लण्डनका बसमा नेपाल प्रवद्र्धन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, भदौ ९, २०७६

विश्वमाझ लण्डनको चिनारी बनेका लन्डनका राता बसहरु यतिबेला नेपालको पर्यटन प्रवद्र्धनका सामग्रीसहित गुडिरहेका छन् । नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धनको लक्ष्यसहित राता बसका भित्ताहरुमा नेपाल लाइफटाइम एक्सपेरियन्सका पोस्टरहरु टाँसिएका छन् । लण्डन सहरका विभिन्न २ दर्जन रुटमा चल्ने करिब ५० बसहरुमा ती पोस्टरहरु लगाइएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । जसमध्ये मध्य लण्डनका पार्लियामेन्ट स्क्वायर, वेस्टमिनिस्टर, ट्राफल्गर स्क्वायर, केन्सिङटन हाई स्ट्रिट, सेन्ट पल्स लगायतका महत्वपूर्ण क्षेत्रहरु हुँदै गुड्ने बसहरु पनि छन् । गत जुलाई १८ का दिनदेखि दुई सातासम्म चलेको उक्त अभियानले करिब ४५ लाख बेलायतीहरुमाझ नेपाल भ्रमणको सन्देश पुर्‍याउने अपेक्षा गरिएको छ । लण्डनमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरुको प्रचारको लागि समेत त्यहाँका राता बसहरु प्रभावकारी माध्यमका रुपमा रोजाइमा पर्ने गरेका छन् । लण्डन दूतावासले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनकै सिलसिलामा लण्डनका राता बसहरुमा प्रचारमूलक पोस्टरहरु राखिएको बताएको छ । यसअघि लन्डनको लर्ड्स क्रिकेट ग्राउण्ड नजिकैको सेन्ट जोन्स उड अन्डरग्राउण्ड रेल स्टेसनमा पनि नेपाल भ्रमण वर्षको यस्ता पोस्टरहरु राखिएको थियो ।