अमेरिकामा नेपालीको आफ्नै बैंक स्थापना सेप्टेम्बरबाट कारोबार शुरु

-- होमप्रसाद लम्साल / प्रकाशित मिति : मङ्लबार, अशोज २, २०७५

अमेरिकामा बस्ने अगुवा नेपालीहरू मिलेर सामुदायिक अवधारणामा एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू) स्थापना गरेका छन् । अमेरिकाको न्यूयोर्कमा बैंकको स्थापना भएको औपचारिक जानकारी दिइयो । स्थापनाकालमा समुदाय केन्द्रित आर्थिक कारोबार गर्ने उद्देश्यले खोलिएको यस सामुदायिक बैंकले सेप्टेम्बरको पहिलो हप्तादेखि न्यूयोर्कबाट कारोबार गर्ने र नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको स्टेटहरूमा शाखा खोलिने संस्थाका अध्यक्ष डिल्लीराज भट्टले बताए । एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू) लाई अमेरिकी केन्द्रिय सरकार अन्तर्गत नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसनले बैंकिङ कारोवार गर्ने अनुमति दिएको छ ।

सन् २०१५ को डिसेम्बरमा १५ जना नेपालीहरू मिलेर बैक स्थापनाको छलफल अहिले आएर साकार भएको यूनियनका अध्यक्ष भट्टले बताए । युनियनले अमेरिकन एक्सप्रेस, डिस्कभरी, भिसा कार्ड, मास्टर कार्ड जस्तै नेपालीले पनि अब आफ्नै क्रेडिट कार्ड प्रयोग गर्न पाउने कार्यकारी समितिका संयोजक मोहन ज्ञवालीले बताए । सामुदायिक अवधारणामा कारोबार गर्ने अनुमति पाएको एभरेष्ट फेडरले अमेरिकामा रहेका अन्य बैंकको तुलनामा सहुलियत दरमा निक्षेप संकलन, कर्जा प्रवाह, बचत, ब्याज, ऋण उपलब्ध गराउन र क्रेडिट कार्ड पनि दिन सक्ने अध्यक्ष भट्टले बताए ।

बैंकमा खाता खोल्ने प्रत्येक नेपाली नाफाका साझेदार हुने भएकाले पनि अब अमेरिकामा नेपालीले कामदार होइन मालिकको रुपमा आत्मसम्मानको महसुस गर्ने सरोकारवालाको भनाई छ । अमेरिकी सरकारले सामुदायिक बैंकलाई कर छुट दिने भएकाले पनि धेरै नेपाली यसबाट लाभ लिनसक्ने छ । यस बैकको महत्वपूर्ण पक्ष खाता खोल्नका लागि नेपालीभाषी नै हुनु पर्ने वा आफन्त हुनुपर्ने छ । गैरआवासिय नेपाली बाहेक अरुले यसमा खाता खोल्न पाउने छैनन ।

बैंकले थोरै ब्याजमा ऋण प्रवाह गरी बचत गर्नेलाई बढी मुनाफा दिने लक्ष्य लिएकाले अमेरिकामा कम आय भएका नेपालीलाई व्यापार व्यवसायमा पनि प्रोत्साहन मिल्ने अध्यक्ष भट्टको भनाई छ ।

अमेरिकामा करिब ६ हजार जति क्रेडिट यूनियनमा पछिल्लो समय आइरिस, पोलिस, इटालियन, चाइनीज र फ्रान्सेलीहरूले सामुदायिक बैंकिङ प्रणाली अन्र्तगत क्रेडिट यूनियन खोलेका छन् ।

एभरेष्ट फेडरल क्रेडिट यूनियनमा १९१ चार्टर सदस्य रहेको जनाउँदै ज्ञवालीले यसलाई न्युयोर्कबाट शुरु गरी नेपालीको बाक्लो बस्ती रहेको क्यालिफोर्निया, डीसी, फ्लोरिडा, टेक्सास लगायतका स्थानमा विस्तार गर्ने योजना रहेको बताए ।

एभरेष्ट फेडरलल क्रेडिट यूनियनको अध्यक्षमा डिल्ली भट्ट, महासचिवमा अञ्जन श्रेष्ठ, कोषाध्यक्षमा बिराज रिजाल छन् । त्यसैगरी, सदस्यमा आरसी पोखरेल, विजय पौडेल, राजन कर्माचार्य, जीवन बम छन् ।

इएफसियूको सुपरभाइजर कमिटीमा डा. केशव पौडेल र डा. सुक गुरुङ छन् । त्यसैगरी, क्रेडिट कमिटीमा भने मोहन गिरी र नवराज केसी छन् । एभरेष्ट फेडरल क्रेडिट युनियनको एक्जीक्यूटीभ कमिटी को–अर्डिनेटरमा मोहन ज्ञवाली छन् । बैंकको समारोहमा अमेरिकाका विभिन्न क्षेत्रका राजनीतिक प्रतिनिधिहरू, नेपाल सरकारका राजदूत र कन्सुलेटलगायत अमेरिकाका विभिन्न स्टेटबाट प्रतिनिधित्व गर्ने व्यापारी, व्यवसायीको बाक्लो उपस्थिति रहेको थियो ।

समुदायको आर्थिक हित प्रवद्र्धनको मूल उद्देश्य लिएर युनियन स्थापना हुने गरेका छन् । क्रेडिट युनियनलाई निक्षेप संकलन एवं कर्जा प्रवाह दुवै गर्ने अनुमति हुन्छ ।

अमेरिकी सरकारले यस्ता सामुदायिक बैङ्कहरूलाई कर छुट दिने भएकाले अन्य बैङ्कका तुलनामा समुदायलाई यसले सहुलियत दरमा ऋण उपलब्ध गराउन पाउने छ । साथै, बचतमा बैङ्कको तुलनामा बढी ब्याज उपलब्ध गराउन सक्दछ । क्रेडिट युनियनका सदस्यहरू नै यसका मालिक हुने भएकाले यसमा खाता खोल्ने सबै यसका मालिक हुनेछन् ।

अमेरिकाभर बसोवास गर्ने नेपाली समुदायभित्रका सबै व्यक्तिहरूलाई संस्थामा सदस्य र डिपोजिटर बनाएर सुविधा प्रदान गर्ने लक्ष्य एभरेष्ट फेडरल क्रेडिट युनियनले लिएको छ । त्यही अनुसार सबै राज्यहरूमा शाखा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । संस्थाले ५ वर्षभित्रमा कम्तीमा १० वटा शाखा खोल्ने र १० हजार डिपोजिटर संख्या पुर्याई २ सय मिलियन अमेरिकी डलरभन्दा माथिको कारोबार गर्ने लक्ष्य लिएको छ ।

संस्थाले नेशनल क्रेडिट युनियन एण्ड मिनिष्ट्रेशनको पूर्ण ब्याकग्राउण्ड चेकपश्चात् ७ बोर्ड अफ डाइरेक्टर, ३ सुपरभाइजर कमिटी, ३ क्रेडिट कमिटी सदस्यहरूलाई प्रारम्भिक चरणको बोर्डमा नियुक्त गरेको छ । रिक्त रहेका ७० प्रतिशत बोर्डलगायत अरु कमिटीमा उपयुक्त व्यक्तिहरूलाई नियुक्ती गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसरी नियुक्त भएका पदाधिकारीको पदावधि नेसनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशनले तीन वर्षका लागि बोर्डमा नियुक्त गर्ने छ ।

अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीले आ–आफ्नो समुदाय लक्षित क्रेडिट युनियन सञ्चालन गर्दै आएका छन् । सम्बन्धित देशका आप्रवासीको संख्या एवं आर्थिक गतिविधि बढ्दै गएपछि यस्तो सामुदायिक बैकिङ संस्था सञ्चालनमा ल्याएको प्रचलन देखिन्छ ।

नेसनल क्रेडिट युनियन एण्ड मिनिष्ट्रेशनका अनुसार १० करोडभन्दा बढी अमेरिकीहरू क्रेडिट युनियनहरूका सदस्य छन् । अमेरिकामा विभिन्न पेशागत रुपमा क्रेडिट यूनियन खोल्न पाईने छ । यो अमेरिकामा आर्थिक रुपले सक्रिय जनसंख्याको झण्डै आधा हिस्सा हो । अमेरिकामा क्रेडिट युनियनलाई सामुदायिक बैङ्कका रुपमा हेर्ने गरिन्छ जो नेपालको को–अपरेटिभ भन्दा धेरै फरक छ । किनकी अमेरिकामा क्रेडिट युनियनले बैङ्कसरह डिपोजिट र ऋण प्रवाह गर्न पाउँदछन् र जो–जो यसका डिपोजिटर छन् उनीहरू नै यसका मालिक हुन् र उनीहरू नै मुनाफामा हकदार हुन्छन् । त्यसैगरी प्रत्येक डिपोजिटरको २ लाख ५० हजार अमेरिकी डलर बराबरको रकम फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेशन (एफडीआईसी)ले जस्तै एनसीयूएले हरेक खाताको बीमा गरेको हुन्छ ।