अष्ट्रेलियन कलेजमा मेरो पहिलो दिन

डार्लिंङ्ग हार्बरले मलाई जित्यो कि मैले उसलाई जितें पत्तै  भएन !
-- रबिना लम्साल / प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६, २०७६

साइन्समा प्लस 2  सकेर उच्च शिक्षाको ब्यग्र पर्खाइमा भौतारिएकी म, अन्तत मेरो गन्तब्य अष्ट्रेलिया बन्यो  । बिगतमा, परिवारका थुप्रै अग्रजहरु उच्च शिक्षाका लागि अष्ट्रेलियामा रहँदै गर्दा त्यसले मलाई  खासै आकर्षण गर्न सकेको थिएन  । नेपाल मै कानुन बिषयमा गहन अध्यन गरि भबिष्यमा महिला हक सम्बन्धि कानूनी व्यवसायमा संलग्न हुने उत्कट चाहना म मा पहिलेदेखि नै थियो  ।

तर मानिसले संधै सोचे जस्तो हुने रहेनछ  । बिगत केहि महिनादेखि मलाई अष्ट्रेलियाको के ले आकर्षण गर्यो थाहा छैन  । बोन्डाईको  छाल जस्तै मेरो मनमा पनि उतार चढाव आए जस्तो हुन थाल्यो  । हार्बर ब्रिज र अपेरा हाउसको आकर्षण र यस  छेउको कन्चन निलो दहले मलाई शालिन बनेरै मेरो मन जित्यो, डार्लिंग हाबरले  मलाई जिस्क्यायो ।  सोच्दै छु, डार्लिंग हार्बरले मलाई जित्यो  कि मैले उसलाई जिते पत्तै  भएन  ।

अन्ततः उच्च शिक्षा अध्ययन गर्ने भनौ या जीबनको परिभाषाको अझ गहिराइसम्म पुग्न, यसलाई बुझ्न, जुध्न र सामना गर्न  मेरो रोजाईमा अष्ट्रेलिया नै पर्यो  । तदनुरूप सबै प्रक्रियाहरु पूरा गरि आज दैनिक करिब १५००  नेपाली  “एक्सोडस” को भडीमा एउटा हरियो पासपोर्ट समातेर म एक आम नेपाली त्यहि लार्इनमा उभिन पुगें  ।

फेब्रुअरीको अन्तिम हप्तामा मेरो कलेजको ओरिएन्टेशन थियो त्यसैले केहि दिन अगाडि नै म अष्ट्रेलियाको सिड्नी ओर्लिएकी थिएँ । भूगोल, राजनीति, समाज, आर्थिक सम्पन्नताका दृष्टिकोणले आकाश जमिन को फरक देखिने दुर्इ देश नेपाल र अष्ट्रेलियालार्इ दाजेर हेर्दा आफूलाई थुप्रै समय बाक्य हिन पाएँ  । तर मलाई यहाँको कुनै पनि “आहा” लोभ्याएको भने छैन बरु यहाँको सम्वृद्धिलार्इ  थुप्रै संवेग सहित हेर्दै गए .. यहाँ के छ र हामी संग के छैन …किन हामी माथि उठ्न सकिएन ? हामीले के गर्न सक्छौ भन्ने कौतुहलता धेरै भन्दा धेरै र छिटो भन्दा छिटो सिक्ने हूट हूटी मेरो मन मश्तिष्क मा जाग्दै गयो  ।  किन्चित लोभ लागेन बरु नेपालमा यती धेरै परिबर्तन गराउनुछ भन्ने आँट बढेर आउन थाल्यो ।

अनि आज मेरो कलेजको पहिलो दिन :

बिहानै ८ बजे सुरु हुने ओरिएन्टेशनका लागि करिब ६ बजेदेखि नै तयारी गर्नु पर्ने हुनाले हिजो लगाएको अलार्मले सबेरै टासियको परेली बिस्तारै छुटिदै थिए,  नेपालमा मम्मीले माया गरि हुर्काएकी कान्छी छोरी हो नि त, अलार्म बन्द गरेर फेरि निदाएको पत्तो पाइन, प्रबिधिले मलाई छोडेन र फेरि फोन कराएछ, अनि सुखी पाइन  । यति बेला चै दिमागले ढिलो हुन लागेको चेतावनी दियो, आखिभै उचाल्दै शरीर तन्काएर उठें । कपडा लगाएर निस्कदा ६ः३० भइसकेको रहेछ  । अन्टिले ब्रेकफास्ट गरेर जाउ भन्दै हुनुहुन्थ्यो तर मलाई धेरै ढिलो भइसकेको थियो एउटा स्याउ ओठमा च्यापेर निस्के  ।  म घरबाट बस स्टेशनसम्म जुन रफतारमा गएकी थिएँ, यस्तो लग्यो कि त्यसरि जीवनको यात्रामा हिडेकी भए मलाई कसैले जित्दैन थियो होला सायद  ।

स्याँ स्याँ गर्दै स्टेशन पुग्दै थिएँ, नयाँ न हो ट्रेन छाड्ने ठाउँ फेला पार्न नै मुस्किल ! पछि एकछिनको प्रयास पछि ब्ल्याकटाउनदेखि कलेज भएको ठाउँ नर्थ सिड्नीको ट्रेन चड्न सफल भए ।

सायद त्यो मेरो जीबनको एक यादगार यात्रा होला त्यो ४५ मिनेटको समयमा हजारौं प्रश्न मनमा लुकमारी खेलेका थिए,  नयाँ ठाउँ, नयाँ परिवेश  के होला कसो होला भन्ने कुराको हिचकिच थियो  ।  तर सामना त गर्नु नै थियो । नर्थ सिड्नी स्टेशन उत्रेपछि छोटो पैदल यात्रा गर्दै ए सि यु पुगे  ।

मैले गत हप्ता ओरिएन्टेशन  मै सलिना नाम गरेकी साथी बनाएकी थिएँ उनीपनि कलेज आइसकेकी रहिछन् । हामी दुवै जना आफ्नो क्लास खोज्न गयाैं तर पत्ता लगाउन अत्यन्त गारो पर्यो.. हामी जस्तो धेरै नेपाली विद्यार्थी हुनुहुन्थ्यो सायद सलिना र म नेपाली बोलेको सुनेर होला हरेक २,३ मिनेटको अन्तरमा १ नेपाली आएर “संगै खोजौ न, म पनि त्यही क्लास खोजेको” भन्नुहुन्थ्यो । यहा त जो नेपाली भेट भएपनि आफ्नै जस्तो  लाग्दो रहेछ । क्लासमा पुग्दा २० मिनेट ढिलो भैसकेको थियो तर सुरु दिन भएर होला ढिलो भएतापनि हामीले माफी पायौं ।

४० मिनेटको क्लास पढ्दा अल्छि लाग्ने मलाई यहा ३ घण्टासम्म  एउटै  बिषय पढ्दापनि अल्छि लागेन । जिन्दगी यो उत्साहहजनक यात्रामा मलाई केहि जान्ने र सिक्ने हूटी हुटि रहिरह्यो  । ओरिएन्टेशनदेखि पहिलो क्लाससम्म आइपुदा अष्ट्रेलियाको एजुकेसन सिस्टमबाट म धेरै प्रभावित भए । मानव स्वभाव नै हो हामी एक ठाउँबाट अर्को  ठाउँमा जादा थुप्रै अपेक्षाहरु राखेका हुन्छौ  । त्यस्तै मेरो पनि थुप्रै अपेक्षा र अभिलाषाहरु थिए  ।  तर मैले सोचे भन्दा धेरै पाएको अनुभव गरेकी छु । मलाई आत्मविश्वास छ म गन्तब्यमा पुग्ने छु ।

बिरुवालाई रुख हुनको लागि जमिन छोड्नै पर्छ तर पनि जरा सधै जमिनमा नै हुन्छ  ।  जुन दिन रुखको जराले जमिन छोड्छ  त्यो दिन त्यो रुखको अस्तित्व समाप्त हुन्छ । विविध परिवेशमा मेरो भौतिक शरीर अष्ट्रेलियामा भएपनि, म अष्ट्रेलियामा रहेपनि मेरो मन रुपी जरा नेपाली मातृभूमिमा नै गाडेको छु र गडी नै रहेनेछ ।