गद्य कविता : आभाष

-- उत्तम विचार / प्रकाशित मिति : बुधबार, बैशाख २४, २०७७
बादलको मैलो निख्रिए जस्तो छ
धोई पखाली सुकाए जस्तो
चम्किलो देखिदैछ घाम
सहर वरिपरि जीवन्त बनेर
उभिएका डाँडाहरू
दारी जुँगा फालेर चिटिक्क
परेको नौ जवान जस्तो
सुकोमल देखिदैछन्
क्रिम पाउडर घस्नुमा मात्र
हुँदो रहेनछ सौँदर्य
जति पखालिनुमा हुन्छ सुन्दरता !

धुवाँ धुलो पखालेर
कोरि बाटी चिटिक्क परेकी
सोह्र बर्षे यौवना भएको छ सहर
चराहरू वेपर्वाह गाईरहेछन्
मुट्ठी सासको चिन्ता हुन्न अचेल
सिङ्गो वायुमण्डल नै
अक्सिजनको सिलिन्डर भएझैं
आभाष हुन्छ यतिबेला !
साँच्चै केही गुमाउनुमै हुँदोरहेछ
केही पाउनुको सुखद अनुभूति
कोरोनाको भय त्रास र क्षतिमा
वातावरणमा पुगेको यो
सकारात्मक एवम प्रत्यक्ष लाभ
यसैको ज्वलन्त उदाहरण हो ।

लाग्छ देवताहरू बस्दैनन् मन्दिर
मस्जिद अनि चर्चहरूमा
घुम्न निस्कन्छन् शिवजी
शिवपुरीको जङ्गल वरिपरि
वन विहार गर्दै भेटिन्छन्
आफ्नै अर्धाङ्गिनी पार्वती सँग !
नागार्जुन घुम्न निस्किए होलान्
बिस्णु लक्ष्मीका साथ
फुलचोकीको डाँडो उक्लदै हुलान्
गोदावरी आसपासका
देवि देवताहरू !
केवलकार ग्यारेजमै थन्क्याएर
चन्द्रागिरी घुम्न निस्किए होलान्
भालेश्वर महादेव
अर्थात भनौं ती सबै सबै
जस्लाई लक डाउनको
नियम बाध्यकारी नहोस् !

टाढा टाढा दौडिन्छन् अँखाहरू
निस्चल छन् कोशी कर्णाली
मस्त ओग्राई रहेछन् कोशी टप्पुमा
झारल घोरल र अर्नाहरू
मन बाहिरी दुनियाँसम्म पुग्छ
शान्त देखिन्छ अमेजन
देखिन्न आगोको त्रास
अस्ट्रेलियन प्रायद्विपमा
कन्चन बगिरहेछ नाईल
र पनि सबैको सन्देश
एकै भेटिए कि
संसारले कोरोनाको त्रासबाट
जतिसक्दो छिटो
उन्मुक्ति पाउनुपर्छ ।