कारोना र कर्फ्यू बिच दशैंको लहर

-- लक्ष्मी पोखरेल | मेलवर्न, अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, अशोज २८, २०७८

आज आश्विन २९ अर्थात् विजया दशमीको दिन । हाम्रो धर्म र संस्कृति अनुसार हरेक वर्ष अश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने दशैं पर्व नेपालीहरूका लागि सबैभन्दा ठूलो पर्व र राष्ट्रिय चाड, त्यसमा पनि विजया दशमी मुख्य चाड हो । चार जात, छत्तिस वर्ण, बहु भाषिक र वहु सांस्कृतिक भनेर चिनिने तर भौगोलिक हिसाबले धेरै सानो देश नेपालमा विश्वका अरू देशहरूमा भन्दा धेरै चाडपर्वहरू मनाउंदै आएको पाईन्छ । यी मध्ये सबै भाषा र जातीले मनाउने विशेष महत्व, आस्था र विश्वास बोकेको चाड हो दशैं । १५ दिनसम्म मनाइने यो पर्वको पहिलो नौ दिन नवरात्रको नामले चिनिन्छ । नवरात्रीको पहिलो दिन वैदिक विधिपूर्वक घटस्थापना गरी जौं को जमरा राख्ने गरिन्छ भने नौ दिनसम्म घटस्थापना गरेको स्थानमा चण्डी, दुर्गा सप्तशती पाठ गर्दै देवीको पूजा आराधना गरिन्छ । चलि आएको चलनमा नवरात्रि शुरू भए संगै दुर्गा भवानीका नौ रूप मध्ये पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी,तेस्रो दिन चन्दघण्टा, चौथो दिन कुश्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महाँगौरी र नवौं दिन शिद्धिधात्री भगवतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । यसरी नौ दिनसम्म देवीको आराधना गरी पूजा पाठ गरेमा शक्ति, सम्पत्ती र विद्या प्राप्त हुने धार्मिक विश्वास पनि छ । यसरी नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद दशौं दिन विजया दशमीका दिन मान्यजनबाट जमरा अक्षता लगाई ग्रहण गरिन्छ । पौराणिक मान्यता अनुसार आजकै दिन दुर्गा भवानीले महिषासुर नामक असुरको बध गरी शत्रुलाई पराजित गर्नु भएको थियो भने भगवान् रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकोले यसलाई विजया दशमी भनिएको कथन पनि छ । त्यसैले यस दिनलाई असत्य माथि सत्य र आशुरी शक्ति माथि दैवी शक्तिको विजयको प्रतीकको रूपमा पनि मनाउने गरिन्छ ।

सन् २०१९ डिसेम्बरको अन्तिमतिरबाट चीनको बुहान हुंदै संसारभरी खुलेआम द्रुत गतीमा फैलिएको कोभिड-१९ ले आज सन् २०२१ अक्टोवरको १५ सम्म आइपुग्दा करिब दुइसये चालिस मिलियन मानिस संक्रमित भैसकेका छन् भने लगभग पाँच मिलियन जती मानिसको यो महामारीले ज्यान लिइ सकेको छ । यस वर्षको शुरूआत देखि नै भ्याक्सिनको प्रयोग गरिए तापनि संक्रमितको संख्या बढ्ने क्रम अझै रोकिएको छैन । यसले राजदरवारका राजकुमार देखि साहू, महाँजन, धनीका महल र गरिबको झोपडीसम्म, नेतादेखि अभिनेतासम्म, ठूलादेखि सानासम्म विद्वानदेखि मूर्खसम्म सबैलाई आत्थु आत्थु पर्दै मृत्युको त्रासमा घरभित्रै बस्न बाध्य गराएको छ । यसरी कोभिड-१९बाट विश्व आक्रान्त भैरहँदा अष्ट्रेलिया पनि यसको प्रभावबाट अछुतो रहन सकेन । यसै क्रममा अष्ट्रेलिया पनि आज अक्टावर १५ सम्म आइपुग्दा लगभग एकलाख विस हजार जती मानिस संक्रमित भैसकेका छन् भने लगभग १५०० को हाराहारीमा यसबाट मृत्यु भैसकेका छन् । गत वर्षको मार्चबाट शुरू भएको महामारी आजसम्म आइपुग्दा हामी महामारीको तेश्रो लहरसंग अझै पनि जुध्दै छौं । अरू राज्यमा केहि सहज भएता पनि न्यू साउथवेल्समा लगातार १०७ दिनको लकडाउन खुलेसंगै केहि खुशी छाएको छ भने भिक्टोरीयामा भ्याक्सिनको वाबजुद पनि संक्रमितको संख्या अझै बढ्ने क्रम दिन दुईगुणा त रात चारगुणा निरन्तर जारी नै छ । जसले गर्दा अगस्तको पहिलो हप्ताबाट शुरू भएको कर्फ्यूको कहरमा घरबाट निस्कने कुरा कल्पना गर्न पनि डराउनु पर्ने अवस्था छ । बाहिर निस्कदा सम्बन्धित निकायबाट अनुमती लिएर मात्रै बाहिर निस्कन पाउने, अनिवार्य रूपमा मास्क लगाउनु पर्ने प्रावधान रहेको छ । बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म फाटफुट पैदल यात्री, एम्बुलेन्स, प्रहरीको गाडी र अन्य त्यस्तै अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरूका गाडी बाहेक अरू लगभग सुनसानै छ । खाद्यान्न र औषधि पसल बाहेक अरू सब ठ्याप्पै बन्द छन् । अत्यावश्यक काम बाहेक अरू कसैलाई घरबाट बाहिर ननिस्कन आग्रह गर्दै कडा कारवाहिको चेतावनी दिंदै सडकमा प्रहरी र सैनिक समेत खटाइएको अवस्था छ ।

बिज्ञान, प्रविधि, संचार र यातायातको विकासले अझ विश्वलाई साँघुरो गराई एउटै देश जस्तो बनाइ दिएको छ । जसले गर्दा हामी नेपालीहरु पनि आ-आफ्ना रहर र वाध्यता कोहि उच्च शिक्षा र भविष्यको खोजी त कोही परिवारलाई मिठो मसिनो खुवाउने र सन्तानलाई गास र बासको व्यवस्था गर्न विदेशिन बाध्य हुँदा प्राय विश्वका सबैजसो देशहरुमा छरिएर रहन पुगेका छौं । हामी विश्वका कुनाकाप्चामा जहाँ जसरी रहेपनि “यो मन त मेरो नेपाली हो” भने झै आफ्नो संस्कार, परम्परा, चालचलन, रितीरिवाज संगैनै बोकर हिडिरहेका हुन्छौं । जुन क्रममा हामीले आफ्ना परम्परागत चाडवाडहरुलाई पछ्याउँदै विदेशि भूमिमा आफ्नो मौलिकताको परिचय दिन पनि पछि परेका छैनौं । यसै क्रममा यो दशैं पर्व पनि नेपालमा मात्र नभएर विश्वभरी फैलिएर रहेका हरेक नेपालीका लागि एउटा मनपर्ने चाड हुन पुगेको छ । हुन पनि यो पर्वले देश विदेशमा रहेका आफ्ना सन्तान, परिवार आफन्तजन र साथीभाइलाई भेट हुने सुनौलो अवसर जुटाइ दिन्छ । बर्षदिन भरिको थकाई र पिडालाई केहि हद र दिनसम्म भएपनि चटक्कै विर्सेर सबै परिवारसंग बसेर मनका भावना दुख सुख साटासाट गर्ने मिठो, मसिनो खाने र एक आपसमा आशिर्वाद, उपहार ग्रहण गर्ने एक अवसरको रूपमा यस पर्वको ठूलो महत्व रहेको पाइन्छ ।

मेरो आफ्नो अनुभवमा बाल्यकालका दिनहरूलाई स्मरण गर्दा लामो समय स्कूल विदा हुने, नयाँ लुगा कपडा लगाउन पाइने, दक्षिणाको रूपमा नयाँ नयाँ बास्नादार नोठहरू पाउने आफ्नो घर परिवारबाट टिका र आशिर्वाद थापे पछि छर छिमेकी हुदै मामाघर जाँदाको माहैेल अनी रातो अक्षता र रंगले लतपतिएका रंगिन नोटहरू गन्दै कहिले लिङ्गे पीङमा मच्चिने त कहिले छतमा बसि आकासमा चंगा उडाउने जस्ता क्रियाकलापले गर्दा दशैं मेरा लागि सानैदेख मनपर्ने चाड हो । समयको खेल जीवनको चक्र, परिवर्तन र पारिवारिक जिम्मेवारी संगै परिमार्जित हुदै आजको दिनसम्म आइपुग्दा व्यक्तिगत रूपमा मलाई दशैंको सबैभन्दा ठूलो आकर्षक आपूmभन्दा ठूला बढासंग टिका, जमरा थापेर आशिर्वाद ग्रहण गर्नमा नै हुन्छु । अझै गहिराइमा भन्नुपर्दा मेलवर्नमा यो नेपाली समुदायमा सबैभन्दा जेष्ठ नागरिकको रूपमा करिब नब्बेको दशकको हाराहारिमा रहनु भएका मेरा सासु आमा र ससुरा बुबाको हातबाट टिका, जमरा र आशिर्वाद ग्रहण गर्नको लागि हाम्रो आफ्नो परिवारबाट मात्रै नभएर केहि परका नातेदार, इष्टमित्र र साथीभाइको दिनभरको आवत जावतको भिडभाडले गर्दा यो मेरा लागि अर्को खुशीयालीको दिन हुन पुगेको छ । हुन पनि अर्कोतर्फ यस दिनमा केहि नारी श्रृगार गरी हातमा रंगीन चुरा र पोतेमा सजिनु अनि रातो साडी र निधारमा रातो टिका कपालमा पहेंला जमरामा सजिदा आँखामा विछट्टै नेपाली पन पाउदा छातिभर नेपाली छायाँ त अन्तर मनमा नेपाली धार्मिक संस्कृतिको मायाँ पाउनुको मज्जा नै बेग्लै हुदा यो पर्व दुर्गा भवानीको लागि मात्रै नभएर मेरा लागि पनि औधी मन पर्ने चाड हो । तर आज कोभिड-१९ ले गर्दा यसको असर संसार भरी रहेका सम्पूर्ण नेपालीहरूमा केही हदसम्म रहेतापनि हामी मेलवर्न वासीलाई भने यसको असर छर्लङै देखिएको छ । आज हामी नेपालीहरूको लागि १५ किलोमिटरको दुरीमा रहेका आफन्त र मान्यजनको हातबाट टिका, जमरा र आशिर्वाद पनि आर्को साल सम्मको लागि वासि नै रहने भएको छ ।

विगतका दशैंका दिनहरु संझदा, फोटो र भिडियोहरू हेर्दा फुरूङ्ग देखिने अनुहार र मनमा यस पटक त खर्लप्पै बादलले ढाकि दिएको छ । फेसनमा लर्किदै टिका थाप्न जाने दैलोहरूमा पूर्ण विराम नै लागेको छ भने क्यामेरा अगाडी गरिने पोजहरूमा पनि कुनै उत्साह र जाँगर नै छैनन् । वास्तव मै भन्नुपर्दा सामाजिक संजालमा पोखिएका शुभकामनाका शब्दहरूले मात्रै दशैं आएको भान भैरहेको छ । त्यसैले होला कता कता आज बिहानै देखि मन, मुटु नराम्रोसंग कुडिइरहेको छ । आँखा टिलपिल टिलपिल हुदै आँशुका ढिक्का खस्न तयार छन् ।

कोभिड-१९ ले विश्वमा अझै पनि दोश्रो विश्वयुद्ध पछिको ठूलो चुनौति दिइरहेको छ । सबैभन्दा ठूलो आर्थिक मन्दी पनि ल्याएको छ भने बैज्ञानिक र स्वास्थ्यकर्मीहरू लाई अझै हम्मे हम्मे पर्दै नै छ । यस महामारीको कालो बादलले मानव सभ्यतामा नै पुरै प्रश्न चिन्ह खडा गराएको छ भने अझै आकाशपुरै मडारइरहेको भान भैरहेको छ । आजका पुस्ता हामी सबै यो भाइरसको त्रास र विनासको इतिहासको एउटा कालो अध्यायको साक्षि हुन पुगेका छौं ।

Roert Frost ले भनेझैं कतै Franklin ले बिजुली बत्तीको आविष्कार गर्नु अगाडि इशारा बुझ्न धेरै पटक बिजुली चम्केका थिए होलान् त न्युटन ले संकेत बुझ्नु अगाडि सयौं टाउकोको माथि हजारौं स्याउहरू पक्कै खसालेका थिए होलान्? त्यसैले प्रकतिले मानव जातीलाई सधै केहि इशारा गरि रहेकै हुन्छन् । कुनै समयमा अचानक ब्यूँझेझैं हामी बल्ल त्यस इशारालाई बुझ्न सक्छौं झैं यस कोभिड–१९ ले पनि केहि इशारा त पक्कै गरिरहेकै छ तर हामी मानव सभ्यतालाई बुझ्न अझै केहि समय लाग्न सक्छ । आशा गरौं यसलाई बुझ्न आजको २१ सौं शताब्दीमा पनि कुनै Franklin or Newton त पक्कै पनि जन्मेका होलान् ।

भनिन्छ कुनै पनि कालो बादलमा चाँदीको घेरा हुन्छ । अझै पनि हामी त्यहि चाँदनीको घेराको खोजीमा छौं । मानव समुदाय र जीवाणु विचको यो चुनौतिलाई तेश्रो विश्व युद्धको रूपमा लिइएको छ । बैज्ञानिक र प्राविधिक कारणले भौतिक जीवनमा सफलता तर्फ उन्मुख भएको विश्वको संरचनालाई नै एउटा अदृश्य शक्तिले तिमीहरू असफल भएको हो भन्ने सावित गर्ने प्रयास गरेको हो कि? भन्ने भान पनि नभएको होइन । हुनत यस प्रकारका संक्रमण ऐतिहासिक दिनहरूमा पनि नभएका होइनन् तर पहिलेको तुलनामा अहिलेको विश्व श्रोत र साधनले परिपूर्ण छ । यिनै श्रोत, साधन, प्रविधिहरूको कारणले वैज्ञानिकहरूले कोभिड-१९ संग लड्ने उपकरण भ्याक्सिनको पनि आविष्कार गराए । आजको दिनसम्म आइपुग्दा संसारभरी छरिएर रहेका करिब ३५ प्रतिशत मानिसले दोश्रो डोज भ्याक्सिन पनि पाइसकेको अवस्था छ । जसले गर्दा मानव जातीको विजयको आशाको टुसा पनि पलाएको भान भैरहेको छ । तर भ्याक्सिन कत्तिको प्रभावकारी छ भन्ने कुरा त संसारमा चिनाइरहेकै छ । जुन कुरा भविष्यले नै बताउला ।

बिज्ञानको नियम नै के छ भने भकुण्डोलाई जती धेरै दवाव दियो त्यतिनै माथि हुत्तिन्छ । त्यसरी नै गत वर्षको मार्च महिनादेखि नै शुरू भएको लकडाउन र निषेधाज्ञा, पहिलो हुदै दोश्रो र तेश्रो लहरसम्म आइपुग्दा, केहि वर्ष अघिसम्म विश्वको सबभन्दा वस्न योग्य मानिएको मेलवर्न सहर आज कोरोनाको कहरले विश्वको सबैभन्दा लामो समयसम्म लकडाउन हुने सहर २६७ दिनसम्म) भनेर चिनिन पुगेको छ । जसले गर्दा उकुस मुकुस दबिएका हामी कतिखेर बाहिर निस्कौं भन्ने मनस्थितिमा रहेका छौं ।

वास्तवमै भन्नुपर्दा आज हामी एकातिर दशैंको रौंनक, अर्को तर्फ कोरोना कहर, दुई परिस्थितिको परिक्षणमा गुज्रिएका छौं । मेडिकल साइन्स र यो भाइरसले हाम्रो चाडवाडलाई चिन्दैन । हामीलाई दशैं लागेको छ है भनेर कोभिड-१९ संक्रमित नभई चुप लागेर बस्दैन । समुदायमा अझै पनि हामी सबैले भ्याक्सिन लगाउने अवसर पाएका छैनौं । भ्याक्सिन नै लगाएता पनि सत प्रतिशत सुरक्षाको कुनै ग्यारेण्टी छैन । दशैं हामी नेपालीलाई दशा बनेर नआओस् । मेलवर्नमा फेरी पनि दशैंको चहल पहलले समुदायमा संक्रमणको जोखिम नबनोस् । हो यसपालि पनि हामीलाई दशैं खल्लो नै भइरह्यो तर हामीलाई आशा छ आउंदा वर्षहरूमा हामी यो खल्लोपना छिचोल्दै जाने छौं । यस वर्ष जहाँ छौं, जस्तो छौं त्यसमै मनाऔं र रमाऔं । अनलाईन र सामाजिक संजालबाटै आशिर्वाद ग्रहण गरौं । जसले गर्दा निधारको उपलब्धता र अक्षताको परिधि कम होला तर आशिर्वाद, सम्मान र मायामा कुनै छेकवार र कमी हुने छैन । देश विदेशमै रहनु भएका बुवा आमाले पनि आफ्ना सन्तानलाई जुमबाटै आशिर्वाद दिनुहोला जसका लागि Eric Yuan लाई धन्यवाद नदिई रहन सकिन्न ।

यसैले यस विषम परिस्थितिलाई आत्मसाथ गर्दै यस दशैंमा आपूm पनि पाहूना बनेर अरूकोमा नजाऔं अरूलाई पनि बोलाएर पाहूना नबनाऔं । स्वस्थ र सुरक्षित रहेमा अर्को साल संगै दशैं मनाउँला, पिङ र तास खेलौला, चङ्ग उडाउँला । यस वर्ष सरकारी नियममा बसौ सकेसम्म छिटो भ्याक्सिन लगाऔं, घरमै बसौं, परिवार संगै रमाऔं ।

अहिलेको यो विषम परिस्थितिमा दुर्गा माताले धैर्य धारण गरी घरभित्रै बस्न सक्ने शक्ति प्रदान गरून् । कोभिड-१९ को विश्व आतंक छिट्टै समाप्त होस्, सबैका मनमा भित्र र बाहिरका नकारात्मक सोचाई माथि विजय प्राप्त गरेर खुशी र आनन्द फैलाउनुहोस् । अन्तमा बढा दशैं २०७८ को देश तथा विदेशमा रहनु हुने आफन्त, शुभ चिन्तक तथा सम्पूर्ण नेपालीमा शुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना । माता दुर्गा भवानीको आशिर्वाद सदा सर्वदा मिलिरहोस् ।

जय दुर्गा माता !!