लण्डनमा नेपाली चिया महोत्सव

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, भदौ ९, २०७६

नेपाली दूतावास लन्डनमा नेपाल विकास सम्मेलन–८ तथा नेपाली चिया महोत्सव आयोजना गरिएको छ । ‘ब्रिटेन इन नेपाल एनजीओज’ (ब्रांगो) सँगको सहकार्यमा नेपाली दूतावासले उक्त कार्यक्रम आयोजना कार्यक्रम गरेको हो । कार्यक्रममा नेपालको विकासका लागि बेलायती कल्याणकारी संस्थाहरुलाई प्रोत्साहन विषयमा विभिन्न प्रस्तुतिहरु गरिएका थिए । सहभागीहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल तथा बेलायतबीच जनस्तरको सम्बन्ध बलियो बनाउन बेलायत गैरसरकारी संस्थाहरुले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरे । उनले गत महिना प्रधानमन्त्री केपी ओलीको बेलायत भ्रमण निकै सफल र उपलब्धिपूर्ण रहेको दावी गरे । उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न ब्रिटिस कल्याणकारी संस्थाहरुलाई आग्रह पनि गरे । कार्यक्रमको दोस्रो चरणमा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले नेपाली चियाका बारेमा प्रस्तुति गरेका थिए । उनले नेपाली चियाको गुणस्तर विश्वस्तरको रहेको भन्दै नेपाली चिया पीउन सबैलाई आग्रह पनि गरेका थिए ।