दुई चरणमा हुँदैछ स्थानिय निर्वाचन

अन्तत: पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले झन्डै दुई दशकपछि नेपालमा स्थानीय तहको निर्वाचन गराउने नै भएको छ । निर्वाचनलाई बिथोल्ने गरी आन्दोलन घोषणा गरेको मधेशी मोर्चालाई समेत निर्वाचनमा सहभागिताका लागि मनाएर प्रधानमन्त्री दाहालले देशलाई स्थानीय निर्वाचनतर्फ अघि बढाएका छन् । संविधान सभाबाट जारी संविधानकै विरोध गरिरहेको मधेशी मोर्चा सरकारसंग तीन बुँदे सहमति गर्दै निर्वाचनमा आउन सहमत भएको हो ।
मधेशी मोर्चालाई मनाउनका लागि सरकारले वैशाख ३१ गतेका लागि पूर्व निर्धारित निर्वाचनलाई दुई चरणमा सम्पन्न गर्ने घोषणा गरिसकेको छ भने संविधान संसोधनलाई फाष्ट ट्रयाकबाट गराउने निर्णय गरेको छ । यद्धपि सरकार र मधेशी मोर्चाको यो पछिल्लो सहमतिलाई प्रमुख प्रतिपक्षी एमालेले भने ठाडै अस्विकार गरेको छ । तर, स्थानीय निर्वाचन हुनै पर्छ भन्ने माग राख्ने एमालेको यो पछिल्लो विरोधले निर्वाचनलाई प्रभावित बनाउँछ अथवा बनाउँदैन, अहिले नै भन्न गाह्रो छ । एमालेले पछिल्ला दुई दिन संसद अवरुद्ध गरेर जेठ १५ गते ल्याउने भनिएको बजेटअघि नै दोस्रो चरणको निर्वाचन हुनु पर्ने माग राखेको छ । सरकारले भने जेठ ३१ गतेलाई दोस्रो चरणको निर्वाचनको मिति तय गरेको छ ।
सरकारले प्रदेश नम्बर ३, ४ तथा ६ मा पहिलो चरणको निर्वाचन ३१ बैशाखमा तथा प्रदेश नं १, २, ५ र ७ मा दोस्रो चरणको निर्वाचन आगामी ३१ जेठमा हुने कार्यक्रम सार्वजनिक गरेको छ ।
सरकारले मोर्चा तथा गठबन्धनको माग अनुसार व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई परिमार्जन गरेर पारित गर्ने निर्णय गरेपछि मात्र मधेशवादी दलहरू निर्वाचनमा आउन सहमत भएका हुन् । संसोधनका लागि संविधानको धारा ७ मा उल्लेखित भाषासम्बन्धी प्रावधानलाई संशोधन गर्ने गरी केही थपघट गरिएको छ । भाषाका सन्दर्भमा भाषा आयोगले सरकारी कामकाजको भाषा भनी सिफारिस गरेका भाषालाई सरकारले संविधानको अनुसूचीमा समावेश गर्ने सहमति भएको थियो । यसबाहेक सीमांकन सम्बन्धी संघीय आयोग गठन गर्दा समावेशी र समानुपातिक हुनुपर्ने शब्द थप गर्ने निर्णय गरिएको छ । त्यस्तै धारा २७४ मा संशोधन गर्न प्रदेशको सीमा हेरफेर गर्दा प्रदेशको सहमति लिनुपर्ने प्रावधानको सट्टा प्रदेशको परामर्शमा हेरफेर गर्ने प्रस्ताव राखिएको छ । संशोधन पारित भएपछि सीमांकन आयोग गठन गर्ने नीतिगत निर्णय भएको छ ।
मधेशमा उत्साह
स्थानीय तहको निर्वाचन हुने वा नहुने निश्चित नभइरहेको बेला सरकार र मधेसवादी दलबीच सहमति भएपछि निर्वाचनप्रति स्थानीय तहमा उत्साह बढ्न थालेको छ । निर्वाचन बिथोल्न संघर्षरत राष्ट्रिय जनता पार्टी तथा संघीय समाजवादी फोरमका कार्यकर्ता तथा कर्मचारीदेखि सर्वसाधारणसम्ममा उत्साह देखिएको छ । मधेस केन्द्रित दलहरूबीच एकीकरण र परिमार्जन सहितको संविधान संशोधन विषयमा सरकार र आन्दोलनरत मधेस केन्द्रित दलबीच भएको सकारात्मक सहमतिपछि तराईका मतदाताहरू समेत खुसी देखिएका छन् । यद्यपि, स्थानीय बुद्धिजीवीले भने सहमति कार्यान्वयन हुनेमा आशंका गरेका छन् । विगतमा पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने चलन रहेकोले यसपल्ट गरिएको सहमति कार्यान्वयनमा इमानदारी देखाउनुपर्ने सुझाव दिएका छन् ।
मधेशका स्थानिय नेता तथा कार्यकर्ताहरू अहिले मधेसमा निर्वाचनको वातावरण तयार भैरहेको तथा सबै निर्वाचनमा लाग्ने बेला भएको धारणा व्यक्त गर्न थालेका छन् । पछिल्ला सहमतिले सबैलाई उत्साहित बनाएको उनीहरूको कथन छ । तराईका एक जना नेता भन्छन्—‘मधेशमा आन्दोलन गरिरहेका आन्दोलनकारी पनि चुनावको बाटोमा लाग्न र चुनावी वातावराण निर्माण गर्न ठूलो मद्दत पुर्याएको छ ।’
सरकारसंग भएको सहमतिले भयरहित वातावरणमा निर्वाचन हुने वातावरण बनेको भन्दै निर्वाचनमा खटिने कर्मचारीहरू पनि खुसी देखिएका छन् । मोर्चाको आन्दोलनका कारण निर्वाचनमा खटिने कर्मचारी निकै त्रासमा थिए तर, पछिल्लोपटक भएको सहमतिको प्रयासले आफूहरूलाई पनि उत्साहित बनाएको हो ।
धमाधम घोषणापत्र
नेपाली काँग्रेस संसदको मात्र ठूलो दल होइन, स्थानिय निर्वाचन लक्षित घोषणा पत्र जारी गर्ने पहिलो राजनीतिक दल समेत बनेको छ । नेपाली काँग्रेसले अप्रिल २५ का दिन घोषणा पत्र जारी गर्दै आफ्ना महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरिसकेको छ । कांग्रेसले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र तयार पारेको हो । वैशाख ३१ को निर्वाचनलाई लोकतन्त्र तलैदेखि सबल र संस्थागत गर्ने अभूतपूर्व अवसरका रूपमा लिँदै स्थानीय सरकारको नयाँ संवैधानिक प्रयोगले लोकतन्त्रलाई नेपाली जनताको घरआँगनमा पुर्याउने उल्लेख गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी घोषणा पत्र सार्वजनिक गर्ने दोस्रो पार्टि बनेको छ । राप्रपाले आफ्नो घोषणा पत्रमा आगामी १० वर्षमा हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने महत्वाकांक्षी लक्ष्य प्रस्तुत गरेको छ । स्थानीय तहको निर्वाचनका लागि जारी गरिएको घोषणा पत्रमा राप्रपाले प्रत्येक गाउँपालिकालाई आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकसित गरिने दावी गरेको छ ।
एमालेले घोषणापत्र जारी गरिसकेको छैन, तर उसको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समिति छलफलमा जुटिसकेको छ । पार्टी उपाध्यक्ष बामदेव गौतम संयोजकत्वको समितिले स्थानीय निर्वाचनमा पार्टीको एजेण्डा र अन्य आर्थिक विषयलाई समेटेर घोषणा पत्र तय गर्ने सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि केहीदिन भित्रै निर्वाचन घोषणा पत्र जारी गर्ने तयारी गरेको छ । सिंहदरवारको अधिकार जनताका हातमा लैजान सफल भएको, महिला दलित लगायत अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न पार्टीले खेलेको भूमिका र सरकारमा रहेर राम्रो काम गर्न सफल भएको दावी गरेको माओवादी केन्द्रले थप महत्वकांक्षी योजनासहित निर्वाचन घोषणापत्र तयार गरिसकेको छ ।
उम्मेदवारी घोषणा
स्थानीय निकायको निर्वँचनका लागि उम्मेदवारी घोषणा गर्ने प्रसंगमा सत्तारुढ दल माओवादी केन्द्र पहिलो दल बनेको छ । माओवादी केन्द्रले देशव्यापी रुपमा उम्मेदवारी घोषणा गरेको हो । केन्द्रले महानगर पालिका, उपमहानगर पालिकासहित अधिकांश निकायमा उम्मेदवारी घोषणा गरिसकेको छ । नेपाली काँग्रेस तथा एमालेले पनि उम्मेदवारी घोषणालाई तीब्रता दिएका छन् ।
आयोगको तयारी तीब्र
यसैबीच, स्थानीय तहको निर्वाचनको तयारीस्वरुप निर्वाचन आयोगले आफ्नो कामलाई तीब्रताका साथ अघि बढाइरहेको छ । सरकारले ४ वटा प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरे पनि आयोगले निर्वाचन सामग्री धमाधम पठाइरहेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



