दही च्यूरा की बेबी सावर

-- लक्ष्मी पोखरेल, मेलवर्न अष्ट्रेलिया ?>

हिन्दू धर्म र परम्परा अनुसार मानिसको जीवन कालमा जम्माजम्मी सोह्रवटा संस्कार गर्नुपर्ने हुन्छ । जसमध्ये जन्म हुनु पाँचौ नम्बरको संस्कार रहेको छ । बच्चा जन्मनु अथवा जन्माउनु एक प्राकृतिक कुरा हो । वैवाहिक जीवनमा प्रवेश गरेपछि हामी नारीहरू गर्भवती हुनु, बच्चा पैदा गरेर प्राकृतिक नियमलाई निरन्तरा दिन सक्नु हामी बहुसंख्यक नारीहरूको अहोभाग्य, कर्तब्य र जिम्मेवारीको सबैभन्दा ठूलो खुशीको क्षण हो । जसले एक अचम्मको भावभित्र खुशीको आभाष दिदै हरेक विवाहित नारिलाई “म एक आमा हुँ” भनि गर्वको साथ आफ्नो परिचय दिन गौरवान्वित पनि बनाउँदो रहेछ ।

मेरो आफ्नो अनुभवमा पनि तीन सन्तानकी आमा बन्दा ती कुराको महसुस गरेको थिएँ । जब म पहिलो पटक गर्भवती भएको थाहा भयो खुशीले उफ्रिदा टाउकोले घरकै माथि लगभग लगभग सिलिङ छोएको अझै याद छ। । अनि सन्तान गर्भमा हुँदा उम्लिएका खुशीहरू तिनका कलिला हात पाखुराले पेटमा दिएका काउकुतीहरू मनस्पटलमा अझै ताजै छन् । त्यो बढ्दै गरेको भ्रुणलाई पेटमा च्याप्दाको आनन्दित दृश्य सम्झदै गर्दा अझै पनि आफैलाई मज्जा लाग्दछ । ननिदाए पनि निद्रा पुगेजस्तो, नखाएपनि पूर्ण भोजन गरे जस्तो यो मातृत्वको आत्म संतुष्टिको यहाँ व्याख्या गरेर सकिंदैन । हुनत सन्तान प्राप्तीको क्षणमा खुशी नहुने कुन आमा बाबु नै होलान् र ? यो संसारमा । यस क्षणको खुशीको सिमाना नाप्नको लागि संसारमा कुनै गणितीय स्केल नै रहेनछन् भने यसलाई भण्डार गरेर राख्नको लागि हामी बाबु आमाको हृदयभन्दा ठूलो अरू कुनै भकारी पनि हुदा रहेनछन् । भ्रुण बढ्दै जाँदा आफ्नो पेट पनि ठूलो हुदै जान्थ्यो त लाज पनि बढ्दै जान्थ्यो त अरूले हेर्दा केही हदसम्म अप्ठरो महसुस स्वभाविक पनि थियो । बच्चा जन्मिइसकेपछि आफुलाई जतीनै सुकै गाह्रो अप्टठेरो परे पनि आफ्नो पीडालाई गाँठोपारी मनभित्रै लुकाएर आफ्नो छाती सन्तानको लागि रसिलो बनाएर दशधारा दूध पिलाएकै हुन्थयौं । अहिले तिनै सन्तान केहि दिन मात्रै टाढा हुँदा तिनै संगका अतितका मिठा याद र भविष्यको मिठो सपनालाई आफ्ना आँखाले हेर्दै एकमुठी सास फेर्न सकिरहेका हुन्छौं । हामी आमाहरू यस्ता रहेछौं जसले हरेक गाँस र सासमा पनि यो शरीर लास नबनेसम्म सन्तानकै खुशी र पीडामा आफुलाई चुर्लुम्म डुवाउन सक्दा रहेछौं । त्यसैले आमा हुनुको सौन्दर्यता र यसको अनुभूतीको मज्जा नै बेग्लै रहेछ ।

मानिस बाँच्नको लागि र आफ्नो जीवनको सार्थकताको लागि विभिन्न व्यवशाय गरेर व्यस्त रहँदा शारीरिक र मानसिक हरेक थकावट मेटाउनको लागि उकालाका चौतारीहरू भए जस्तै जीवनमा गरिने यी सोह्र संस्कारहरू पनि जीवनका चौतारी जस्तै हुँदा रहेछन् । त्यस्तै हिन्दु संस्कार अनुसार चौथो नम्बरमा रहेको दही च्युराको छुट्टै महत्व रहेको पाइन्छ । जस अनुसार पेटमा बच्चा आठ महिनाको भएपछि परिवारका सदस्यहरूले दही च्यूरा खुवाउने चलन छ । गर्भवती महिलालाई राम्रो संग स्वस्थ आहार विहार पुगे नपुगेको हेर विचार गर्ने, महिलाले खुशी र पारिवारिक रूपले सुरक्षित महसुस गरून् भनेर शुभकामना र आशिर्वाद दिने वहानामा यो संस्कार मनाउदै आएको पाइन्छ ।

आजको दिनसम्म आइपुग्दा हामी करोडौं नेपालीहरू विदेशिन वाध्य भएका छौं । विश्वको कुना काप्चामा जहाँ जसरी रहेता पनि हामीले हाम्रो संस्कार र परम्परालाई पछ्याउँदै नै आएका छौं । यिनै परम्पराहरूलाई जीवितै राखि मनाउनु, आउने भावि सन्ततीलाई देखाउनु र सिकाउनु हाम्रा कर्तब्य पनि हुन् । समय परिवर्तनशील छ । त्यसैले समय र परिस्थिति अनुसार हामीले मनाउने परम्परागत संस्कारी कुराहरूमा केही परिवर्तन आउनु स्वाभाविक हो र परिवर्तन आउन पनि पर्छ । परिवर्तन ल्याउँदा कसरी सरल, सहज, सभ्य र मनोरञ्जनात्मक गराउन सकिन्छ भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ । यही दही च्यूराको संस्कारलाई पनि हिजो आज कता कता तडकभडक र विकृतिका साथ प्रदर्शन हुन थालेका हुन् कि भन्ने महसुस हुन थालेको छ ।

महनावारी वन्द भएको एकदुई महिनामै सामाजिक संजालमा Breaking News को रूपमा Celebration for Pregnancy Announcement भन्दै खुशीले गदगदिएको Status हरू Upload गर्न थालिन्छन् भने तीन चार महिनादेखि नै Gender Reveal Party को ताँती नै शुरू हुन्छ । नौ महिना पुगेर बच्चा नन्मिने बेलासम्म त पश्चिमेली शैलीका बेबी सावर त नेपाली शैलीका दही च्यूराका भड्किला पार्टीका लावा लस्कर नै लागेको पाइन्छ । त्यति मात्र कहाँ हो र? गर्भवती भएको केही महिनादेखि नै पेटमा बाहिरबाटै चुम्बन गरेका, पेटमा हात राखेर स्पर्श गर्दै खिचिएका फोटोहरू प्रदर्शन गर्ने पनि होडबाजी नै चलेको यत्रतत्र सर्वत्र देख्न पाइन्छ । यसरी प्रदर्शन गरिएका फोटाहरू सामाजिक संजालमा हेर्दा कतिपय अवस्थामा गर्भवती महिलाका बाजे, बराजू आमा, बुबा, दाजु, भाईले अप्ठेरो महसुस पनि गर्दाहुन् । हुनत अरूले देखेर अप्ठेरो महसुस गरेतापनि गर्भवती महिलाले आफ्नो अनुभूतिलाई कसरी प्रस्तुती गर्ने उनको नितान्त व्यक्तिगत कुरा हुन् ।

हुनत गर्भ लुकाएर गुप चुपकासाथ राख्नुपर्ने कुरा पनि होइन र यो सम्भव पनि छैन । प्रकृतिको सुन्दर श्रृजनालाई आत्मसाथ गर्दै खुशी भने अवश्य नै हुनुपर्छ । मेडिकल साइन्सको अनुसन्धानले पनि पुष्टी गरिसकेको छ कि गर्भवती हुदा अनावश्यक चिन्ता लिनु हुन्न । सकारात्मक सोच राख्दै खुशी रहनु पर्छ, जसको प्रभाव बच्चामा पर्न जान्छ र स्वस्थ र खुशी बच्चा जन्मन्छ भन्ने कुरामा । परिवारमा छोरी, बुहारी, दिदी, बहिनी, भाउजु, नन्द अमाजू गर्भवती हुनु नयाँ पारिवारिक सदस्यको आगमन हुनु अवश्य नै खुशी र गौरवको कुरा हो र यो प्राकृतिक कुरा नै हो । त्यसैले यसलाई जीवनको सबैभन्दा ठूलो उपलब्धी ठान्नु भन्दा पनि जीवनको एक महत्वपूर्ण समय परिस्थिति ठानेर अगाडि बढ्नु उचित देखिन्छ । अर्कोतर्फ कस्तो मुडमा राखेको सम्बन्धले हुनेवाला बच्चामाथि के असर पर्छ भन्ने कुराको प्रमाण त हामी सबै नेपालीले बुझेका र हेरेका महाभारतका पात्र अम्बिका, अम्बालिका र दाशीबाट जन्मेका छोराहरू धृतराष्ट, पाण्डु र विदुर नै थिए । गर्भमा सुनेका कुराले बच्चाको सोच र बौद्धिकतामा कति फरक पार्छ भन्ने कुराको उदाहरण अष्टाबक्र पनि हुन् ।

गर्भावस्थामा ध्यान दिदादिदै पनि कहिलेकाहिं अन्य विभिन्न कारणले गर्भावस्थाको पहिलो केही महिनामै गर्भ तुहिदिने, कहिलेकाहिं प्रशव पीडा शुरू भैसकेपछि पनि केही कारणले आमा अथवा बच्चा कुनै एकको मृत्यु हुने त कहिले दुवैको मृत्यु हुने हुन्छ भने कतिपय अवस्थामा बच्चाहरू Congenital abnormality हुने त SIDS (Sudden Infant Death Syndrome) का घटनाहरू हाम्रो समाजमा अक्सर घटिरहेका हुन्छन् । अर्कोतर्फ आजको हाम्रो समाजका युवा पुस्ताको सम्बन्धमा सानातिना, झिना मसिना कुराहरूमा मनमुटाव आउँदा उनीहरू छुट्टिएर अथवा सम्बन्ध विच्छेद गरेर वस्नुपर्ने वाध्यताले गर्भवती महिलाले गर्भ तुहाउन वाध्य भएका छन् भने बच्चा जन्मिसकेपछि पनि सम्बन्ध विच्छेद हुने गरेको छ । कतिपय अवस्थामा बच्चा जन्मिसकेपछि केहि महिना वा वर्ष पछि Down Syndrome र Autism जस्ता समस्या पनि समाजमा यत्रतत्र देखिएको छ । कतिपय अवस्थामा समाजमा अझै छोरा जन्मन्छ कि छोरी भन्ने चिन्ता छ भने वंश जोगाउन त छोरै चाहिन्छ भन्ने मानसिकताले भरिएको परिवारबाट पिल्सिनु पर्ने वाध्यता छ । यी विभिन्न कारण लगायत बच्चा जन्मेपछि हुने तनाव Post Natal Depression बाट गुज्रनु पर्ने थुप्रै अवस्थाहरू छन् । यस्तै कारणहरूले यो सहरमा भित्रभित्रै ब्यथा बनिरहेका तर बाहिर नलेखिएका र नदेखिएका कथाहरू धेरै छन् । जसले गर्दा आज सामाजिक संजालमा पोष्टिएका गर्भका तश्वीरले भोलि अर्को मनोवैज्ञानिक समस्या आइपर्ने उत्तकै देखिन्छ । त्यसैले भनिन्छ अज्ञात भविष्यलाई गर्भमै रहन दिनु उचित हुन्छ।

कतिपय कुराहरू जीवनमा पहिलो चोटी अथवा केहि पटक गर्दासम्म राम्रो र महत्वपूर्ण लाग्दोरहेछ । जब त्यही कुरा घरीघरी दोहरिन्छ कताकता चित्त नबुझन्ने र खल्लो लाग्ने रहेछ । हुनत चिनी पनि धेरै खायो भने तितो हुन्छ भन्ने उखान त्यसै बनाएका त थिएनन् होला ? सहरका धनीमनी, समाजका अगुवा, सेलीब्रटी तथा विदेशिएका शिक्षित महिलाहरूले हाम्रा संस्कार र संस्कृतिमा भएका सकारात्मक पक्षहरूलाई अवलम्बन नगरेर तडकभडककासाथ बेबी सावर गराउँदा पश्चिमा संस्कृतिको प्रभाव धेरै अगाडि बढसिकेको महसुस भएको छ । हाम्रो समाजमा विधि व्यवहार, फेसनका कुराहरू, अरूको नक्कल गर्ने बानी चैत्र मासको डडेलो झै फैलन्छ भने राम्रा र सकारात्मक कुराहरूको हत्पती चर्चा नहुने परम्परा नै छ । त्यसैले यसको प्रभाव भित्रभित्रै सहर र गाउँका निम्न वर्गीय परिवारसम्म पुगिसकेको छ । न्यून वर्गीय महिलाहरूले पनि यसलाई नक्कल गर्न खोज्दा समाजमा अझै धेरै समस्याहरू भित्रदै आइरहेको छ ।

हुनत सबै कुराहरूको सकारात्मक र नकारात्मक पक्षहरू हुन्छन् । यस बेबी सावरको पनि सकारात्मक रूपमा हेर्ने हो भने धेरै तडकभडक नदेखाई गरिने बेबी सावरले झट्ट हेर्दा आमाको खुशीको लागि देखाएतापनि वास्तवमा वालकको पनि हितमा छ भन्ने कुरा अर्जुन / शुभद्राका पुत्र अभिमन्युले महाभारतको युद्धमा चक्रब्यूहको भेदन गर्ने क्षमता राखेको घटनाले पनि यसको महत्व देखाउँछ ।

जिन्दगिमा कतिपय कुरा यस्ता रहेछन् जुनकुरा समय, परिस्थित, व्यवहार र उमेरको परिपक्वताले मात्रै सिकाउदो रहेछ न कि कुनै कलेज वा विश्वविद्यालयको शिक्षाले । त्यसै गरी जीवनको यात्रामा हर्ष खुशी र सुख त जोसंग पनि बाड्न सकिंदो रहेछ । त्यसैले सामाजिक संजालमा राखिएका भड्किला तश्वीरमा जोडतोडका साथ आएका कमेण्ट र लाइकलाई जोड दिनुभन्दा दु:ख जोसंग बाड्न सकिन्छ तिनैलाई आफ्नो र आफन्त ठान्दै आफ्नो खुशी बाडौं र जिन्दगिको यस महत्वपूर्ण क्षणलाई स्वस्थ रहि अविस्मरणीय बनाऔं ।

हुनत यी मैले समाजलाई नियाल्दा देखेका आफ्ना बुझाइ र भावना व्यक्त भएका मात्रै हुन् । म गलत पनि हुन सक्छु । यी कुनै व्यक्तिगत रूपमा हेरेर लेखिएका कुरा नभई सम सामयिक कुराहरू हुन् । सबैलाई यी कुराहरूमा सहमत हुनै पर्छ भन्ने छैन । गर्भवती महिलाहरूको यस संस्कारलाई कसरी मनाउने ती तपाईका नितान्त व्यक्तिगत कुराहरू हुन् । पाठक कसैले पनि यस लेखमा व्यक्त धारणालाई अन्यथा नलिई दिनु होला । दिदि बहिनीहरू बाट सुझाब र सल्लाहको भने सदा अपेक्षित रहेको छु। अन्तमा आमा बन्न लाग्नु भएका दिदि, बहिनी, छोरी, बुहारीहरू लाई धरै धेरै वधाई छ । गर्भावस्थामा परिवार र आफन्तको राम्रो हेरचाह, मायाँ ममता मिलोस्, तपाइंहरूमा भित्रैबाट बलियो मनस्थिति र सकारात्मक सोच मिलोस्, समस्या रहित गर्भावस्था रहोस्, स्वस्थ बच्चा जन्मियोस्, परिवारमा शुख, शान्ति समृद्धिको वातावरण सदैव कायम रहोस् । यही छ मेरो शुभकामना, यही छ मेरो लागि बेवी सावर अथवा दही च्यूरा ।