदायसंग बेसर हेर्न पाउनु आफैंमा गौरवको कुरा हो । आयोजक संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा समेत यस्तै–यस्तै राम्रो नेपाली फिल्महरू नेपाली समुदायमाझ प्रदर्शन गर्नु हुन मेरो आग्रह छ ।’

वास्तवमा सदीक्षा थापा एक जना प्रतिनिधि पात्र मात्र हुन् । यतिबेला अष्ट्रेलियामा नेपाली फिल्मको क्रेज यसरी नै बढेको छ । नेपाली निर्माताहरू राम्रा–राम्रा नेपाली फिल्महरू ल्याएर अष्ट्रेलियाका नेपालीमाझ प्रदर्शन गर्न आतुर देखिन्छन् । छक्का पञ्जाजस्ता फिल्मले एक हप्ताभरीको थकान मेटाउने औषधिको काम गर्ने नेपाली समुदायको प्रतिक्रियाले समेत निर्माताहरूलाई उत्साहित बनाइरहेको हुनुपर्छ । यद्धपि सबै फिल्महरू छक्का पञ्जा झैं मनोरञ्जक हुँदैनन् । त्यसका लागि अष्ट्रेलियाका निर्माताहरूले नेपालमा फिल्म निर्माण गरिरहेका निर्माता–निर्देशकसंग सहकार्य गर्न सके आगामी दिनमा अझ मनोरञ्जक फिल्महरू तयार हुने कुरामा दुईमत रहँदैन ।

वास्तवमा पछिल्ला केही वर्षयता नेपालमा निर्माण हुने अधिकांश नेपाली फिल्मका निर्माताले ओभरसिज रिलिज अर्थात विदेशमा प्रदर्शन गर्ने अवधारणासहित फिल्महरू निर्माण गर्न थालेका छन् । नेपालमा राम्रो व्यवसाय गर्ने अनुमान गरिएका प्राय: सबै फिल्महरू विदेशमा समेत विक्रि हुने क्रम बढ्दो छ । अवस्था कतिसम्म सुखद छ भने छायांकनको क्रममा रहँदै विदेशमा प्रदर्शन गर्ने अधिकारी विक्री भैरहेका समाचारहरू प्रकाशित भैरहन्छन् ।

प्रदर्शनको तयारीमा रहेको ‘लूट–२’ को ओभरसिज राइट यो फिल्म छायांकनमा जानुअघि नै निश्चित भएको थियो । अष्ट्रेलिया प्रदर्शनको अधिकारका लागि मात्र यो फिल्मलाई २५ लाख रुपैयाँ उपलब्ध गराइएको समाचार सार्वजनिक भैसकेको छ ।

यतिबेला अष्ट्रेलिया अधिकांश नेपाली विद्यार्थीको आकर्षणको केन्द्र बनिरहेको छ । विद्यार्थी भिसामा अष्ट्रेलिया आउँदा आफूसंग डिपेन्डेन्टको रुपमा आफ्नो जीवनसाथीलाई समेत संगै ल्याउन पाइने सुविधाका कारण पनि नेपाली विद्याथीहरूको पहिलो गन्तब्य अहिले अष्ट्रेलिया नै हुन थालेको छ । नेपाली विद्यार्थीको आकर्षकको केन्द्र बनिरहँदा अष्ट्रेलियामा नेपालीको समुदाय पनि वृहत बन्दै गैरहेको छ । यस्तो अवस्थामा नेपाली फिल्मका निर्माता, निर्देशक, कलाकार, प्राविधिकहरूका लागि अष्ट्रेलिया एउटा ठूलो बजारको रुपमा विस्तार भैरहेको छ ।

अस्ट्रेलियामा नेपाली फिल्मको बजार विस्तार भएसंगै नेपालमा फिल्ममा लगानी गर्ने निर्माताहरूलाई ठूलै राहत मिलिरहेको छ । मध्यमस्तरको फिल्मले समेत अष्ट्रेलियामा १० देखि २० लाख रुपैयाँसम्मको व्यवसाय गर्न थालेपछि अष्ट्रेलिया नेपाली निर्माताहरूका पहिलो रोजाइमा पर्न थालेको हो । यद्धपि अष्ट्रेलियामा प्रदर्शन हुने सवै नेपाली फिल्मले आकर्षक व्यवसाय भने गर्न सकेका छैनन् ।

पछिल्लो समय नेपाली फिल्मको बजार नेपालमात्र सिमित छैन । यूरोप, अमेरिका, क्यानाडा, जापान, कोरियाहुँदै अष्ट्रेलिया समेत च्यारिटी शो तथा नियमित प्रदर्शन हुने बजारको रुपमा विस्तार भैरहेको छ । नेपालको व्यवसायले मात्र फिल्म निर्माताको लगानी सुरक्षित गर्न नसक्ने अवस्थामा विदेशमा हुने प्रदर्शनले निर्माताहरूलाई ठूलै राहत प्रदान गरेको छ । त्यसैले यतिबेला फिल्म निर्माता तथा निर्देशकहरू फिल्मको स्कृप्ट लेखनदेखि नै विदेशमा फिल्म प्रदर्शनका लागि एनआरएन पदाधिकारीदेखि व्यवसायी तथा स्थापित नेपालीसंग नियमित सम्पर्कमा रहन्छन् ।

अष्ट्रेलियाप्रति नेपाली निर्माता–निर्देशकहरू यति बढि आशावादी हुन थालेका छन् कि कतिपय फिल्मको सम्पूर्ण छायांकन नै अष्ट्रेलियामा हुन थालेको छ । भरखरै प्रदर्शन भएको ‘जंगबहादुरको कोट’ को अधिकांश छायांकन अष्ट्रेलियामै गरिएको थियो । यद्धपि नेपालमा उक्त फिल्मले सुखद व्यवसाय गर्न सकेन ।

यतिबेला एउटा नेपाली फिल्म ‘शब्द’ ले नौलो कीर्तिमान कायम गर्दैछ । यो फिल्म जनवरी १३ का दिन नेपाल तथा अष्ट्रेलियामा एकै दिन प्रदर्शन हुँदैछ । उक्त फिल्मको प्रिमियर शोमा सहभागि हुन अभिनेता सौगात मल्ल तथा अभिनेत्री कमली वाइवा अष्ट्रेलिया जाने निश्चित भैसकेको छ । नेपाल र अष्ट्रेलियामा एकै दिन रिलिज गर्नुको पछाडि नेपाली फिल्मले नेपालपछि अष्ट्रेलियालाई दोस्रो बजारको रुपमा हेर्न थालेको स्पष्ट हुन्छ ।

प्रदर्शनको तयारीमा रहेका लूट–२, कारखाना, डायरीसहितका झन्डै एक दर्जन फिल्महरूले अष्ट्रेलियामा प्रदर्शन गर्ने अधिकार कि त बेचिसकेका छन् कि विक्री गर्ने क्रममा छन् । यस्तो अवस्थामा अहिले नेपालमा प्रत्येक दोस्रो निर्माता आफ्नो फिल्मलाई अष्ट्रेलियामा प्रदर्शन गर्न चाहन्छ । कारण एउटै छ, अष्ट्रेलियामा नेपाली फिल्मको राम्रो बजार । तर, राम्रो बजारलाई राम्रो तथा उत्कृष्ट बनाउन नेपाली फिल्महरू अझ उत्कृष्ट बन्नु पर्छ भन्ने कुरालाई भने सबै निर्माताहरूले पालना गरेको पाइँदैन ।

 

कसरी आउँछन् नयाँ फिल्म ?

अष्ट्रेलियामा नेपाली फिल्म वितरण गर्ने वितरकहरू प्राय: नेपालमा राम्रो व्यवसाय गरेका, राम्रो व्यवसाय गर्न सक्ने सम्भावना बोकेका, स्टार भ्यालु भएका, दर्शकहरूले मन पराएका, सञ्चारमाध्यममा राम्रो चर्चा पाएका कुरालाई र बढी चर्चा भएका कुरालाई आधार मान्छन् । यी सबै कुरा भएका फिल्मलाई मात्र वितकर तथा निर्माताहरू अष्ट्रेलिया ल्याउन तयार हुन्छन् । तर, सबै निर्माता तथा वितरकमा यो कुरा लागू हुँदैन । कतिपय वितरकले नजिकबाट चिनेका, आफन्त अथवा निकटता हुने निर्माताका गुणस्तरीहिन फिल्म पनि किन्ने गरेको पाइएको छ । त्यस्ता फिल्मलाई अष्ट्रेलियाका दर्शकहरूले नरुचाएका दृष्टान्तहरू पनि प्रसस्त छन् ।

 

बजार घट्ने सम्भावना पनि उत्तिकै

राम्रा भनिएका नेपाली फिल्मले बजार विस्तार गरिरहेको अष्ट्रेलियामा पछिल्लो समय नेपाली फिल्मबीच नै तिब्र प्रतिस्पर्धा हुन थालेको छ । नेपाली फिल्ममा लगानी गर्ने निर्माता तथा आयोजकहरूको संख्या बढेसंगै यतिबेला अष्ट्रेलियामा अस्वस्थ प्रतिस्पर्धा समेत मौलाएको छ । एक महिनामै आधा दर्जनसम्मको संख्यामा नेपाली फिल्म प्रदर्शन हुन थालेपछि नेपाली समुदायका दर्शकहरू कुन फिल्म हेर्ने, कुन नहेर्न दोधारमा पर्न थालेका छन् । आवश्यकताभन्दा बढि नेपाली फिल्म प्रदर्शन हुन थालेपछि अष्ट्रेलियामा यी फिल्मको व्यवसायमै कमि आउने त होइन भन्ने आशंका समेत पैदा हुन थालेको छ ।

चलचित्र वितरकहरूबीच समन्वय नहुँदा एकातिर लाखौं लगानी गरिएको रकम फिर्ता पाउन गाह्रो परिरहेको छ भने अर्कोतिर स्तरहिन फिल्मसमेत प्रदर्शन हुन थालेपछि दर्शकमाझ नेपाली फिल्मप्रति विकर्षण पैदा हुने सम्भावना पनि उत्तिकै छ । खासगरी अष्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन गराउने प्रदर्शकहरूको अस्वस्थ प्रतिस्पर्धाका कारण पछिल्लो समय नेपाली फिल्मको व्यवसायमा कमि आउन थालेको अनुभव गर्न थालिएको छ । एक जना आयोजिक/वितरकले कुनै एउटा नेपाली फिल्म प्रदर्शन गर्ने चाँजोपाँजो मिलाइरहेको बेला अर्को आयोजक/वितरकले सोही मितिमा अर्को फिल्म ल्याउने परम्परा विकसित हुन थालेपछि दर्शकहरू समेत कुन आयोजकले ल्याएको फिल्म हेर्ने भन्ने कुराले दोधारमा पर्न थालेको बुझ्न गाह्रो पर्दैन ।

विगतमा नेपालमा समेत सुपरहिट भैसकेको ‘लुट’ तथा हालैको ब्लकबस्टर ‘छक्का पञ्जा’ लाई अष्ट्रेलियामा प्रदर्शन गरेर चर्चामा आएका खिलेन्द्र तिमिल्सिनाका अनुसार यतिबेला अष्ट्रेलियामा व्यवसायिक रुपमा फिल्म प्रदर्शन गर्ने ट्रेण्ड एकातिर छ भने अर्कोतिर चिनजानको आधारमा, सम्बन्धको आधारमा फिल्म ल्याएर प्रदर्शन गर्न खोज्नेको संख्या पनि बढ्दो छ । त्यस्ता व्यक्तिहरूका कारण अष्ट्रेलियामा नेपाली फिल्मको बजार बिग्रन सक्ने खतरा देख्छन् वितरक तिमिल्सिना । यही कारण पनि विगतको तुलनामा अष्ट्रेलियामा नेपाली फिल्मको क्रेज केही घट्न थालेको अनुभव उनले गरेका छन् । तिमिल्सिना तीनै वितरक हुन् जसले हालै मात्र ‘पुरानो डुंगा’ तथा ‘लूट–२’ महंगो मूल्यामा किनेका छन् । ‘पुरानो डुंगा’ प्रदर्शन भैसकेको छ भने लूट–२ प्रदर्शनको क्रममा छ । तिमिल्सिना अष्ट्रेलियामा नेपाली फिल्मको बजारलाई अझ राम्रा बनाउन विकरकहरू नै सजग हुनु पर्ने तथा राम्रो फिल्म छनोट गर्नुका साटो चिनजानको आधारमा हाम्रो फिल्म छनोट गर्ने बानीलाई त्याग्नु पर्ने सुझाव दिन्छन् ।

खासगरी राम्रो व्यवसाय गर्ने अनुमान गरिएको ‘चपली हाइट–२’, ‘पुरानो डुंगा’ आदि फिल्महरूले नेपालमै पनि राम्रो व्यवसाय गर्न नसकेपछि अष्ट्रेलियामा पनि ती चलचित्रको बजार जम्न सकेन । सफल हुने आशा गरेर महंगोमा किनिएका यी फिल्महरू आशा गरे अनुसार सफल नभए पछि यतिबेला अष्ट्रेलियामा नयाँ–नयाँ नेपाली फिल्म किन्ने वितरकहरू सजग हुन थालेका छन् ।

नेपाली फिल्मका निर्माताको रुपमा स्थापित भैसकेका तथा अष्ट्रेलियामा लामो समयदेखि बसोबास गरिरहेका दिनेश पोखरेलको बुझाइमा अष्ट्रेलियाका नेपाली फिल्म निर्माताहरूले अष्ट्रेलियामा फिल्म बेचेर बढी पैसा कमाउने महत्वाकांक्षा पाल्नु नै ठूलो भूल हो । अष्ट्रेलियामा फिल्म ल्याएर अथवा प्रदर्शन गरेर कुनै पनि निर्माताले पैसा नकमाएको पोखरेलको तर्क छ । उनको भनाइ छ—‘ अष्ट्रेलियामा फिल्म ल्याएर कसैले पनि पैसा कमाएको छैन, निरन्तरता र सम्बन्धका लागि मात्र हो भन्ने कुरा हामी सम्पूर्ण निर्माताहरूले बुझ्न अत्यावश्यक छ ।’ पोखरेलले अष्ट्रेलियामा नेपाली फिल्मको बजार नै गुम्न सक्ने सम्भावना उजागर गर्दै भनेका छन् —‘अष्ट्रेलियामा फिल्म बेच्दा बजार नै नहेरी हचुवाको भरमा धेरै पैसा मागेमा यहाँ भएको केही बजार पनि गुम्न सक्छ ।’

अर्का एक जना निर्माताका अनुसार अष्ट्रेलियामा नेपाली फिल्म किन्ने अस्वस्थ प्रतिस्पर्धा नै चलेको छ । त्यही अस्वस्थ प्रतिस्पर्धाका कारण नै अष्ट्रेलियामा भएको नेपाली फिल्मको बजारमा नकारात्मक प्रभाव परेको हो । एक जना निर्माताले एउटा मूल्यमा किन्न ठिक्क परेको फिल्मलाई अर्को निर्माताले त्यो भन्दा बढि रकम तिरेर किनेपछि अष्ट्रेलियाको नेपाली फिल्मको बजार ओरालोतर्फ लाग्न थालेको ती निर्माताको तर्क छ । उनी भन्छन्—‘बजारको आंकलन नै नगरि अव्यवसायिक काम गर्दा हामीले बनाएको बजार समेत बिग्रने अवस्था आएको हो ।’

अष्ट्रेलियामा नेपाली फिल्म वितरणको क्षेत्रमा लामो समयदेखि सक्रिय हुनेहरूमा राज के गोस्वामी, राजमान थकाली, रोशन भट्टराई, बुलेक केसी, भुपाल सिटौला आदिको नाम अघिल्लो पंक्तिमा आउँछ । यी स्थापित नामहरू समेत अचेल नेपाली फिल्मको वितरणमा खासै उत्साहित देखिएका छैनन् । यसबाट पनि अष्ट्रेलियामा नेपाली फिल्मको बजारलाई राम्रो बनाउन हरेक क्षेत्रबाट राम्रै पहल हुने पर्ने आजको आवश्यकता भएको छ ।

 

के भन्छन् अष्ट्रेलियाका आयोजक तथा निर्माता 

अष्ट्रेलियामा नेपाली फिल्मको बजार असाध्यै राम्रो छ

सन्तोष कुँवर, निर्देशक, क्रिएटिभ इभेन्ट्स

अष्ट्रेलियामा राम्रा नेपाली फिल्मको बजार एकदम राम्रो छ । अष्ट्रेलियामा गुणस्तरीय नेपाली फिल्महरू हेर्न रुचाउने नेपालीहरूको संख्या बढिरहेको छ । यदि स्तरिय फिल्महरू निर्माण हुन्छन् भने ती फिल्मले अष्ट्रेलियामा राम्रा दर्शक पाउने कुरामा दुई मत नै छैन । राम्रा फिल्महरू अष्ट्रेलियामा हाउसफूलका साथ प्रदर्शन भैरहेका छन् । भरखरै प्रदर्शन भएको दीपाश्री निरौलाद्वारा निर्देशित फिल्म ‘छक्का पञ्जा’ का प्राय: सबै शोहरू हाउसफूल भए । यसबाट पनि के प्रमाणित हुन्छ भने अष्ट्रेलियामा नेपाली फिल्मको बजार अझै पनि उत्कृष्ट छ, मात्र स्तरिय फिल्म हुनु पर्‍यो । नेपालीपन झल्किने, मौलिक कथावस्तु भएका अग्र्यानिक भनिने नेपाली फिल्मलाई अष्ट्रेलियामा बढि रुचाइएको अनुभव मैले गरेको छु । सरसर्ती हेर्दा मलाई के लाग्छ भने अष्ट्रेलियामा नेपाली फिल्ममाथि लगानी गर्ने क्रम बढेको छ । उदाहरणको लागि प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘लूट–२’ लाई नि हेरौं, यो फिल्मलाई अष्ट्रेलियाबाट २५ लाख रुपैयाँ लगानी गरियो भन्ने सुनेको छु । म के कुरामा विश्वस्त छु भने यो फिल्मले त्यो रकम सजिलै उठाएर फाइदा पनि प्राप्त गर्न सक्छ ।’ हाम्रो क्रिएटिभ इभेन्ट्सले विगतमा ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘टलकजंग भर्सेस टुल्के’ जस्ता फिल्महरू प्रदर्शन गरेको थियो, ती फिल्मले स्तरिय व्यवसाय गरेकै हुन् । अष्ट्रेलियामा नेपाली फिल्म ल्याउने क्रममा हामीले भोगेको एउटै समस्या के छ भने फिल्मको बारेमा हामीलाई पूर्व जानकारी नै हुन्न । प्रोमो हेरेको भरमा हामीले फिल्मको मूल्याकन गर्नु पर्ने बाध्यता छ । यसबाहेक एउटै महिना दुई–तीन वटा फिल्म रिलिज गर्ने परम्परा छ । ब्याक टु ब्याक नेपाली फिल्म हेर्न जाने फुर्सद प्राय: कसैलाई पनि हुँदैन । महिनामा कम्तिमा एउटा मात्र फिल्म प्रदर्शन गर्न सकियो भने ती फिल्मले राम्रो व्यवसाय गर्न सक्ने कुरामा दुई मत छैन ।

 

कलाकारको कलालाई प्रस्फुटन गराउने कला निर्देशकको हातमा हुन्छ

दिनेश पोख्रेल, निर्माता

नेपालीहरूको संख्या उल्लेख्य रुपमा बढेका कारण नेपाली चलचित्रहरूको आकर्षक बजार अष्ट्रेलिया बन्न पुगेको हो जस्तो मलाई लाग्छ । दर्शकहरूको संख्या बढेपछि चलचित्रको मार्केट बढ्ने नै भयो । बिशेष गरि नेपालको सहरी क्षेत्रमा चलेका फिल्महरूले यहाँ मार्केट लिएकै हो । प्रिमियर शोहरूले सिड्नीमा राम्रो मार्केट लिनुमा स्थापित कलाकार र निर्देशकहरूले बनाएका कारण हुन सक्छ । चलचित्र निर्माण गर्ने होड चलेकै बेलामा स्तरीय मूभी बनाउने तर्फ ध्यान दिएमा एकातिर दर्शकहरूले मनोरंजन लिन पाउचन भने अर्को तिर फिल्म लगानीकर्ताहरू पनि लाभान्वित हुन सक्छन फलत निर्माता, निर्देशक तथा अभिनयकर्ता सबैलाई हौसला मिल्नेछ । अष्ट्रेलिया नेपाली चलचित्रको लागि राम्रो छ र क्वालिटी मूभीलाई अझै राम्रो हुने देखिन्छ भबिष्यमा । अष्ट्रेलियामा प्रदर्शनका लागि ल्याउने वितरकहरूले पनि क्वालिटीमा बिशेष ध्यान दिनुपर्ने देखिन्छ ।

फिल्म राम्रो बनाएर मात्रै काम पूरा हुँदैन । यसलाई राम्रो संग चलाउनु पर्छ । फिल्म चलाउने सवालमा पनि ठूलै चलखेल र राजनीति हुने गर्छ नेपालमा । तसर्थ नब निर्माताहरूले फिल्म निर्माण गर्ने होडबाजीमा लाग्नु अगाडि बस्ताबिकता बुझेर लाग्नु राम्रो हुन्छ । चलचित्र निर्माण गर्नु पनि एउटा व्यवसाय हो र वितरकहरूले पनि स्थापित निर्माता निर्देशकहरूबाट निर्माण गरिएको फिल्मलाई नै बढी प्राथमिकता दिने गर्दछन् र नयाा मार्केटमा आउनेहरू वितरकहरूबाट पिडित हुने सम्भावना रही रहन्छ । बास्तवमा भन्ने हो भने जम्मा जम्मी १० प्रतिशत फिल्महरू मात्रै नाफामा चलेको आाकडा छ ।

अष्ट्रेलियामा नेपाली चलचित्रको लागि भबिष्य राम्रो छ र अझै राम्रो हुने देखिन्छ । मार्केटलाई क्याच गर्ने हो भने समसामयिक बिषयबस्तुलाई समेटेर बनाइने फिल्म र मनोरन्जनात्मक शैलीको नेपाली चलचित्रमा अष्ट्रेलियन दर्शकहरू आकर्षित देखिन्छन् ।

 

फिल्मले दिने टेस्ट राम्रो हुनु पर्छ

भूपाल सिटौला – वितरक

अष्ट्रेलियामा प्रदर्शन हुने फिल्मले दर्शकको भावना अनुसारको टेष्ट दिन सक्नु पर्छ १०० प्रतिशत सफल हुन्छ । अष्ट्रेलियाको फिल्म मार्केट नराम्रो छैन त्यसो भन्दैमा जस्तो पाए त्यस्तो फिल्म चल्दैन पनि । आजभोली सामान्य मान्छेको कहानीमा आधारित फिल्महरू बनेका छन् । त्यस्ता चलचित्रहरूले दर्शकहरूको मन छुन सफल भएको देखिन्छ जसले गर्दा सामान्य नायक पनि कथा बस्तुको गहनताले गर्दा महानायक हुन सक्ने अवस्था देखाएको छ । पारिवारिक, भाषा संस्कृति झल्किने खालका फिल्महरूमा हाँस्य व्यंग्य रस पनि फ्युजन हुने फिल्महरू दर्शकले मन पराएको जस्तो देखिन्छ । प्रत्येक वर्ष करिब १० ओटा सुपर हिट फिल्म अष्ट्रेलियामा आउँछन् र राम्रै चलेका पनि छन् । यस्तो क्रम आउँदा वर्षहरूमा निरन्तर हुने सम्भावना छ । दर्शकको मन जित्न सक्यो भने सानो बजेट फिल्म पनि चल्छ जस्तै पशुपति प्रसाद र प्रेमगीत हुन् ।

व्यस्त जीवनमा दर्शकले नेपाली चलचित्र हेर्दा अपेक्षा गर्ने कुरा पनि यस्तै हुन् । जहाँसम्म निर्देशक र निर्माता तथा कलाकारहरूले त्यस्तो खालको स्वाद दिन सकेमा अष्ट्रेलियाका नेपालीहरू को नेपाली चलचित्र प्रतिको मोह अझै बढ्ने छ र समग्रमा नेपाली चलचित्रको बजार अष्ट्रेलियामा राम्रो हुनेछ । अर्को कुरा फिल्म चल्ने र नचल्ने भन्ने कुरा निर्देशक र स्क्रिप्टमा पनि भर पर्छ । समग्रमा अष्ट्रेलियामा नेपाली फिल्मको बजार राम्रो छ । तर व्यवसायिक प्रायोजन कम, हुनाले जोखिम पनि उत्तिकै छ । तसर्थ फिल्म ल्याउादा धेरै कुरा बुझेर मात्र ल्याउँदा राम्रो होला ।

 

फिल्म हेरेर मार्केट तय हुन्छ

विभूषण जोशी – वितरक, सह–निर्माता

फिल्मको सफलता यसले कस्तो खालको सन्देश दिन खोजेको छ त्यसमा पनि भर पर्छ । जस्तो तस्तो मूभी ल्याएर चलाउन गाह्रो छ । दर्शकहरूमा पुराना कलाकारहरू प्रतिको क्रेज त्यति छैन । सौगात मल्ल, दयाहाङ राई, अनमोल के सी जस्ता आधुनिक अभिनयकर्ताहरूको चलचित्रको बजार राम्रो छ । किनकी उनीहरूहरू अभिनय समय सपेक्ष छ । अनमोल के सी आफै सुपरस्टारका छोरा हुन् र उनको फिल्म, राम्रो लुक्स र यूवाहरूलाई समेट्ने खालको छ । नेपाली चलचित्रको लागि अष्ट्रेलिया धेरै नै राम्रो त भन्न मिल्दैन तर राम्रो कथाबस्तु तथा अभिनय भयो भने फिल्म चल्छ ।

समसामयिक बिषय घटना र परिघटना लाई समातेर त्यसलाई फिल्ममा उतार्न सक्यो भने त्यस्तो चलचित्रले अपेक्षित बजार लिन सक्छ । फिल्मलाई कसरी आकर्षक बनाउने भन्नेकुरा निर्देशकको हातमा पनि निर्भर हुन्छ जसले कलाकारको कलालाई प्रष्फुटित गरोस् ।

 

उत्कृष्ट फिल्ममात्र प्रदर्शन गर्नु पर्दछ

सुरेन्द्र पुन, निर्माता

अस्टेलियामा नेपाली फिल्मको बजार कस्तो छ भन्ने जिज्ञासाको जवाफ दिनै गाह्रो छ । चिनजानका हिसाबले नेपाली फिल्महरू प्रदर्शन भैरहेकै छन् । दर्शकहरूले नेपाली फिल्म हेरिरहेकै छन् तर पनि मेरो विचारमा अहिले अष्ट्रेलियामा नेपाली फिल्मको बजार उत्साहजक छैन । यद्धपि राम्रा फिल्महरूले राम्रो व्यवसाय भने गरिरहेकै छन् । फिल्म निर्माणदेखि वितरणसम्म धेरै मानिसहरू आइरहेका छन् । फिल्म पढेका, बुझेका, अनुभव व्यक्तिको पनि प्रवेश भएको छ । तर मुल समस्या भनेको साथीभाइ, चिनजान, नातागोताको आधारमा नेपालबाट फिल्म लैजाने परिपाटिले अष्ट्रेलियाको नेपाली फिल्मको बजार बिग्रिरहेको छ । एक पटक कुनै एक जना दर्शकले कमसल फिल्म हेर्नु पर्‍यो भने ‘अबदेखि नेपाली फिल्म नै नहेर्ने’ प्रतिक्रिया दिन्छ । हामीले यस्तो अवस्था आउन नदिन उत्कृष्ट फिल्महरू मात्र अष्ट्रेलिया ल्याउनु पर्छ जस्तो लाग्छ । केही वर्षअघि जति बेला लूट, चपलीहाइट जस्ता फिल्महरू आएका थिए, त्यतिबेला अष्ट्रेलियाको बजार पनि बुम भएको थियो । त्यसपछि जस्तो पायो त्यस्तै फिल्महरू अष्ट्रेलिया पुगे । ती फिल्महरूले अष्ट्रेलियाको बजार नै बिगारिदिए । पछिल्लो समय ‘छक्का पञ्जा’, ‘जात्रा’ जस्ता फिल्महरूले केही आशाको सञ्चार गरेका छन् । आगामी दिनमा उत्कृष्ट फिल्महरू मात्र अष्ट्रेलियामा प्रदर्शन गरिए गुम्न लागेको बजार पुन: प्राप्त गर्न सकिन्थ्यो कि भन्ने लागेको छ ।