डिजिटल जेब्राक्रसिङ्ग फेब्रुअरी २०१८

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४

हामी जन्मभूमिबाट हजारौं किलो मिटर टाढा कर्मभूमिमा रम्न प्रयासरत छौं । तैपनि हामी हरबखत मन, मस्तिस्क र मुटुमा देश र जन्मभूमि बोकेर हिडेका हुन्छौं । राजनीतिक घटना होस् या चाड–बाड वा प्रकृति आपत–बिपद प्रत्येक सुख–दु:खका घटना र परिबर्तनमा देश बाहिरका नेपालीहरू कुनै न कुनै रुपमा जोडिएका हुन्छन् । जन्मभूमि छोडेर विदेशको बसाइमा हामी जति नै रत्तिन खोजे पनि जन्मभूमिको नियास्रो संधै लाग्छ नै । त्यसैले पनि यो गर्छु, त्यस पछि नेपाल जान्छु या यो गर्छु, त्यस पछाडि यो गर्छु भनेर संधै झैँ यहाँको दैनिकीमा हामी योजनाहरू बुन्दै गरेका हुन्छाै‌ । त्यसैले पनि यस अंकमा विद्यार्थीको रुपमा अष्ट्रेलिया आइसके पछि यताको स्थाई बासिन्दा बन्ने जुन रहर धेरैको हुन्छ र विविध कुराहरूमा सम्झौता गर्दै हामी स्थाई अनुमति (पी.आर) लिन्छौं । यहि सेरोफेरोमा द नेपाली टाईम्स अष्ट्रेलियाको नियमित स्तम्भ ‘डिजिटलजेब्रा क्रसि· फेब्रवरी २०१८ अंकको लागि ‘स्थाई अनुमति (पी.आर) लिदै गर्दा या पी.आर को नजिक पुग्दा त्यस पछाडिको तपाईको अर्को प्राथमिकता या योजना के हुन सक्छ ?’ भन्ने जिज्ञासामा प्रस्तुत छ पाठकको विचार :

 

बसन्त लम्साल, सिड्नी

अष्ट्रेलिया एउटा थुप्रै अवसर भएको मूलुक हो यहाँ आइसकेपछि सबै को पी आर हुने कुरा प्राथमकितामा त पर्दछ तर यो सबै होइन । पी आर बनेपछि एउटा च्याप्टर त सकिन्छ तर चुनौतिको अर्को अध्याय सुरु हुन्छ । त्यो हो आँफूलाई यहाँ सामाजिक, आर्थिक र पारिवारिक रुपमा स्थापित गर्नु । पी आर भैसकेपछि धेरै मानिसहरू अलमल परि समयको बर्बाद गरेका पनि देखिन्छन तर केहि मानिसहरू ले राम्रै पनि गरेका छन् । यहाँ अवसर त छ नै तर चुनौती पनि त्यत्तिकै छन् । दिन प्रतिदिन परिवर्तित सामाजिक आर्थिक तथा व्यवसायिक संरचनाका कारण कसको कुन पेशा कुन दिन खतरामा पर्दछ थाहै हुदैन । तसर्थ पी आर भैसकेपछि सबै भन्दा लामो सामयसम्म आँफूलाई निरन्तर जब मार्केटमा काम लाग्ने खालको योग्यता र क्षमताको आर्जन र बिकास गर्नु अति नै महत्वपूर्ण हुन्छ । जब मार्केटको माग अनुसारको शिप विकास र योग्यता हासिल गरिसकेपछि त पैसा कमाउने, घर किन्न,े होलिडे जाने राम्रो गाडी किन्ने, बाल बच्चा जन्माउने, हुर्काउने त तपशिलका कुरा हुन् । तसर्थ सबैभन्दा पहिला आँफूलाई प्रतिष्प्रर्धात्मक अष्ट्रेलियामा बिक्न सक्ने गरि सीपयुक्त बनाइ राख्नका लागि आवस्यक पर्ने तालिम, अनुभव तथा योग्यता लिनु जरुरी हुन्छ ।

 

संगीता अधिकारी, सिड्नी

स्थायी अनुमति (पी.आर) लिंदै गर्दा या पी.आर को नजिक पुग्दा त्यस पछाडिको तपाईको अर्को प्राथमिकता या योजना के हुन सक्छ ? सर्वप्रथम प्रश्नको लागि हजुरलाई धन्यवाद । करीब ५ बर्षको बसाई पश्चात आँफू पी.आर को नजिक पुग्दा खुसी साथसाथै जिम्मेबारी, इच्छा, आकांक्षा र प्राथमिकता बढ्दै गएको आभास भैरहेको छ । नेपालबाट अष्ट्रेलिया आउँदै गर्दा भिन्न सोच र बिचार थियो भने समय संगसंगै ति चाहानाहरू परिष्कृत र भिन्न रुपमा परिवर्तन हुँदै गएको छ । यो मलाई मात्र नभई यहाँ स्थाई बसाई बस्ने तर्खर गर्ने सबैलाई हुने जस्तो लाग्छ । विद्यार्थी जीवन हुँदा कलेजको महँगो फी, घर भाडा, ग्रोसरी जस्ता खर्च पनि अष्ट्रेलियन सरकारको २० घन्टे काम गर्ने अनुमतिले पूरा गरेर आजको दिनसम्म आउँदै गर्दा आगामी दिनको उत्साह छुट्टै छ । उत्साह संगसंगै आफ्नो बिषयको काम खोज्ने चुनौती साथै विभिन्न इच्छा आकांक्षा जस्तै घरको सपना, नयाँ कार आदि । यो चुनौती संगसंगै पी आर लिंदै गर्दा अष्ट्रेलियन सरकारको नीतिले पनि यी इच्छाहरूको बाटो खोलेको अनुभव गरेको छु । २० घण्टे विद्यार्थी जीवनबाट पार हुँदै फूलटाइम काम संगै अष्ट्रेलियन सरकारबाट नयाँ घर किन्न प्रोत्साहन र ऋणमा केही सहुलियतले नि उत्साह बडाएको छ । यी यस्ता कुराहरूले अहिले र मलाई मात्र नभई जो जसलाई पनि र बिगत देखिनै हुँदै आएको छ । र मेरो प्राथमिकता पनि यी यस्तै कुरामा हुनेछ । धन्यवाद

 

सागर काफ्ले, सिड्नी

मटुमा मुलुक बोकेर भाविष्य खोज्दै बिदेशी भूमिमा पसीना बगाउँदै गरेको पनि लगभग ४ साल पूरा हुँन थालेछ । १२ सकेपछी हाम्रो पालामा उच्च शिक्षाको लागि पहिलो रोजाइ बेनेको अष्ट्रेलिया भूमिमा सन् २०१४ मा पाईला टेकेको दिनबाट आजको दिनसम्म आउँदै गर्दा मनमा अनगिन्ति सपना नहुँने म मात्र होईन बिस्वभरीबाट छरिएका जो कोहि देशका नागरिक खोजेर नपाउने ध्रुब सत्य हो ।

नेपाल मैं रमाएर बसिरहेकाहरू पनि अष्ट्रेलियाले भिसा दिएको दिनबाटै कसरी यहाँको पीआर र नागरिकता लिन सहज छ भनेर हतार हतार नबुज्ने कमैं होलान् ।मातृभूमिबाट यो बन्छु त्यो बन्छु भनेर आएकाहरूले सिर्फ पीआरको लागि नई आफ्नो जीन्दगीको लक्ष्यलाई नलत्यााउन बिबस छन् यहाँ । “धारिलो औजारको चोट नखाएको ढुङ्गा कहाँ मूर्ती बन्न सक्छ र” हो कुनै पनि भिसा भएकाहरू पिआर नहुँदासम्म जस्तो पनि औजार सहन तयार भैरहेको हामी सबै अष्ट्रेलिया बासी नेपालीहरू लाई अवगत भएकै कुरा हो ।

यति हद्सम्म गर्न किन तयार हुन्छन् जोकोही साँच्चै भन्नु पर्दा यहाँको बिकासबाट प्रभावित र दिनको १० घण्टा काम गरेर आउँदा पनि यहाँको लक्जरियस जीबनशैलीमा बाँच्न सिक्दै गरेकाले यस्थै रुपले बस्नको लागि घर खरिद कुनै ब्यापार गर्न र महँगो गाडी चड्नको लागि यहाँ कुनै पनि हालतमा पिआर आपरिहार्य भएकाले भन्ने बुझिन्छ्र । यस्ता भोगाइ समग्र स्टुडेन्ट भिसा या अरु कुनै भिसामा आएकाहरू को हो र मेरो पनि ४ बर्षे भोगाई यस्तै यस्तै रह्यो । पीआर र नागरिकताको लागि यति धेरै मेहनत गर्नेहरू नेपाललाई भूल्छन देशलाई माया गर्दैनन् कि भन्ने भान धेरैमा होला तर त्यसपछि झनझन देशप्रतिको माया र जिम्मेबारी बढेको पाइन्छ ।

 

बिष्णु सापकोटा, सिड्नी

एकदम समय सान्दर्भिक बिषयको उठान गर्नुभयो । सर्वपर्थम त अष्ट्रेलिया आउने धेरै मान्छेको प्रथमिकता भनेको पिआर नै हो । धेरैजना मानिसहरूको व्यापार, व्यवसाय, नेपालमा लगानी र यहाँपनि लगानीको लागि पिआर पहिलो खुड्किलो हो ।

मेरो सन्दर्भमा पनि यहि लागु हुन्छ । पिआर आउनासाथ घरपरिवार अनि आफन्तजनहरू चैं बिहे गर्दिने सुरमा हुनुहुन्छ । अहिले म पिआर कुरेर बसेको छु । सर्वप्रथम त निर्धक्क साथ २ महिने नेपाल भ्रमण जाने सोचमा छु । म सानैदेखि व्यापारिक परिवारमा हुर्केको हुनाले पिआर आउनासाथ अष्ट्रेलियामा केहि ब्यापारको थालनी गर्ने सोचमा छु । यहींको व्यवसाय सुरु भएलगत्तै नेपाल गएर केहि नयाँ प्रयोग गर्नेछु र त्यसपछि सबै कुरा भनेजसरि गयो भने नेपाल–अष्ट्रेलिया ओहोरदोहोर भइरहन्छ । अहिलेलाई यिनै मेरा प्राथमिकता हुन् ।

 

सागर अधिकारी, सिड्नी

धेरै बिद्यार्थीहरू खासगरी युवापुस्ता हाम्रो जस्तो देशमा अवसरको खोजीमा रहिरहन्छ चाहे त्यो शिक्षित युवाबर्ग होस या त्यो अशिक्षित युवाबर्ग होस । म पनि अवसरको मरुभूमिबाट अवसरको हरियाली खोज्दै अष्ट्रेलियामा पाईला अगाडि बढाईरहँदा मनमा कताकता (बालपनदेखि शिक्षित युवा बनाउन सहयोगी नेपाल आमालाई छोडेर केहि शिक्षा र धनको खोजीमा) सुनौलो सपना बुन्दै केहि अर्थ र ज्ञान हासिल गरी नेपाल फर्कि आफ्नै मातृभूमिको सेवागर्ने अभिप्रायले म पनि अरु युवाहरू जस्तै यता हानिएँ । शुरु शुरुमा निकै संघर्ष गर्दै केहि कागजी सर्टिफिकेट र बिशेष गरि सीपमूलक काममा दक्षता प्राप्त गरियो र यहि सीपलाई सदुपयोग गर्दै अष्ट्रेलियाको लागि स्थायी अनुमतीको पर्खाइमा रहँदा सकारात्मक र नकारात्मक रिजल्टको बारेमा दुई तरिकाले सोचि भबिष्यको योजना बनाइँदोरहेछ । प्रथमत: नकारात्मक रिजल्टलाई नै बढि मध्यनजर गरिदोरहेछ किनकी मानिसको स्वभाबै ले असफलतामा आत्तिने अनि आफ्नाहरूले के भन्लान् भनि आफैसंग डराउने प्रबृति र सकारात्मक रिजल्टलाई सहर्षै स्विकार्ने । यति धेरै दु:खगरि आज्र्याको यो सबै सीप त्यसै खेरजाने त होईन भन्ने र सपना नटुटोस भन्ने कामना । साथमा एउटा अर्को सपना आफ्नै देश फर्कि केही गरौं भन्नपनि स्थायी अनुमतीपत्रले धेरै सजिलो हुनेहुँदा यो सपना त्यसै चुडिनेपो होकी भन्नेसम्मको डरले झक्झकाईरहदो रहेछ । र अर्को पाटो सकारात्मक रिजल्ट भएमा अवस्य पनि आँफूलाई हाईस्किल सीपमा दक्षता लिई आफैमा केही आर्थिक उन्नति गर्दै मातृभूमि र कर्मभूमिलाई सहयोग पुग्ने गरि आँफूलाई दक्ष बनाई समाजलाई सहयोग र परिवारलाई सम्पन्न र खुसी बनाउने । आफुलाई आफ्नैलागि मात्र नभई मातृभूमि र कर्मभूमिमा खुलामनले सामाजिक कार्यमा लाग्नेसम्मको सपना बुनिदो रहेछ ।उमेर छदै भनौ या मनमा केही गरौ भन्ने बलियो भवना र फिजिकल्ली रुपमा फिट हुँदै मातृभुमि फर्कने सपना सम्म बुनिदो रहेछ ।

 

हेनसन बिक, सिड्नी

सायद कमै नेपाली होलान् अष्ट्रेलिया आउँदै गर्दा आफ्नो सुनौलो भबिष्य अष्ट्रेलियामा नदेख्ने, रङीचंगी सपना नदेख्ने । आएको दिन देखिनै अधिकांश नेपालीहरूले बिभिन्न कुरामा संघर्ष गर्नुपर्छ । बिभिन्न बाधा अर्चन झेल्दा झेल्दै जनतन पढाई सकिन्छ । कोही आउँदा आउँदै आफूले जानेको सीपको माध्यमबाट पि आरको प्रकियामा जान्छन् त कोही आएको छ महिनमामै सस्तो कलेज खोजेर जान्छन् त कोही बढी शुल्क तिरेर राम्रै कलेजमा पढ्छन् । पढाई सिद्धिदै गर्दा वा सिद्धी सके पछि सबैको मनमा आउने प्रश्न भनेको अब के गर्ने ? कसैको प्राथमिकता पि आर हुन्छ भने कसैको प्राथमिकता आफ्नो करिअर र कसैको लक्ष्य केही अनुभब बटुलेर नेपाल फर्कने । कलेज अथवा काममा भेटेको अन्य देशको विद्यार्थीको तुलनमा हामी नेपालीहरू चाहि आफ्नो जन्मभूमिसँग धेरै नै नजिक भएको अनुभव गरेको छु विश्वब्यापीकरणको समयमा हामी कुनै निश्चित ठाउँमा मात्र केन्द्रित हुनु पर्छ भन्ने पक्षमा छैन, तर आफू संसारको जुनसुकै कुनामा भए पनि आफ्नो जन्मभूमिलाई कुनै न कुनै माध्यमबाट सहयोग गर्नु पर्छ । ३ बर्ष अष्ट्रेलियाको अनुभवमा धेरै कुरा देख्ने सिक्ने अनुभब गर्ने मौका पाएँ । अझै पनि धेरै कुरा सिक्न बाँकी नै छ । हुनत जीबनको प्रत्येक समय त्यती नै महत्वपूर्ण लाग्छ तर मलाई चाँही यो समय धेरै नै महत्वपूर्ण लागेको छ । यो समयमा हामीले जस्तो निर्णय गर्याे हाम्रो भबिष्य पनि त्यस्तै हुनेछ र हामीले लिने निर्णय खुसीसँग पनि जोडीनु पर्छ । आफू जुन काम गर्दा जहाँ बस्दा खुसी हुन्छ । त्यही अनुसार निणर्य लिनु पर्छ । मैले रोजेको बाटो चाँही भबिष्यमा नेपालमा नै केही गर्ने । समय लाग्छ आफू केही हदसम्म सक्षम हुन र मनोबल उच्च हुन् । हुन त अष्ट्रेलियामा पनि धेरै अवसरहरू छन् आफूले चाह्यो भने र मेहनत गर्याे भने नहूने केही छैन, थुप्रै नेपालीहरू देखेको छु अष्ट्रेलियामानै अकल्पनीय प्रगती गरेको । आँफूले जानेको बुझेको कुरामा अलि मेहनत गरेर काम गर्यो भने सफलता पाउन त्यती गार्हो छैन । हामीहरू यो समयमा निर्णय लिदा अलि बढी ख्याल गर्नु पर्ने हुन्छ । कसैको लहलहैमा लागेर भन्दा पनि आँफूले कहाँ के गर्दा उपयुक्त हुन्छ, कुन काम गर्दा आत्मसन्तुष्टी हुन्छ त्यो कुरालाई ख्याल गर्नु पर्छ । आजको निणर्यले भोलि हामीलाई बोझ नहोस् । यस्तो निर्णय लिऊँ कि भोलिको दिनमा कुनै पश्चताप नहोस् ।

 

अर्जुन पाण्डे, ब्रिसबेन

पी.आर हुँदै गर्दा वा पी.आर भई सके पछि प्राथमिकताहरू फरक हुन्छ जस्तो लाग्छ । जस्तै विद्यार्थी जीवनमा पढ्ने र पढाईको लागि खर्च पुर्याउने हुन्छ । त्यसको लागि समयको व्यवस्थापन धेरै महत्वपूर्ण हुन्छ । काम गरेर सकेसम्म नेपालबाट पैसा ल्याउन नपरोस् भन्ने हुन्छ । अब पी.आर हुँदै वा भई सके पछि प्राथमिकता फरक हुन जान्छन् । जस्तै आँफुले जुन बिषय पढ्यो त्यो सम्बन्धी काम खोज्नु पर्ने हुन्छ । विद्यार्थी जीवनमा धेरै जसो अविबाहित हुन्छन् । म विवाहित नै आएको हो । अवाहितले बिवाह गर्ने वा बच्चा नभएकाले बच्चाको सुरसार गर्ने हुन सक्छ र देखिंदै पनि आएको छ । त्यो संगै अष्ट्रेलियामा आफ्नो घर लिने अर्को प्राथमिकता हुन जान्छ । यसरी आँफू सेटल हुँदै जाँदा राम्रो कामको खोजि, परिवार विस्तार, घर किन्ने आदि प्राथमिकताहरू हुन्छ जस्तो लाग्छ ।