अबको एनआरएनएको चुनाब अनलाईन होस्

-- सुजित सिग्देल / प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६

एनआरएनए अष्ट्रेलियाको निर्बाचन नजिकिएको छन्को फेसबुक र भाइबरमा जोडिएका बिभिन्न खाले ग्रुपहरू र टाइमलाईनमा आइरहेका ट्यागहरूले दिइरहेका छन् । दुई वर्षको कार्यकाल रहने एनसीसी र एससीसीका यो अबधिमा धित मरिन्जेल एनआरएनएका सकारात्मक र नकारात्कम कुरा सुन्न पाइने यिनै केहि हप्ता हुन् । देशबाटै ल्याएको बानि नै भनुँ चुनाब भने पछि हामी नेपालीलाई अलिकति बढी नै लाग्ने गर्छ । कसो कसो समय मिलाउँछौं र हामी मध्ये धेरै कुनै न कुनै रुपमा यस्ता चुनाबी गफ, को को उठ्ने, कसले जित्ला, को कताबाट हो आदि इत्यादीमा आफ्नो मत राखेकै हुन्छौं । अझ आहिले त फेसबुक, भाइबर र ट्वीटरजस्ता सामाजिक संजालले त झन् हामीले लाई यस्ता गफगाफ अनि प्रतिकृयालाई निक्कै सजिलो बनाइदिएको छ ।
एनआरएनए बिश्वब्यापी संजालमा अष्ट्रेलियाको संख्यात्मक र गुणात्मक दुवै किसिमले बिशेष महत्व राख्छ । त्यसैले पनि अब एनआरएनए अष्ट्रेलियाको नेतृत्व कसले लिने भन्ने चासो बिश्वभरका एनआरएनहरूलाई भएको देखिन्छ । सदस्य बन्ने समय भर्खरै सकिएको र सदस्यहरूको प्रमाणिकरण कै प्रकृयामा रहेको कारण पनि यति नै सदस्य बने भन्न सकिने अवस्था अहिले नभए पनि अबका केहि हप्तामा सदस्य संख्या थाहा हुने नै छ । एकातिर यति ठूलो संख्यामा नेपालीहरू को बसोबास रहेको अष्ट्रेलियामा सबैको साझा संस्था बन्ने अभियानमा रहेको एनआरएनमा अपेक्षाकृत रुपमा सदस्यहरू न हिजो बने न आज नै । पक्कै पनि यसका धेरै कारणहरू छन् नेतृत्वमा पुग्नेहरू ले अर्को पटक हामी सदस्य संख्यामा भारि बढोत्तरी ल्याउँछौ भने पनि अर्को चुनाबसम्म आइपुग्दा फेरि कुरा उस्तै देखिन्छ । यसमा एकातिर संस्थागत रुपमा देखिने विविध विसंगति र त्रुटीहरूले धेरै नजिक आउन चाहनेहरू पनि भयो भो भन्ने गर्छन भने अर्को तिर संस्थामा देखिने राजीनितक गन्ध अनि सोहि अनुसार फरक रंग र कित्तामा उभिदै गरेका निर्बाचनका सहभागीहरू ।
बिगत १० बर्ष भिन्न भिन्न पाँच वटा एनआरएनएन अष्ट्रेलियाको नेतृत्व छान्ने निर्बाचनमा निर्बाचन समिति मै रहेर सकृय कार्य सम्पादन गरेका कारण पनि मैले बिगत ५ वटा एनआरएनए अष्ट्रेलियाको निर्वाचनलाई एकदमै नजिकबाट चिन्ने र जान्ने अवसर पाएँ । त्यो भन्दा पनि विदेशमा बसेर व्यस्त कार्यतालिकाबीच समुदायको हितका लागि काम गर्न आतुर समाजसेवीहरू बीचको उदेक लाग्दो अस्वस्थ प्रतिष्पर्धा हेर्दा पत्याउनै मुश्किल हुने खालको देखिन्छ । माथि नै भने जस्तो हामीलाई चुनाब अलिक बढी नै लाग्छ त्यसैले पनि यस्ता प्रतिस्पर्धाहरू लाई सहज लिने प्रयास गर्ने हो भने पनि डलर/डलर जम्मा गरेर नेपालमा परोपकारी कार्य गर्न तम्सिएको सामाजिक संस्थाको नेतृत्व छनोट प्रकृयामा देखिएको अबैज्ञानिक चुनाबी प्रकृया खर्चिलो र असहज देखिन्छ ।
गत २०१७–२०१९ को नेतृत्व छनोट या चुनाबी प्रकृयामा मात्र एनआरएनए अष्ट्रेलियाले १ लाख डलर भन्दा बढि खर्च गरेको छ । त्यो भनेको करिब ८० लाख नेपाली रुपैया भन्दा बढी हुन्छ । जुन रकमले धेरै स्कुलका कोठाहरू थपिन सक्थे, धेरै पुस्तकालय र ल्याबहरू भरिन सक्थे धेरै विद्यार्थीलाई छात्रवृति उपलब्ध गराएर तिनका भविष्य बदल्न सकिन्थ्यो । त्यो त एउटा पाटो भयो यसको अर्को पाटो भनेको धेरैको समय हो जसको त हिसाब गरेर साध्य नै भएन । त्यो बाहेक निर्बाचन स्थानको व्यबस्थापन त्यहाँ वरपर हामीले गरेको फोहोर र हल्लाले अर्को पटक हल नै नपाइने अर्को दुःखद र तीतो पाटो त छँदैछ ।

अबको निर्बाचन अनलाईन नै होस्
बिगतका ३ निर्बाचनहरू हामीले कम्युटरको प्रयोग गरि भोटिङ्ग गर्ने व्यवस्था सहित गर्यौं, यसले हामीले भोट गन्ने कुरामा मात्र सहयोग गर्यो नत्र यो झन् खर्चालु देखियो । अनलाईन मत पत्र र कम्युटर त्यसलाई चाहिने अन्य प्राविधक पक्षहरूले हाम्रो खर्च निक्कै बढाई दियो । त्यसैले पनि अबको निर्वाचन घरबाटै भोट हाल्न मिल्ने या आ–आफ्नो स्मार्ट फोन बाटै भोट हाल्न मिल्ने किसिमबाट होस् यस तर्फ सम्बन्धित पक्षको ध्यान जाओस् । गत निर्बाचनहरू मा पनि अनलाइन भोटिङ्गमा जाउँ भनेर निर्बाचन समिति मार्फत लबिङ्ग नभएको होइन तर यसमा कहिले उम्मेद्वारहरूका बीचमा नै सामनजस्यता नआउने त कहिले एनआरएनए अष्ट्रेलियाको सदस्य डाटाबेस नै अनलाईन भोटिङ्गको लागि सहज छैन कि भन्ने कुराहरू पनि आए । हुन पनि बिगतको सदस्यहरू को डाटाबेसमा ठूलो संख्यामा इमेल बाउन्स हुने गरेको पाइएको थियो । तर यो पटक त्यो भनेर पन्छिन मिल्ने अबस्था छैन किनकि यो पटकको सदस्य डाटाबेस एकदम सहज छ र नयाँ ९फ्रेश० छ । यस पटक सबैले आफ्ना सम्पूर्ण विवरणहरू दुरस्त हालेर सदस्य बनेका छन् । सेक्युरिटीको सन्दर्भमा पनि फोन इमेल दुबैको मिश्रण छ । सदस्य बन्नका लागि रजिस्ट्रेसन गर्दैमा मोबाइल फोनमा कोड आएर सोहि कोड प्रमाणित भए पछि सदस्य बन्ने प्रकृयाले पनि अनलाइन भोटिङ्गलाई यसै को पुनः उपयोग गरेर गर्न सकिने ठाउँ देखिन्छ । हुन त यसमा यस बिषयमा दक्ष प्राबिधिकहरू ले यसलाई थप पुष्टि गर्दै निर्बाचन प्रक्रियामा कसरि जाने भनेर सुझाउने नै छन् । तै पनि अनलाइन भोटिङ्ग लिंकमा गए पश्चात उक्त व्यक्तिले अनलाइन मतपत्रको लागि सोहि पोर्टलबाट कोड अनुरोध गर्ने, आफ्नो मोबाइलमा कोड प्राप्त गरिसके पछि सोहि कोडलाई प्रमाणीकरण गरेर मत पत्र खुल्ने र भोटिङ्ग गर्ने, क्लाउड बेसमा मतको परिणाम स्टोरेज हुने प्रबिधि आप्नाउने हो भने यो खर्चको हिसाब समय र अन्य झन्झटिलोको हिसाबले पनि निक्कै सहज पक्कै हुनेछ ।
त्यसैले एनआरएनको बर्तमान कार्यसमिति, निर्बाचनमा सहभागी हुने सबै उम्मेदवारहरू ले यस पटकको निर्बाचन अनलाइनबाट, घरै बसेर वा आ–आफ्नो स्मार्ट फोनबाट समेत भोट हाल्न मिल्ने गरि गर्न गराउन अब बन्ने निर्बाचन कमिटिलाई सर्बसम्मत अनुरोध गरोस् । एनआरएनए भित्रैबाट यस्तो कुरामा प्राबिधिक रुपले सम्पूर्ण रुपमा सहयोग गर्न सक्ने जन शक्ति हामी संगै अष्ट्रेलियामा छन् होला नत्र पनि अन्य देशका एनआरएनएहरू बाट यो प्राबिधिक सहयोग हामी अबस्य लिन सक्नेछौ । यसले बिश्व एनआरएनए संजाल मै अष्ट्रेलियाबाट सकारात्मक र प्रबिधि मैत्री सन्देश जानेछ । र एकपटक एनआरएनएको नेतृत्वका लागि इच्छुक सबैलाई शुभकामना । समय संगै हामी सबै चल्न सकौ हामी सबैलाई शुभकामना !