वीर अस्पतालको लिफ्ट चुडिँदा दुईको निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन १०, २०७५

काठमाडौं – वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र २० वर्षीय भूमिकुमार चौधरी छन् । सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार उनको आन्तरिक रक्तश्राव जारी छ ।

ती तीनै जना अस्पतालमा कार्यरत मजदुर हुन् । बिहीवार बेलुका ७ः ३० बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्ट चार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए । एक जनाको घटनास्थलमै मृत्यु भएको थियो अर्का व्यक्तिलाई हस्पिटल भर्ना गरिएको एक घण्टामा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

दुई जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । राष्ट्रिय ट्रमा सेन्टरका निमित्त निर्देशक डा विनोदमान शेरचनका अनुसार टाउकोमा गम्भीर चोट तथा अन्य मल्टिफल फ्याक्चर भई घाइते भएका तीन जनामध्ये एक जनाको ट्रमा सेन्टर लैजाँदा लैजाँदै बाटोमा, अर्को एक जनाको ट्रमा सेन्टरको आकस्मिक कक्षमा पुरयाई उपचार शुरु गर्न लाग्दा ज्यान गएको हो । उनले अर्को एक जनाको पनि गम्भीर अवस्थामा उपचार भईरहेको बताए ।

लिफ्ट के कारणले चुडिँयो भन्नेबारे अस्पताल प्रशासन र प्रहरीले छानवीन गरिरहेको बताइएको छ । घटनालाई बीर अस्पलात प्रशासनले सकेसम्म लुकाउन खोजको थियो ।