मानसिक शोकबाट पूर्ण रुपमा मुक्त भएपछि नै इच्छा मृत्यु के हो भनेर जानिन्छ भन्ने सत्य अनुभव गर्ने हो कि ?

कुनैपनि क्रियाहरूलाई अथवा कार्यहरूलाई जीवनमा उतार्न थाल्नुलाई साधना भनिन्छ । साधना प्रारम्भिक यात्रा हो । साधनाको यात्रा विना न त साँसारिक लक्ष्य प्राप्त हुन्छ न त आध्यात्मिक नै । यही कारण साधनाको महत्व हर क्षेत्रमा अवणनीय छ । शरीरलाई स्वस्थ बनाउने मनलाई प्रसन्न बनाउँदै मनबाट नै मुक्त हुने साधनाबाट नै इच्छा मृत्यु प्राप्त गर्न सकिन्छ । इच्छा मृत्यु भन्नाले लामो समयसम्म बाँच्ने अर्थात आफ्नो इच्छा अनुसार बाँच्ने र आफ्नो इच्छा अनुसार मर्ने भन्ने होइन । इच्छा मृत्यु भन्नाले रोग एवं शोक विहिन हुँदै मृत्युलाई जानेर प्रसन्नताका साथ शरीर त्याग गर्न सक्नु हो । यो अवस्था प्राप्त गर्न जवानीदेखि नै शरीर स्वस्थ र मन प्रशन्न बनाउने साधना गरिरहनु पर्दछ । तव नै विना रोग, विना शोक हिंडदा हिंडदै, गफ गर्दागर्दै अरुको स्याहार सुसारको आवश्यकताविना नै मृत्युलाई जानेर अर्थात मृत्युको बोध हुँदै मृत्युलाई परम मृत्युको रुपमा स्वीकार गर्न सक्ने शक्ति प्राप्त हुन्छ । स्वस्थ शरीर एवं प्रसन्न मनले नै नमर्ने उर्जालाई जान्नसक्ने सम्भावना हुन्छ । नमर्ने उर्जालाई जान्नासाथ हामी स्वत: शोक विहिन हुन पुग्दछौं । शोक विहिन अवस्थामा नै उत्तेजनाबाट मुक्त भइन्छ यही अवस्था रहिरहेको अवस्थामा नै इच्छा मृत्युलाई जान्न एवं प्राप्त गर्न सकिन्छ । पूर्ण आयुसम्म अर्थात कमसेकम सय वर्षसम्म कर्म गर्दै, स्वस्थ एवं प्रसन्न हुँदै नमर्ने उर्जालाई जान्न निरन्तर साधनामा लागिरहनु पर्दछ । यस साधनामा हुने असफलतापनि सफलता नै हुन पुग्दछ । जहाँ असफलता नै छैन त्यही रहस्य लुकेको हुन्छ ।
परममित्र भित्रै छ
बाँकी सबै मित्र काम चलाउ मात्र हुन् सही मित्र अर्थात कहिल्यैपनि धोका नदिने, सदा विनास्वार्थ सहयोग मात्र गरिरहने मित्रहरूको पनि मित्र त हामी भित्र नै विराजमान छ । यसैलाई खोजौं जानौं तव नै कुनै पनि धोकाहरू बाट विचलित हुन पुगिदैन । बाँकी त सबै धोकाहरू नै हुन् । आकर्षणवाला प्रसन्नता त हामी भित्र नै छ जसले सदा–सदा साथ दिइरहन्छ । जवसम्म हामी हाम्रो भित्र बसिरहेको परंम मित्र सँग नाता जोड्दैनौं, उसको खोज गर्दैनौं तवसम्म हाम्रा सारा नाता एवं उपलब्धिहरू बेकार नै हुनेछन् । आँफूभित्रको परंम मित्र सँग नाता जोड्ने कला जानेमा नै आकर्षणवाला प्रसन्नता स्वत: आउन थाल्दछ । पद एवं पदार्थहरूबाट प्राप्त हुने क्षणिक प्रसन्नतामा अंहकार देखा पर्दछ भने आँफूभित्रको मित्रलाई जानेपछिको प्रसन्नतामा आकर्षण देखा पर्न थाल्दछ । अज्ञानबस यस आकर्षणवाला प्रसन्नतालाई केवल पद एवं पदार्थहरूमा मात्र खोजीरहेका छौं तर यो पद एवं पदार्थमा होइन स्वयं भित्र नै छ ।
सत्संगको महत्व
सदा रहिरहने सत्यको अनुभव गर्ने, खोज गर्ने इसाराहरू दिने व्यक्तिलाई साधु सन्त भनिन्छ । यस्ता व्यक्तिहरू सँग गरिएको संगतलाई सत्संग भनिन्छ । सत्संगमा आँफूभित्रको कहिल्यै परिवर्तन नहुने उर्जा अर्थात शरीरको संचालकको चर्चा गरिन्छ । यही कारण सत्संग सबका लागि समान छ । सत्संग हर मानबको लागि अति महत्वपूर्ण छ । जव मान्छे सत्संग तिर लाग्दछ तव उसको मन डामाडोलबाट हटेर शान्तिको सही खोज तिर लाग्न थाल्दछ । सत्संगबाट नै धार्मिक यात्रा सुरु हुन थाल्दछ । जसले अज्ञातको खोज तर्फ प्यास जगाइदिन्छ । सत्संगको संगतले जुन सत्यलाई हामीले भुलिरहेका छौं त्यसलाई स्मरण गराइदिन्छ । यही नै सत्संगको राज हो । सत्संगले नै मनमा उत्पन्न भ्रम एवं अन्धकारलाई समाप्त पार्ने विधि उपलब्ध गराउँदछ । जबसम्म हाम्रा इन्द्रियहरूले काम गर्दछन् तबसम्म विपत्तिहरू त आइ नै रहन्छन् तर सत्संगको संगतले यस्ता विपत्तिहरू बाट अलग हुन सक्ने उर्जा उपलब्ध गराउँदछ त्यसैले सत्संग एक सूर्यजस्तो हो जसले मनका सारा अन्धकारहरूलाई समाप्त पारिदिन्छ । मनलाई तनावबाट मुक्त बनाइदिन्छ । सत्संगबाट नै हामी भित्रको सदा रहिरहने शक्तिको खोज गर्न तडप जगाइदिन्छ यही तडपबाट नै त्यस उर्जाको खोजमा हामी लाग्न थाल्दछौं । यही नै सत्संगको निचोड हो । स्वयंलाई जान्न स्वयं भित्रको अविनासकारीलाई खोज्न सत्संगले नै प्रेरणा दिन्छ । समयलाई मिलाएर हर दिन दश–पन्ध्र मिनेट मात्र भएपनि सत्संगको साधनामा लाग्नु पर्दछ । पल–पल अशुद्ध हुने मन तव नै शुद्ध हुन थाल्दछ । जसरी पानीमा प्यास मेटाउन सक्ने क्षमता छ ठीक यसरी नै संत्संगबाट मनका विकारहरूलाई हटाउन सक्ने उर्जा प्राप्त हुन्छ । यही नै यसको महत्व हो ।
बच्चाको जस्तो मन
हर परिस्थितिबाट सिकिराख्न खोज्ने व्यक्तिलाई नै बच्चाको जस्तो मन भएको व्यक्ति भनिन्छ । यस्ता मन भएका व्यक्तिहरूले नै धार्मिक एवं सांसारिक सफलता प्राप्त गर्न सक्दछन् । मन तव नै ताजा भइरहन्छ जव हर परिस्थितिबाट सिक्न खोजिन्छ । ताजा मनबाट नै नयाँ–नयाँ लाई जान्न सक्ने क्षमता प्राप्त हुन्छ । ताजा मनमा नै अहंकारले बास गरिरहन सक्दैन । बच्चाको मनमा बाहेक प्राय: अधिकांस मान्छेमा बासी मन अर्थात अहंकारले भरिएको मन हुन्छ । अहंकारबाट भरिएको मनले नै हर परिस्थितिबाट सिक्न सक्ने अवसर गुमाउँदछ यही कारणबाट उनीहरू शारिरीक एवं मानसिक रुपमा पिडित हुन्छन् । मिथ्या ज्ञानको प्रमाण पनि यही हो । अहंकार रहित मनलाई नै बच्चाको जस्तो मन भनिन्छ । यस्ता मनहरूबाट नै सिक्न एवं जान्न सकिन्छ । आत्मज्ञान एवं बौद्धिक ज्ञान दुवैलाई जान्न बच्चाको जस्तो मनबाट मात्र सम्भव छ ।
एक लामो श्वास अमूल्य छ
एक श्वासमा नै जीवन छ, एक श्वास कै कारण शरीरको परिवर्तन अर्थात मृत्यु हुन पुग्दछ । यही कारण एक श्वास अमुल्य छ । पदको लागि, पदार्थको लागि हामी सारा समय दिन पनि तयार छौं तर जसको माध्यमबाट यस शरीर एवं श्वासले कार्य गरिरहेको छ त्यसको लागि तीस–चालिस मिनेटको समय दिने अवसर पनि हामीले मिलाउन भुलिरहेका छौं यही भूल नै सारा दु:खको कारण हो, रोग एवं शोकको जड हो । यस श्वासप्रतिको अद्भूत आचार्यको खोज एवं अभ्यासप्रति थोरै समय नदिदा नै हामी बेहोसपूर्ण अवस्थाको जीवन विताइरहेका छौं । यही बेहोसपूर्ण अवस्थाले नै मृत्यु भित्रको अमृतलाई छेकीरहेको छ । यो अमृतलाई नजानेसम्म सही प्रसन्नता असम्भव नै छ । हर व्यक्तिको लागि यस दुनियाको सारा पद एवं धनको मूल्य एक श्वासको जति पनि छैन । यस अमूल्य श्वासप्रति जव याद आउन थाल्दछ तव हामीलाई अज्ञातको खोजमा स्वत: नै प्यास जाग्न थाल्दछ । हुन त यस ब्रह्माण्डको सारा चीज प्रसाद नै हो तर पनि श्वास जति ठूलो प्रसाद अरु केही छैन किनकी श्वास विना थोरै समयसम्म पनि शरीर जीवित रहन सक्दैन । त्यसैले क्षण–क्षण लामो श्वासको महत्वलाई स्मरण गरिराखौ ।
इच्छा नहुनासाथ भय र लोभ समाप्त
सारा इच्छाहरू समाप्त हुनासाथ व्याक्ति धार्मिक सम्राट हुन पुग्दछ । इच्छा हुँदासम्म मान्छे भय एवं लोभबाट पीडित नै हुन्छ । व्यक्ति गुलाम एवं झुट बनि रहन्छ । जुन व्यक्ति सँग कुनै माग छैन त्यो व्यक्ति नै आध्यात्मिक बादशाह हुन पुग्दछ । यस्ता व्यक्तिहरू नै परिपूर्ण आनन्दमा, शान्तिमा, ध्यान एवं समाधीमा स्थिर हुन पुग्दछन् । जो व्यक्ति पूर्ण शान्तिमा छ ऊ नै क्राइष्ट हो भनेर जान्नु पर्दछ । भय र लोभ नै मन हो, यही मनलाई मूर्छा पनि भनिन्छ । मूर्छा टुटेपछि नै जीवन योगमय हुन पुग्दछ । जबसम्म इच्छाहरू हुन तबसम्म मन रहिरहन्छ । चाहनाहरू समाप्त हुनासाथ अर्थात मनपनि विसर्जित हुन पुग्दछ । पल–पल होसलाई जागृत गर्दै मनप्रति सजग हुने अभ्यास गर्न थालेमा इच्छाहरू स्वत: कम हुँदै जान्छन् । तव नै व्यक्ति आफ्नो केन्द्रमा आइपुग्न सक्दछ । यो सारा खेल इन्द्रधनुष जस्तो मन कै हो । हो पनि होइन पनि । समस्त दृष्यको पछाडि द्रष्टा लुकेको छ यसको बोध हुनासाथ भय एवं लोभ समाप्त हुन पुग्दछ तब नै भित्र कुनै चोटले छुनसम्म सक्दैन ।
जसले स्वयंलाई जानेको छ उही सर्वज्ञ
जसले आँफूभित्रको उर्जालाई अर्थात चेतनालाई जानेको छ उसैलाई सर्वज्ञ भनिन्छ । उसले स्वयंलाई मात्र जान्दछ । स्वयंलाई अर्थात उर्जा हुँदै उर्जाको स्रोतलाई जान्नुलाई नै आत्मज्ञान भनिन्छ । यो भाषा परिभाषा, शब्द, अर्थ, विचार एवं धारणाबाट जानिएको ज्ञान होइन । इन्द्रियहरूको माध्यमबाट जानिने सारा ज्ञान बौद्धिक ज्ञान हो । पदार्थहरूको सम्बन्धमा मात्र जानिने ज्ञान हो । इन्द्रियहरूबाट मुक्त भएर जानिने ज्ञान पदार्थजन्य ज्ञान होइन । पदार्थहरूबाट मुक्त भएको बोध नै आत्मबोध हो । यही जानेका व्यक्तिहरूलाई नै सर्वज्ञ भनिन्छ । सर्वज्ञको बाहिरी जगतको ज्ञानसँग कुनै सम्बन्ध नै हुँदैन । जो बाहिरी जगतको बारेमा कुरा गर्दछन् जान्नु कि ऊ सर्वज्ञ होइन अर्थात आत्मज्ञान उपलब्ध भएको छैन । आध्यात्मिक क्षेत्रमा ज्ञान त केबल चेतनाको नै हुन सक्दछ । पदार्थहरूलाई त हामी उपयोग गर्न सक्दछौं, विश्लेषण गर्न सक्दछौं तर के हो त पदार्थ यसको बोध हामीले पाउन सक्दैनौं ।
चैतन्यको बोध र पदार्थको विकास
पदार्थको मात्र विकासले मनमा दीर्घकालिन शान्ति आउन असम्भब छ । भौतिक विकास त हुन्छ साथसाथै मनको रोग उत्पन्न हुन पुग्दछ । मनको रोग नै परम रोग हो । त्यसैले पदार्थको विकासको साथ साथै चैतन्यको पनि खोज एवं बोधबाट मात्र शारिरीक रोग एवं मानसिक शोक समाप्त हुन्छ तब नै पूर्ण व्यक्तिको निर्माण हुन पुग्दछ । भौतिक विकास एवं आन्तरिक चैतन्यको जागरणबाट मात्र सही सांगठनिक व्यक्तित्वको जन्म हुन पुग्दछ । केबल पदार्थको मात्र विकासले मानसिक तनाब उत्पन्न गराउँदछ यही मानसिक तनाब नै असंख्य रोगहरू को कारण बन्न पुग्दछ । यसको विपरित केवल चैतन्यको मात्र खोजबाट बाहिरी दरिद्रताको कारक बन्न पुग्दछ । चैतन्यको खोज एवं पदार्थको विकासबाट नै व्याक्तिमा बास्तविक शान्ति उपलब्ध हुन्छ तब नै सम्यक जीवनको जन्म हुन पुग्दछ । चैतन्यको खोज नहुँदासम्म मनमा तनाबहरूले सताइरहन्छ भने भौतिक सुख सुविधाहरूको माग गर्न नपाउँदा दरिद्रता उत्पन्न भइरहन्छ । जब चैतन्यको बोध हुन्छ तब न त मनमा तनाब हुन्छ न त दरिद्रता सबैबाट मुक्त हुन पुगिन्छ ।
मनलाई आनन्दित बनाउने खोज
सही धर्मलाई नजानेसम्म मनमा दीर्घकालिन आनन्द आउने सम्भावना नै छैन । एक दुई दिन वा एक दुई घण्टा वा केही क्षण त आनन्द अनुभव गर्न सकिएला तर बाँकी समय पुन दु:खी नै हुन पुगिन्छ । त्यसैले सही धर्मलाई जान्नु नै स्थायी आनन्द प्राप्त गर्नु हो । सही धर्मको अर्थ हो विचारहिनबाट विचार तर्फ, फेरी विचारबाट निर्विचार तर्फको यात्रा एवं प्राप्ति । यही अवस्थामा नै आनन्द, शान्ति, सौन्दर्य, सन्तोष आदिको वर्षा भइरहन्छ । यस्ता व्यक्तिहरूको एक शब्दबाट नै अन्य व्यक्तिहरू खिचिन्छन् । यसको उपलब्धि कुनै शास्त्रीय ज्ञान वा बौद्धिक ज्ञानबाट होइन सही ध्यानबाट मात्र उपलब्ध हुन्छ । सूचनाहरूबाट, बौद्धिक तर्कहरूबाट, धारणाहरूबाट मनलाई आनन्दित बनाउन सकिदैन केवल जागरणबाट मात्र जीवनलाई जीवन दिन सकिन्छ । निर्विचारमा भएका व्यक्तिको नजिक पुग्नासाथ अन्य व्यक्तिलाई अनायास आनन्द एवं शान्ति आउन थाल्दछ तर अन्य व्यक्तिको भित्रको बारुद सुख्खा हुनु पर्दछ । यस्ता व्यक्तिहरूलाई एक किरणले नै छुन पुग्दछ र चुम्बक भइ खिचिन थाल्दछन् । धर्म अर्थात ध्यान केबल मनको शान्तिको प्रयोग हो । निरन्तरताको प्रयासबाट नै धार्मिक जीवनले गति लिन्छ तव नै मनबाट अलग हुन पुगिन्छ । यही अवस्थामा सांसारिक उत्तेजनाहरूले प्रभाव पार्न सक्दैनन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



