कथा : डायरी भित्रको एक पाना

तिमीले मलाई हुर्काएर लायक की बनाउँदासम्म गरेका कष्टहरु मैलेपनि आमा बनेका दिनदेखि बुझ्दैछु ।
-- सन्ध्या साँझ / प्रकाशित मिति : बिहिबार, साउन १७, २०७५

केहिदिन यतादेखि चिसो निकै बढेको छ । दिनमा बाहिर घाम भएपनि कोठाभित्र गोडाका औंलाहरु झमझमाउन थालेका छन् अनि आङ्ग पनि जिरिङ्ग जिरिङ्ग हुन थालेको छ । आज आफ्नो बिदाको दिन छ, बरु जाडाका मोटा कपडाहरु निकाल्न पर्यो भन्दै पोहोर सालको जाडोपछि थन्क्याएर राखेको ठाउँमा ऊ खोतल्न थाल्छे । अर्को कोठामा अहिले पनि त्यही गीत बजिरहेको छ जुन उसले बिहानैदेखि बारम्बार बजाइरहेकी छे र संगसंगै गुनगुनाउँदै पनि छे । “कैसे बताएँ क्यू तुझको चाहें……तु जानेना ।” यो गित अंग्रेजी सालको २००९ मा आएको बेलैदेखिन उसलाई औधि मनपर्ने भाकोले गुनगुनाइरहन्थी । तर कुत्रि किनहो २०१० बाट झनै प्यारो लाग्छ उसलाई अहिले २०१८ सम्म आइसक्दापनि । छेवैमा भएको आफ्नो मोबाइल उठाउँछे अनि फेसबुकमा यहि गीतका केही शब्दहरु अपलोड गर्छे ।

कपडाहरु खोसल्दैगर्दा केहिबेरमा उसको हातले अलिक फरक किसिमको कडा बस्तु छुनपुग्छ अनि बिस्तारै कपडाहरु पन्छाएर हेर्छे । छाति गरुँङ्गो हुन्छ, आँखाहरु रसाउँछन् अनि दृष्य धमिला बनिदिन्छन् । तर धैर्य गर्दै दाहिने हातले बिस्तारै सुम्सुम्याउँछे र दुबै हातले कसिलो पारेर छातिमा टाँस्छे । यो त उसले केहि समयदेखि आँफूलाई भन्दा बढि माया गरेको डायरी हो जोसंग उसले आफ्ना अफ्ठ्यारा समयहरु बाँडेकि छे । सुख बाँड्ने बेलामा साथमा धेरै भए तर उसका दुःख पीडाहरुका बेलामा मात्र यो साथी बन्थ्यो । उसका हरेक ब्यथाहरुलार्ई यसैले आफ्नो पत्रे छाती भित्र सम्हालेर राख्ने गरेको छ । बिस्तारै डायरी खोल्छे र त्यसका पानाहरु पल्टाएर सरसर्ती हेर्छे, दायाँ बायाँ गर्दै माथिदेखि तलसम्म । त्यसमा भएका आधाभन्दा बढी पानाहरुमा आँखाहरु दौडाइसकेपछि एक पानामा गएर टक्क अडिन्छे निकैबेर । न डुबाउने नत पार लगाउने बिगतका खोलीमा झ्वाम्म फालहाल्न पुग्छे ऊ ।

“तँ त अर्काकि बुहारी होस् । मेरो तलार्ई केही भन्ने कुनै अधिकार छैन । मेरी बुहारीले यस्तो नचाहिंदो गरेर आकोभा दैलाबाट भित्र पस्न दिने थिइन । तँलार्ई तेरा घरमा जे भने जे गरेपनि मलाई नसुनाउनु ।” यी वाक्यहरु संस्कृतिकी आमाले दुई दिन अघिनै उसले आफ्ना हातहरुमा कहिल्यै नमेटिने अक्षरहरु कोरेर आज तेस्रो दिन देखाउँदा छोरीलाई पस्केकि थिइन् । “मैले उसैदिन देखिसकेकी थिएँ, नबोलेको मात्र हो ।” ऊ झसङ्ग हुन्छे । मैले बाहुले लुगा लगाएर छोप्नुसम्म छोपेकि थिएँ तर पनि आमाले देखिसकेकी रहिछन् । किन नदेख्नु ? उनी त आमा हुन्, उनीबाट के नै लुक्छ र ? आमा केहिबेर फतफताइ रहिछन् । एकाबिहानै आमाले यसरी शब्दहरु छरिरहँदा ऊ घोसेमुन्टो लाएर दाहिने गोडाको बुढि औंलाले भुईं कोट्याउँदै केहि गहिरो सोचमा पर्छे, मैले के ठुलै अपराध गरेकी छु र ? फेरी आँफूलाई बुझाउने कोशिस गर्छे, सायद हाम्रो परम्परा, संस्कार र मान्यतालार्ई पछाडि पारेर परिवामा कसैले नगरेको कार्य गर्नु सानोतिनो अपराध नै हुनसक्छ । तर आमाले अर्काकी बुहारी होस्, मेरो कुनै अधिकार छैन भनेका शब्दहरुले संस्कृतिका मस्तिष्कमा घोच्न थालिसकेको हुन्छ । मनमा लागेका कुराहरु सोधिहाल्ने र आफ्नो या अर्काको चित्त नबुझे या नबुझाएसम्म चुप नलाग्ने स्वभाव सानैदेखि भएकाले आमालाई केही सोध्ने इच्छा हुँदाहुदैपनि यसपल्ट चुपै लाग्छे ऊ । आमा रिसाएकी छिन् भत्रे लागेर हुनसक्छ । बेचैनि बढिरह्यो, दिनैभरि आमाका शब्दहरुले अपच गराइरह्यो उसलार्ई । कहाँ पोखौं, कता खन्याऔं भनि खोज्दा खोज्दै साँझ ढल्यो । कतै पोख्ने ठाउँ नपाएर ऊ यसै डायरीका पानामा पोख्न पुगेकी हुन्छे ।

तिमीले सुने पढेकी छौ होलानी, छोरीहरुले पनि सम्पतिमा अधिकार पाउनुपर्छ भनेर माग राख्छन् भनेर ? मलार्ई त लाग्छ मागेको बुझ्नेहरुले गलत बुझिरहेका छन् आमा । आमा बाबाले छोरी माथि देखाउने अधिकारनै हो आमा, छोरीले पाउने अमुल्य सम्पति, जसको छोरीहरुले माग राखेका हुन् । संसारमा कसैले मूल्य तोकेर खरिद बिक्रि गर्न नसक्ने त्यो सम्पतिको म पनि माग गर्दैछु आमा ! मलार्ई पनि त्यही सम्पति देऊ ।

“आमा ! तिमीले मैले दुई दिनदेखि छोपेर राखेको सानो ट्याटू रुपि जुन दाग देख्यौ त्यो खोपाएकोमा मलाई कुनै पछुतो छैन । मैले त मेरो जीवन, प्रेम र बाचाहरुलाई कुँदाएकी छु जो मैले सास फेर्न सम्झिएसम्म संगै हुनेछन् अनि सास फेर्न बिर्सिएर जाँदा संगै जानेछन् । नत्र म जाँदा संगै लैजाने अरु केनै छर आमा ? तर नि आमा ! यी भन्दा पनि बढी मेरा इच्छा बिपरितका दागहरु मेरा शरिरमा अन्त पनि छन्, के त्यो पनि देखेकी छौ ? बाहिरी अंगमा मात्र हैन आमा भित्री शरिर पुरै चोटै चोटले भरिएको छ । छिया छिया परेका नयाँ पुराना खतहरु छन् आमा ! यीनलाई पनि त म जाँदा संगै लैजान्छु नि । फेरी कुनै चोटहरु तिम्रा र मेरा मिल्दा जुल्दा पनि पो छन् । कतिपय घाउहरु तिमीलाई देखाउन चाहँदा चाहँदै पनि देखाउन नसकेर तेसै सुकेर गए । कतिपटक त म रगताम्य भएर अचेत परेकिछु, के त्यो थाहा पाएकी छौ ? अनि कहिले थोरै चेत भाको बेलामा सुस्तसंग आमा आमा बोलाएँ, कहिले पीडामा छटपटाउँदै तिम्रो हात समाउन पाउँछुकी भनेर यताउता खोजें पनि, के मैले बोलाको सुन्यौ आमा तिमीले ? मैले तिमीलाई खोजेको चाल पायौ ? मलाई थाहा छ आमा, केहि न केहि त भेउ पाएकि छौ तर मौन बसेकी छौ निर्धक्क भएर, किनकी मेरा यी दागहरु लुकेकाछन्, मेरा यी घाउहरु छोपिएका छन् जसलाई तिमी हामी वरिपरीका बिकृत सोचहरुले सोच्न सकेका छैनन् र टोड्के आँखाहरुले देखेका छैनन् । तर यो मेरो हातको सानो चित्र सबैले देख्छन् । आखिर मैले कहिलेसम्म लुकाएर लुक्छ र ? त्यसैले तिमी ती आँखा र सोचहरुसंग डराउँछौ जसले ओठे पत्रहरु टाँसेर बरबराउन मात्र जानेको छ । अनि अर्को कुरो, मत तिम्रै कोखबाट जन्मिएकी हूँ । तिमीले मलाई हुर्काएर लायक की बनाउँदासम्म गरेका कष्टहरु मैलेपनि आमा बनेका दिनदेखि बुझ्दैछु । उसैगरी जन्माएको छोरा माथि तिमी आफ्नो अधिकार देखाउँछ्यौ । मलाई चैं सरक्कै पन्छाउँछौ, कस्तो अन्याय गरेकी तिमीले ? म अर्काकी बुहारी हूँ भने छोरी त तिम्रै हूँ नी हैन र ? की बिहे भैसकेकी छोरी मात्र नाताले छोरी हुन्छे सम्बन्धले हैन ? कि छोरी भनेर बोलाउने बानि परेकी भएर छोरी भनेकी मात्र हौ ? आमा ! मैले जन्म दिएकाहरुप्रति मेरो पूर्ण हक लाग्छ भन तिमी, छोरीमा पनि उत्तिकै अधिकार देखाऊ । मैले गल्ति गर्दा गाली गर, मलाई पनि दैलाबाट भित्र पस्न दिन्न भन मैले नकाम गरेर आउँदा । म रुँदा सानामाझैं आफ्ना अँगालामा कस अनि साहारा खोज्दा म छुनि तेरो भनेर आफ्ना संसारमा स्वागत गर । यसो गर्दा तिमिलाई कसले रोक्छ ? कि हाम्रो परम्परा र रितिले तिमीलाई बन्देज लाएर हो ? हो भने परम्परा र रितिहरुलाई त्यति मात्र मान न जति साँच्चै मान्न लाईक छन् । छोरीका पक्षमा सधैं स्वर्थी भैदिने यो बन्धनले तिमीलाई यति धेरै कसेको छ की तिम्रा अंगहरुलाई टुक्राटुक्रामा छुट्याइरहेको छ । तिमी कति सहेर बस्छ्यौ ? हुन त म तिमीलाई यी बन्देजहरु फ्mुकाउ भन्दिन आमा, तर थोरै खुकुलो त पार्न सक्छ्यौ नी ? अलिकति भएपनि आफ्ना दर्दहरुलाई कम गर्न सक्छ्यौ नि आमा ! यदि यसो गर्न सकिनौ भने तिमी जति छोराकी आमा भएर गर्वले छाती उत्तानो पार्छ्यौ नी त्यति नै छोरीकी आमा भएकोले पराइका अगाडि सधैं झुकिरहनुपर्नेहुन्छ । म सधैं तिमीलाई यसरी बेअपराध झुकिरहेको हेर्न सक्दिन । हाम्रो समाजमा यो बन्धनको गाँठोलार्ई अलि हलुङ्गो बनाउने नयाँ संस्कारको तिमीले नै थालनि गरिदेउ, अनि अरु आमाहरुले पनि यसै संस्कारलार्ई अघि बढाउने छन् । तिमीले सुने पढेकी छौ होलानी, छोरीहरुले पनि सम्पतिमा अधिकार पाउनुपर्छ भनेर माग राख्छन् भनेर ? मलार्ई त लाग्छ मागेको बुझ्नेहरुले गलत बुझिरहेका छन् आमा । आमा बाबाले छोरी माथि देखाउने अधिकारनै हो आमा, छोरीले पाउने अमुल्य सम्पति, जसको छोरीहरुले माग राखेका हुन् । संसारमा कसैले मूल्य तोकेर खरिद बिक्रि गर्न नसक्ने त्यो सम्पतिको म पनि माग गर्दैछु आमा ! मलार्ई पनि त्यही सम्पति देऊ । आमा ! तिमीलाई हेक्का छ ? जबसम्म तिमी मलार्ई तिम्रो अधिकारको सम्पति दिन्नौनी तबसम्म तिमीले मलाई अर्काकी भनेजस्तै अर्काले पनि मलाई अर्कैकी नै भनिरहने छन् आमा ! आज तिमीनै मलाई भनिदेउ म कसकी हूँ ? किन म यसरी भकुन्डोझैं बीचमा यता न उताकि भएर गुडिरहेछु ? अनि कहिलेसम्म गुडिरहनु मैले ? भनन आमा ! बिन्ती छ आमा, बिन्ती । म कसकी हूँ ?”

उसलाई पाना सकिसकेको आभास हुन्छ । बिगतका तीता मीठा सम्झनाहरु संगै डायरी बन्द गरेर थन्क्याउँछे ।