दर्ता खारेजीको सूचना पाएको गोर्खा इन्ष्टिच्युट पुनराबेदनका लागि जादै 

कलेज बन्द हुन लागेको होइन - निर्देशक योञ्जन 
-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ १७, २०७४
नेपालीद्धारा अष्ट्रेलियामा सञ्चालित एक शैक्षिक संस्थालाई सरकारी  निकायले दर्ता खारेज गर्ने निर्णय गरेको छ । आउदो जुनको २७ तारिखदेखि लागु हुनेगरि गरिएको यो निर्णयप्रति कलेजले उक्त समयभित्रमा पुनरावेदन दिन पाउनेछ र कलेज पुनराबेदनको प्रकृयामा गइ सकेको छ।
अष्ट्रेलियन स्किल्स क्वालिटी अथोरिटी (एएसक्युए) ले मेलबर्न र होबार्टमा रहेको उक्त शैक्षिक संस्था रोयल गोर्खा इन्ष्टिच्युट अफ टेक्नोलोजीले पुरा गर्नुपर्ने आवश्यक नियमहरु पुरा नगरेको भन्दै तत्काललाई उक्त शैक्षिक संस्थाको दर्ता खारेज गर्ने निर्णय गरेको अस्ट्रेलियाबाट प्रकाशित दि अष्ट्रेलियन दैनिकले जनाएको थियो । इन्ष्टिच्युटका चिफ अपरेटिङ अफिसर जोनाथन ह्याम्पनद्धारा जारी बिज्ञप्तिमा भने यो निर्णयले आफुहरु अचम्भित र निराश भएको उल्लेख गरिएको छ । उनले बिज्ञप्तिमा इन्ष्टिच्युटले आवश्यक नियमहरु पुरा गरेको र गुणस्तरमा पनि कुनै सम्झौता नगरिएको दाबी गरेका छन् ।
संस्थाका संस्थापक तथा निर्देशक चन्द्र योञ्जनले द नेपाली टाईम्स अस्ट्रेलिया सँग  कुराकानी गर्दै कलेजको दर्ता जुनको २७ तारिखदेखि खारेज गर्ने जानकारी आए पनि आफुहरुले यसका बिरुद्ध पुनरावदेन गर्ने र निर्णय आफ्नो पक्षमा आउने विश्वास ब्यक्त गरे । ‘हामीले आफ्नो तर्फबाट गर्नसक्ने र पुरा गर्नुपर्ने सबै नियमहरु पुरा गर्ने कोशिष गरेका छौं र यदी केही कमी भए त्यसलाई पुर्ण रुपले सुधार गर्न तयार छौं ।’ भिक्टोरियाका महावाणिज्युदत समेत रहेका उनले समाचारहरुमा आएजस्तो बिद्यार्थीहरुको बिजोग भएको र कलेज बन्द हुने लगायतका बिषयहरु नभएको सुनाए । उनले आफ्नो शैक्षिक संस्था सामान्य सरह नै सञ्चालनमा रहने र पठनपाठन निरन्तर रहने समेत बताएका छन् ।
निर्देशक योञ्जनका अनुसार यस कलेजमा ४५ बढी नेपाली कर्मचारीहरुसहित करिब २ सयले रोजगारी पाइरहेका छन भने १ हजार ४ सय बढी बिद्यार्थीहरु अध्ययनरत रहेका छन् । ‘यहाँको स्थानीय पत्रिकाका अनुसार उक्त कलेजले दुई बर्षअघि सन २०१५ मा गरेको अनुगमनमा समेत सफल हुन सकेको थिएन् तर केही सर्तहरु पालना गर्नेगरि सञ्चालनको अनुमती दिइएको थियो । यस कलेजले सरकारबाट पाउदै आएको अनुदानमा १ हजार प्रतिशतले बृद्धि हुदै ५ दशमलव ५ मिलियन डलर समेत पाएको थियो ।
अष्ट्रेलियाली सरकारले यहाँका युवाहरुलाई दक्ष र रोजगारमुलक शिक्षा प्रदान गर्नका लागि यस किसिमका कलेजहरुलाई सरकारले बिद्यार्थीको शुल्क तिरिदिने गर्दछ । सोही योजना (भेट फ्रि हेल्प लोन) अन्तरगत समेत सञ्चालित यस कलेजले एडभान्स डिप्लोमा संकायमा बिजनेस, म्यानेजमेन्ट, स्वास्थ्य, हस्पिटालिटी, अंग्रेजी भाषा, सुचना प्रविधि लगायतका बिषयहरुमा अध्यापन गराउदै आएको र त्यहि फि हेल्पमा अनियमित भएको छ कि भनि अथोरिटीले शंका गरेको स्थानीय मिडियाले जनाएको छ ।  केही दिनअघि मात्रै एक अस्ट्रलियाको एक नीजि शैक्षिक संस्था करियर्स अष्ट्रेलिया समेत बिघटन भएर स्वेच्छिक प्रशासन (भोलेन्टरी एडमिनिस्ट्रेसन) मा गएको कारण पनि यो समचार धेरैको लागि चासोको बिषय बनेको छ।