ब्यवसायिक बन्दै नेपाली फोटोग्राफी

-- नारायण खडका / प्रकाशित मिति : सोमवार, चैत्र ७, २०७३

सन २००१ ताका नेपालबाट फोटोग्राफी र ग्राफिक डिजाईन अध्ययन गर्न आएका थिए विवेक प्रधान । आफ्नो अध्ययनको बिषय नै फोटोग्राफी र ग्राफिक डिजाईन भएका उनले तास्मानियाबाट आफ्नो अध्ययन सकेपछि सिड्नीमा आएर सोही समयदेखि ब्यवसायिक फोटोग्राफी शरु गरेका थिए । सानो नेपाली समुदाय रहेको त्यस समयमा पनि उनले फोटोग्राफी ब्यवसायिक हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेका थिए । अष्ट्रेलियामा रहेका नेपालीमध्येमा पहिलो ब्यवसायिक फोटोग्राफर बनेका प्रधानपछि अहिलेसम्म करिब ३ दर्जन ब्यवसायिक, अर्धव्यवसायिक वा शौखिन फोटोपत्रकारहरू जन्मिसकेका छन् ।

केही बर्षअघिसम्म शौखको रुपमा मात्र रहेको फोटोग्राफी अब ब्यवसायको रुपमा बिकास हुदै गएको छ । अष्ट्रेलियामा अहिले करिब ३ दर्जनको हाराहारीमा पुर्ण ब्यवसायिक र अर्ध व्यवसायिक रुपमा सक्रिय रुपमा लागिरहेका छन् । जसमा कति आफै सिकेर आएका हुन भने केहीले औपचारिक शिक्षा नै लिएका छन् । सबै फोटोग्राफरको नाम उल्लेख गर्न सम्भव नभएपनि उनीहरू सबै ब्यवसायिक रुपमा नै फोटोग्राफीमा लागिरहेका छन् ।

अहिले सिड्नीमा फोटोग्राफी र भिडियोग्राफीमा समेत जम्दै गरेका सुरेन फोटोग्राफीदेखि पहिलो पुस्ताकै ब्यवसायिक फोटोग्राफर केवल राईसम्म अहिलेसम्म सक्रिय छन् । राईसँगै फोटोग्राफी गरेका विवेक बस्नेत समेत फुर्सदमा ब्यवसायिक फोटोग्राफी गर्दै आएका छन् । अर्काेतर्फ नेपालबाटै ब्यवसायिक फोटोग्राफी गर्दै आएकी सुधिरा शाहले समेत नेपाली फोटोग्राफीलाई अलग पहिचान दिने प्रयास गरिरहेकी छिन् । त्यसबाहेक अर्ध व्यवसायिक रुपमा जमिरहेका दर्जनौ नेपाली युवाहरू समेत फोटोग्राफीमा रमाईरहेका छन । जसमध्ये कोही ब्यवसायिक रुपमा जम्ने कोशिष गरिरहेका छन भने कोही सिकाइकै प्रक्रियामा छन् ।

अहिले सिड्नीबाट साउथ अष्ट्रेलियाको एडिलेड बसोबास गर्न आइपुगेका अर्धव्यवसायिक फोटोग्राफर तेज वानेम सिड्नीदेखि वाहिरको शहरमा समेत ब्यवसायिक फोटोग्राफर सम्भव छ भनेर उदाहरण प्रस्तुत गर्ने कोशिषमा छन् । हुनत यहाँको टेफमा फोटोग्राफी अध्ययन गरिरहेका सुजन भुसाल समेत ब्यवसायिक रुपमा फोटोग्राफरको रुपमा जमिरहेका छन् । भुषाल मात्र नभएर अर्का रञ्जन खड्का नेपाली समुदाय र कार्यक्रमहरू मात्र नभएर विदेशी समुदायमा समेत राम्रो पहिचान बनाउदै आएका उनीहरू समेत ब्यवसायिक रुपमा नै जमिरहेका छन् ।

त्यतिबेला कुनै नेपाली फोटोग्राफर थिएन्

  – विवेक प्रधान

फोटोग्राफी र ग्राफिक डिजाईन अध्ययनका लागि सन १९९७ मा आएका विवेक प्रधानका अनुसार त्यतिबेला नेपाली समुदाय सानो थियो भने ब्यवसायिक फोटोग्राफि गर्ने कोही नेपाली थिएन् । जब उनले तास्मानियामा आफ्नो अध्ययन सकेर सिड्नी आए त्यसबेलादेखि नै उनले ब्यवसायिक फोटोग्राफी शुरु गरेका थिए । उनी आफु नै पहिलो नेपाली ब्यवसायिक फोटोग्राफर हुँ भनेर दाबी गर्दैनन् तर आफुभन्दा पहिला कुनै नेपालीले ब्यवसायिक रुपमा फोटोग्राफी गरेको जानकारी नभएको सुनाउँछन् ।

सन २००१ देखि २०१२ सम्म सक्रिय रुपमा फोटोग्राफी र ग्राफिक डिजाईनलाई आफ्नो ब्यवसाय बनाएका प्रधान अहिले ब्यवसायिक फोटोग्राफीमा छैनन् । हुनत कहिलेकाँही आफ्नो मोबाईबाट वा सामान्य क्यामेराबाट फोटो खिच्छन आफ्नै लागि । तर उनी ब्यवसायिक रुपमा अघि नआएको करिब ५ बर्ष नै भइसक्यो । उनले आफ्नो करिब २० हजार पर्ने निकोनको क्यामेरा नै गोदाममा थन्क्याएर राखेका छन् । भन्छन् ‘खै किन हो, मलाई फोटोग्राफीभन्दा पनि अन्य केही ब्यवसाय गर्नुपर्छ जस्तो लागेर आफ्नै सानो ब्यवसायतिर लागे ।’ तरपनि उनलाई फोटोग्राफिप्रती रुची नभएको भने होईन् । ‘म कार्यक्रमहरूमा जाँदा भाइहरूले खिचेको फोटो हेरिरहेको हुन्छु र युवाहरूको फोटोग्राफिप्रतीको रुची देखेर आफैलाई आनन्द लाग्छ ।,

उनको फोटोग्राफि यति ब्यवसायिक थियो कि उनले फेयरफ्याक्स मिडियामा सिण्डिकेसन म्यानेजरको रुपमा काम समेत गरे । त्यसबाहेक अन्य बिभिन्न विदेशी संस्थाहरूमा समेत फोटोग्राफरको रुपमा काम गर्न भ्याए । मन केसी अध्यक्ष हुँदा एनआरएनले पहिलोपटक आयोजना गरेको नेपाल महोत्सवको फोटोग्राफी र ग्राफिक डिजाईन लगायतको जिम्मा समेत उनैले पाएका थिए । जुन सम्झन्दा समेत उनी रोमाञ्चित हुन्छन् । त्यतिमात्र नभएर अष्ट्रेलियामा प्रकाशित पहिलो नेपाली पत्रिका ‘नेपाल अष्ट्रेलिया लिंक, को ग्राफिक डिजाईन लगायतको काम समेत उनैले जिम्मा लिएका थिए । तरपनि कारणबस, उक्त पत्रिका भने बन्द हुनपुग्यो ।

अहिले इलेक्ट्रोनिक्स सामानहरूको ब्यवसाय गरेर बसेका प्रधान नेपाली फोटोग्राफि यसरी ब्यवसायिक रुपमा फस्टाएको खुशी मात्र छैनन् कि आफुलाई उनीहरूले पहिलो ब्यवसायिक नेपाली फोटोग्राफर भनिदिदां गर्व समेत महसुस गर्छन् ।

अहिले सिड्नी नै फोटोग्राफरहरूको मुख्य स्थान हुदै आएको भएपनि अन्य शहरहरूमा समेत ब्यवसायिक फोटोग्राफी फस्टाउदै गएको छ । ब्यवसायिक रुपमा फोटोग्राफी गर्दै आएकाहरूको भनाई मान्ने हो भने नेपाली फोटो ब्यवसाय हेर्दा जति ग्लामर र ब्यवसायिक लागेपनि यसमा चुनौतीहरू समेत उत्तिकै छन् । आफ्ना ग्राहकले चाहेजस्तो फोटो दिन सकिने हो वा होईन् ? उनीहरूले चाहेजस्तो फोटो आउने हो वा होईन् ? लगायतका चुनौतीहरू हरेक फोटोग्राफरले भोग्ने गर्दछन् । यो हुनु सामान्य नै हो । फोटोग्राफर तेज वानेम सुनाउँछन् ।

हातमा क्यामेरा र आवश्यक सामाग्री लिएर फोटो खिचिरहेका युवाहरूलाई देख्दा सामान्य लागेपनि सामान्यत ब्यवसायिक फोटोग्राफर बन्नका लागि मात्र १५ हजारभन्दा माथिको खर्च गर्नुपर्ने हुन्छ । त्यसमाथि हुने खर्च भनेको आफुले कस्तो सामान प्रयोग गर्ने भन्नेमा भरपर्छ । अहिले ब्यवसायिक रुपमा जमिरहेका प्राय: फोटोग्राफरहरूलाई कुनै न कुनै माध्यमबाट सहयोग पुरयाएका पत्रकार केवल राई नेपाली फोटोग्राफरहरूको भविश्य राम्रो भएको सुनाउछन् । ‘विवेक प्रधानले शुरु गरेको नेपाली फोटोग्राफरको ब्यवसायिकतालाई अहिले जुन स्थान बनाएको छ यसले नेपाली युवाको फोटोग्राफी भविश्य राम्रो देखिएको छ ।, राई भन्छन् ।

नेपाली फोटोग्राफरले अहिले न्युनतम १ सय ५० डलरदेखि ३ हजार डलरसम्म शुल्क लिने गरेका छन् । उनीहरू विवाह, ब्रतबन्ध, पास्नी लगायतका पारिवारिक समारोहहरू मात्र नभएर सामाजिक रुपमा हुने कार्यक्रमहरूमा समेत ब्यवसायिक फोटोहरू अलग अलग रकममा खिच्ने गरेका छन् । यद्यपी सामान्यता ३ सय देखि ५ सय डलरको बिचमा पारिवारिक कार्यक्रममा फोटो खिचिने गरेको छ ।