एनआरएनए हामी सबैको साझा र सबल हुनु पर्दछ

-- डा. ज्ञानेन्द्र रेग्मी  / प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६
एकपल्टको नेपाली संधैको नेपाली भन्ने मूलमन्त्र सहित विश्वभर छरिएर रहेका गैर आवसिय नेपालीहरु लाई एउटै छातामा सङठित गरी राख्न गठन भएको गैर आवासिय नेपाली संघ आज संसारको ८० राष्ट्रमा गठन भईसकेको छ । बिदेशमा छरिएर रहेका गैर आवसिय नेपालीहरुलाई दोहोरो नागरिकता दिनुपर्छ भन्ने प्रमुख उद्देश्य र माग राखेर गठन भएको यस संस्था नेपालमा पर्यटन, प्रबर्धन र सामुहिक लगानी भित्र्याएर देश विकासमा टेवा पुर्याउन पनि कटिबद्द छ । यिनै तीनवटा मुद्दालाई प्रमुख मुद्दा बनाएर अगाडि बढी रहेको एनआरएनए अभियान कै हिस्सा बनेर एनआरएनए अष्ट्रेलियाले बिश्व संजालमा आफ्नो पृथक उचाइ सदैब कायम गर्दै आइरहेको छ ।
एनआरएनए अष्ट्रेलियाको यस  प्रतिबद्दतामा आफूले सकेको सक्दो सहयोग गरौ भन्ने भावना र यसमा सबैको अपनत्वको आभाष गराउदै संस्था सबैको साझा र सबल हुनु पर्ने यहाँको धेरैको आबाजमा आफ्नो आबाज पनि एकाकार गर्दै आफू बिगत एक दशक देखि एनआरएनए अष्ट्रेलियासँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागी रहँदै आएको छु र भबिष्यमा पनि यसको संस्थागत सुधार गर्न आफूले सक्दो सहयोग गर्ने नै छु ।  सन् २०१५–१७ मा आइसीसीको विधान समितिको सदस्य र १५–१७ मा एनआरएनए अष्ट्रेलियाको प्रवक्ताका रुपमा काम गरेको अनुभवका आधारमा एनआरएनए अष्ट्रेलियालाई अझ नजिकबाट चिन्ने अबसर प्राप्त भयो ।  एनआरएनए अष्ट्रेलिया आज बिश्व संजाल मै सबै भन्दा ठूलो एनसिसिको रुपमा दरिदै गर्दा संस्थामा सबै क्षेत्रका व्यक्तिहरु समाबेश हुन् भन्ने धेरै बौद्दिक र एनआरएनएलाई माया गर्ने साथिहरुको भावानालाई कदर गर्दै आउँदो कार्यसमितिमा आफू संस्थाको नीति निर्माण कै पदमा रहेर काम गर्ने विचारले यति बेला महासचिब पदमा रहेर काम गर्न ईच्छुक रहेको पनि म यहाँ अबगत गराउन चाहन्छु ।  जस अनुसार आउँदो जुलाई ६ मा हुँदै गरेको निर्वाचन प्रकृयामा आफ्नो उमेद्वारी पेश गर्दैछु । आफ्नो उमेद्वारी संगै एनआरएनए अभियानमा टाढा रहेका बौद्धिक साथीहरुलाई पनि अबको एनआरएनए अष्ट्रेलिया सबैको साझा र सबलको आभास मिल्ने गरि संस्थामा आबद्द गराउने मेरो अर्को अभियान हुनेछ ।
पेशागत हिसाबले जलस्रोत इञ्जिनियरको हैसियतले नेपाल र अष्ट्रेलियन सरकारको विभिन्न निकायमा काम गर्ने अवसर पाएकोले संस्थालाई मेरो कार्यकालमा दैनिक प्रशासन सञ्चालनदेखि नेपाल र अष्ट्रेलियन सरकारी तहमा गैर आवासिय नेपालीको हितमा योजना ल्याउन लबिङ गर्न सक्ने संस्थाको रुपमा अघि बढाउने धेरै योजनाहरु यति बेला म सँग छन् । त्यसका लागि शैक्षिक रुपमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई समेटेर थिंक टयान्क टास्क फोर्स (नेपाल अष्ट्रेलिया पोलिसी फाउण्डेशन ) बनाउने  योजना मैले समकक्षी साथीहरु संग ब्रेनस्ट्रोमिङ्ग थाली सकेको छु । यसरी बनेको फाउन्डेसन सरकारी तहमा नीति र योजना तर्जुमाका लागि अध्ययन र सुझाब दिन सकोस् ।
एनआरएनए अष्ट्रेलिया बिश्व संजालमा सबै भन्दा ठूलो एनसीसी भन्दै गर्दा पनि हामीले यहाँको जनसंख्याको सानो हिस्सा मात्र एनआरएनएमा आबद्द गराउन सकेका छौ । त्यसैले पनि आगामी दुई वर्ष भित्र सदस्यता संख्यालाई २५ हजारको हाराहारीमा पुर्याउनु पर्दछ भन्ने मेरो भित्रि सोच छ ।  यसरी सदस्य बढ्दै गर्दा संख्या मात्र थपिदैन यसले एनआरएनए अभियानको महत्व बढाउँदै नयाँ विचार, नयाँ जोश–जाँगर सहितका हजारौ भिन्न योजना र सोचलाई पनि गोलबद्ध गर्नेछ ।  जुन साझा र सबल एनआरएनए बनाउन महत्वपूर्ण कडी हुने बिश्वास सहित मैले सुरुका दिनदेखि नै यसलाई अभियानको रुपमा अगाडि बढाउने छु । यसका लागि खासगरी भ्याल्यु एडेड मेम्बरशिप ड्राइभ योजनाका लागि मैले साथीहरुसंग अनपौचारक छलफल गरिसकेको छु, जसमा धेरैको सकारात्मक सुझाबले मलाई झन् ठूलोआत्मबल बढिरहेको छ ।
सदस्यताको महत्व जनस्तरबाट नै झल्काउनका लागि नेपालीले अत्याधिक दैनिक प्रयोजनका बस्तुहरुमा खर्च गर्ने कोल्स र उलवोर्थ  जस्ता कर्पोटरहरुसँग राम्रो प्रोपोजल लिएर जान सकेमा एनआरएनएको सदस्यता देखाएर केहि निश्चित प्रतिशत छुट पाउने व्यवस्था गर्ने त्यति कठिन नहुने हुदाँ त्यसका लागि लबिङ गर्ने पनि मैले योजना बनाएको छु । यी र यस्तै खाले योजनाहरु ले सदस्यता अभियान स्वतःस्फूर्त बढ्नेछ र निर्वाचनको बेलामा मात्र सदस्यता बन्ने र यसरी सदस्यता बन्ने क्रममा उठ्ने धेरै प्रश्नहरु पनि आफै समाप्त हुनेछ ।
सिड्नी र मेलर्वनमा एनआरएनएले बनाउन लागेको सामुदायिक भवन सेन्टरका लागि हाम्रो लगानी बढाउनेदेखि अष्ट्रेलियन सरकारलाई आवश्यक बजेट विनीयोजनका लागि उच्च तहमा छलफल र नीतिगत निर्णय गराउने वातावरणका लागि अघि बढाउन सकिने थुप्रै आधारहरु मैले देखेको छु । एनआरएनएले सबै समुदाय, क्षेत्र र वर्गका नेपाली समुदायको नेतृत्व गर्छ भन्ने भावना अभिबृद्धिका लागि हरेक स्टेटमा त्यहाँ क्रियाशिल क्लब, संघसंस्था र विद्यार्थीहरु हातेमालो गरेर सामाजिक कार्यहरु अघि बढाउन पनि सबै राज्य समितिहरु एउटा नयाँ जोश जाँगर सहित अगाडि बढ्नु पर्ने कुरालाई पनि मैले अबको कार्यकालको आफ्ना एजेन्डामा समाबेस गरेको छु ।
अर्कोतिर प्रवासमा हुर्कदै गएको दोश्रो पुस्तालाई नेपाली कला, सँस्कृति, परम्परासँग जोड्न एकदमै आवश्यक छ, त्यसका लागि ‘नेपाल जोडौँ’ अभियान थाल्ने जस अन्तर्गत १२ कक्षा सकेर बसेका र युनिभर्सिटी जाने तयारी गरेका विद्यार्थीहरुका लागि सीपमूलक र सचेतनामूलक कार्यक्रमहरु  सञ्चालन गर्ने साथै जन्मभूमिप्रति आत्मियता बढाउन उनिहरुलाई कम्तिमा १ महिना आफ्नो गाउँ या आफूलाई मन परेको ठाउँमा गएर आफ्नो अनुभब तथा ज्ञान सिकाउन तथा साट्न अभिप्रेरित गर्ने कुरामा पनि अबको एनआरएनएमा मेरो सक्रिय सहभागिता हुनेछ ।
धेरै भन्दा बरु थोरै तर गुणात्मक कार्यक्रम लिएर संस्थागत सुधार, आर्थिक पारदर्शिता अनि समुदाय सँग हातेमालो गर्दै यस संस्थालाई परिमार्जन गरी हामी सबैको साझा एनआरएनए अनि सबल एनआरएनए बनाउन हामी सबैले आ–आफ्नो अनुभब तथा ज्ञानलाई जोड्न सकियो भने संस्था आँफै सबल हुनेछ ।  त्यो अभियानका लागि आफ्नो सीप र समय खर्च गर्ने प्रतिबद्दता सहित आउँदो कार्यसमितिमा महासचिब पदको मेरो उम्मेदवारीलाई अष्ट्रेलियाबासी एनआरएनएका सम्पूर्ण सदस्यहरुले अनुमोदन गर्ने बिश्वास लिएको छु ।
(लेखक पेशाले सिभिल इञ्जिनियरिङ्ग र वाटर रिसोर्सेजमा बिद्याबरिधि हुनुहुन्छ)