कोरियाबाट महावीरलाई सहयोग

-- NTA REP. / प्रकाशित मिति : शनिबार, पुस २३, २०७३

दक्षिण कोरियामा रहेका नेपालीहरूले महावीर पुनद्वारा स्थापना गर्न लागिएको राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख ६५ हजार रुपैयाँ सहयोग गरेका छन् । गजेदोस्थित पानीजहाज निर्माण कम्पनी डेउ सिपबिल्डिङ मेरिन एण्ड इन्जिनियरिङ कम्पनीमा कार्यरत नेपालीहरूको संस्था डेउ नेपाली एकता समाजको पहलमा उक्त रकम संकलन गरिएको हो । समाजका उपाध्यक्ष केशव खड्का लगायतका प्रतिनिधिले उक्त रकम आविष्कार केन्द्रको कार्यालय ठमेलमा केन्द्रका संचालक पुनलाई हस्तान्तरण गरेका थिए । पुनले एकता समाज परिवारलाई सहयोग बापत धन्यवाद व्यक्त गरेका थिए । उक्त रकम संकलन गर्न गजेदोमा नेपाली फिल्म छक्का पञ्जा प्रदर्शन गरिएको थियो । करिव ८ सय जना नेपालीहरू कार्यरत उक्त कम्पनीमा फिल्म हेर्न तथा पुनको अभियानमा सहयोग गर्नेको उल्लेख्य रुपमा उपस्थिति रहेको बताइन्छ ।