अक्टाेवर महिनाका विश्व घटनाहरु

-- क्षितिज पारी नाेभेम्बर अंक २०१८, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, कार्तिक २९, २०७५

इन्डोनेसियामा विमान दुर्घटना

एक सय ८८ जना यात्रु बोकेको लायन एयरको बोइङ–७३७ विमान अक्टोबर २९ का दिन दुर्घटना भएको छ । इन्डोनेसियाको राजधानी जकर्ताबाट पाङ्काल पिनाङका लागि गइरहेको उक्त विमान समुद्र कट्ने बेलामा सम्पर्क विहीन बनेको थियो । ’विमान समुद्रमा दुर्घटना भएको छ’ राष्ट्रिय खोज तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफका अनुसार विमानको भग्नावेश र विमान सवारहरुको खोजीकार्य गरिरहेका भैरहेको छ । विमानमा १ सय ७८ जना वयस्क, एक शिशु तथा दुई बच्चा, दुई पाइलट तथा ५ जना चालक दलका सदस्यहरु सवार रहेको लाइन एयरले प्रेस विज्ञाप्ती मार्फत जनाएको छ । दुर्घटनापछि कसैलाई पनि जिवितै उद्धार गर्न सकिने सम्भावना न्यून रहेको समाचारमा जनाइएको छ ।

भारतीय टेलिभिजन प्रतिवन्ध


पाकिस्तानको सर्वोच्च अदालतले भारतका सबै टेलिभिजन च्यानलमाथि पुन: प्रतिबन्ध लगाएको छ  । लाहोर उच्च अदालतको यसअघिको निर्णय उल्टाउँदै सर्वोच्चले पुन: प्रतिबन्ध लगाउन आदेश दिएको हो । प्रधानन्यायाधीश साकिब निसारले पाकिस्तान भएर बग्ने नदीमा भारतले बाँध निर्माण सुरु गरेको जनाउँदै भारतीय टेलिभिजन च्यानलमाथिको प्रतिबन्ध उचित भएको बताए । लाहोर उच्च अदालतको आदेश उल्टाउँदै प्रधानन्यायाधीश निसारले भने–‘भारतले पाकिस्तान भएर बग्ने पानीको बहावलाई सीमित पारिरहेको छ भने हामीले उनीहरूका च्यानल किन बन्द नगर्ने ?’ पाकिस्तानमा हुने सिँचाइमध्ये करिव ८२ प्रतिशत सिन्धु र त्यसका सहायक नदीको पानीमा भर पर्छ । भारतद्वारा निर्मित बाँध अस्त्रको रूपमा प्रयोग हुने पाकिस्तानको दावी छ । यद्यपि, भारतले आफ्नो आवश्यकता अनुसार बाँध निर्माण गरेको जनाउँदै पाकिस्तानको आरोप अस्वीकार गर्दै आएको छ । पाकिस्तानमा भारतीय टेलिभिजन च्यानलका कार्यक्रम र चलचित्र लोकप्रिय मानिन्छन्, तर दुई देशबीच समय–समयमा हुने तनावका बेला पाकिस्तानले तिनीहरूमाथि प्रतिबन्ध लगाउने गरेको छ । पाकिस्तानले पहिलोपटक सन् १९६५ मा भारत–पाक युद्धपछि भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाएको थियो ।

ट्रम्प भारत नजाने

भारतले गणतन्त्र दिवस समारोहको प्रमुख अतिथिका लागि गरेको निम्तो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेका छन् । करिब २ महिनाअघि नै ट्रम्पलाई निमन्त्रणा गरिएको भए पनि राष्ट्रपतिले अस्वीकार गरेको ह्वाइटहाउसकी प्रेस सचिव सराह हकाबी स्यान्डर्सले पुष्टि गरेकी हुन् । यद्यपि, भारतीय सञ्चारमाध्यमले ट्रम्प भारत भ्रमणका लागि इच्छुक भए पनि व्यस्त तालिकाका कारण आउन नसकेको दावी गरेका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको भनाइ उद्धृत गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पको पत्रमा उनले आफू भारत भ्रमणमा आउन नपाएकोमा दु:ख लागेको उल्लेख गरेको जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार विगत केही सातादेखि अमेरिकी अधिकारीले भ्रमणमा ढिलाइ हुन सक्ने बताउँदै आएका थिए । भारतीय विदेश मन्त्रालय र भारतस्थित अमेरिकी दूतावासले भने यस विषयमा हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । पछिल्लो समय भारतले रुसबाट हतियार तथा इरानसँग तेल खरिद सम्झौता गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ । अमेरिकाले भारतलाई इरानसँग तेल खरिद नगर्न चेतावनी दिएको थियो । राष्ट्रसंघका लागि तत्कालीन अमेरिकी राजदूत निक्की हलीले गरेको भारत भ्रमणका बेला इरानसँग तेल खरिद नगर्न चेतावनी दिएकी थिइन् ।

श्रीलंकामा राजनीतिक संकट


श्रीलंकामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक फरक कित्तामा देखिएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले प्रधानमन्त्रीको रुपमा मान्यता दिएपछि राष्ट्रपति र सभामुख नै फरक फरक कित्तामा देखिएका हुन् । सभामुख कारु जयसुरियाले विक्रमासिङ्घे नै वैधानिक प्रधानमन्त्री भएको र राष्ट्रपतिले प्रधानमन्त्रीलाई अपदस्त गर्न नमिल्ने तर्क गरेका छन् । राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री पदबाट विक्रमासिङ्घेलाई हटाउन पनि नमिल्ने र महिन्दा राजापाक्षेलाई नियुक्त गर्न पनि नमिल्ने सभामुखको भनाई छ । अर्को व्यक्तिले संसदमा आफ्नो पक्षमा बहुमत पुष्टी नगर्दासम्म विक्रमासिङ्घेले नै प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न पाउनु पर्ने उनले बताए । राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त हुनुभएका राजापाक्षेको पार्टीले भने संसदमा राजापाक्षेले बहुमत देखाउन सक्ने दावी गरेको छ । त्यसैगरी अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेले पनि संसदमा आफ्नो बहुमत रहेको बताउँदै आएका छन् । आफ्नो बहुमत देखाउन अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेले तत्काल संसद बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपति सिरिसेनाले भने अक्टोबर २७ को संसद्को बैठक स्थगित गरिदिएका छन् । संसदमा आफूमाथि हुन सक्ने चुनौती पन्छाउन उनले संसद अधिवेशन आगामी नोभेम्बर १६ सम्मका लागि स्थगित गरेका हुन् ।

अमेरिकामा अर्को गोलीकाण्ड


अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीले अक्टोबर २७ का दिन अन्धाधुन्ध गोली हानी ११ जनाको हत्या गरेका छन् । अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा ठूलो घटना हो । बच्चाको न्वारान कार्यक्रममा ‘ट्री अफ लाइफ’ नामको प्रार्थनाघरमा भेला भएका व्यक्तिहरुमाथि ४६ वर्षीय रोबर्ट वोअर्सले अन्धाधुन्ध गोली चलाएको प्रार्थनाघरमा रहेका व्यक्तिको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । ’सबै यहुदी मर्नै पर्छ’ भन्दै रोबर्टले गोली चलाउन सुरु गरेका थिए । प्रहरीले बन्धुकधारीलाई घाइते अवस्थामा पक्राउ गरेको छ । उनीमाथि फौजदारी अभियोगसँग सम्बन्धित २९ वटा मुद्दा दर्ता गरिएको छ । संघीय अभियोजनकर्ताहरुले हत्यामा संलग्न रोबर्टमाथि लगाइएका मुद्दाका आधारमा मृत्युदण्ड समेत हुनसक्ने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वसाधारणमाथि गोली चलाएर भएको आमहत्याको भत्सर्ना गरेका छन् । इलेनोइसमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यहुदी प्रार्थनाघरमा भएको आमहत्या हामी सबैमाथि भएको जघन्य अपराध रहेको बताए । पिट्सबर्गको ट्री अफ लाइफ यहुदी प्रार्थनाघर स्क्वारेल हिलमा १५० वर्षअघि स्थापना भएको थियो । बहुसंख्यक यहुदी बसोबास गर्ने पिट्सबर्गमा यो प्रार्थनाघर सबैको आस्थाको केन्द्र हो । ब्रान्डिस विश्वविद्यालयले सन् २०१७ मा गरेको एक अध्ययनमा त्यहाँका ८० प्रतिशतभन्दा बढीले यहुदी विरोधी भावना बढ्दै गएकामा चिन्ता व्यक्त गरेको देखाएको छ ।