कोभिड कहरको अध्याँरो हट्दै

-- सम्पादकीय नोभेम्बर २०२१, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७८

आफ्नो जीवनकालमा फेरि यस्तो बेहोर्नु नपरोस् भन्ने कामना गर्नु र बितेका करिब दुई वर्षका ती आफ्ठ्यारा स्थितिहरु लाई एक पटक समीक्षा गर्नु नै यति बेला हामी सबैको लागि कोभिड कहर पछाडिको सुखद क्षण हो । यी हरफहरु लेख्दै गर्दा र पढ्दै गर्दा हामी सबैले आफूलाई भाग्यमानी सम्झनु पर्छ । किनकि कम्तिमा हामीले त्यो प्रलयलाई व्यक्तिगत रुपमा जितेका छौं । त्यसो भन्दै गर्दा हामी मध्ये कतिले परिवारजन साथीभाइ नातागोता र प्रियजनहरु गुमायौं । ती सबैको स्मरण गर्दै आफ्नो जीवनरुपी संघर्ष पुनः अगाडि बढाउनु नै हामी सबैको अबको दायित्व र कर्तब्य हो ।

बितेका २ वर्ष धेरै मानेमा सबैका लागि अनिर्णयीत कहर बन्यो, हेर्दा दुई वर्ष देखियो तर यसले धेरै ठाउँमा क्षय गरेको छ, आर्थिक र सामजिक पाटोमा वर्षौको खाडल बनाएको छ । यसो भन्दै गर्दा पनि कोभिड पूर्ण रुपमा साम्य भएको छैन । यो संग अभ्यस्त हुँदै, कोभिड बिरुद्दको खोपले प्रतिरोध शक्ति बढाउँदै अगाडि बढेका छन् बिकसित राष्ट्रहरु र त्यसैलाई पछ्याउँदै छन् अन्य राष्ट्रहरु पनि । खोपको कुरा गर्दै गर्दा नेपाल सरकारले पहल गरिरहेको भए पनि अन्य राष्ट्रबाट सहयोग र सहुलियतमा निर्भर हुनु पर्ने भएका कारण खोपले ब्यापकता नपाएको देखिन्छ । २०१९ डिसेम्बरमा पहिलो पटक देखिएको कोभिड बिरुद्दको खोप एक वर्ष बित्दा नबित्दै केहि राष्ट्रहरुले बनाए । जो राष्ट्रहरुले बनाए पक्कै पनि सुरुको उपयोग पनि तिनैले गरे र आज अमेरिका अष्ट्रेलिया जापन लगाएत युरोपका देशमा धेरैले खोप लगाई सकेका छन् । जसले गर्दा त्यहाँ कोरोना संक्रमणको दर निकै घटेको छ, आर्थिक, सामाजिक गतिविधि बढेका छन् र मानिसको जीवन सहज हुन थालेको छ । बिकसित राष्ट्रहरु मा पनि कतै १२ वर्ष माथि र कतै १६ वर्ष माथिका को लागि मात्र खोप दिइरहेको स्थितिमा हाल २ वर्ष माथिका बच्चाहरु मा समेत कोभिडको प्रकोप देखिए संगै खोपको दायर साना उमेर समूहको लागि पनि लक्षित गरि सोहि अनुसार अनुसन्धान र निर्माण गर्नु अबको आबश्यकता देखिन्छ ।

एकादेशको कथा जस्तै लाग्ने यो महामारीले बिश्वलाई नै असर गर्दै गर्दा नेपाल जस्तो हाम्रो देशलाई गरेको असर भिन्न रह्यो । बिकसित देशहरु मा त्यहाँको सरकारले गर्ने सपोर्टले नागरिकहरु लाई धेरै भन्दा धेरै रहात मिल्यो । तर नेपालमा बैदेशिक रोजगारीमा जाने ठूलो संख्या, उच्चशिक्षाको लागि बिकसित देशहरु जाने उतै परिश्रम गर्दै अध्ययन पूरा गर्ने ठूलो विद्यार्थीको समूह र देश भित्रै सानो ठूलो व्यापार गर्नेहरु को मार आदि बिभिन्न समस्याहरु बीच नेपालको सामाजिक आर्थिक सबै कुराको मार यो कहरमा पर्न गयो र यी कुराहरु लाई जनस्तरसम्म पुगेर नेपाल सरकारले जनताको लागि खासै सहयोगीको भूमिका निर्बाह गर्न सकेन । त्यसैले पनि खोपको सहजता संगै अब बैदेशिक रोजगार, बैदेशिक अध्ययन र देश भित्रै पनि आन्तरिक पर्यटन र व्यापार व्यवसाय बढ्दै गर्दा जनजीवन सहज बन्दै जाने बिश्वासमा धेरै नेपालीहरु छन् ।
जसरि बिश्वका बिकसित राष्ट्रहरु को ध्यान धेरै भन्दा धेरैलाई खोप लगाउने र अन्य स्वास्थ मापदण्डहरु निरन्तरता दिदै जाने रहेको छ जसमा उनीहरु निक्कै सफल पनि छन् । नेपालले पनि आफ्ना सम्पूर्ण नागरिकलाई खोप लगाउन उच्च सरकारी संयन्त्र बनाउने, केन्द्र र प्रान्तीय सरकारमा खोप भण्डारण जस्ता कुराहरु यथाशक्य बनाउने, बैदेशिक रोजगार र अध्ययनको लागि जाने देशहरु ले मान्यता दिएका खोपहरु सहुलियतमा किन्न वा सहयोग स्वरुप प्राप्त गर्न सरकारले खोप उत्पादक कम्पनी या राष्ट्रसित उच्च कूटनीतिक पहल गर्नु पर्दछ ।
कोभिड कहरको यो दुई बर्ष माथि उल्लेख गरे जस्तै धेरैको लागि कष्टकर रह्यो । युरोप अमेरिका र अष्ट्रेलिया लगायतका देशमा बस्ने धेरैले बिताएको लकडाउनको जनजीवन आफ्नाहरु भेटघाट गर्न नपाउने, कोभिडका कारण धनजनको क्षति लगायत चाडपर्ब, बिबाह जस्ता खुसीका क्षण र मर्दा पर्दा पनि आफ्नाहरु संग अन्तिम समय वा दुःखको समयमा संंगै हुन नपाउने लगायत धेरै कुराहरु यो समयमा घटित भए ।

अर्को तर्फ समस्याले समाधान सिकउँछ भने जस्तै यो अध्यारो भित्र केहि जुनकिरिहरु देखिए । बैदेशिक रोजगार नै सबै थोक देख्ने नेपालका धेरै युबाहरु ले यो बीचमा देशमै केहि गर्न जुर्मुराए । खाध्य, कपडा, तरकारी र फलफुलका उत्पादनदेखि होम डेलिभरीसम्मलाई बैज्ञानिक र प्राविधक रुपमा व्यवसायिक गर्न सकिन्छ भन्ने धेरै उदाहरणहरु यो बीचमा देखियो । जसबाट धेरै समय सापेक्ष उत्पादन र बजार व्यवस्थापनमा युवाहरुको चासो बढ्न गएको देखियो । धेरै युवा युवती देश भित्रै उद्यमी बने, अरु धेरैको लागि प्रेरणाको श्रोत पनि बने ।
फेरि पनि मानव सभ्यताको यो अप्ठयारो समय अझै हटि सकेको छैन । संयमता, स्वस्थ जीवनशैली सबै भन्दा ठूलो कुरा हो भनेर गएको यो कहरबाट हामी सबैले धेरै कुरा सिक्ने अबसर पाएका छांै । आशा गरौं राजनीतिक व्यक्तित्वदेखि सर्बसाधारणसम्मले कोभिड कहरको यो अँध्यारो हट्दै गर्दा आफू, आफ्नो परिवार, परिवेश, समुदाय र देशको लागि आफ्नो ठाउँ र क्षमता अनुसार योगदान दिन सकुन् ।