२०४१ सालको प्लेन दूर्घटना र कोर्ट अफ इन्क्वायरीको प्रसंग

दुर्घटनामा पाइलट समेत गरी २३ जनाको निधन हुनुका साथै नयाँ किनिएको स्काइभ्यान समेत ध्वस्त भयो । दूर्घटना स्थल बिकट र जंगली एरिया भएकाले त्यहाँ स्थित सेनाको बटालियन कमाण्डर सहितको टोली पुग्नै २/३ दिन लागेछ ।
-- मधुसूदन पाण्डेय / प्रकाशित मिति : बिहिबार, फाल्गुन १०, २०७४

छोरीको विबाह :– २०४१ साल बैशाख १० र बैशाख २७ गते मेरी जेठी छोरी नीता पाण्डे र माइली छोरी अनीता पाण्डेको बिबाह क्रमस: नवलपरासीको महेशपुरका कांग्रेसी नेता जमिन्दार पृथ्वीराज कंडेलका जेष्ठ सुपुत्र डा बिनोद कंडेल संग र माइली छोरीको बिबाह कर्णेल गंगाबहादुरका पुत्र यज्ञबहादुर बस्नेतका साइलाछोरा इन्जिनियर (नेपाली सेना)क प नरेश बहादुर बस्नेत संग भएको थियो । नरेश बहादुरहरू भनेका श्री ३ बिर शमसेरका मावली खलक हुन । नरेश बहादुर जर्नेलसम्म भए ।

जेठा ज्वाई बिनोद कंडेल प्रहरीमा डाक्टर हुन चाहेका थिए । त्यतिबेला प्रहरीका आइ जी पी डि बी लामा थिए । मैलेपनि उनलाई प्रहरीमा राखिदिन भनसुन गरेको थिएँ । डि बी लामाले एकपटक सरकार संगको जाहेरीमा के भन्यो भने “सरकार रूसबाट एम बि बि एस गरेर आएकालाई प्रहरीमा लिने गरिएको छैन ।” मौसुफ सरकारबाट पनि उसका कुरालाई मानी बक्स्यो र त्यो कुरा त्यहिं सकियो । तर पछि त्यहि आइ जी पी डि बि लामाले आफ्नै पूर्ववत कुरा फेर्दै पूर्व आइ जी पी रोम बहादुर थापाको छोरा जसले रूस बाटै एम बि बि एस गरेको थियो प्रहरीमा डाक्टर नियुक्त गर्यो ।

रोम बहादुर थापा आइ जी पी छंदा डि बी लामालाई भ्याली एस पी बनाएको थियो । रोम बहादुर थापा प्रबासी नेपाली हो । त्यसैको गुन उसले आँफू आइ जी पी भएकाबेला तिर्यो । रोम बहादुर आफै भ्रष्ट ब्यक्ति थियो । उसले डि बी लामा मार्फत निकै पैसा कमायो । प्रहरीको तस्करी र भ्रष्ट्राचारका बिषयमा एउटा रमाइलो प्रसंग पनि यहां जोडी हालौं । त्यसबेला महेन्द्र सरकारका समयमा गजानन्द बैद्य नामको एकजना ब्यापारी थियो । उसले सोलुको नाम्चे बजारबाट एकजना शेर्पिनीलाई बिहे गरेर ल्याएको थियो । त्यो शेर्पिनीको माध्यमबाट उसले के फाइदा उठायो भने : गकप जस्ता महंगो हिमाली जडिबुटीको तस्करी गरेर जापान पठाउन थाल्यो । त्यो जडिबुटीका बारेमा कतिलाई त थाहै पनि थिएन । त्यसबाट उसले निकै पैसा कमायो ।

त्यतिबेला सुन्दरप्रताप शाह र बिष्णुप्रताप शाहहरू अञ्चलाधिश, सचिब थिए । उनिहरूले पनि डि बी लामालाई नै प्रयोग गर्थे र कांग्रेसका जुलुसहरूमा लाठी चार्ज गर्न लगाउँथे, पक्राउ गर्थे र थुन्थे । एकदिनको कुरा हो त्रिभुवन बिमानस्थलमा खटिएको एकजना प्रहरी निरीक्षकले गजानन्द बैद्यले सामान तस्करी गरेको थाहा पाएछ र बैद्य कै घर पानीपोखरी पुगेर ब्ल्याकमेंल गरि यति पैसादेउ नत्र पक्राउ गर्छु भन्न थालेछ । गजानन्द एक्लैले तस्करी कहाँ गर्थ्यो र, उसले त सेटिङ्ग मिलाएर गर्दथ्यो । उसको सेटिङ्ग सिधै आई जी पी सम्म मिलेको हुन्थ्यो । उसले त्यो प्रहरी निरीक्षकलाई भनेछ तपाई बस्दै गर्नुस म पैसा लिएर आउँछु । त्यति भनेर ऊ भित्र गएर सिधै आई जी पी रोमबहादुरलाई त्यो कुरा बताएछ । रोमबहादुरले भनेछ उसलाई कुरामा अलमल्याएर राखी राख्नुस, जे गर्नु पर्छ म गर्छु । एकैछिनमा त्यहाँ एक डफ्फा प्रहरी आइपुगे र त्यो इन्स्पेक्टरलाई पक्राउ गरेर लगे । पछि उसको जागिरै गयो । रोमबहादुरले त्यसरी गजानन्द बैद्यलाई तस्करीमा सहयोग गरेकाले उसले निकै कमायो र पछि जापानको टोयोटा मोटरको डिलरसिप समेत लिन सफल भयो । गजानन्दको बाँसबारीमा भब्य बंगला छ जसमा अहिले अष्ट्रेलियन दूताबास बसेकोछ । बुढानिलकण्ठमाथिको डाँडामा थुप्रै जमिन किनेर भब्य बंगला बनाएको छ । गजानन्दलाई म धेरै पहिल्यैदेखि चिन्दछु किनकी उसको पुरानोघर पनि न्हैकन्तलामै थियो । उसले आफ्नो छोराको बिहेमा मलाईपनि बोलाएको थियो र म गएको पनि थिएं । मेरो उपस्थिति देखेर ऊ निकै हर्षित हुँदै धन्यवाद समेत दिएको थियो । पछि म रिटायर्ड भएपछि उसलाई भेटन उसैको घरमा जाँदा त भेटै दिएन । मान्छे पनि कस्ता हुन्छन ‘सबै बलेको आगो मात्रै ताप्ने । गजानन्द पछि काँग्रेसको पोलिटिक्समा लाग्यो ।

रोमबहादुर थापासंग मेरो राम्रै थियो । ऊ टाइम टाइममा इन्द्रचोकमा किनमेंल गर्न आउँदा मसंग भेट भैरहन्थ्यो । इन्द्रचोकमा त्यो बेला पारस इम्पोरियम नामको एउटा निकै चलेको दोकान थियो । रोमबहादुरले त्यहिंबाट सामान किन्थ्यो । रोमबहादुरको हर हाइनेस संगपनि निकै राम्रो थियो । उनीबाट पनि उसले सुन चाँदी गरगहना भाँडाकुँडादेखि थुप्रै पैसा कमायो । त्रीशुलीतिर जाने लोकभक्त बस सर्भिस रोमबहादुरले नै चलाएको हो जो अझैपनि चल्दैछ ।

२०४२ साल पुसमा राजा बिरेन्द्रको मध्यमांचल बिकासक्षेत्रको भिजिटमा हेडक्वाटर हेटौडामा क्याम्प खडागरेर बसिबक्सेको थियो । मलाई २०४२ साल जेठ मैं लेफ्टिनेंन्ट कर्णेल छँदानै प्रमुख सैनिक सचिबमा लगि बक्सेको थियो । राजाले प्रमुख सैनिक सचिबसंग राय सल्लाहा लिने पुरानो चलनै थियो । म सल्लाह दिन्थें तर रानीभने त्यो मनपराउदिनथिन । त्यसैले उनले राजासंग के के भनिन कुन्नी राजाले मलाई बिकासक्षेत्रको भ्रमणमा आउनु पर्दैन भनिबक्स्यो । म पनि गइन । हाइसन्चो भयो ।

२०४२ साल जेठ १५ गते मेरी जेठीछोरी नीता, ज्वाई डा बिनोद कंडेल र नातिनी काठमाडौंबाट प्लेनमा आफ्नो घर महेशपुर जांदै थिए । छोरी ज्वाई समेत गरी अरू चारजनालाई समेत मैंले प्लेनबाट पठाउँदै थिएँ । उनीहरू जानेदिनमा तराईमा बाक्लो हुस्सु लागेका कारण प्लेन उडन सक्ने स्थिती भएन । त्यतिबेला गरूढ शमशेर डि एम ओ तथा अर्जुन नर्सिङ्ग राणा प्रधान सेनापती थिए । गरूण शमशेरको सौतेनी आमातिरको दाजु गणेश शमशेर तराईतिरै बसि जमिन्दारी चलाउँथे । उनि त्यहाँको रेडक्रसका अध्यक्ष पनि थिए । काठमाडौंमा रेडक्रसको मिटिङ्ग परेकाले गणेशलाई काठमाडौं आउनु परेको रहेछ । अर्जुन नर्सिङ्ग र गरूढ शमशेरको युएनमा जानका लागि प्रतिस्पर्धा नै चलेको थियो । मेजरमा योगेन्द्र प्रताप (शान्तकुमार मल्लको मामा )नरबहादुर बुढाथोकी, प्रज्वल शमशेरहरू १९७४ मा यु एन इ एफ सिनाई गएका थिए । त्यहाँ गएका फौजहरू लाई ६ महिना नपुग्दै दुई चार वटा बटालियन मात्रै राखेर गरूढ शमशेर अर्जुन नर्सिङ्गहरूले नेपाली फौज फिर्ता ल्याए र पूरा पल्टनकालागि चाहिने भनेर खरिद गरिएका भाँडाकुँडा, पाल, मंडी, बुट इत्यादी सम्पूर्ण बन्दोबस्तीका सामान यी दुईले मिलिभगतमा कुम्ल्याए ।

गणेश शमशेरलाई ल्याउनु पर्ने कुनै कामै थिएन भने आर्मीको पाइलट उमेश अधिकारी पनि बिदामा बसेको अवस्था थियो । उसलाई बोलाइएछ र मधेसमा त्यस्तो हुस्सु लागेको छ भनेर जान्दा जान्दै पनि आर्मीको स्काईभ्यानमा मेरी छोरी ज्वाई, नातिनी तथा अन्य सबैलाई त्यस मै राखेर पठाइएछ । यस बिषयमा मलाई वास्तवमा थाहै थिएन । पाइलटले पनि जान अप्ठेरो मानेनछ । मधेसमा कुहिरो लागेकाले त्यो स्काईभ्यान पहिला दाङ्गमा गएर ल्याण्ड गरेछ । त्यहाँ उसले आफ्नो साथी राजु के सी को भाइकी श्रीमती लगायत चार पाँच जनालाई राखेछ । २ बजेपछि पाइलटले दाङ्गबाट प्लेन उडाएछ र धनगढीतिर लगेछ । त्यहाँ पनि हुस्सुले केही देखिदैनथ्यो । राजु के सी त्यतिबेला कम्पनी कमाण्डर थियो । ऊ धनगढी एयरपोर्ट टावरमा थियो । पाइलट उमेशले राजुसंग भनेछ श्रीमती, छोरा छोरी संग कुरा गर्छस् ? उनीहरूपनि यहि प्लेनमा छन् । राजुले भनेछ यहिं आएपछि कुरा गरूँलानी । राजुले टावरबाट तल केहिपनि देखिदैन समेत भनेको रहेछ तर जहाज फिर्ता लैजाउ भन्नु पर्नेमा त्यसो नभनी आएपछि कुरा गरूला भन्नु कत्रो मूर्खता हो । उमेशले जहाजलाई आकाशमै दुई चक्कर लगाएछ र रनवे नदेख्दा नदेख्दै पनि पहिले पहिले उडाएको अंदाजका भरमा ल्याण्ड गर्नखोज्दा जहाजको एउटा पंखा रूखमा ठोक्कीन गएछ र प्लेन दुर्घटना भएछ । त्यस दुर्घटनामा पाइलट समेत गरी २३ जनाको निधन हुनुका साथै नयाँ किनिएको स्काइभ्यान समेत ध्वस्त भयो । दूर्घटना स्थल बिकट र जंगली एरिया भएकाले त्यहाँ स्थित सेनाको बटालियन कमाण्डर सहितको टोली पुग्नै २/३ दिन लागेछ । दूर्घटना पछि लास काठमाडौं ल्याउनै ४/५ दिन लागेको थियो । त्यो दूर्घटनाको खबर मेरा सम्धी पृथ्वीराज कंडेललाई मैले नै दिएको थिएँ । त्यो खबर थाहा पाएपछि उनीहरूपनि आए । त्यतिखेर म भर्खरै प्रमुख सैनिक सचिब भएको थिएँ । म दरबारमा फोन गर्न जांदा त्यहाँ शान्तकुमार मल्ल जर्नेल पनि थिए । उनलाई सबैकुरा बताएँ । मैले हेटौंडामा ताराबहादुर लाईपनि फोन गरें । उनी त्यहाँका ड्युटी अफिसर थिए ।

मेरी छोरी ज्वाईको लास काठमाडौं ल्याउँदा हेर्न सक्ने अवस्थाको थिएन । म एयरपोर्टमा छँदा एयरपोर्टमैं खेलेकी छोरीको लास मैले त्यहि एयरपोर्टमैं देख्नु पर्यो । त्यो दूर्घटनामा मेरी छोरी ज्वाई नातिनी लगायत मेरा छ जना मान्छेको निधन भएको थियो । छोरी र ज्वाईँको अन्त्येष्ठी आर्यघाटमा गरियो भने नातीनीको लासलाई मैले बाग्मतीको भस्मेंश्वर घाटमा लगेर मेरै हातले गाडें ।

पछि मैले त्यस्तो मौसममा पनि किन उडान अनुमतिदिएको भनेर त्रिभुवन बिमानस्थलको एयर ट्राफिक कन्ट्रोलर चिरञ्जिबीलाई सोध्दा उसले भन्यो आर्मीलाई हामी रोक्न सक्दैनौं । उनीहरू आफ्नै नियम अनुसार चल्छन् ।

केहिदिन पछि हेटौडाबाट राजाको सवारी फिर्ता भयो । एकपटक प्रधान सेनापती अर्जुन नर्सिङ्गको जाहेरी थियो । परम्परा अनुसार मलाईपनि त्यसमा बस्नु पर्दथ्यो । त्यो बेला शान्तकुमार पनि थिए । अर्जुन नर्सिङ्गले के जाहेरी गर्यो भने “धनगढी पठाउनुपर्ने प्लेनमा प्रमुख सैनिक सचिब पाण्डेलेनै आफ्ना मान्छे पठाएका हुन् । यस बिषयमा कोर्ट अफ इन्क्वायरी हुनुपर्छ सरकार ।” त्यस बिषयमा मलाई राजा रानी दुबैबाट केहिपनि सोधनी भएन, बरू हुन्छ कोर्ट अफ इन्क्वायरी गठन गर पो भनिबक्स्यो । पछि सेनाको कानुनी सल्लाहाकार संग राय लिनेकाम भयो । त्यतिबेला दिप्तप्रकाश शाह कानुनी सल्लाहाकार थिए । इन्टरनेशनल ल पढेर आएकाले आर्मी ल मैंले नै खडागरेको थिएँ । दिप्तप्रकाश राजखलकका ब्यक्ति थिए । बिबेक शाह सैनिक सचिब भएका बेलामा उनलाई बर्खास्त गरिएको थियो । उनले आफ्नो एडभाइसमा भने यो केशलाइ अगाडि बढाउन थाल्नु भयो भने तपार्इँहरू नै फस्नुहुन्छ । उनले शान्तकुमार लाई त्यति भनेपछि यो केश अगाडि बढेन । क्वाटर मास्टर जर्नेल त्यतिबेला सच्चित शमशेर थिए । उनले पनि के भने भने प्रमुख सैनिक सचिब ऋषिकुमार जर्साबले नै मलाई भनेकाले उहाँका छ जना मान्छेलाई भैरहवा पठाइएको हो । त्यतिबेलाका आर्मी हवाइ बिभागका प्रमुख महासेनानीले चाहिँ भैरहवा लैजाने अनुमति मैले नै दिएको हुँ तर धनगढी लैजानकालागि चांहि हैन भनेर स्पष्टिकरण दिए ।

अरूलाई नीतिका उपदेशदिने प्रधान सेनापती सिंहबहादुर बस्नेतको समयमा त हामीले के सम्म देखेका थियौं भने उनले सिमराको बकस पाएको पैतीस बिघा जमिनबाट काठको धुलो समेत प्लेनमा राखेर काठमाडौं पठाउंथे ।

 स्रोत : पूर्व सैनिक सचिब

रथी ऋषिकुमार पाण्डेको डायरी बाट