एनआरएनएमा महिलाको सहभागिता

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार ९, २०७६

यतिखेर अष्ट्रेलिया एनआरएनएको चुनावी माहोलले तातेको छ । गैर आवसीय नेपालीहरु यतिखेर आफ्नो चुनाव प्रचार प्रसारमा लागिरहेका छन् । गैर आवसीय नेपालीहरुको यस संस्थाले स्थापनाकालको करिब डेढ दशकसम्म आईपुग्दा विभिन्न उतारचढावको सामना गरेको छ ।
‘एकपटकको नेपाली संधैको नेपाली’ भन्ने नाराको साथमा यस संस्था अघि बढिरहेको छ । यसपटकको गैर आवसीय नेपाली संघ अष्ट्रेलियाकाे चुनावमा ‘राज्य महिला समन्वयक’को निम्ति मेघा सिङ्ग शर्माले आफ्नाे उमेदबारी घाेषणा गरेकी छन् । उनकाे उमेदबारी के का लागि उनकै शब्दमा :

यसपटकको गैर आवसीय नेपाली संघ अष्ट्रेलियाकाे चुनावमा मैले ‘राज्य महिला समन्वयक’को निम्ति आफ्नो उम्मेदवारी दिएकी छु । मैले यदि गैर आवसीय नेपाली संस्थाको राज्य महिला समन्वयकको रुपमा आफ्नो पहिचान बनाउन सकें भने म महिलाको हक र हितका लागि लड्नेछु । मलाई लाग्छ गैर आवसीय नेपाली संस्थामा जति आवश्यक पुरुषको छ त्यति नै महिलाको पनि छ । यो एक्काईसौं शताब्दीमा महिलाहरु घरको काममा मात्रै सिमित हुनुहुन्न भन्ने मेरो मान्यता छ । अबको पालो महिलाको आएको छ । हरेक महिलाले आ–आफ्नो स्थानबाट यस एनआरएनएको चुनावमा उठेर आफ्नो कार्य सफलतापूर्वक सम्पन्न गर्ने बेला आएको छ ।
एनआरएनएलाई बुझ्नकोलागि यसले गरेको कार्य र यसको ईतिहास बुझ्न जरुरी छ । एनआरएनको स्थापनाले विदेशिन बाध्य भएका नेपालीहरुलाई एउटै छातामुनी ओगट्ने प्रयास गरेको छ । नेपालमा बस्ने साधारण नेपालीहरुको मानसिकतामा एनआरएनए भनेको विदेशमा बस्ने सम्पन्न व्यक्ति हुन् भन्ने मान्यता पनि रहेको छ । तर एनआरएनएहरुको योगदान के कस्तो छ भन्ने पनि बुझ्न अत्यन्तै जरुरी देखिन्छ ।
म विगत १२ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आईरहेकी छु भने ब्रिसबेनमा डेढ वर्षदेखि बसोबास गरिरहेकी छु । यो डेढ वर्षमा मैले संधै अष्ट्रेलियाको लागि केही गर्ने सोच बनाएँ तर त्यसको लागि मैले संधै उचित प्लेटफर्म खोजिरहेकी थिएँ । अहिले आएर मेरो सपना पूरा हुन लागेको आभास मलाई भईरहेको छ । त्यसको लागि मलाई पूर्णरुपमा तपाईको साथ र सहयोग चाहिएको छ ।
प्रवासमा जीवन खासै सहज छैन । हामी वर्षौदेखि यहाँँ संघर्षरत छौं । व्यस्त समयको बाबजुद पनि यसपटक जुलाई छ मा हुन गईरहेको एनआरएन चुनावमा मैले क्वीन्सल्याण्डको तर्फबाट स्टेट वुमन को–अर्डिनेटर (राज्य महिला समन्वयक)को रुपमा उम्मेदवारी दिने निर्णय गरेर यसमा सहभागी भएकी छु । यदि यसपटक मैले राज्य महिला समन्वयककोे रुपमा जीतें भने मैले गर्ने कार्यहरु थुप्रै छन् । जसको लागि म धेरै अगाडिदेखि तयारी रुपमा बसिरहेकी छु ।
महिला हिंसा नेपालको मात्रै नभई अष्ट्रेलियाको पनि समस्या हो । यहाँका महिलाहरुपनि कतै न कतै यो समस्याले ग्रसित छन् । राज्य महिला समन्वयकको रुपमा यदि मैल जीत हासिल गरेर आफ्नो स्थान बनाउन सकेंभने सबैभन्दा पहिला हिंसामा परेका महिलाहरुलाई कुनै संस्थासंग आवद्ध रहेर सहयोग गर्नेछु । महिलाको नेतृत्व विकासको लागि म पहल गर्नेछु । किनभने जबसम्म महिलाले नेतृत्व गर्न सक्दिनन् तबसम्म विकास सम्भव छैन । त्यसैगरी म अब आउने नयाँ पुस्ताहरुकोलागि सहज वातावरणको श्रृजना गर्नेछु । यस क्षेत्रमा म आफ्नो सक्दो योगदान दिनेछु ।
अब महिलाहरु कमजोर छैनन् । आफ्नो हक र हितको लागि लड्न संधैं तयार छन् उनीहरु । तर्सथ यो चुनावमा पनि महिलाहरुको जीत हुनु अत्यन्तै आवश्यक छ । महिलाको जीतसंगै अष्ट्रेलियाको विकास हुने मैले देखेकी छु ।
पेशाले म सोनोग्राफर भएपनि एनआरएनमा म सधैं अग्रसर रहने छु । अहिले मात्रै हैन संधै जनताको लागि सघंर्ष गर्नेछु । विशेषगरी नेपाली महिलाहरुकोनिम्ति आवाज उठाएर उनीहरुलाई सुरक्षित वातावरणको सृजना गरिदिनु मेरो मूख्य उदेश्य रहेको छ ।
एनआरएनएलाई साझा र सबल बनाउनु हामी सबै प्रवासमा बस्ने नेपालीहरुको कर्तव्य हो । हामी हाम्रो कर्तव्यबाट बिमुख हुनुहुदैंन । एनआरएनले प्रवासमा हुर्कदै गएको पछिल्लो पुस्तालाई पनि नेपालको कला संस्कृतिसंग आवद्ध रहन एनआरएनको ठूलो भूमिका रहेको मेरो धारणा छ ।
मेरो यो एनआरएनको यात्रामा सम्पूर्ण अष्ट्रेलियाबासी नेपाली दिदिबहिनी र दाजुभाइको सहयोग रहने विश्वास लिएकी छु ।