सभामुखमा सापकोटा निर्विरोध निर्वाचित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, माघ १३, २०७६

काठमाडौं- प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए ।

नेम्वाङको प्रस्ताव नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी  (राजपा) कासांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

सभामुखका उम्मेदवार अग्नि सापकोटा नेकपाको स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन् । सापकोटासँग १५ वर्षको शिक्षण अनुभव र शिक्षक आन्दोलनको अनुभव छ । १० वर्षे जनयुद्धमा नेतृत्वको वरिपरि रहेर खेलेको भुमिका अनि ०६२ र ०६३ को जनआन्दोलनमा काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेको र शान्ति प्रक्रियापछि दुईपटक मन्त्री बनेको अनुभव पनि सापकोटासँग छ ।
सिन्धुपाल्चोकको कुभिन्डेमा २०१६ साल फागुन २४ गते जन्मिएका सापकोटा राजनीतिमा आउनुअघि शिक्षक थिए । सभामुख महरा बलात्कार प्रयासको आरोपमा जेल गएपछि सापकोटाले सभामुख बन्ने अवसर पाएका हुन् ।